– विजयरत्न ब्रजाचार्य
अध्यक्ष, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन
१) गत चैत्र २० गते देखि नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ । तपाईले नेतृत्व गरेको अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन पनि यो आन्दोलनमा सहभागी छ । काठमाडौ केन्द्रित आन्दोलनका मागहरू के के छन् ?
– नेपाल शिक्षक महासंघको अहिले भइरहेको आन्दोलनको माग भनेको २०७४,२०७८ र २०८० सालमा संचालित आन्दोलनको क्रममा नेपाल सरकार सँग महत्वपूर्ण सहमति भएका छन् । ती सबै सहमति सम्बोधन हुने गरी यथाशीघ्र शिक्षा ऐन जारी हुनुपर्छ भन्ने अहिलेको हाम्रो आन्दोलनको माग हो ।
२) यस भन्दा पहिले पनि शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । त्यो आन्दोलनमा सरकारले शिक्षकहरू सित गरेका सम्झौता किन कार्यान्वयन गरेन ?
– सरकार शिक्षक महासंघसँग सहमति गर्ने र कार्यान्वयन नगर्ने सरकारको बेइमानी हो । सरकारसँग भएका सम्झौता कतिपय मन्त्री परिषद्बाट पनि निर्णय गरी कार्यान्वयन गर्न सक्ने प्रकृतिका छन् । ती पनि पूरा गरेको छैन । जो सुकै सरकार पनि शिक्षा क्षेत्रलाई महत्व दिएको पाइएन ।
३ ) के यस पटकको आन्दोलनले तपाईहरूको माग पूरा गर्ला भन्ने लाग्छ ?
– यस पटकको आन्दोलनमा हामी एकैचोटी सडक आन्दोलनमा आएको हैन । शिक्षासँग सरोकारवालाहरु सत्ता पक्षका मन्त्री, पार्टीका अध्यक्ष, पार्टीको शिक्षा हेर्ने नेतृत्व, सांसदहरु, सभामुख सबैलाई हामी सकभर सडक आन्दोलनमा आउन नपरोस्, संसदबाट शिक्षा विधेयक मार्फत सबै खालका शैक्षिक समस्या हल होस् भनेर हाम्रो महासंघका नेतृत्व दिन रात उहाँहरुको घरदैलो चाहारेको थियो । कतैबाट सुनुवाई नभएपछि अन्त्यमा बाध्यतावश २०८२ चैत्र २० गते हामीले ७५ वटै जिल्लाका शिक्षक साथीहरुलाई काठमाडौं बोलाई सडक आन्दोलन गर्न बाध्य भयौं । अब आम शिक्षकहरु शिक्षा ऐन जारी नभई फर्कनेवाला छैनन् । हामी यो सरकारलाई हाम्रो आन्दोलनको बलबाट नै घुँडा टेकाउने हो ।
४) विद्यार्थी भर्नाका बेला शिक्षकहरूले आन्दोलन गरेर विद्यार्थीहरूलाई निजी विद्यालय तिर जाने वातावरण बनाइदिए भन्ने तपाईहरू माथि आरोप लाग्ने गरेको छ । यसबारे के भन्नू हुन्छ ?
– यसमा कुनै सत्यता छैन । हाम्रा विद्यार्थी, अभिभावक प्रति हाम्रो चिन्ता छ । हामीले हाम्रो माग पूरा भएको दिन विद्यार्थीहरुको छुट भएका पढाईलाई विदाको दिन, विहान, बेलुका जुनसुकै उपयुक्त समयमा छुट भएका पाठ पढाएर भएपनि हामीले विद्यार्थीलाई मर्का पार्ने छैनौं । हामी पूर्ण जिम्मेवारी लिने छौं ।
५) शिक्षक आन्दोलनको माग आखिर पुँजी सित
जोडिएको छ । नेपाल आफैमा गरीव देश छ । तपाईहरूको माग पूरा गर्ने आर्थिक क्षमता देश सित छैन भन्ने कुरा शिक्षकहरूले पनि बुझ्नु पर्ने होइन र ?
– यो गलत सोंच हो । आम जनताका छोराछोरीहरुलाई राम्रो शिक्षा दिन सरकारले चाहेको खण्डमा बजेट बन्छ । सरकार काम नलाग्ने ठाउँमा बजेट विनियोजन गरेको छ । शिक्षामा बजेट बढाएर आम विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनु पर्छ । यो राज्यको दायित्वमा पर्छ । बजेटसँग शिक्षा जस्तो गम्भीर महत्वपूर्ण क्षेत्रमा बजेट नपार्नु नै यो देशको दुर्भाग्य हो । अब त्यस्तो गर्नु हुन्न र सरकारले त्यसो गर्न पाउँदैन पनि ।
६) शिक्षकहरूले स्थानीय तह अन्तर्गत नरही केन्द्र अर्थात संघ अन्तर्गत रहन्छौ भन्ने माग गरेर संविधान ,संघीयता र विकेन्द्रीकरणकै विरुद्धमा शिक्षकहरूको माग छ भन्ने तपाईहरू माथि आरोप छ । के त्यस्तै हो र?
–हामीले त्यस्तो भनेको होइन । एउटै निकायलाई सम्पूर्ण अधिकार दिएपछि, शिक्षकहरुको सरुवा, बढुवा एउटै निकायलाई अधिकार दिएपछि आम शिक्षकहरुले दुःख पाएका छन् । सरुवा, बढुवा, दण्डको अधिकार एक तहमाथि निकायमा राख्दा राम्रो हुन्छ भन्ने हाम्रो भनाई छ ।
७) नेपालको समग्र शैक्षिक अवस्थाको मूल्यांकन कसरी गर्नु हुन्छ ?
– नेपालको शैक्षिक मूल्यांकन गर्दा कुनै पनि पार्टीको सरकारले शिक्षा क्षेत्रलाई महत्व दिएको पाइएन । यसैकारण शिक्षा क्षेत्र शैक्षिक माफियाहरुको अखडा बनेको छ । सरकारको दायित्वमा पर्ने सामुदायिक विद्यालयमा भएका कमी कमजोरी सुधार्नेतिर ध्यान छैन । जुनसुकै पार्टीका सरकारमा पुगे पनि शिक्षा क्षेत्रलाई बेवास्ता गरेकै पाइन्छ ।
८) शिक्षा क्षेत्रको समस्या कसरी समाधान गर्न सकिन्छ ?
–शिक्षा क्षेत्रको समस्या हल गर्न राजनैतिक दलहरुको सोंचमा परिवर्तन आउनु पर्छ । राजनैतिक दलहरुले शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेमा शिक्षा क्षेत्रमा परिवर्तन हुन सक्छ ।
९) देशको राजनीतिक अबस्थालाई कसरी मूल्याङ्कन गर्नु हुन्छ ?
–देशको राजनैतिक अवस्था कुरा गर्दा यो सरकार विचौलिया र भ्रष्टहरुको आडमा बनेको सरकार भएकोले सबै क्षेत्रमा भ्रष्टाचार भएको आम जनताले महशुस गरेकै छन् ।
१०) अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन , अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल शिक्षक संघको बीचमा एकता गर्ने कुरा थियो । एकता प्रक्रियाबारे के हुँदै छ ?
–हामी बीचमा एकता गर्नेबारेमा तीनै शिक्षक संगठनका साथीहरु बीच सरसल्लाहको आवश्यकता छ । सल्लाहबाटै एकताको प्रक्रिया चाँडै अगाडि बढ्छ ।
११ ) अन्त्यमा थप केही छ कि?
–देशभरका शिक्षक साथीहरुलाई अहिले काठमाडौं केन्द्रित आन्दोलनमा कुनै पनि बहाना नबनाई ७७ वटै जिल्लाका शिक्षकहरु आन्दोलनमा सहभागी हुन अनुरोध गर्दछु । छुट भएका शिक्षक साथीहरुलाई यो ऐतिहासिक आन्दोलनमा भाग लिन हार्दिक अपिल गर्दछु ।

