– जितामित्र सुनार
हरेक बिहान, अँध्यारो चिरेर झुल्कने घामसँगै,
म पनि अघि बढ्छु —
विश्वासको उज्यालो बोकेर, अडिग पाइला चाल्दै।
जीवन सधैँ सजिलो हुँदैन,
कहिलेकाहीँ असहज परिस्थितिहरू आउँछन्,
कहिलेकाहीँ मानिसहरूले धोका दिन्छन्,
र कहिलेकाहीँ आत्मसम्मानमै तगारो हाल्छन्।
तर म रुक्दिनँ —
किनभने मेरो मनभित्र गहिरो आत्मबल जागिरहेको हुन्छ,
जो भन्छ, “अझ अघि बढ्, तैँले सक्छस्।”
समय बदलिन्छ,
परिस्थितिहरू फेरिन्छन्,
तर म चुनौतीसँग डराउँदिनँ,
बरु सिक्दै, सुधारिँदै,
खम्बा जस्तै अझ बलियो बन्ने प्रयासमा लागिरहन्छु।
जब चुनौती आउँछ,
म त्यसलाई स्वागत गर्छु।
त्यस्ता चुनौतीसँग लड्ने
संघर्षशील उत्प्रेरणाले
मलाई स्पातको धार जस्तै
दृढ र साहसी बनाएको छ।
किनभने मलाई थाहा छ —
साहस भनेको त्यही चुनौतीहरूले
घोटेर बनाएको विशाल अनुभवको रूप हो।
म हरेक दिनलाई नयाँ यात्रा ठान्छु,
जहाँ लक्ष्य सधैँ एउटै हुन्छ —
आफ्नो मूल्य, आत्मसम्मान,
र बाटोमा अडिग रहनु।
न हार्छु म, न झुक्छु,
किनभने म हिम्मत हुँ —
एक यस्तो शक्ति, जसले
आफ्नै बाधाहरुलाई जितेर
अगाडि बढ्न सिकाउँछ।

