धनेश्वर पोख्रेलको “बन्दुकले विश्राम लिएपछि”

रामबहादुुर बुढा, काठमाडौं । कवि धनेश्वर पोख्रेल लिखित “बन्दुकले विश्राम लिएपछि” –कविता संग्रह बजारमा आएको छ । २०८१ चैत्रमा यो कविता संग्रह प्रकाशित भएको हो । अखिल नेपाल जनसांस्कृतिक महासंघले यस कविता संग्रह प्रकाशनको जिम्मेवारी बोकेको छ ।

यो कविता संग्रहमा ४५ वटा कविताहरु संग्रह गरिएको छ । कविता संग्रहको पहिलो कविता हो “इच्छुकहरु” । प्रगतिवादी साहित्यकार कृष्ण सेन इन्छुक एउटा कलमजीवी पत्रकार हुनुहुन्थ्यो । उहाँले बन्दुक चलाउनु भएको थिएन । बम पड्काउनु भएको थिएन । इच्छुकले केवल कलम चलाउनु भएको थियो । प्रतिक्रियावादी शासकहरुले इच्छुकको कलमसित त्रसित बने र कायरतापूर्ण ढंगले हत्या गरे । जनयुद्धकालमा इच्छुक जस्ता कैयौं सिर्जनाकर्मीहरुलाई प्रतिक्रियावादी सत्ताले हत्या गरेका थियो । इच्छुकलाई मारेर इच्छुकको विचार मर्दैन भन्ने कवि धनेश्वर पोख्रेलको विश्वास छ । निम्न शब्दहरु हेरौं,
–तिमी एक मार्छौं
हजार जन्मन्छन्
तिमी एक समात्छौं
लाख भएर ओइरिन्छन्
जति टुक्रा पार्छौं
त्यति नै शक्ति भएर फैलिन्छ
ऊ क्रान्ति हो । विद्रोह हो
तिम्रो सत्ता उथलपुथल पार्ने ।
आँधी हो ।
माथिका लाइनहरुबाट पोख्रेलको कविताहरुमा क्रान्तिकारी विचार शक्ति अन्तनिर्हित भएको देखिन्छ ।
‘बन्दुकले विश्राम लिएपछि” यस कविता संग्रहको शीर्ष कविता हो । यो कवितामा कविले जनताको संघर्ष कमजोर भएपछि जन विरोधी तत्वहरु सल्बलाउन थालेको कुरा कविता मार्फत् अभिव्यक्त गरेका छन् । जनविरोधी तत्वहरुलाई कवि पोख्रेलले “हुचिल”, “लुते कुकुर”, “काला गोमन”, “स्याल”, “हिंस्रक चितुवा” को उपमा दिएका छन् । यी कविताहरुले जनविरोधी तत्वहरुको विरुद्ध पुनः संघर्षको आवश्यकता औल्याएको छ । “छेपाराहरु” शीर्षकको कविताले अवसरवादीको चरित्र थाहा पाउन सिकाएको छ । “संकल्प”, “एक लाल सुन”, “प्रतिबद्धता” “तितो सत्य”, “अपेक्षा”, “रगतको इतिहास लेख्छु”, “रगतको मूल्य” “अधुरो सपना” लगायतका कविताहरुले क्रान्तिप्रतिको गहिरो विश्वास दर्शाएका छन् । जस्तो कि “तितो सत्य” मा कविले लेखेका छन् –

“तिमीले चाहँदैमा
क्रान्ति रोकिने भए
पर्खालभित्र कैद गरेर
तिमीले त उहिलै त्यसको बन्ध्याकरण गर्ने थियौ
यो संसार सधै स्थिर र जड हुन्थ्यो भने
शायद पृथ्वी नै अटल हुने थियो ।

क्रान्ति त आमूल परिवर्तन हो
उथलपुथल हो ढिलो वा चाँडो यो हुन्छ
भएरै छाड्छ ।

“खलंगासँग” शीर्षकको कवितामा मुक्ति युद्धका योद्दा शंकर दर्लामीको हत्या भएको देखेनौं भनेर कविले खलंगालाई सोधेका छन् । “जलजला” शीर्षकको कविताले जलजला पहाडसित परिवर्तनकारी संघर्षको सम्बन्धलाई कविले जोडेका छन् । “धर्तीको माया” शीर्षकको कवितामा कविको देशप्रेम, माटो प्रेम छचल्किएको छ ।
यसका साथै “जीवन”, “आगोका फूलहरु”, “विहानीको सन्देश”, आफ्नै शैली, “एउटा मजदुरको वयान”, “पीडाबोध”, “प्रतिक्षा”, “बुख्याचा”, “सन्देश”, “हाँक”, “मोफसल र राजधानी” , “काठमाडौंसँग, ” “नयाँ युग”, “अपिल”, “सहिदकी आमा”, “मैले नजन्माएकी छोरी”, “आह्वान”, “चुनौती”, “उदगार”, “रगतको मूल्य”, “मागपत्र”, “अधुरो सपना”, “गणतन्त्रको घोषणा”, “ऊ पनि मान्छे हो”, स्वाभिमान गुमाएको मान्छे, “एउटा सुदूरयात्रा”, “ढंडालीहरु”, “टायर” “विहानीसँग” र “सुनसरा” शीर्षकका कविताहरु यस संग्रहमा राखिएका छन् ।

कविताहरु प्रायः गद्य शैलीमा छन् । “सन्देश” शीर्षकको कविता भने पद्य शैलीमा छ । गद्य शैलीका कवितामा पनि कविले लयात्मकतालाई धेरै ठाउँमा प्रयोग गरेका छन् । जस्तै “एक लाल सुन”मा लेखेका छन् ।

“रातो देखिंदैमा सबै खुन नहुँदो रहेछ । पहेंलो देखिंदैमा सबै सुन नहुुुँदोरहेछ ।”
११२ पृष्ठको यस पुस्तकमा साहित्यकार हिरामणि दुःखीले भूमिका लेखेका छन् । यसको मूल्य रु. २०० राखिएको छ । अग्निराज पौडेल ‘अराप’ ले तयार गरेको आवरण चित्रबाट पुस्तकको साजसज्जा सुन्दर देखिएको छ । लेखकको यो तेस्रो कृति हो । यस भन्दा पहिले विद्रोहका युग, कविता संग्रह (२०६३) र बेनी मोर्चाको शब्द चित्र, संस्मरण संग्रह (२०६७), प्रकाशित भइसकेको छ । निबन्ध, लघुकाव्य, हाइकुमा पनि साहित्यकार पोख्रेलले कलम चलाएका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित