काठमाण्डौ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले वर्तमान वालेन सरकार एक चीन नीति विरुद्ध गइरहेको बताएको छ । मोर्चाका संयोजक सन्त बहादुर नेपालीले २०८३ असार २९ गते एक प्रेसविज्ञप्ति जारी गर्दै सो कुरा बताउनु भएको हो । ‘ तिब्बतलाई टुक्र्याउन दशकौंदेखि लाग्दै आएका तिब्बती धर्मगुरु १४ औं दलाई लामाको ९१ औं जन्म दिवस काठमाडौंमा सरकारको सुरक्षामा मनाइएको र त्यसमा अमेरिकी, फ्रान्सीसी, अष्ट्रेलियन तथा यूरोपियन युनियनका कूटनीतिक नियोगका प्रतिनिधिहरु समेत उपस्थित रहेको कुराप्रति मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल राज्य र नेपाली जनताको सुमधुर मैत्री सम्बन्ध रहेको घनिष्ठ छिमेकी मित्रराष्ट्र चीनको आन्तरिक मामलामा दख्खल पुराएर उसलाई चिड्याउने यस प्रकारको संवेदनशील र भयानक गतिविधिप्रति पनि मोर्चाको बैठकले गम्भीर चिन्ता ब्यक्त गरेको छ । दलाई लामाको नेतृत्वमा फ्री तिब्बत मुभमेन्ट गर्ने र नेपालको घोषित एक चीन नीति विपरीतका असल छिमेकी मित्रराष्ट्र चीनविरोधी गतिविधि गर्ने संघसंस्था र संगठनहरुलाई चीनको राष्ट्रिय अखण्डतामाथी आंच आउने यस्ता कार्यक्रम गर्न दिनुले सरकार एक चीन नीति विपरीत गइरहेको प्रष्ट छ ’ विज्ञप्तिमा भनिएको छ । २०८३ असार २९ गते मोर्चाको भर्चुअल बैठक बसी बैठकले गरेका निर्णयहरुलाई सार्वजनिक गर्न जारी गरेको प्रेस विज्ञप्ति जारी गरिएको हो । विज्ञप्तिको पूर्ण पाठ यसप्रकार छ –
राष्ट्रिय क्रान्तिकारी मोर्चामा आवद्ध घटकहरुको उपस्थिति रहेको अनलाइन बैठक मिति २०८३ आषाढ २९ गतेका दिन मोर्चाका संयोजक क. सन्तबहादुर नेपालीको अध्यक्षतामा बस्यो । बैठकले गरेका निर्णयलाई सार्वजनिक गर्न यो प्रेसविज्ञप्ति जारी गरिएको छ ।
१) गएको आषाढ २५ गते मुगुका एउटा पठाओ चालक युवक गणेश नेपाली आफ्नो मोटरबाइकलाई एक्कै छिन पार्किङ गरेको बेला काठमाडौं महानगरपालिका प्रहरीले ताला लगाई दश हजार जरिवानाको चिट थमाएकोले त्यो अन्याय सहन नसकी आत्मदाह गर्ने प्रयास गरे । उनको वीर अस्पतालमा उपचार हुन नसकी अल्पायुमै मृत्यु भयो । सरकारको जनविरोधी नीति र कानुनले गर्दा उनलाई आत्मदाह गर्न बाध्य पारिएको र उनको आश्रयमा रहेका जहान–परिवारको बिचल्ली भएको छ । मोर्चाको यस बैठकले यो अराजक, अधिनायकवादी र जनविरोधी वालेन सरकारको यस्ता असैह्य कानुन, जनविरोधी नीति र जनहत्यारा कुकर्मको घोर निन्दा र भत्सर्ना गर्दै जनतालाई जीविका चलाएर बाँच्न पनि नदिने क्रूर र आततायी चिन्तन, प्रवृत्ति र कुकृतिको कडा शब्दमा विरोध समेत गर्दछ । साथै राष्ट्रिय क्रान्तिकारी मोर्चाको यो बैठकले यस अपराधमा प्रत्यक्ष–अप्रत्यक्ष संलग्न दोषी उपर कडाभन्दा कडा कारबाही गर्न पनि जोडदार माग गर्दछ । पीडित परिवारका तर्फबाट क्षतिपूर्तिको माग राख्ने आफन्तजन र सर्वसाधारण नागरिकहरुलाई पनि बालेन सरकारले अमानवीय तरिकाले कुटपिट गर्ने र गिरफ्तार गर्ने जुन फासिष्ट हर्कत गरेको छ, त्यसको पनि मोर्चाले कडा शब्दमा तीव्र निन्दा, भत्र्सना, विरोध र भण्डाफोर गर्ने निर्णय समेत गरेको छ । मोर्चाको तर्फबाट हामी सरकारको यस जनहत्यारा कानुनलाई तत्काल खारेज गर्न र गणेश नेपालीको परिवारलाई अधिकतम क्षतिपूर्ति तत्काल प्रदान र गर्न उनमाथि आश्रित परिवारको स्थाई भरण पोषण र शिक्षादीक्षाको सुनिश्चितता गर्न जोडदार माग गर्दै यस्ता जनतामारा गतिविधिहरु दोहोरिन नदिने कुराको ग्यारेन्टी गर्न पनि माग गरेको छ ।
२) बैठकले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक श्रद्धेय नेता क. पुष्पलालको आगामी श्रावण ७ गते ४८औं स्मृति दिवस पनि मोर्चाका तर्फबाट विशेष कार्यक्रमका साथ साम्राज्यबाद बिरोधी सम्पूर्ण देसभक्त, वामपन्थी र क्रान्तिकारी शक्ति र बौद्धिक व्यक्तित्वहरुको सहभागीतामा बृहत् विचार गोष्ठी गर्दै भव्यतापूर्वक सम्पन्न गर्ने ऐतिहासिक निर्णय समेत गरेको छ । देशमा रास्वपाको सरकार निर्माण भएपछि विश्व साम्राज्यवाद, विशेषतः अमेरिकी साम्राज्यवादद्वारा नेपालमा लगातार देस र जनविरोधी षडयन्त्रपूर्ण गतिविधि बढाउँदै गरेको र देश नवऔपनिवेशिक उत्पीडनको पाशोमा पर्दै र अझ कँसिदै गएको सन्दर्भमा क. पुष्पलालको स्मृति दिवसका सन्दर्भमा उहाँको राष्ट्रिय स्वाधीनताप्रतिका नीति र कृतिहरुलाई स्मरण, सम्मान र अवलम्बन गर्दै वर्तमान समस्याको सही समाधानको बाटो पहिल्याउने गरी एउटा वृहत अन्तकर्कृयात्मक कार्यक्रम राख्ने र त्यसमा देशका राष्ट्रहित र जनहितमा संघर्षरत राजनीतिक शक्तिहरु, परराष्ट्रविद्हरु, सचेत नागरिक अगुवाहरु र प्रबुद्ध व्यक्तित्वहरुलाई समेत सहभागी गराउने महत्वपूर्ण निर्णय बैठकले लिएको छ ।
३) तिब्बतलाई टुक्र्याउन दशकौंदेखि लाग्दै आएका तिब्बती धर्मगुरु १४ औं दलाई लामाको ९१ औं जन्म दिवस काठमाडौंमा सरकारको सुरक्षामा मनाइएको र त्यसमा अमेरिकी, फ्रान्सीसी, अष्ट्रेलियन तथा यूरोपियन युनियनका कूटनीतिक नियोगका प्रतिनिधिहरु समेत उपस्थित रहेको कुराप्रति मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल राज्य र नेपाली जनताको सुमधुर मैत्री सम्बन्ध रहेको घनिष्ठ छिमेकी मित्रराष्ट्र चीनको आन्तरिक मामलामा दख्खल पुराएर उसलाई चिड्याउने यस प्रकारको संवेदनशील र भयानक गतिविधिप्रति पनि मोर्चाको बैठकले गम्भीर चिन्ता ब्यक्त गरेको छ । दलाई लामाको नेतृत्वमा फ्री तिब्बत मुभमेन्ट गर्ने र नेपालको घोषित एक चीन नीति विपरीतका असल छिमेकी मित्रराष्ट्र चीनविरोधी गतिविधि गर्ने संघसंस्था र संगठनहरुलाई चीनको राष्ट्रिय अखण्डतामाथी आंच आउने यस्ता कार्यक्रम गर्न दिनुले सरकार एक चीन नीति विपरीत गइरहेको प्रष्ट छ । साथै यसले अमेरिकी साम्राज्यवादको चीनविरोधी गतिविधिलाई अब खुलमखुल्ला सहयोग गरेको पनि छर्लङ्ग देखिएकोछ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल पञ्चशील र असंलग्न परराष्ट्र नीति विपरीत गएर नेपाललाई युक्रेन बनाउने दिशामा धकेल्ने साम्राज्यवादको दलाल बालेन सरकारको यसप्रकारको सुनियोजित षडयन्त्रप्रति घोर आपत्ति प्रकट गर्दै सरकारलाई तटस्थ र स्वतन्त्र रहेर असंलग्न परराष्ट्र नीतिलाई लागू गर्न तथा विशेषतः छिमेकी देशहरु र अन्य शक्ति राष्ट्रहरुसँग अविलम्ब अनाक्रमण सन्धि गर्नका लागि समेत जोडदार माग गर्दछ ।
४) बालेन सरकारले सुकुम्बासीहरुलाई स्थायी बसोबासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट समेत हटाउन बल प्रयोग गरेकोप्रति पनि मोर्चाको विशेष ध्यानाकर्षण भएको छ । बैठकले उचित स्थानमा सुरक्षित र सुनिशिचत स्थायी बसोबासको व्यवस्था नगरी बलपूर्वक होल्डिङ सेन्टर खाली गराउन खोज्नुलाई सरकारको अमानवीय, क्रुर तथा दमनकारी व्यवहार ठहर गरेको छ । मोर्चाको यो बैठकले सुकुम्बासी नागरिकहरुको उचित स्थानमा स्थायी व्यवस्थापन नगरी यो वर्षायाममा सडकमा पु¥याउने काम कुनै हालतमा नगरियोस् र उनीहरुमाथि मानवोचित ब्यवहार गरियोस् भन्ने पुनः जोडदार माग गरेको छ । अन्यथा सम्पूर्ण परिणामको दोषी सरकार बन्नु पर्ने समेत बैठकले ठहर गरेको छ ।
सरकार एक चीन नीति विरुद्ध गइरहेको छ ः राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल
Comments

