जनसम्बन्ध विस्तार अभियानमा बटुलिएका अनुभव


नारायण योगी
(अखिल नेपाल जनसांस्कृतिक महासंघका सहसंयोजक तथा अभियान टोली नं. ३ का सदस्य)
म गड्डाचौकीबाटै यो अभियानमा जोडिएँ । टोलीमा मेरो मुख्य जिम्मा गीत संगीतको थियो । कोणसभा, अन्तक्र्रिया, गोष्ठीमा मैले गीत गाउने काम गरें । म गड्डाचौकीबाट बाँकेसम्म र त्यसपछि पश्चिम रुकुमदेखि पोखरासम्मको अभियानमा हिंडे । यसबीचमा हामीले एउटा गीत पनि बनायौं । एक दिन हामी बागलुङको ताराखोला तिर जाँदै थियौं । ताराखोलाको भुस्कात जाँदा दीपक विष्टले भन्नुभयो–“दाई तपाईले यत्रो अभियानमा एउटा गीत पनि बनाउनु भएन ।
साथीहरु वालपेन्टिङ्तिर लाग्नुभयो । अलिकति फुर्सद भयो । मैले गीत कोरें । बागलुङबाटै पोखरा संगम सांस्कृतिक परिवारका काजी गाउँलेजीहरुसित कुरा भयो । गीत रेकर्ड गर्न स्टुडियोवाला साथीले पनि निकै सस्तो जम्मा ३ हजारमा गीत रेकर्ड भयो । “जनसम्बन्ध अभियान” को गीत बन्यो । बाँके कोहलपुरका शंकर अशान्तको यो गीत र त्यसको रेकर्डिङमा योगदान छ ।
कन्चपुर जिल्लामा विशेषतः आरक्ष पिडित र सुकुम्बासी, अव्यवस्थित बसोबास साथै कमैयाको समस्या पनि टड्कारो रूपमा देखियो । कतिपय सहिद परविारका सदस्यहरूमा बेपत्ता पारिएका पनि फेला पा¥यौं । आरक्ष पीडितहरूको सुरुवात को संख्या २५०० घरधुरी रहेकोमा करिब ८ सयको व्यवस्थापन भएको बुझियो। यो समस्या समाधान गर्न सरकारले ३३ वटा आयोग बनाउने काम गरेको छ ।
कैलालीमा भूमिहीन, सुकुम्बासी, कमैया, हलिया, र अव्यवस्थित बसोबासको साथै माओवादी सरकार बन्नु अगाडि कब्जा गरिएका जमिनहरू ०६२–०६३ पछि फिर्ता गर्ने र कतिपय जग्गा स्कुल, वा कुनै संस्थालाई दिने काम भएको रहेछ।बर्दिया मा कैलाली, कञ्चनपुरका समस्या त छदैछ, त्यहाँ मिटर व्याज पीडित, अव्यवस्थित बसोबासका मानिस हरूलाई बेदखल गर्ने कामहरू भएका रहेछन् ।
कमैया, सहिद परिवारका समस्या पनि गम्भीर नै रहेछन् । बाँकेमा मुख्यतः सुकुम्बासी समस्या र अव्यवस्थित बसोबास र मिटर व्याज पीडित समस्या रहेको पाइयो । पहाडतिर यातायातमा चर्काे बस र जिप भाडाको कारणले सर्वसाधारण निकै पीडित पाईयो । कुरा सुन्न चाहिँ केही रूचि देखियो । समग्रमा बाटोसँग जोडिएका गाउँ, शहर, बस्तीसँग नै हामी जोडिएको कारण र उनीहरूको अवसरवादी चेतनाले राजसंस्था चाहिने कुरा गरे । गाउँमा जनताहरू खास धेरै खुल्न न चाहेको देखियो । धेरै ठाउँमा आफ्नो पार्टीका नेताहरू प्रति घृणा, बितिष्णादेखि यो र सबैभन्दा बढी माओवादीप्रति अविस्वास व्यक्त गरेको पनि देखियो ।


जितामित्र सुनार
बैकल्पिक पिविएम
२०८१ चैत्र ४ गते ३ नम्बर अभियान टोलीले कञ्चनपुरको गड्डा चौकीमा जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गरेको हो । अभियान टोली प्रमुख पार्टीका स्थायी समिति सदस्य कमरेड कृष्णराज पौडेलको नेतृत्व रहेको टोलीमा पार्टीका पिबिएमहरु सि पि शर्मा, शेरबहादुर देउवा, अम्बिका मुडभरी, नारायण योगी, वैकल्पिक पिबिएम जितामित्र सुनार, केन्द्रीय सदस्यहरु दिलबहादुर कठायत, दिपक बिष्ट, टंक कोइराला र झनक श्रेष्ठ अभियानमा सामेल हुनुहुन्थ्यो।
यो अभियान टोलीले तराईका जिल्लाहरु कञ्चनपुर, कैलाली, बर्दिया र बाँके मा चैत्र १९ गते सम्म अभियान सञ्चालन गरेको थियो । २० गते सुर्खेत उक्लेर ४ नम्बर अभियान टोलीसँग संयुक्त समीक्षा बैठक ग¥यो । मध्य पहाडी लोकमार्गको दायाँबायाँ गर्दै जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा, बाग्लुङ, पर्वत, म्याग्दी, स्याङ्जा, तनहुँ, कास्की, लमजुङ, गोरखा र नुवाकोट जिल्लाहरूमा अभियान सकेर काठमाडौं भ्याली प्रवेश गरेको हो । ४५औं दिनको दिन वैशाख १८ गते मे दिवसको अवसर पारेर काठमाडौंमा अभियानको समापन भएको छ । काठमाडौ जिल्लालाई समेत जोड्ने हो भने यो अभियान टोलीले १९ वटा जिल्लामा अभियान सञ्चालन गरेको छ । चारवटा अभियान टोली मध्ये सबै भन्दा धेरै जिल्ला यो अभियान टोली पुगेको छ । रोल्पा, स्याङ्जा र म्याग्दी जिल्ला अभियान टोलीको रुट न भए पनि अभियान टोली उक्त जिल्लाहरूमा पुगेर कार्यक्रम गरेको छ ।
अभियान टोलीले ४५ दिन सम्म सभा, कोणसभा, जन भेटघाट, प्रचा वितरण, भित्ते लेखन, घाइते, वेपत्ता, अपाङ्ग तथा सहिद परिवारसँग भेटघाट, अन्तरक्रिया कार्यक्रम, जनताका खेतबारीमा जन श्रमदान, पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रम, रेडियो तथा टेलिभिजन अन्तर्वार्ता, स्थानीय तहमा भेटघाट तथा अन्तक्र्रिया, छलफल कार्यक्रम, जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूसँग भेटघाट तथा अन्तरक्रिया छलफल कार्यक्रम र चिया चौतारोमा समेत बहस छलफल गरेको थियो । यस हिसाबमा जनसम्बन्ध विस्तार अभियानले प्रचारात्मक कार्य प्रचुर मात्रामा गरेको छ र पार्टीलाई जनताको बिचमा स्थापित गर्न एक तहले सफलता प्राप्त भएको छ ।
जनता तथा पार्टी पंक्तिमा राजनैतिक, सैद्धान्तिक तथा वैचारिक कार्य गरेको छ । यथास्थितिवादी शक्तिहरूको भण्डाफोर, उनीहरुको राजनैतिक चरित्र र सत्ता लिप्सा प्रवृत्तिको बारेमा जनतालाई सचेत बनाउने काम भएको छ । देशलाई प्रतिगमन तर्फ लैजाने वा यथास्थितिमा राख्न खोज्ने दुवै प्रवृत्ति गलत भएको र देशलाई अग्रगामी कार्यदिशा अनुरुप जन गणतन्त्रमा जानुपर्ने मान्यतालाई देश ब्यापी बहसको विषय बनाएको छ ।
क्रान्तिकारी शक्तिहरू बिचमा पार्टी एकता वा कार्यगत एकताको बहसको थालनीलाई देश व्यापी भएको छ । देशमा देखिएको राजनैतिक निराशालाई आशामा परिणत गर्नको निम्ति क्रान्तिकारी शक्तिहरूको बीचमा धुर्वीकरण आजको आवश्यकता हो । यही आवश्यकतालाई जोड्न सक्ने हो भने बैकल्पिक शक्ति निर्माण हुन सक्ने छ । यो कामको लागि आगामी दिनहरुमा योजनाबद्ध कामको थालनी हुनुपर्ने देखिन्छ ।
अभियानबाट प्राप्त अनुभवहरु र अनुसन्धानात्मक खोजहरूको जग्गामा आगामी कार्यक्रमहरुको निर्माण हुने आधारहरू तयार भएको छ । जनताको लागि, जनतासँग जनताद्वारा हुने हरेक प्रकारका आन्दोलनहरूमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको नेतृत्व रहने गरी थप कार्यक्रम को माग यो अभियानले सिर्जना गरेको छ ।


शोभा विश्वकर्मा
एकीकृत दलित मुक्ति मोर्चाको कार्यालय सदस्य
एकीकृत दलित मक्ति मोर्चा नेपाल, केन्द्रीय कार्यालय सदस्य तथा अभियान टोली नं. २ का सदस्य म यो डेढ महिनाको अभियानमा १ दिन मात्र अब्सेन्ट रहे । वैशाखा १६ गते पार्टीकै अर्को कामले दोलखा जानु परेकाले म भक्तपुरका कार्यक्रममा सहभागी बन्न सकेन । अरु पूरै अभियानभरी हिंडे । ओखलढुंगा मेरो लागि नयाँ ठाउँ हो । यस अभियानमा मलाई समाचार मिडियामा पठाउने जिम्मा थियो । मैले हरेक दिनको कार्यक्रमको समाचार लेखेर मिडियाका लागि समाचार पठाउने जिम्मा पूरा गरें । अर्को जिम्मा कोणसभा पिंढी सभाहरुका मैले वक्ताको भूमिका पनि रहनुप¥यो । दलित वस्तीमा दाइहरुले मलाई तपाई नै बोल्नुस भन्नु हुन्थ्यो । कतै महिलाहरुको उपस्थिति भयो भने यहाँ महिलाका बीचमा तपाई नै बोल्नुस भन्नु हुन्थ्यो । त्यहाँ पनि म बोल्थें । म खासै क्यामेरा पर्सन होइन तर यसपाली अभियानमा फोटो र भिडियो प्रशस्त खिच्ने काम गरें । नारायणा शर्मा दाइको अभिनय वा ग्रुपकै भिडियो बनाउनु पर्दा प्रायः मैले भिडियो खिच्नु पर्दथ्यो र कुनै भिडियो नारायण दाइले पनि खिच्नु हुन्थ्यो । भिडियोको इडिटिङ नारायण दाइले गर्नु हुन्थ्यो । त्यसपछि ती भिडियोहरुलाई टिकटक र फेसबुकमा राखिए । एउटा भिडियोको १५÷२० हजार देखि ५०÷६० हजारसम्म भिउअर्स भएका छन् । त्यसरी हेर्दा कैयौंलाख मानिसहरुमा सामाजिक सन्जाल मार्फत् जनसम्बन्ध विस्तार अभियान र यो अभियानको उद्देश्य प्रचार गर्न हाम्रो टोली नं २ सफल भएको छ ।
यस अभियानमा मेरो मनमा एउटा कुराले गहिरोसित छोयो । त्यो हो सिन्धुली जिल्ला गोलान्जोर गाउँपालिकाका वडा नं. ३ को गोपाल बयलकोटीको पारिवारिक अवस्था । बाँसले बारेको घर थियो । ५÷६ वटा केटाकेटी थिए । उब्जाएर खाने जग्गा रहेन छ । एउटा मिल रहेछ । आजभोलि घर घरमा मिल हुने भएकाले खासै मिल पनि चल्दो रहेन छ । हावाहुरी आउँदा उडाएर लैजाला जस्तो बुकुरो रहेछ । अभियान टोलीले नै केही पहल गरेर उहाँको घरलाई बनाउन, कमसेकम बस्न मिल्नेसम्म बनाइदिने हो कि भन्ने कुरा मैले टोलीमा राखेकी थिएँ तर त्यो पनि सम्भव भएन हामी त्यहाँबाट हिंड्यौं । अहिले पनि मेरो दिमागमा बयलकोटीको परिवारको दृश्य घुमिरहन्छ । यो समाजमा दलितको स्थिति कति पीडादायी छ भन्ने कुराको प्रतिनिधि उदाहरण हो ।
म टोली नं. २ मा हिंड्ने महिला कहिले एक्लै पनि हुनुप¥यो । जुन जिल्लामा गइन्थ्यो, त्यो जिल्लामा महिला साथीहरु हुन्थे । सुनसरी र उदयपुरमा अविका रेग्मी हाम्रो टोलीमा हिंड्नु भएको थियो । तराईका जिल्ला प्रायःधर्मशालामा साथीहरुले सुताउनु हुन्थ्यो । पुरुष साथीहरु धर्मशाला तिर जानु हुन्थ्यो । मलाई हाटबजारमा तरकारी फलफूल राख्ने गोदाम घरमा पनि साथीहरुले राख्नुभयो । गोदाम घरमा त्यहाँ सुत्ने खाट हुन्थ्यो । माकुराको जालो लागेको, एकान्तमा मान्छेहरुले हैरान पाथ्र्यो । जेहोस् फरक फरक खालका अनुभव यस अभियानमा लिइयो । यो अभियानमा पार्टीको नाम स्थापित गर्न सम्भव भयो । आगामी दिनमा यस अभियानबाट शिक्षा लिंदै जनतामा जाने कार्यक्रम बनाउनु पर्दछ ।


झनक श्रेष्ठ
वैकल्पिक केन्द्रीय सदस्य, क्रान्तिकारी कम्युिनस्ट पार्टी नेपाल तथा अभियान टोली नं. ३ का सदस्य
म चैत्र ४ गते उद्घाटन स्थल कञ्चनपुरको गड्डाचौकीबाट नै जनसम्बन्ध विस्तार अभियानमा सहभागी भएँ । कञ्चनपुरदेखि बागलुङको गल्कोटसम्म म अभियानमा निरन्तर रहें । गल्कोटबाट छुटे र काम विशेषले केही दिन काठमाडौं आएँ । फेरि म टोलीसित पोखरामा जोडिएँ तर बुबाको मृत्यु भएको खबरले तुरुन्ते फेरि काठमाडौं आएँ । टोलीमा मैले वालपेटिङ, पर्चा वितरण, जनभेटघाट, श्रमदान मिडियालाई रिपोर्टिङ गर्ने लगायतका जिम्मेवारी पूरा गर्न परेको थियो ।
यो अभियानमा थुप्रै स्मरणीय पक्षहरु छन् । कञ्चनपुरमा महाकाली नदीको शारदा व्यारेजबाट पानी सबै भारततिर लगिएको र नेपाली भूमि सुख्खा रहेछ । महाकाली नदीको टनकपुर व्यारेजमा पनि नेपालीहरुलाई ठगिएको रहेछ । दशगजा क्षेत्रमा नेपाली भूमि मिचिने गरी भारतीय प्रहरीले क्याम्प बनाएर बस्दा नेपला पक्षको प्रशासन बोल्न नसकेको निरिह स्थिति पनि हामीले त्यहाँ देख्यौं । नेपालीहरु भारततिर जाँदा सीमा नाकामा परिचयपत्र नागरिकता हेरेर मात्र सीमा पर नर्ग दिने, कडाई गर्दोरहेछ तर नेपाल पक्षले कुनै परिचयपत्र नहेर्दोरहेछ । चोर, डाँका, अपराधी जो आए पनि खुला रहेछ । नेपाली प्रहरीहरुले परिचयपत्र माग्ने हेर्ने नगर्दौ रहेछ ।
हामीले अभियानमा कैयौं सहिद वेपत्ता, परिवार, घाइते परिवारलाई भेट्यौं । मलाई बर्दियाको एउटा सहिद वस्तीको कुराले मन छोयो बर्दियाको मधुवन नगरपालिकाको बडा नम्बर १ स्थित डल्ला डाउँमा जनयुद्धकालमा १८ जना वेपत्ता, ३ जना सहिद र ८ ज ना अपांग र घाइते रहेछन् । सहिद, घाइते र वेपत्ता परिवारको गाउँमा हामीले खाना खाएका थियौं । उहाँहरुले हामीलाई कम्युनिस्टहरु, माओवादीहरु एक हुन् र पार्टीको शक्तिलाई बलियो बनाउन दिएको सल्लाह मेरो स्मरणमा रहिरहेको छ ।
विप्लव सहितको नेकपाको आठौं महाधिवेशनमा म रोल्पाको थवाङ पुगेको थिएँ । त्यतिबेलासम्म त्यहाँ जनकम्युनहरु थिए । अहिले त्यहाँ म कम्युनहरु सबै क्षतविक्षत भएछन् । एमाले, कांग्रेस, राप्रपा समेत पसेछन् त्यो गाउँमा । त्यो गाउँपालिका माओवादी केन्द्रले विजय गरेछ । केही विकास निर्माणको काम पनि भएछ तर विचारको हिसावले थवाङलाई दक्षिणपन्थी दिशामा लगिएछ । प्रचण्डले गर्न नसकेको काम अहिले विप्लवले गरेछन् । कम्युनिस्ट आन्दोलनको आदर्श गाउँलाई त्यसको वैचारिक पक्ष नै कमजोर पारिएछ । मलाई त्यस कुराले दुःख लाग्यो ।
रोल्पापछि बागलुङ तिर जाने क्रममा पूर्वी रुकुम जिल्लाको भुमे गाउँपालिकाको वडा नं. ६ महत गाउँमा त्यहाँ जनमुक्ति सेनाहरुको शालिक, युद्धमा ध्वस्त भएका प्रहरी चौकी सबैलाई संग्रहालय जस्तो बनाएर राखिएको रहेछ । युट्युवमा ती चीज देखेको थिएँ । यस अभियानमा प्रत्यक्ष रुपमा गएर हामीले देख्ने अवसर प्राप्त ग¥यौं । यो अभियानमा पार्टीको प्रचार भयो तर जनतासँग अझै सम्बन्ध बलियो बनाउन लगातार जनताको बीचमा जाने कार्यक्रम बनाउनु पर्दछ । यो संसदीय व्यवस्थाले देश र जनताको मुक्ति हुने वाला छैन । नयाँ जनवाद र वैज्ञानिक समाजवादको लक्ष्यमा पुग्न लगातार कार्यक्रम बनाएर जनतामा जानु पर्दछ ।


बाबुराम सुवेदी
केन्द्रीय सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
म जनसम्बन्ध विस्तार अभियानमा काँकडभिट्टादेखि नै सहभागी भएको हुँ । म तनहुँको मान्छे । यसपालि पूर्व नेपालका नयाँ नयाँ ठाउँको पनि अनुभव बटुल्न पाइयो । म टिममा भित्तलेखन, भाषण, पर्चा वितरण, जनभेटघाट जे काम जिम्मा पर्दछ ती काम गरें । हामी टिममा हिंड्डा निकै सौहार्दपूर्ण वातावरणमा समय विताइयो । दुःख,सुख साथीहरुका बीचमा बाँडेर हिंड्यौं । जनयुद्धका सहिद, घाइते र वेपत्ता परिवारका व्यक्तिहरुलाई भेटघाट ग¥यौं । उहाँहरुले हामीलाई कम्युनिस्ट सिद्धान्त, आचारण र संस्कृति बचाउन सल्लाह दिनुभएको छ । जनताले तपाईहरुको पार्टी इमानदार पार्टी हो भनेर जनताले हामीलाई सह्राना गरेका छन् । सत्तामा गएर देश लुट्ने काम गर्नु भएको छैन । यो इमान्दारितालाई कायम राख्नुस् भनेर जनताले सल्लाह दिएका छन् । तपाईहरुले देश र जनताको पक्षमा काम गर्दै जानुस्, हाम्रो तपाईहरुलाई सहयोग समर्थन हुनेछ भनेर जनताले भनेका छन् । पार्टीको बैठकबाट अझ जनसम्बन्ध विस्तार अभियानको समीक्षा हुन बाँकी छ । जनता बीचमा जाने गरी अब कार्यक्रम बन्नु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित