माथि र तलका कुरा ( निवन्ध)

 

✍️ मोदनाथ मरहट्टा

नेपाली समाजमा माथि शब्द र मान्यताले बेग्लै सुचक चिनाउँछ । गीत, गफ,सम्बाद वा ब्यबहारमा माथिको मान्यता एउटा नैतिक शिक्षा पनि बनेको छ । हाम्रो परम्पराले भन्छ आफू भन्दा माथिकालाई स्वागत सम्मान गर्नु पर्छ । यो मान्यताको पूर्ण पालना गर्नुपर्ने हो भने माथि परेकाले जतिसुकै अन्याय गरे पनि तल पर्नेले सहनु पर्छ । माथि सम्मानित पूजित वा स्थापित तह हो । होचो तहबाट नियालेर हेर्दा माथिको रुप धेरै फरक हुन्छ । माथिलाई कसरी बुझ्ने यो प्रश्नले मलाई घरिघरी तर्साउछ , सताउँछ । माथि उच्चस्थान उचो अग्लो अथवा शक्तिको श्रोत आदि हो भनेर मन त बुझाइएला तर यदाकदा माथिले मथिङ्गल फनफनी घुमाउदो रहेछ । एउटा सिङ्गो मानवको सबैभन्दा माथि टाउको हुन्छ सायद माथि भएकोले त्यसलाई माथ भनिएको होला ।

रुखको तल जरा हुन्छ त्यो लुप्त हुन्छ दृश्यमा हाँगा र पात हुन्छन र तिनीहरुले रुखको सौन्दर्य झल्काएका हुन्छन । माथिलाई तलकाले टेवा नदिए माथिको स्वत्त रहँदैन ।तल आधार हो भने माथि उचाइ हो । कहिलेकाहिँ उचाइले आधारलाइ नराम्रोसित चेप्छ । माथिबाट पहिरो खस्छ र तलको अस्तित्व भत्काइदिन्छ । पहिरो खस्नु अस्तित्व सकिनु हो । डाँडो भत्किएर बेसि पुरिनु धुरी भत्किएर जग पुरिनु अस्तित्व सकिनु हो । झट्ट हेर्दा माथि संरक्षक पनि हो किनभने माथि बादल लागेन भने तल पानी झर्दैन पानी नपरे फसल लाग्दैन ।

मानव शरीरमा आँखा माथिको अङ्ग हो । आँखा भन्दामाथि टाउको हुन्छ टाउको भित्र ठिक बेठिक छुट्याउने दिमाग हुन्छ तर कहिलेकाहिँ दिमाग मौन बस्छ र घात वा धोका हुन्छ ।पैताला तलको अङ्ग हो । बाटोमा हिँडदा कुनैबेला आँखाले ध्यान दिदैन र पैतालोमा चोट लागेर घाउ बन्छ त्यसैले त बाटोमा हेरेर हिड्ने गरौँ भनिन्छ तर के सबैले भनेको मान्छन त ? अथवा माथिकाले सधैँ सुझबुझपुर्ण हेराइ राख्छन । होइन , माथि हुनेको दम्भ नै अर्को हुन्छ हेराइ, बोलाइ, बिधि र व्यवहार अर्कै हुन्छ । एउटा परिवारमा भाइभन्दा माथि दाइ हुन्छ र जेठो बाठो कहलिन्छ । घर ब्यबहारमा उमेर पाको भएकाहरुले आफुले जीवनमा भोगेका शिक्षा आफुभन्दा तलको पुस्तालाई अर्ति वा उपदेश दिएर समाजमा घुलमिल हुन सिकाउछन । उमेरले माथि भएका कारण उनीहरु सम्मानित पनि हुन्छन् । हरेक धर्म वा साँस्कृतिक मान्यतामा धार्मिक गुरु वा अधिष्ठाताहरु हुन्छन र तिनीहरु भक्तहरु भन्दा माथि हुन्छन । उनीहरु ज्ञान बिबेकले कमजोर भएपनी मान्यताका कारण माथी पर्छन । संघ संस्था वा कार्यालय विद्यालयमा कारिन्दा र कार्यकर्ताको तह तह हुन्छ ।

कार्यलयमा सबैभन्दा माथि हाकिम भनेर चिनिएका पात्र हुन्छन । उनीहरुको काम आदेश वा निर्णय दिनु हुन्छ । माथिको आदेश वा निर्णय उल्लङ्घन गरियो भने के हुन्छ बताइ रहनु पर्दैन । मान्छे पद र प्रतिष्ठाको भोको हुन्छ त्यसैले उ माथि उक्लन अनेक हर्कत गर्न तयार हुन्छ । माथिको आसन उच्चासन भनिन्छ ।त्यो आसनमा पुग्नेहरुलाई नीति नियम र सहिँताको कुनै धारा उपधारा र अनुसुचिले छुदैन । देखिएको वा सुनिएको छ माथिल्लो तहकाहरुले गल्ती वा बदमासी गर्छन तर कार्वाहीमा पर्ने तल्लो तहकाहरु हुन्छन । सङ्घ सँस्था वा पार्टी सङ्गठन जुनसुकै निकायमा माथिको तह निर्णय वा कार्यान्न्वयनमा त्यही शक्ति हावी हुन पुग्छ । तपाईं हामी कुनै सामुहिक भोज भतेरमा सामेल छौँ तर पहिले थाली , चम्चा समाउनेमा माथिको पात्र अघि सरेको हुन्छ । माथि र तलमा विभेद भोज भतेर सभा समारोहमा मात्र हुदैन ।यस्तो विभेद घरभित्र पनि चलायवान छ । घरमा बा हुन्छन दाइ हुन्छन उनीहरु पदेन माथि हुन्छन् र अह्रन खटनको दाबेदार हुन्छन । तल्लो दर्जामा छोरी बुहारीहरू हुन्छन्र उनीहरु सधैँ दलनमा पर्छन ।

सङ्घ संस्थामा तलबाट छानिएर वा माथिबाट तानिएर एउटा कमिटी बन्छ उनिहरुले नीति , नियम वा सहिँताको निर्माण गर्छन तर लागू हुने मामिलामा “माथिको बोली तातो गोलि तलको बोली सधैँको झोली” बनेझैँ हुन्छ । यस्तो कमिटीले तलको कुरा सुन्दै सुन्दैनन्।अक्सर बुर्जुवा राजनीतिक संघ सङ्गठनमा लागू हुने यो मान्यताले अहिले समाजमा अस्थिरता र अराजकता ल्याएको छ । शक्ति वा पहुँचमा पुग्नु माथि पर्नु वा माथि हुनु हो । यस्तो प्रबृतिले शक्तिहीनहरूलार्इ तल देख्दछ र पहुँचको आडमा आफ्नो हित अनुकुल निर्णय लिन्छ । अझ राज्य श्रोत वा शक्तिको नजिक पुगेपछि उm भित्रको मपाइँत्व बढ्छ ।

त्यस्ता पात्रहरू मुलुकले अङ्गिकार गरेको कानुन, संहितालाई पैतालाले कुल्चिएर शक्तिको प्रदर्शन गर्छन। उनिेीहरुसित कानुन सुरक्षा र अख्तियार सबै हुन्छ । हामिले देखे सुनेका छौँ माथी हुने गरेका बेथितिहरु प्रत्येकको गहिराइमा पुगेर दण्ड वा नसियतको परिणामसम्म नपुगी इलिमिलिझिली भने जस्तो भैरहेको छ । हाम्रो समाजमा चलेको एउटा उखान ूठुला बिराउने साना पिराउने ू भनेजस्तो यत्रतत्र फष्टाएको देखिन्छ ।

 

माथिको बुझाइमा एकपाखे हेराइ भयो भन्ने ठाउँ देख्न सकिएला तर माथिको विपरीत तल पनि ध्यान दिन जरुरी छ । एउटा सिङ्गो रुखलार्इ लिउँ माथि बनेका पातहरुले सूर्यबाट ताप लिएर तल जरालाइ दिने र जराबाट रासायनिक तत्व लिएर पातलाइ दिएर आफ्नो पोषण तयार गर्ने बिधिलाई हामीले भुल्नु हुदैन । प्रकृतिमा हुने असिना पानी वा घामको ताप माथिले खपेर तलकालाई आश्रय दिन्छ । हरेक शक्ति जीवन्त राख्न तल दह्रोसङ्ग अडिन सक्नु पर्दछ । जग बलियो भए घर बलियो हुन्छ भन्ने मान्यता यसै स्थापित भएको होइन । माथि निर्णायक तह हो भने तल आधार तह हो । तर कहिले काहीँ माथिले तल हेर्दा तललाई गंवार देखिने र तलबाट माथि हेर्दा दम्भी देखिने अति बादलाई सन्तुलनमा राख्न सकियो भने हरेक वस्तुको सापेक्ष सन्तुलन हुन्छ । हिन्दु वर्ण ब्यबस्थामा जातियताको एउटा लामो परम्परा बाँचेको छ जसको सहारा लिएर बाहुन भन्दा माथिजात छैन भन्दै तल्लो श्रमिक वर्गलाई अपमान गर्ने गरिएको छ तर त्यही तल्लो जात भनिएको वर्ग बिना माथिल्ला जातको उत्पादन दिगो हुदैन तर यो असन्तुलन निमिट्यान्न बनाउन सकिएको छैन ।
राज्यका नागरिकलाइ बाँध्ने भनेको राज्यले अख्तियार गरेको संहिताले हो तर पद र प्रतिष्ठामा हालिमुहाली गरेका पात्रहरु आफू नागरिक भन्दा पृथक रहेको दम्भ पाल्छन र नैतिक मान्यता समेत कुल्चन्छन । ब्यक्ति वा समुदायभित्रको गरिबि र पछौटेपनलार्इ पनि तल्लोतहको भनेर बुझ्ने र व्यवहार गर्ने गरेको पनि पाइन्छ । वस्तुलाई चलायमान बनाइ राख्न तलकाको समस्या माथिले र माथिको अल्झन तलकाले सन्तुलन मिलाउने व्यवहार तालिका मिल्यो भने तल र माथिको विभेद अन्त्य हुन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित