–लक्ष्मण उप्रेती
कलम समातेका औँलाहरू
गोली जस्तै गर्जन्थे शब्दहरू,
कविता बन्थ्यो बारुद,
र मसी जनताको रगत !
तिमी कवि थियौ,
तर रचना तिम्रो
केवल प्रेमका फूल मात्र थिएनन
आन्दोलनका आँधी थिए
जेलका पर्खालहरूमा
तिमीद्वारा कुँदिएका घोषणाहरू,
आज पनि लहरझैँ बज्छन्
सहरका गल्ली–गल्लीमा !
तिमी बोल्थ्यौ
वर्ग संघर्षको भाषा,
जहाँ पीडाको कथा
अधिकारको घोषणापत्र हुन्थ्यो !
र जब जनताको आवाज थुनियो बन्द कोठामा,
तिमी ढोकाभित्रै
स्वर बन्यौ, र सधैँका लागि
महान भयौ!
हिजो तिमीलाई गोलीले चुप लगायो,
आज हजार इच्छुकहरू बोल्छन्
स्कूलका कक्षाबाट,
श्रमिकका हातबाट,
किसानका हलोबाट,
विद्यार्थीका आँखा र मनबाट !
तिमी सधैँ बाँचिरहेछौ
क्रान्तिको जून बनेर,
सपना बनि उडिरहेछौ
न्यायको आकाशमा
तिमी मरेनौ इच्छुक,
तिमी ब्यूँतिरहेछौ हामीभित्र !
२०८२ ÷०२÷१३


