– इस्माली
संयोजक, माक्र्सवादी सांस्कृतिक मोर्चा
इस्माली नेपाली प्रगतिशील÷ प्रगतिवादी साहित्यिक तथा सांस्कृतिक आन्दोलनमा सुपरिचित नाम हो । उहाँको प्राध्यापन पेशामा प्रयोग भएको नाम महेश्वर प्रसाद उपाध्याय हो , बाल साहित्य विधामा महेश पौडेल नामले परिचित हुनुहुन्छ र अन्य साहित्यमा इस्माली नाम प्रयोग गर्नु भएको छ ।
उहाँले लामो समय त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्राध्यापन पेशामा समय बिताउनु भयो । नेपाली गणित कोष (२०७५), प्रमुख पौरस्त्य गणितज्ञ (२०६८), नेपाली गणितका सात प्रबन्ध (२०६९), A Handbook of Undergraduate Mathematics (२०७५), An Introduction to Linear Programming (२०६०) Optimisations and linear Programming (२०५०) जस्ता गणित विषयका कृतिहरु उहाँले लेख्नु भएको छ ।
बाल साहित्यकारको रुपमा पनि उहाँ परिचित हुनुहुन्छ । अर्को एउटा पृथ्वी (२०५७), चिम्पाञ्जीको चिन्ता (२०६७), गणित र गरिमा (२०७६), (Chimpan zee’s Worry (२०७३) लगायतका बाल कथा र नानीहरुको पुरुषार्थ (२०६०) बाल उपन्यास उहाँले लेख्नु भएको छ । त्यसबाहेक पनि उहाँले कैयौं अनुुसन्धानमूलक लेखहरुमा सहलेखन गर्नु भएको छ ।
गणित शिक्षामा स्नातकोत्तर इस्मालीको जन्म २०१२ जेष्ठ ४ गते महोत्तरी जिल्ला औराहीमा भएको थियो । २०१२ साल जेष्ठ ४ गते जन्मनु भएका इस्माली अहिले काठमाडौं बानेश्वरमा बस्दै आउनु भएको छ । उहाँले अहिले माक्र्सवादी सांस्कृतिक मोर्चाको नेतृत्व गर्नु भएको छ । नेपालको प्रगतिवादी सांस्कृतिक तथा साहित्यिक आन्दोलन र उहाँले नेतृत्व गरेको मोर्चाको सेरोफेरोमा रहेर यस पटक हाँक साप्ताहिकले इस्मालीसित कुराकानी गरेको छ ।
१. नेपालमा थरीथरीका साहित्यिक सांस्कृतिक संघसंगठनहरु छँदै थिए र पनि माक्र्सवादी सांस्कृतिक मोर्चा गठन गर्नुपर्ने आवश्यकता किन प¥यो ?
–हो,यहाँले भनेजस्तै थरीथरीका साहित्यिक सांस्कृतिक संघसंगठनहरु छन् नै,तर तिनका आआफ्ना प्रयोजन र उद्देश्य छन् । तथापि साहित्यिक सांस्कृतिक कर्मीहरुमा समाज रुपान्तरकारी चेतना प्रवाह गर्ने,समाजलाई अग्रगामी वैचारिक सोचले प्रशिक्षित गर्ने वैज्ञानिक समाजवादी चिन्तन प्रवाह गर्ने साहित्यिक सांस्कृतिक संस्थाको अभाव भने खटकिनै रहेको अवस्था छ । हुन त यस प्रकृतिका केही संघसंगठन छन् तर ती खासखास दलका जनवर्गीय स्वरुपका छन् ,ती साझा हुनसक्ने कुरो भएन ।अतएव साझा चरित्रको यस्तो संस्था,जसमा दलीय र गैरदलीय कर्मीहरु सजिलै अटाउन सकून,को आवश्यकता खटकेर माक्र्सवादी सांस्कृतिक मोर्चा गठन गर्न यो संयोजन समिति बनाइएको हो ।
२. अनि यस्तै प्रकृतिको संस्था प्रगतिशील लेखक संघ छँदै थियो त ?
– प्रगतिशील लेखक संघले त्यो कार्यभार पुरा गरेको भए यो मोर्चा शायद गठन नहुँदो हो ,वा,अझ ढिलो गठन हुँदो हो । प्रगतिशील लेखक संघको गतिविधिहरु सबैका सामु छर्लङ्गै छँदैछ । राष्ट्रिय मुद्दाहरुमा त परैजावस,साम्राज्यवादी,विस्तारवादी हस्तक्षेपहरु, यमसिसिजस्तो राष्ट्रघाती सम्झौता ,भइरहँदा पनि प्रलेसको बक फुटेन । प्रलेस त पछिल्लो चरणमा प्रज्ञाप्रतिष्ठान र अन्य त्यस्तै संस्थाहरुमा प्रवेश गर्ने द्वारजस्तो पो बन्न पुग्यो ।अहिले भर्खरै पनि प्रलेसको राष्ट्रिय सम्मेलन सकिएको छ र त्यसउपर हुने गरेका टिप्पणीहरु छताछुल्लै छन् । त्यसैबाट पनि उक्त संस्थाको चरित्र बुझ्न सकिन्छ ।
३. यसरी प्रगतिशील तथा प्रगतिवादीहरुको बेग्लै संस्था बनाउँदा यहाँहरुलाई वा फुटपरस्त फुटवादी आरोप पनि त लाग्ने गरेको छ नि ?
–हामीले अर्थात् यस मोर्चामा आवद्ध साथीहरुले प्रलेस फोडेको भन्नु आफ्नो अकर्मन्यताको ढाकछोप गर्दै पानीमाथिको ओभानो बन्न खोजेजस्तै हो । हामीले प्रलेस फुटाएको भए ‘प्रलेस– ख’ भनेर प्रलेस नै गठन गर्ने थियौँ,माक्र्सवादी सांस्कृतिक मोर्चा भन्ने थिएनौँ । हाम्रो संस्थाको नामबाटै थाहा हुन्छ – यो वैचारिक संस्था हो । प्रलेसले समयले सुम्पेको वैचारिक कार्यभार वहन गर्न जाँगर नचलाएको, रुचि नदेखाएको हुनाले त्यस्तो संस्थामा रहिरहन आवश्यक नठानेर कतिपय साथीहरु त्यहाँबाट बाहिरिनु भयो । कतिपय पहिले नै पनि बाहिरिनु भएको थियो ।अर्काे पाटोबाट पनि यो कुरोलाई हेर्न सकिन्छ – यदि ती स्रस्टाहरु फुटेर आएका थिए भने फुटेर गए भन्नेहरुले नै फुटिजाने वातावरण त बनाइदिएका रहेछन् त ! फुटि जाउन भन्ने तिनको भित्री मनसाय नै रहेछ त ! हैन भने फुटपरस्त भनिरहनु पर्ने किन ? म लगायत कतिपय साथी त त्यसबखत प्रलेसको सदस्य नै थिएनौं ।यस्ता साझा संस्थाहरुमा रहेका कतिपय साथीहरुमा संख्याशक्तिको दम्भअहंकार पनि हुनेगरेको देखिन्छ ।र ,त्यसले समस्यालाई आत्मसात गर्नुभन्दा पनि अहंकारलाई प्राथमिकतामा राखिदिन्छ ।
४. यो मोर्चाको गठन कहिले भयो र अहिलेसम्मको यसको यात्रा कस्तो रह्यो ?
– यसको आवश्यकताबारेको छलफल पहिलेदेखि नै साथीहरुका बिच चलिरहेको थियो । संयोजन समिति गठनकै हिसाबले भने २०७७ पुसमा प्रकट रुपमा आयो ।संयोजक,सचिव र सदस्यहरु गरी प्रारम्भमा १३ जनाको संयोजन समिति बन्यो । त्यसले सांगठनिक गोष्ठी,छलफल लगायत केही प्रतिरोधी कार्यक्रमहरु पनि गरयो । कालक्रममा केही थपघटसहित यसलाई परिमार्जन गरियो र १५ सदस्यीय समिति रहेको छ अहिले । मोर्चाको अवधारणा,विधानआदिबारे आन्तरिक छलफल भइरहेकै छ । यथासमय यसले आफ्नो कार्यभार सम्पन्न गर्दै यसलाई सांगठनिक स्वरुप प्रदान गर्ने छ ।
५. माक्र्सवादी सांस्कृतिक मोर्चाको तर्फबाट २०८१ चैत २९ का दिन काठमाडौमा एउटा अन्तक्र्रिया कार्यक्रम आयोजना गर्नुभयो । त्यस अन्तक्र्रिया कार्यक्रमको उद्देश्य के थियो ?
– मोर्चाद्वारा आयोजित उक्त कार्यक्रममा मोर्चाले दुई कुरामा जोड दियो– वैचारिकी, र सांगठनिक अभ्यासको इतिहास । वैचारिकीका हकमा यसले ‘प्रगतिवादः सिद्धान्त र सिर्जना’ तथा अर्काे ’प्रगतिवादी सांस्कृतिक आन्दोलनको संगठित अभ्यास शीर्षकहरुमा कार्यपत्रसहित अन्तक्र्रिया कार्यक्रम सम्पन्न ग¥यो । अहिलेको पुस्तालाई प्रगतिवादको सैद्धान्तिक ज्ञान जरुरी छ ।यो नभइकन प्रगतिवादी साहित्यको समुचित सृजन हुन सकोइन । र ,सांगठनिक इतिहासको विकासक्रमको ज्ञान पनि जरुरी कुरो हो ।त्यसले मोर्चा गठनको औचित्यको पुष्टि गर्दछ ।
६. प्रगतिवादी सांस्कृतिक आन्दोलनको सांगठनिक अभ्यासको कुरा गर्दा वेदना ,संकल्प परिवार र प्रलेसका कुराहरु पनि चर्चा हुने गर्दछ नि ?
– स्वभाविक हो, प्रगतिवादी सांगठनिक अभ्यासमा वेदना साहित्यिक पत्रिका र संकल्प साहित्यिक पत्रिका र तीसँग जोडिएका सर्जकहरुको महत्वपुर्ण योगदान रहेको छ । २००९ मा श्यामप्रसादको नेतृत्वमा प्रलेसको स्थापना भएपछि २०१७ को प्रतिगमनले सबैकुरो गडबड भयो ।तिनताका नाम चलेका सबैजसो धुरन्धर प्रगतिशीलहरु पंचायतको टाङमुनि छिरिगए र प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनले ठुलो धक्का खायो ।यो धक्कामा लोटेको प्रगतिवादी आन्दोलन विस्तारै बौरियो । तिसको दशकमा आइपुग्दा हाम्रो साहित्यिक सांस्कृतिक आन्दोलनमा वेदना,संकल्प साहित्यिक पत्रिकाहरु थिए । तीसँग स्रष्टाहरु जोडिए । तिनका साथलागि अरु पत्रिकाहरु पनि थपिए । यावत् संगठनहरु अवैध घोषित गरिएको त्यस अन्धकार अवस्थामा साहित्य कर्ममा बडो होस पुराएर शब्द खेलाउनु पर्दथ्यो ।ती दुई पत्रिका दुई परिवारका रुपमा चिनिन्थे । उही गन्तव्यका दुई फरक बाटा,फरक सोच ! क्रमशःनेकपा चौथो महाधिवेशन र नेकपा माले निकटका सांस्कृतिक कर्मीहरुको परिवार थिए ती । २०३५–३६ को विद्यार्थी आन्दोलन,किसान आन्दोलनहरु जनमत संग्रहको घोषणामा गएर टुंगियो । स्थिति केही खुकुलियो र प्रतिबन्धित संघसंगठनहरु फेरि बौरिन थाले । यसै मेसोमा यी दुई परिवारलगायत वैचारिकी मेलखाने अन्य सर्जकहरु समेतको प्रयासमा प्रगतिशील लेखक कलाकार संघ ( प्रलेक) गठनको अभ्यासको थालनी भयो । यही प्रलेक गठनको अभ्यासले ब्युँतायो प्रलेसलाई,प्रगतिशील विचारका वाहक सबैको साझा संगठनका रुपमा । तथापि संघमा द्वन्द्वहरु चलिरहे ।कतिपय पटक त निकै अप्रिय रुप नै लियो, एक पटक त बहिष्कृत नै भयो । साझा चौतारीमा फरक विचारहरुको समुचित सम्बोधन हुन सकेन भने त्यसले गति लिन सकोइन र त्यो अवसानको बाटोतिर जान्छ ।अहिले नेपालमा व्यापक जनमत वामपन्थको पक्षमा रहेको भएतापनि सारथीहरु त्यस जनमतको दुरुपयोग गरी सतत दक्षिणगामी भइरहे ।फलतः तिनका संघसंगठनहरु पनि त्यही दिशामा अग्रसर भइरहे । र, अहिले एक किसिमले विचारको खडेरी परिरहेको अवस्था छ । यही खडेरीलाई सम्बोधन गर्ने प्रयासस्वरुप माक्र्सवादी सांस्कृतिक मोर्चाको जन्म भएको हो ।
७. माक्र्सवादी सांस्कृतिक मोर्चाको आगामी कार्यक्रम के छ त ?
–हाललाई वैचारिक कार्यक्रमहरुमा जोड दिँदै संगठनलाई आकार दिनेतिर नै संयोजन समिति केन्द्रित रहनेछ । मोर्चाको अवधारणापत्र र प्रस्तावित अन्तरिम विधानप्रति सहमति जनाउने सांस्कृतिक कर्मीहरुको भेलाबाट यसलाई सांगठनिक रुप दिने प्रयासमा यो क्रियाशील रहनेछ । त्यसपछिका कार्यक्रमहरु त्यही समितिले गर्नेछ ।
८. नेपालमा अहिले साहित्य तथा संस्कृतिका क्षेत्रमा क्रियाशील अन्य संघसंगठनहरुको अवस्था केकस्तो छ ?
– साहित्य संस्कृतिका क्षेत्रमा मुलुकमा हाल क्रियाशील संघसंगठनहरु दुई प्रकृतिका छन् – राज्यद्वारा संरक्षित संगठित, र साहित्य संस्कृतिकर्मीद्वारा समुहगत रुपमा संगठित । पहिलो प्रकृतिका संस्थाहरु केन्द्रदेखि स्थानीय तहसम्म राज्यकै निकायका रुपमा रहेका छन् । दोश्रोथरीका संगठनहरुमध्ये पनि एकथरी विभिन्न राजनीतिक दलका भ्रातृसंगठनका रुपमा रहेका छन् भने अर्काथरी व्यक्ति समुहद्वारा संगठित स्वतन्त्र संघसंगठन साझा चौतारीका रुपमा रहेका छन् । ती पनि कतिपय यथास्थितिका पृष्ठपोषक छन् भने केही वैचारिक प्रकृतिका ।
९. नयाँ पुस्ताका युवाहरु अधिकांशतः सस्ता मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम ,कन्सर्टहरुतिर दौडिरहेको हुन्छन् ।सामाजिक उत्तरदायित्व सम्बन्धी चिन्तन तिनमा प्रायः पाइन्न ,अझ प्रगतिशील चिन्तन त तिनमा झनै पाइन्न । यस्तो किन भएको होला ?
– यो हाम्रो शिक्षा– संचार प्रणाली,घर परिवार,समाज आदिको समष्टिगत प्रभाव हो । कोदो रोपेपछि कोदो नै फल्छ,त्यसमा पहेंलपुर तोरी फल्दैन । विद्यालय शिक्षा,घरघरमा घन्किने टिभी,रेडियो,युट्युब,सामाजिक सञ्जालहरु र तिनमा प्रसारित हुने गरेको सामग्रीहरुले सबै सस्ता मनोरञ्जनात्मक चेत भरिरहेका हुन्छन् । युवाजमात त्यस्तै शिक्षासिकोका बीच हुर्केका हुन्छन् । राज्यले त्यस्तै प्रणालीलाई प्रोत्साहित गरिरहेको देखिन्छ । पुँजीवादी राज्यप्रणालीको विशेषता त्यही नै हो । तिनलाई सामाजिक उत्तरदायित्वमुखी चेतनाको प्रवाहक प्रसारक बनाउने सोच राज्यसँग छँदैछैन र गर्न पनि चाहँदैन । जुनै दलको सरकार बने पनि तिनले देखिआएको गरिआएको त्यही हो । यसमा हस्तक्षेप गर्ने जिम्मेवार र स्वस्थ सामाजिक उत्तरदायित्वयुक्त सोच भएको सांस्कृतिककर्मीहरु तथा बौद्धिकहरुले हो ,त्यस्ताहरु संख्यामा अत्यन्त न्यून छन् र तिनको काम मात्रात्मक रुपमा उल्लेखनीय बन्न सकेको छैन । यो हामी सबैको चासोको विषय बन्नु पर्दछ ।
१०. प्रगतिशील तथा प्रगतिवादी साहित्यिक सांस्कृतिक धारालाई सबल बनाउन के गर्नुपर्दछ ?
– हाम्रोमा अचेल प्रगतिशील – प्रगतिवादी साहित्यधारा फेसनजस्तो हुन गएको छ । फेसनिया सोच– जता मल्खु उतै ढल्कु । त्यसैले प्रगतिशील तथा प्रगतिवादी साहित्यसृजनाहरु अधिकांशतः विचारले भुत्ते हुँदै गएका छन् भने कतिपय आलोचनात्मक यथार्थवादमै सीमित हुन पुगेका छन् ,नवनिर्माणको,समाजवादी निर्माणको चेताग्रह तिनमा पटक्कै पाइँदैन । एकाध लेखनहरु क्रान्तिकारी वा प्रगतिवादी चेतनाले सुशोभित त देखिन्छन् तर सर्जक आफूभने उही रछ्यानको बाटो समातेको दलका पहरेदार बनेका छन् ,अर्थात् विचार र व्यवहारको तालमेल मिलाउनु तिनले आवश्यक नै ठानेका छैनन् । कोही विचारमा त प्रगतिवादी छन् तर आचारमा च्युत छन् । त्यसैले तिनले आन्दोलनलाई सबल बनाउनेभन्दा पनि तीबाट आन्दोलन कमजोर र बदनाम नै हुने गरेको छ ।
अर्काे महत्वपुर्ण पक्ष के हो भने कमजोर हुँदै गरेको राज्यसत्ता बेदखल गर्ने फरकधार हस्तक्षेपकारी सबलता प्राप्त गर्नसक्ने स्थितिमा छैन्,प्रतिरोधी आन्दोलनहरु सबल हुन सकेका छैनन् ।प्रतिरोधी आन्दोलनहरु सबल हुँदै जाँदाको अवस्थामा साहित्यिक सांस्कृतिककर्मीहरुको पनि उभार बढछ,सृजन उन्नत हुँदैजान्छ ,तथापि वैयक्तिक पहल,साधना र निष्ठा पनि महत्वपुर्ण कुरो हो ।
११. देशको अहिलेको राजनीतिक परिस्थितिको मूल्यांकन कसरी गर्नुहुन्छ ?
–देश अहिलेको अवस्थासम्म आइपुग्दा विगत दुईसय वर्षको इतिहासमा यसलाई जोगाउन बनाउन जनताले निकै ठुलो बलिदान दिएका छन् ,तर त्यो बलिदानको अवमूल्यन भएको भान भएको छ । दलाल पुँजीवादले गाँजेको गणतन्त्रात्मक संघीय लोकतन्त्रको अभ्यासिक चरणमा छौ हामी , जनता र देशको दुर्दशा बढदो छ,युवा श्रमशक्ति विदेशिन बाध्य बनेका छन् ,स्वउत्पादन शून्यप्रायः छ,बेरोजगारी चरमचुलीमा छ,विदेशीले कौडीको मूल्यमा हाम्रो युवाश्रमको दोहन गरिरहेका छन् । तिनले पठाएको रेमिटेन्स बोकेर अर्काथरी वृद्ध आमाबालाई घरबारी रुङन छोडेर नफर्किने गरी विदेशिने क्रम बढदो छ ।नेतृत्व तहका सारथीहरु भ्रष्टाचारमा लिप्त छन् । मुलुक साम्राज्यवादी र विस्तारवादी गुमस्ताहरुको क्रीडास्थल बन्दै गरेको छ । सत्ता चरित्रहीन लफंगाहरुको आमोदस्थल बनेको छ । प्रतिगमन हौसिएको छ । तर फरकधारका अग्रगामी शक्तिहरु कुण्डकुण्डमा विभाजित भएकाले प्रतिरोध आन्दोलनमार्फत् सार्थक हस्तक्षेप गर्ने सामथ्र्य जुटाउन सकिरहेका छैनन् । अतएव प्रतिरोधी शक्तिहरु सार्थक हस्तक्षेप गर्नका लागि सानातिना मतभेद थाति राखेर एकै ठाउँमा उभिनु र जनगणतन्त्रका लागि आन्दोलन अगाडि बढाउनु आजको आवश्यकता हो । यसमा हाम्रो ध्यान जानु जरुरी छ ।
प्रतिरोधी आन्दोलन सवल हुँदै जाँदा प्रगतिवादी सांस्कृतिक आन्दोलन पनि सवल हुँदै जानेछ
Comments

