– मनु वि.क.
लडाइँको होड चलिरहेको देशमा
लडाइँको हुँकार बढिरहेको देशमा
देखाइँदैछ अत्याधुनिक हतियारको दम्भ
देखाइँदैछ बख्तरबन्द गाडीहरु
सुनाइँदैछ संख्या र शक्तिको बल
गाइँदैछ वम, गोला र बारुदको गीत
त्यो मात्रै हैन सुनाइँदैछ आणविक हतियारहरुको संगीत ।
ठूलो ठूलो स्वरमा
ठूलो ठूलो आवाजमा गाइएका हतियारहरुको गीतले
नत छ आकाश सुरक्षित
न त छ घर सुरक्षित
नछ हावा नै सुरक्षित
ड्रोन र हवाइ हमला आकाशमै टकराउँदैछ
थर्किदैछ धर्ती ।
बाँच्ने आशा लिएका मानवहरु
दानवको ड्रोनको निशानामा छन् आजभोलि
गोली र बमको त्रासमा दिन गुजार्न विवश छन्
सपनाको संसारमा रम्नेहरु असुरक्षित हुँदैछन् दिनानुदिन ।
यहाँ मानवलाई हो बाँच्न गाह्रो
दानवले त आफ्नो राज गर्न चलाउँछ अनेक हतकण्डा
यहाँ मानवलाई छ बुझ्न गाह्रो
बुझ्ने कोसिस गर्दा गर्दै मारिँदैछन् मानवहरु
अस्त्र शस्त्रको होडमा
मारिइरहेका छन् निर्दोषहरु
गुमिरहेका छन् धर्तीका भोलिका फूलहरु ।
हेर कहाँ टुट्यो र मारिनेको श्रृङ्खला
हेर कहाँ रुक्यो र मारिनेको रगत
न देशमा रुक्यो न देशबाहिर
नत सीमामा रुक्यो न महादेशहरुमा
जताततै बगिरहेछ मानवको रगत
रगतमा लाभ मनग्यै लिन सक्नेहरु
रगतमा रमाएर नाँच्नेहरु
बाँचिरहेका छन् हाँसिरहेका छन् धर्तीमा
मानवता बिर्सेर नाँच्नेहरु
सभ्यता भुलेर पाखुरा देखाउनेहरु
ध्वस्त बनाउन खोज्दैछन् यो धर्तीलाई ।
ओ संसारभरका मान्छेहरु हो
संसारभरि चलेका महायुद्धहरु सम्झ
अफगानिस्तान,इराक र लिविया सम्झ
ह्वाइट हाउसमा अपमानित जेलेन्स्कीको अनुहार बिस्र्यौर ?
आणविक विकिरण खेपिरहेको प्रशान्त महासागर सम्झिन्नौ र ?
हाल भग्नावशेषमा परिणत गाजा हेर
जहाँ धुवाँ बनाई उडाइँदैछ सभ्यता र मानवता
हवाइ हमला, ड्रोन हमला, बम र गोलाहरुले
लडाकु विमान र अत्याधुनिक हतियारहरुले
धुजा धुजा बनेर पनि शान्ति पाएको छैन गाजाले ।
ओ लडाइलाई आदेश दिनेहरु हो ,
ओ हतियारको होड चलाउनेहरु हो
आखिर जति नै हतियार थुपार यो धर्तीमा
आखिर जति नै लगानी गर हतियारमा
प्रदर्शन गर हतियारको दम्भ
हान, ठोक उडाउ ,गुडाउ हतियारहरु
हतियारले खोज्ने मान्छे नै हो
आखिर मान्छेलाई चाहिने मान्छे नै हो । २०८२ बैशाख २५ काठमाण्डौ ।

