रक्तहोली ः इच्छुक बोलिरहेका छन

 

–प्रभात भट्टराई

सहिदको रगतमा होली खेल्नेहरू
क्रान्तिको नाममा खोल ओढ्नेहरू
ओ साम्राज्यवादका पाल्तु कुकुर
ओ स्वघोषित दार्शनिक
ओ निहत्थाको चीत्कारमाथि
शान्तिको भजन गाउने क्रूर हत्यारा हो

तिमीहरू सत्ता पिपासु,
प्रतिशोध र पूर्वाग्रहको आगो ओकल्ने
पद, शक्तिको उन्मादमा
निहत्थालाई रक्त ताण्डवमा होम्ने
मजदुर–किसानको स्वर
तिमीहरूका लागि खतरा हो—
त्यही स्वर चुँडिन्छ
तिमीहरूको गोली, जेल, र झुटको नाटकमा।

आज सहिद भुमि अन्धकारमा छ—
रक्ताम्य छ,
तिमीहरूको हिंस्रक उत्सवले।
साम्राज्यवादका पाल्तु कुकुरहरू,
न्यायको स्वरमाथि
न्युक्लियर बम ओइराउनेहरू,
तिमीहरूको ब्रह्मास्त्र
अब लाजको धुलो बन्नेछ।

ओ कम्युनिस्टका ठेकेदारहरू
तिमी क्रान्तिको नाममा पाखण्ड फैलाउनेहरू
तिमी स्वघोषित दार्शनिक,
स्वघोषित क्रान्तिकारी—
तर कर्म ?
कर्म त तिमीहरूको साम्राज्यवादकै हो।

अनेकोट रोइरहेको छ—
रगतले नुहाएको छ।
न्याय मरेको छ—
साँस्कृतिक, राजनीतिक, सामाजिक, नैतिक
सबै क्षेत्रमा पतनको गन्ध छ।
र तिमीहरू क्रान्तिको नाममा
बिचार बेच्ने ठगहरू ।

 

म अस्वीकार गर्छु ।
अस्वीकार गर्छु त्यो नपुंसक कथित नेतृत्व ।
अस्वीकार गर्छु त्यो लाज नपचाउने सत्ता ।
अस्वीकार गर्छु—

 

तिमीहरूको बम, तिमीहरूको सत्ता,
तिमीहरूको पाखण्ड—
सब ढल्नेछ,
सब बेकाम हुनेछ।

क्रान्ति फेरि जन्मिनेछ
साँचो चेतनाबाट—
रगत होइन, विचारको गर्भबाट।

न्याय मरेको छैन
केबल थकित छ
संघर्षको बाटो अझ बाकी छ
पतनको यो शासन ढल्ने छ एक दिन
साचो बिचारले फेरि उज्यालो ल्याउने छ

इच्छुक बोलिरहेका छन
क्रान्ति जिउँदो छ – सर्वहाराको आवाजमा
क्रान्ति जिउँदो छ – सर्वहाराको सासमा ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित