– मुरारी मुखोपाध्याय
(२५ जुलाई १९७१ मा हजारीबाग सेन्ट्रल जेलमा १६ जना कम्युनिस्ट क्रान्तिकारीहरुलाई तत्कालीन भारतीय राज्य सत्ताले हत्या गरेको थियो । नक्सलबाड़ी आन्दोलनसित जोडिएका शहीदहरु मध्ये एक जना थिए बंगालका २६ वर्षीय कवि मुरारी मुखोपाध्याय। उनको कवितालाई तुहिनले बंगाली भाषाबाट हिन्दिमा उल्था गरेका छन् । यहाँ तुहिनको हिन्दि अनुवादलाई नेपालीमा दिइएको छ ।)
यदि तिमी मलाई प्रेम गछौं भने मेरो सामु जुन बनेर नआउनु
यदि आउन सक्छौ भने सूर्य बनेर आउनु
म त्यसको तापले
अंध्यारो जंगलमा आगो लगाउनेछु ।
प्रिय,मेरो सामु नदी बनेर नआउनु
यदि आउन सक्छौ भने बाढी बनेर आउनु
म त्यसको आवेगले निराशाको बाँध भत्काइदिनेछु।
प्रेममा,फूल बनेर नआउनु
यदि आउन सक्छौ भने चट्याङ र बिजुली बनेर आउनु
म त्यसको गर्जनलाई मेरो हृदयमा लुकाउनेछु र युद्धको सन्देश चारैतिर फैलाउनेछु।
प्रेममा, पन्छी बनेर नआउनु
यदि आउन सक्छौ भने तूफान बनेर आउनु
म त्यसको शक्तिले अत्याचारका महल ध्वस्त गराइदिनेछु ।
जुन,नदी, फूल,तारा,पन्छी
ती त फेरि फेरि पनि देखिरहने छौं
किनकि अहिले अंध्यारो छाँया छ र अन्तिम युद्ध बाँकी नै छ
अहिले हामीलाई हाम्रो यस झुपड़ीमा आगोको जरूरी छ।

