क्रान्तिकारीहरुको एकता र प्रष्ट सैद्धान्तिक समझको आवश्यकता छ

–प्रभुनारायण बस्नेत, राजनीतिक विश्लेषक
१) तपाईको राजनीतिक र सांगठनिक जीवनको प्रारम्भ कसरी भएको थियो ?
त्यसबेलाको परिस्थिति, साथीभाइसँगको संगत, मेरो आफ्नै स्वभावले मलाई राजनीतितर्फ आकर्षित गरेको हो । गाउँघरमा हुने शोषण, अन्याय, अत्याचार नसहने मेरो स्वभावले म सानै देखि विद्रोही खालको थिएँ । हाइस्कूलको संगत, अध्ययन र सम्पर्कले त्यसलाई राजनीतिक चेतनातर्फ मोडिदियो । र, म राजनीतिक, सांगठनिक सम्पर्कमा पुगें ।
पंचायतको उत्कर्ष अवस्था, नेपाली कांग्रेसको ओखलढुंगा, सोलु सैनिक अभियानमाथिको दमन, नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) को सक्रियता आदिले चाँडै मुक्ति सम्भव छ भन्ने सन्देश दिंदै थियो । हामी ‘टिनएजर’ हाइस्कूलका विद्यार्थीहरुमा त्यसको रंग नलाग्ने कुरै थिएन । युवा रगत र त्यसलाई भड्काउने तत्व मिलेपछि पंचायती क्रुरताबाट मुक्तिको बाटो खोज्ने क्रममा नै म २०३४ सालतिर नेकपा (चौम) को सम्पर्कमा पुगेपछि राजनीतिक, सांगठनिक जीवनमा प्रवेश गरेको हुँ ।
२) २०४० मा चौथो महाधिवेशनमा विभाजन भइ मशाल र चौथो महाधिबेशन दुई पार्टी बनेको घटनालाई यहाँले कसरी स्मरण गर्नु हुन्छ ?
–नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) त्यस समयको देशको सबभन्दा संगठित, सशक्त र प्रभावकारी राजनीतिक दल थियो । नेपाली कांग्रेस प्रवासमा नै सीमित भएको र अन्य वामपन्थी दलहरु वक्तव्यवाजीमै अस्तित्व देख्ने बेला चौम एउटा क्रियाशील र आशा लाग्दो विकल्प थियो ।
जनमत संग्रहमा केही समय धरमर भए पनि छिटै बहुदलको पक्षमा आफूलाई उभ्याएर उसले एउटा परिपक्व राजनीतिक शक्तिको रुपमा सिद्ध गर्ने मौका गुम्न दिएन । २०३६ भदौ २४ गतेको देशव्यापी प्रदर्शनमा जनकपुर बाह्रविघा मैदानमा भएको लाखौंको प्रदर्शनले चौम कति शक्तिशाली छ, जनतामा कति भिजेको छ भन्ने देखाइसकेको थियो । त्यसले प्रतिक्रियावादी शक्तिलाई सचेत हुनुपर्छ भन्ने लाग्नु स्वभाविक थियो । हुन त जनताले पनि अब यही हाम्रो मुक्तिदुत हो भन्ने ठानिसकेका थिए । प्रतिस्पर्धी राजनीतिक शक्तिमा पनि अस्तित्व जोगाउने चिन्ता थियो ।
यस्तो अवस्थामा चौममाथि आन्तरिक र बाह्य षडयन्त्र हुनु, विभाजन गराउने प्रयास गर्नु, अन्तर्विरोधलाई गलत दिशामा मोडेर खेल्नु स्वभाविक थियो । ऋषि देवकोटाको पार्टी परित्याग त्यही शिलशिलाको एउटा कडी थियो ।
२०३९÷४० सालको विभाजन त्यसेको एउटा दुर्भाग्यपूर्ण पाटो थियो । चौम विभाजनले मुलुकको श्रमजीवी जनताको सबभन्दा भरपर्दो केन्द्रलाई विखण्डन गराउने काम भयो । त्यसपछि आएका शक्तिहरुले राजनीति, सिद्धान्त, आदर्श, मूल्यमान्यतालाई दोहन गरी, शक्ति आर्जन र संगठित भ्रष्टाचारमा लिप्त रहे । चौमभित्र केही गम्भीर मतभेद जरुर थिए तर तिनलाई पार्टी पद्धतिभित्रै रहेर र हार्दिकतापूर्वक हल गर्ने उपाय खोज्नुपथ्र्यो । त्यसो हुन सकेन ।
त्यस घटनाले समर्पित युवा कार्यकर्तामा ठूलो चोट पु¥यायो । र, त्यसक्रममा कैयौंले पार्टी नै छोड्ने अवस्था आयो । हामी अग्रपंक्तिका युवा कार्यकर्तालाई दिग्भ्रमित पार्ने, विभाजनपछि एकले अर्कालाई अराजनीतिक व्यवहार गर्ने, गालीगलौज गर्ने, तुच्छ आरोप लगाउने काम भयो । त्यो मेरो जीवनको सबभन्दा कटु अनुभव र विष्मयकारी घटना थियो ।
३) निर्मल लामाले नेतृत्व गरेको नेकपा ( चौ.म.) को विद्यार्थी संगठनको केन्द्रीय अध्यक्ष भएर पनि काम गर्नु भयो । आफू विद्यार्थी संगठनको केन्द्रीय अध्यक्ष हुँदाखेरिको आफ्नै कार्यकालको मूल्यांकन कसरी गर्नु हुन्छ ?
–म लगभग तीन वर्ष अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष भएर काम गरेेंं । ती तीनै वर्ष आन्दोलन र संघर्षमा नै बिते । २०४६ सालको संयुक्त जनआन्दोलन, भारतीय नाकाबन्दी विरुद्ध भएको संघर्ष, सैद्धान्तिक,राजनैतिक र आन्दोलन आदिमा हामीले सक्रिय र नेतृत्वदायी भूमिका खेलेको कुरा इतिहासमा अंकित छ । म नेतृत्वमा भएकै बेला आन्दोलन सफल भयो, बहुदल आयो र त्यसपछि नै विभाजित वामपन्थी शक्तिहरु पुनः एकीकरणको अभियानमा जुटे । नेकपा (एकताकेन्द्र), एमाले, नेकपा संयुक्त त्यही अवधिमा निर्माण भएका हुन् ।
त्यसरी हेर्दा मैले मेरो कार्यकाललाई उपलब्धिमूलक र सार्थक नै भएको ठानेको छु र म आफैले पनि र मैले नेतृत्व गरेको संगठनले पनि अधिकतम योगदान गरेको घटनाक्रमले प्रष्ट देखाएका छन् । अप्ठ्यारो परिस्थिति, सीमित साधनस्रोत, संगठित गतिविधिका लागि प्रतिकूल अवस्थाका बाबजूद हामीले आन्दोलनमा, संगठनमा र समग्र क्षेत्रमा उत्कृष्ट परिणाम दिने कोशिस नै ग¥यौं । र, त्यसमा अपेक्षाकृत कामयावी पनि मिलेकै मान्नुपर्छ ।
४) नेकपा ( एकताकेन्द्र) छँदा खेरि त्यस पार्टीमा के कुरा चित्त बुझेको थिएन र तपाईं बहिर्गमित हुनु भयो ?
–सुसंगठित, प्रतिबद्ध र सशक्त राजनीतिक शक्तिको अभावमा क्रान्ति सम्भव छैन भन्ने हामी युवाहरुको धारणा थियो । त्यस्तो शक्तिको निर्माणका लागि हामी अहोरात्र सक्रिय रह्यौं । पार्टीहरुमा भएको एकता अभियानमा त्यसको पनि भूमिका छ ।
तर पार्टी एकता मात्र ‘सलुशन’ होइन रहेछ भन्ने कुरा तत्कालै अनुभव भयो । एकतापछि चौम पक्षधरलाई मशाल पक्षधर नेता कार्यकर्ताले दक्षिणपन्थी भन्ने छुट्टै व्यवहार गर्ने, कार्यकर्तालाई होच्याउन, भड्काउन प्रयास गर्ने जस्ता हर्कत निरन्तर गरे । ठोकी हाल्नुपर्छ, ठोक्नुको विकल्प छैन भन्ने, संगठन, वैधानिक संघर्ष, आन्दोलनलाई पूर्णतः उपेक्षा गर्ने काम निरन्तर भइरह्यो । त्यस्तो परिस्थितिमा प्रशन्नचित्तले काम गर्ने, काम प्रति मन लाग्ने अवस्था सम्भव थिएन । र, पनि म शतप्रतिशत इमान्दार भएर पार्टी र आन्दोलनको काममा लागेकै थिएँ । त्यतिकैमा एकदिन एक जना साथीले युवा बुलेटिन भन्ने प्रकाशन हेर्नुभयो भनेर देखाउनु भयो । त्यसमा एकताकेन्द्रका महामन्त्री अर्थात् हाम्रो नेता प्रचण्डको लामो अन्तर्वार्ता थियो । त्यो अन्तर्वार्ता लिएका थिए मशालका युवा नेता (शशिकुमार) जो पछि रवीन्द्र श्रेष्ठको नामले माओवादी नेता बने ।उनले प्रकाशित गरेको बुलेटिन मशालको युवा संघको मुखपत्र थियो ।
त्यो अन्तर्वार्ता पढेपछि मैले प्रचण्डको अध्ययन, दृष्टिकोण र उनको राजनीतिक हैसियत प्रष्ट देखें । उनलाई सोधिएका अनेक प्रश्न र उत्तर अन्टसन्ट थिए । उदाहरणको लागि एउटा प्रश्न र उत्तर तपाईहरु नौलो जनवाद भन्नुहुन्छ, त्यो नौलो जनवादी भनेको चाहिं के हो भन्ने प्रश्नमा प्रचण्डले भनेका छन्– नौलो जनवाद भनेको माओको गुरिल्ला वारफियर हो । यस्ता अन्योलले भरिएका जथाभावी बोलेका र पार्टी पंक्तिलाई नै गुमराहमा पार्ने अनेक प्रसंग छन् त्यहाँ ।
मैले त्यो अन्तर्वार्ताको टिप्पणी लेखेर उषा साप्ताहिक भन्ने पत्रिकामा छपाए । त्यही लेखेवापत मलाई पार्टीले कार्वाही ग¥यो र त्यसलाई अस्वीकार गरेर मैले पार्टीमा काम गर्न छाडें । एकताकेन्द्रमा नीतिगत, सैद्धान्तिक, राजनीतिक मात्र होइन रणनीतिक र कार्यनीतिक क्षेत्रमा पनि ठूलो अन्योल थियो । त्यो एउटा पार्टी नभएर एउटा मोर्चा थियो र मोर्चाका घटकहरु छुट्टाछुट्टै बैठक बसेर मोर्चाको बैठकमा फरक धारणा लिएर जान्थे । त्यस्तो अवस्थामा र त्यही रुपमा पार्टीमा बस्नु काम गर्नु समयको बर्बादी मात्र हुन्थ्यो, त्यसैले पनि मैले कार्वाही स्वीकार गरेर पार्टी कामलाई निरन्तरता दिन आवश्यक ठानिन ।
५) २०५१ मा नेकपा (एकताकेन्द्र) विभाजित भए पछिका दिनहरूमा यहाँको पार्टीगत जिम्मेवारी के कस्तो रह्यो ?
–मशाल पक्षधरले २०५१ सालमा माओवादी पार्टी गठन गरेर ‘सशस्त्र क्रान्ति’ मा जाने निर्णय गरेपछि चौम (निर्मल लामा) पक्षधर नेता, कार्यकर्ताले एकताकेन्द्रलाई निरन्तरता दिने निर्णय गरे । म प्रचण्डहरुको कोपभाजनकोे शिकार भएपछि पार्टीमा थिइन । त्यसै क्रममा लामाजीले भेट्न बोलाउनुभयो । म गएँ । उहाँले फेरि पार्टीमा काम गर्न भन्नुभयो, एउटा विभागको जिम्मेवारी सम्हाल्न भन्नुभयो, मैले स्वीकार पनि गरें । त्यसको केही समयपछि फेरि लामाजीसँग भेट भयो । उहाँले तपाईलाई पार्टीमा काम दिन सकिन, साथीहरु मान्नु भएन भन्नुभयो । मैले मलाई रोजगारी चाहिंदैन भने र, त्यसपछिदेखि पार्टीमा आबद्धता आज पर्यन्त छैन ।
पहिले प्रचण्डको कारणले मैले पार्टी छोडें र पछिल्लो पटक केही साथीहरुले मलाई प्रतिस्पर्धी ठानेर पार्टीको जिम्मेवारी दिन नचाहेका कारण म फर्केर पार्टीमा नगएको हुँ । त्यसपछि मेरो जिम्मेवारी रहने कुरै भएन ।
६) यहाँको पत्रकारिताको अनुभव पनि सुनौ न ।
–आफ्नो सम्पूर्ण कुरा पार्टी र राष्ट्रलाई सुम्पिएर हिंडेको मलाई पार्टीबाट दूधमा परेको झिंगा फाले झैं फालेपछिको विकल्प हो मेरो पत्रकारिता ।
हुन त पार्टीमा हुँदा पनि पटकपटक पार्टीले चलाउने गरेको बैधानिक पत्रिकामा जिम्मेवारी लिएर काम गरेको अनुभव पनि छ मेरो । तर पार्टीको पत्रिकामा काम गर्दाको भन्दा अलग्गै आफैले सारा जिम्मेवारी लिएर पत्रिका चलाउनु सजिलो काम चाहिं होइन । पार्टी छाडेपछि मैले विवाह गरें । जीविकाका लागि पत्रपत्रिका स्टेशनरी पसल चलाएँ । आफै प्रकाशक÷सम्पादक भएर शिखर मासिक र जनसंचार साप्ताहिक पत्रिका चलाएँ । पत्रकार महासंघमा काम गरें । तितामिठा अनुभवको त चाँङै छ नि !
७) पत्रकारिताको क्षेत्रबाट आजको बदलिदो समयमा वामपन्थी आन्दोलनलाई टेवा पुग्ने गरी गर्नु पर्ने काम के हो ?
–हेर्नुस, आजको अवस्थामा पत्रकारिताबाट सहजै टेवा पु¥याउन सकिने काम भनेको विकृति विसंगतिलाई मलजल गर्ने मात्र हो । भ्रष्टाचारको उत्थान, विकृतिको प्रबद्र्धन गर्न, नेताको चाकडी गर्न, पार्टीगिरी गर्न, धम्क्याएर प ैसा उठाउन मात्र पत्रकारिता क्षेत्रको उपयोग हुन सक्छ । वामपन्थी वा कुनै पवित्र उद्देश्यबाट गरिने कर्ममा यसबाट सहयोग पुग्छ भन्नु मूर्खता हुन्छ ।
कार्लमाक्र्स पनि पत्रकार भएको कुरा गरेर उनले गरेको संघर्षको कथा भनेर आजका पत्रकारलाई प्रेरित गर्न सकिंदैन । लेनिनले त ‘इश्क्रा’लाई भयंकर विस्फोटक सामाग्रीको रुपमा प्रयोग गरेका थिए । उनले पत्रिकालाई संगठनको र क्रान्तिको नेतृत्वकर्ता बताएका थिए । के आजको पुस्ता पत्रपत्रिका र पुस्तक पढ्छ त, गहन छलफल, बहस संचालन गर्न पत्रपत्रिकाको उपयोग गर्छ ? जब पठन संस्कृति नै हराइसक्यो भने हामीले पत्रकारिता मार्फत् आन्दोलनलाई दिशाबोध गर्ने, अघि बढाउने, सुदृढ गर्ने कार्य कसरी गर्न सक्छौं र ? यी काम गर्नु अघि राजनीतिक विकृति हटाउन प्रयत्न गर्नुप¥यो । राजनीतिको प्रतिविम्व नै अरु सबै क्षेत्रमा पर्ने हो र पत्रकारितामा पनि त्यही हुन्छ । राजनीति नसङ्लिकन पत्रकारिता मात्र कसरी सङलिन्छ र ?
पत्रकारितालाई यो विकृतिको दलदलबाट निकाल्न सकियो भने वामपन्थी आन्दोलनको अगुवा मोर्चाको रुपमा यसलाई खडा गर्न सकिन्छ । यस माध्यमलाई प्रयोग गरेर भ्रम, अन्योल, दुविधा हटाउन सकिन्छ । कार्यकर्तालाई सैद्धान्तिक छलफल चलाउने मञ्च बनाउन सकिन्छ । लेनिनले भने झैं नै आन्दोलनको बाहकको रुपमा यो साधनलाई उपयोग गर्न सकिन्छ ।
८) तपाईको जन्म भूमि सोलुखुम्बु । सोलुखुम्बुको कम्युनिस्ट आन्दोलनको संक्षिप्त रूपरेखा सुनाउनु पर्दा के भन्नू हुन्छ ?
–राणा शासनमा पूर्व तीन नम्बर भनिने सोलुखुम्बु, ओखलढुंगा र खोटाङ दुर्गम, अविकसित र पछौटे क्षेत्र हुन् । आज पनि यो क्षेत्रको समुचित विकास भएको छैन । शिक्षा, स्वास्थ्य, यातायात, संचार जस्ता क्षेत्रमा यो भूमि पछौटे अवस्थामा रहेको छ भने सोलुखुम्बु पचासवर्ष अघि कुन रुपमा थियो होला कल्पना गर्नुस् त !
राजनीतिलाई गति दिने माध्यम चेतना हो, चेतनाका लागि ज्ञान, शिक्षा र संचारको आवश्यकता पर्छ । वामपन्थी आन्दोलन, कम्युनिस्ट पार्टीका त झन अनेक नाटीखुटी छन् । अनेक पन्थ छन्, संगठन, अनुशासन, संघर्षका अनेक पक्ष छन् । त्यसको विधि पनि पु¥याउनु पर्छ । सबै कुरालाई पूरा गरेर मात्र आन्दोलनको मूलप्रवाहसँग जोडिन सम्भव छ ।
दुर्गम स्थानमा त्यो काम त्यति सहज पनि हुँदैन । जे भएपनि हाम्रो क्षेत्रमा कम्युनिस्ट पार्टीको विउ रोप्ने चौथो महाधिवेशन नै हो । भलै अहिले एमाले अग्रस्थानमा छ, चौम पृष्ठभूमि कै माओवादी पनि हाराहारीमा नै छ । पन्ध्र सालको आम निर्वाचनमा सम्पूर्ण माझ किरात कांग्रेसको कब्जामा थियो । अहिले वामपन्थीहरुको वर्चश्व जस्तै छ । ०३६ सालमा खार्पाकाण्ड, सेखुवा काण्ड भएको खोटाङमा पनि चौमकै राजनीतिक आधार थियो र ती संघर्ष पनि चौम पक्षधरबाटै भएका थिए ।
९) नेपालका कम्युनिस्ट पार्टीका नेताहरूलाई यी धेरै जसो कम्युनिस्ट नै होइनन् भन्नु भएको सुनियो । किन त्यसो भन्नू भएको हो?
–कम्युनिस्ट नेताहरु आचरण, व्यवहार र दृष्टिकोणबाट चिनिनुपर्छ । जसरी कम्युनिस्ट पार्टी सिद्धान्त, दृष्टिकोण र विचारधाराका आधारमा बन्छ त्यसैगरी नेता बन्न पनि केही शर्त पूरा गर्नुपर्छ । अहिले कम्युनिस्ट नामधारी नेता, कार्यकर्तामा कम्युनिस्ट चरित्र र व्यवहार देखिन्छ त ?
जव व्यवहारबाट आफूलाई सही सावित गर्न सकिंदैन भने नामको मात्र किन दुरुपयोग गर्ने ? मनमोहन अधिकारीले अमेरिका पुगेर हामीले टे«डमार्कको रुपमा कम्युनिस्ट झण्डा र नामलाई प्रयोग गरेका हौं भने, प्रचण्डले वीआर राइटिस्ट कम्युनिस्ट भने । आफ्नो स्वार्थका लागि सत्ता र पदका लागि जे पनि गर्न तयार हुनेहरुलाई कम्युनिष्ट भन्नु उचित हुन्छ त ?
१०)पूर्व प्रधानमन्त्री माधव नेपाललाई भ्रष्टाचारको अभियोग लागे सँगै उनको सांसद पद भर्खरै निलम्वन भयो । सत्ता पक्षले उनी माथि वदला लिएको हो भन्ने उनको कुरा छ । त्यस बारे यहाँको भनाइ के छ ?
–माधव नेपालको सम्बन्धमा मात्र होइन अख्तियारमा मुद्दा परेपछि सांसद पद निलम्वनमा जाने व्यवस्था नै छ । नेपाल बाहेकका पनि र सत्तारुढ कांग्रेसकै सांसदहरुको पनि पद निलम्वनमा परेको छ । यसमा नेपालले मात्रै आफूलाई सरकारले ‘वदला लियो’ भन्नु आवश्यक छैन । वालुवाटारको ललिता निवासकाण्ड, पतञ्जली मात्र होइन, नेपालका अनेक साना ठूला काण्ड छन् । उनले वीवीसीको एउटा अन्तर्वार्तामा आफैले भनेका छन्–हङकङको महावाणिज्यदूत बनाउन आफ्नो भाइको उपाध्याय थरलाई बा्राकेटमा पाण्डे लेख्न लगाए । यस्ता अनेक काण्डदेखि होलिवाइन काण्डसम्म अनेक उदाहरण छन् ।
उृनी सफेदपोश देखउान खोज्छन् आफूलाई तर हुन चाहिं होइनन् भन्ने कुरा पटकपटकका घटनाले देखाइसकेको छ । दरबारमा प्रधानमन्त्रीको विन्तीपत्र हाल्न जाने, भारतको खुलेआम तावेदारी गर्ने, सनातन धर्मप्रतिको दृष्टिकोण र व्यवहारमा देखिएको विरोधाभाष,क्रिश्चियनको पैसामा विदेशयात्रा स्वच्छ छविको प्रमाण हुन सक्दैन । अब आफू इमान्दार र चोखो भएको देखाउन अदालतमा प्रमाण लिएर गए भैगो नि, किन सरकारले बदला लियो भनेर सहानुभूति बटुल्न खोज्नु ?
११) देशको राजनीतिक अवस्थाको मूल्याङ्कन कसरी गर्नु हुन्छ ?
–अहिले नेपालको राजनीतिक, आर्थिक अवस्था अत्यन्त संकटपूर्ण छ । राजनीतिक अन्योल, अस्थिरता, अराजकता पराकाष्टमा छ । दलहरुको विश्वनीयता सम्पूर्ण रुपमा गुमेको छ । भ्रष्टाचारले सीमा नाघेको छ, न्याय खरिद विक्रीको माल बनेको छ र नियोजित ढंगले स्वार्थको वशिभूत भएर न्याय निरुपण गर्ने परम्परा बसालिएको छ ।
आर्थिक रुपले त देश धरासायी नै बनेको छ । वैदेशिक रोजगारीबाट आर्जित ‘रेमिट्यान्स’ बाट मात्र अब धेरै दिन संकट टार्न सम्भव छैन । तीन वर्षसम्म भुक्तानी नलिएर ठेकेदारहरुले कसरी काम गर्दै होलान् भन्ने चिन्ता सरकारलाई छ त ?
शिक्षा र स्वास्थ्यलाई नाफामूलक व्यवसाय बनाएपछि त यो मुलुकमा थप संकट आइलागेको छ । राजनीतिक प्रतिबद्धता शुन्य भएका नेता र दलको हातमा सत्ता पुगेको छ । नेताहरु आफू सुरक्षित छु भन्ने ठानेर बसेका छन् तर शासकहरु कुन दिन चाउचेस्कोको अवस्थामा पुग्ने हुन थाहा छैन ।
१२) राजावादीहरूको आन्दोलनका पछाडि विदेशी शक्तिकेन्द्रको हात छ भन्ने भनाइ सुनिन्छ । तपाईलाई के लाग्छ ?
–राजावादी मात्र होइन जुनसुकै आन्दोलनमा धेरथोरै विदेशी प्रभाव निहित हुन्छ । नेपालमा हुने जुनसुकै आन्दोलनमा भारत र पश्चिमा शक्तिको स्वार्थ हुन्छ । त्यही स्वार्थले त्यसमा हात हाल्न बाध्य पार्छ । ००७ सालको आन्दोलन, जनमत संग्रह, ०४६ सालको आन्दोलनको मात्रै होइन माओवादी द्वन्द्वलाई पछिल्लो कालखण्डमा भारतले आप्mनो स्वार्थ अनुसार चलाएको हो । माओवादीलाई चलाउनेहरुले राजावादीलाई छाड्छ भनेर सोच्नु हुँदैन ।
अब राजावादी प्रभाव बढ्नुमा चाहिं विदेशीको होइन, हाम्रा शासक पार्टी र नेताको हात छ । नेता सुध्रिने हो, शासनशैली सुध्रिने हो, न्याय व्यवस्था सही गराउने हो, भ्रष्टाचार नियन्त्रण गर्ने हो र जनताको हितमा सरकारले काम गर्न थाल्ने हो भने राजावादी त के कुनै दैवीशक्तिले पनि केही गर्न सक्दैन । अरुलाई दोष लगाएर आफू उम्किने र चोखो बन्ने बहाना गर्नु भएन । त्यसले आफैलाई नास गर्छ ।
१३) नेपाली कम्युनिस्ट आन्दोलन निकै कमजोर भएको कुरा आमरूपमा स्वीकार गरेको देखिन्छ । कमजोर भएको कम्युनिस्ट आन्दोलनलाई सुदृढ गर्न के के गर्नु पर्दछ होला ?
–कम्युनिस्ट पार्टी कमजोर भएको भनेको चुनाव लड्ने पार्टी कि क्रान्ति गर्ने पार्टीको कुरा गर्नु भएको हो ? चुनाव लड्ने त बलियै छन् । एमाले, माओवादी, माधव नेपालको एकीकृत समाजवादी सबै तर क्रान्ति गर्ने पार्टी चाहिं विश्रृंखलित, असंगठित, अस्तव्यस्त र सैद्धान्ति रुपले अन्योलग्रस्त छन् । क्रान्ति गर्ने पार्टीलाई बलियो बनाउन दुईवटा उपाय छन् । एक क्रान्तिकारी पार्टीको एकीकरण र दुई प्रष्ट सैद्धान्तिक समझ । यति भएपछि तिनको अगाडि जाने आधार बन्छ । कार्यकर्ता परिचालन, आन्दोलनको रुपरेखा निर्माण, पार्टी दृष्टिकोण, अधिकतम र न्यूनतम कार्यक्रम बन्न सक्छ । तर कस्तो क्रान्ति केका लागि क्रान्ति भन्ने चाहिं प्रष्ट हुनुप¥यो ।
१४) अन्त्यमा थप केही छ कि ?
– हाँक साप्ताहिकलाई मेरो विचार राख्नु दिनुभएकोमा धन्यवाद ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित