देखिने जीवन र भोगिने दैनिकी निकै फरक हुन्छ परदेशमा

-नवीन बस्याल
हामी नेपाली रोजगारका निम्ति विदेशका धेरै मुलुकमा पसिना बगाइरहेका छौँ । यसरी पसिना बगाइरहनेमध्ये अधिकांश बाध्यता र केही रहरको कारण पनि हुन्छ । युवाका बाध्यताको पछाडि नेपाल सरकार र देशको नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिको कुशासन, भ्रष्टाचार मुख्य रूपमा जिम्मेवार छ ।
देशमा राणाशासन, पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था र गणतन्त्रसम्ममा पनि युवाको विदेश पलायन नियति बनेको छ । नेपाली युवाका दुःखका धेरै आयाम रहेका छन् ।
नेपालमा राजतन्त्र १८२५ देखि २०६३ सालसम्म नेपालको शाहवंशका शासन थिए अर्थात् शाहवंशीय राजा नेपाल अधिराज्यको राष्ट्रप्रमुख थिए । नेपालका राजा शाह वंशका प्रमुखसमेत थिए भने नेपालको पहिलो संविधानसभाले २०६५ जेठ १५ गतेका दिन देशमा गणतन्त्रको घोषणा गरेको थियो (यहाँ २०६३ वैशाख ११ गते जनआन्दोलनको विजय भइसकेकाले २०६५ जेठ १५ गतेसम्मको अवधिलाई पनि गणतन्त्रको अवधि मानिएको छ) ।
नेपाल राजतन्त्रात्मक हिन्दु राज्य थियो तथापि १९०३ देखि २००७ सालको राजनीतिक परिवर्तनसम्म देश जहानियाँ राणाशासनको नियन्त्रणमा रहेको थियो । २०४६ सालको जनआन्दोलनपछि देशमा नयाँ संविधान लागु गरिएको थियो र देश संवैधानिक राजतन्त्रात्मक राष्ट्रमा परिणत भएको थियो । यसरी देशले बेग्लाबेग्लै शासन व्यवस्था भोगेको छ ।
यति लामो नेपाल र नेपालीको इतिहास बोकेको देशमा पछिल्लो समयमा विश्वसँगै नेपालमा पनि प्रविधिको प्रयोग भयो । देशमा शिक्षा, स्वास्थ्य, रोजगार र कृषिको राम्रो व्यवस्थापन गर्न सकेको अवस्था रहेको छैन । देशमै केही गर्छु भन्ने युवालाई सरकारको सहयोग लगायतका व्यवस्थापन गर्न सकेन । राजनीतिक पार्टीका नेताहरूले केवल सरकार र सत्तामा कसरी पुग्ने र राष्ट्रको ठुलो मान्छे बन्ने भन्नेमा आफूलाई केन्द्रित गरेका छन् । नेपाली युवाहरू धेरै मुलुकमा कानुनी रूपमा गएका छन् । कैयौँ मुलुकमा गैरकानुनी तरिकाले नेपाली युवा जीवनको सुन्दर सपना बोकेर महिनौँ पैदलयात्रा कैयौँ जोखिम मोलेर युरोप र अमेरिकी मुलुकमा पसेका खबर हिजोआज यत्रतत्र सार्वजनिक सञ्जालमा दिनहुँ आइरहन्छन् ।
देशमा गणतन्त्र आएको पनि लामो समय भइसक्यो । विसं २०६५ साल ज्येष्ठ १५ गते राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना भएको थियो । त्यसपछिको संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो । जनताको एक जना छोरा राष्ट्रपति भए पनि बाँकी करोडौँ छोराछोरीको दैनिकी कठिन बनेको छ । गणतन्त्रले मात्रै जनताको जीवन सहज बनाउन सक्ने रहेनछ भन्ने देखिएको छ ।
यी सकारात्मक पक्षका बाबजुद मेरा धेरै प्रश्न छन् ः के डाँडामा बनाएका भ्युटावरले विदेश जाने युवालाई रोजगार दिएको छ ? सडक निर्माण भएर सिङ्गो देशका युवालाई रोजगार मिलेको छ ? के सरकारले कृषिक्षेत्रमा युवालाई उत्साहजनक कृषि गर्ने योजना उपलब्ध गराएको छ ? यस्ता धेरै अनुत्तरित प्रश्न युवामाझ छन् ।
यी सबै कारणले मैले देशका नयाँ कर्णधार विदेश पलायन हुनुमा देशको शासनसत्ताको दोष देख्छु । शासन धेरैपटक फेरियो । सरकार सत्ता धेरैपटक फेरियो तर व्यवस्था थोरै केहीबाहेक जस्ताको त्यस्तै छ । शासनसत्ता फेरिए पनि जनताको जीवन परिवर्तन हुन धेरै समय लाग्ने देखिन्छ ।
देशका युवाहरू दिनहुँ अध्ययन र जीवनयापन गर्ने योजनाका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश लागेको देखिन्छ । यो सिलसिला अबको केही वर्षमा नरोकिए देशको अबस्था जटिल बन्दै जानेछ । वर्तमान अवस्थामा हामी परदेशबाट स्वदेश आउनेजाने गर्दै गर्दा देशका अधिकतम जिल्लाका मान्छेसँग भेटघाट, विचार आदानप्रदान गर्दा गाउँमा बुढाबुढी बाबाआमा बाहेक कोही नभएका कुरा चलिरहेका हुन्छन् ।
हामी विदेशबाट फर्किएर गाउँमा जाँदा वा गाउँका हिजो मेलापात गर्दा भारी बिसौनी चौतारा जङ्गलमा परिणत भएका भेटिन्छन् । पानी भर्ने कुवा भासिएर गएका छन् । वस्तुभाउ चराउने जङ्गल मान्छे छिर्नै नसकिने भएका छन् । गाउँका स्कुलमा विद्यार्थी हरेक वर्ष घट्दै गएका छन् । हिजो गाईंभैसी बाख्रा पाल्ने गोठ भत्किएर माटोमा परिणत भएका विषय उठ्ने गर्दछन् । हामी युवा फेरि कृषिक्रान्तिका कुरा फेसबुकमा लेख्छौँ । टिकटकमा भिडियो बनाउछौँ तर वास्तविकतामा हामीले पनि ती काम गर्न सकेका हुँदैनौँ । काम गरेकाहरूले पनि उचित ढङ्गले आयआर्जन गर्न सकेका छैनन् ।
अर्कोतिर, आफ्नो परिवारलाई गाउँमै बसेर आफ्नै खेतबारीमा अन्न उत्पादन गर्नुपर्छ । सहरभन्दा गाउँमा बस्नु स्वास्थ्यको लागि राम्रो हो भन्न सक्दैनौ । विडम्बनाको प्रश्न यो पनि छ । हामी विदेशमा हुनेहरूले परिवार उठाएर सहरमा ल्याएर राखेका छौँ । यसले देशको सामाजिक व्यवस्थालाई भद्रगोल बनाएको छ ।
यता, जीवनका सुन्दर सपना कुटुरो पारेर बुढा बाआमा, हुर्किंदै गरेका सन्तान, भर्खर जीवनयात्रामा जोडिएको जीवनसाथी, जन्मिएको घरगाउँ छोडेर बिरानो मुलुक, जहाँ भाषा मिल्दैन, जसको संस्कृति मिल्दैन, जहाँको हावापानी मिल्दैन—यावत् बाध्यताको बाबजुद पनि जीवन चलाउन अर्को मुलुक लागेका मान्छेका सुखदुःखका कथा विभिन्न छन् ।
देशको विषय आफ्नो ठाउँमा छोडेर विदेशको कुरा गरौँ । रोजगारीका लागि विदेश आएका युवाको जिन्दगी सोचेकोजस्तै छ त ? नेपालबाट विदेशमा जाने युवाले एक प्रकारले सपना देखिरहेको हुन्छ । आफ्नो जीवनलाई सुखी र समृद्ध बनाउने योजना बनाएको हुन्छ तर विदेशको वास्तविकता बेग्लै रहेको हुन्छ ।
विशेषतः महँगो लगानी गरेर जाने देशहरू जापान, अस्ट्रेलिया, क्यानडा, अमेरिकालगायतका देशमा जुन एकदिने छुट्टीका सुन्दर तस्बिर सार्वजनिक सञ्जालमा सार्वजनिक गरिन्छ, ती तस्बिरभित्रको वास्तविक भोगाइ निकै फरक हुन्छ । कतिपय तस्बिर त सुन्दर देखिनकै लागि मुस्कुराइएका हुन्छन् ।
म आफै जापानमा बस्ने भएर मेरा पनि यो खाले थुप्रै अनुभव छन् । नेपालबाट अन्य मुलुक वा मेरो भोगाइको देश जापानमा म आउँदा करिब ९५ हजार नेपाली छन् भन्ने सुनिन्थ्यो तर अहिले डेढ लाख नाघिसकेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित