–किशन शर्मा, सल्लाहकार, सुस्ता बचाउ अभियान नेपाल
० सर्व प्रथम सुस्ता बचाउ अभियानका वारेमा परिचय दिन अनुरोध गर्दछु ।
– सुस्ता नेपालको अभिन्न र अखण्ड भूभाग हो। यो तात्कालिक लुम्विनी अंचल नवलपरासी जिल्लाको दक्षिण पश्चिम नारायणी नदीको पारि पट्टी पर्दछ। हाल लुम्विनी प्रदेश नवलपरासी जिल्ला वर्दघाट सुस्ता पश्चिम सुस्ता गाउँ पालिका वडा नम्बर ४ भनिएको छ। तर नेपालको संविधान २०७२ अनुसार व्याख्या गर्दा बर्दघाट सुस्ता पुर्व र वर्दघाट सुस्ता पश्चिम भनेर बर्दघाट र सुस्तालाई विन्दु मानेको अवस्थामा सुस्ता गण्डकी प्रदेश वर्दघाट सुस्ता पुर्वको नवलपरासी को पनि पर्दछ। जतिवेला सम्म संविधानतः बर्दघाट सुस्ता पूर्व र पश्चिम भन्ने कायमै रहन्छ त्यतिवेला सम्म यो सवाल कायमै रहन्छ। लुम्विनी प्रदेश भित्र भन्ने कुराले नेपालको संविधान २०७२ संग बाँझिएको अवस्था हो। यसवारे छुट्टै छलफल गर्नु आवस्यक छ । अहिले यहाँ सुस्ता बचाउ अभियानबारे कुरा राख्न चाहन्छु । सुस्तालाई तीन तिरबाट भारतले घेरेको छ भने एकातर्फ नारायणी नदी पर्दछ । सुगौली सन्धि– १८१६ मा भए पश्चात सोही अनुसार सीमाङ्कन गर्ने र सीमा स्तम्भहरु गाडने दश गजा क्षेत्र छुट्याउने काम थालनी भयो । सीमा स्तम्भ (जङे पिल्लर) राख्दै (गाडदै) आउने क्रममा पूर्ववाट पिल्लर गाडदै त्रिवेणी घाटसम्म र पश्चिम वाट पिल्लर गाड्दै सगरदिन्ही सम्म आइ पुग्यो, तर सुस्ताक्षेत्रको २४ किलोमिटर दूरीमा सीमा स्तम्भ कायम गर्न (गाडन) वाकी रह्यो । नारायणी नदिने बेला बेलामा आएका ठूला ठूला वाढी पश्चात धार वदल्दै पश्चिमतर्फ सदै आयो । हरेक केही वर्षमा डरलाग्दा असाधारण वाढीले नेपाल तर्फको भूगभाग कटान गरी पश्चिम तर्फ सर्दै आउने क्रम सन् १८४५ पछि– अहिलेसम्म पनि रोकिएको छैन । यही विचको भूभागलाई सुस्ता भनिन्छ, सुस्तामा वसोवास गर्ने वासिन्दाहरुले सुस्तालाई भारतीय अतिक्रमणबाट बचाउनका लागि सुस्ता बचाऊ अभियान गठन गरी चलाएको देशभक्तिपूर्ण आन्दोलननै सुस्ता बचाउ अभियान, नेपाल हो। यो नवलपरासी जिल्ला प्रशासन कार्यालय परासीमा र समाज कल्याण परिषद मा दर्ता भएको छ ।
० सुस्ता वचार अभियान, नेपाल (आन्दोलन) का उद्देश्य–हरु के के छन ?
– नेपालको अखण्ड भूमिको संरक्षण गर्ने, सीमा रक्षाको भूमिका निर्वाह गर्ने, सार्वभौम सम्पन्न स्वाभियान र अखण्ड नेपालको, देशभक्त नागरिकको पहिचान र परिचयका साथ उचो शिर गरेर बाँच्ने नयाँ पुस्तालाई उक्त वाटोमा हिडन अग्रसर र प्रेरित गर्ने गराउने सुस्तावासी एवम् सुस्ता बचाउ अभियानको प्रमुख उद्देश्य रहेको छ, अर्थात सार्वभौम नेपालको अखण्ड सुस्ताको रुपमा रक्षा गर्नु यस अभियानको लक्ष्य हो। उक्त उद्देश्य प्राप्त गर्नका लागि निम्न मागहरु राखी अभियान (आन्दोलन) चलाउँदै आएको छ ।
१) ऐतिहासिक तथ्य, वैज्ञानिक मापदण्डका आधारमा, सीमा निर्धारण प्रणालीको आधारमा नेपाल–भारतका बीचमा सीमाङ्कन गरियोस । अवलम्ब सीमा स्तम्भ खडा (कायम) गरी सीमा व्यवस्थापन गरियोस् ।
२)सुस्ता क्षेत्रको भूमि नापी नक्सा गरी जग्गा धनी प्रमाण–पुर्जा वितरण गरियोस् ।
३)सीमा रक्षाको भूमिका निर्वाह गर्दै आएका देशभक्त सुस्ता–वासीलाई नागरिकता प्रदान गरियोस् ।
४) नारायणी नदी (सप्तगण्डकी) ले सुस्तावासीलाई आवत जावतमा कठिनाई पारेको हुनाले झोलुङगे पुलको व्यवस्था गरियोस् ।
५) सुस्ता क्षेत्रका बासिन्दाहरुमाथि भारतीय गुण्डाहरु, लठैतहरु, एसएसबी (सीमा सुरक्षा बल) बाट बेलाबेलामा आक्रमण र ज्यादती हुने भएकोले सुरक्षाको प्रबन्ध गरियोस् । हाल भएको प्रहरी चौकी दरवन्दी कम भएको र रेखदेख र सुरक्षा व्यवस्थापन गर्न बाधा परेकोले थप दरबन्दीको व्यवस्था गरियोस् ।
६) जनपद प्रहरी कार्यालय कच्ची भएको, सशस्त्र प्रहरी बलको कार्यालय पनि कच्ची भएको र प्रत्येक वर्षको वर्षायामको बाढीको समयमा डुवानमा पर्ने हुनाले पक्की भवन निर्माणका लागि बजेट निकासा गरियोस् ।
७) सुस्ता क्षेत्रमा उपचारका लागि स्वास्थ्य चौकी नभएको हुनाले सुस्तामा स्वास्थ्य चौकी स्थापना गर्ने प्रबन्ध गरियोस् ।
८) विद्यालय भवन निर्माणका लागि बजेट र दैनिक पठनका लागि आवश्यक शिक्षक दरबन्दीको व्यवस्था गरियोस् ।
० सुस्ता बचाउ अभियानले अहिलेसम्म गरेका कामहरु के के हुन् ?
–सुस्ता बचाउ अभियानले आफ्नो उद्देश्य र लक्ष्य पूरा गर्नका लागि निम्न कार्यहरु गर्दै आएको छ ।
(क) नेपालको अखण्ड भूमि सुस्ताको रक्षाको लागि सम्पूर्ण सुस्तावासीहरुलाई राष्ट्रियताको भावना जागरण गराई एकताबद्ध गराएको छ ।
(ख) बेला बेलामा भारतीय गुण्डा, लठैत र भारतीय एसएसबीबाट हुने आक्रमण र ज्यादतीको विरुद्ध सुस्तावासीहरुलाई एकताको भावना जागरण गराउँदै, संगठित गर्दै सुस्तावासी जनताहरुको रक्षा गर्दै आएको छ । भारतीय एसएसवी, गुण्डा, लठैतहरुलाई लखेट्ने काम गरेको छ । (ग) भारतीय सीमा सुरक्षा बल, गुण्डा लठैतहरुबाट सुस्तामा सीमा अतिक्रमण हुँदै आएको छ, लुटपाट ज्यादती हुँदै आएको छ । अभियानले सुस्तावासीको सुरक्षा र सीमा अतिक्रमणका विरुद्ध निरन्तर संघर्ष गर्दै आएको छ ।
(घ) सुस्ता क्षेत्रको रक्षाको लागि सुस्तादेखि परासी, बुटवल, नारायणगढ, राजधानी काठमाडौंसम्म आठ सूत्रीय माग लिएर धर्ना, जुलुश, ध्यानाकर्षण, दबाब दिंदै आएका छन् । जिल्ला प्रशासन कार्यालयदेखि राजधानी काठमाडौंसम्म प्रधानमन्त्रीको कार्यालय, मन्त्रालयहरु, नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय पुल्चोक पाटनमा ज्ञापनपत्र बुझाउने, सरकार, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने, दबाब दिने काम गर्दै आएको छ ।
(ङ) हिमालदेखि तराई, मेचीदेखि महाकालीसम्म राष्ट्रियताको रक्षाको लागि अपिल गर्दै देशभर राष्ट्रियताको जागरण फैलाउँदै भावनात्मक एकतामा जोड्दै देशभक्ति भाव र विचारको विस्तार गर्दै मनोवैज्ञानिक रुपमा पनि बलियो बनाउँदै लैजाने काममा महत्वपूर्ण भूमिका खेलेको छ ।
० सुस्तावासीहरुको संघर्षको लामो र गौरवशाली इतिहास छ, एउटा अभियन्ताको नाताले उनीहरुको संघर्षको इतिहासलाई तथ्यगत रुपमा अभिव्यक्त गर्नु पर्दा के भन्नुहुन्छ ?
–सुस्ताको संघर्षको इतिहास २०२१–देखि नै शुरु भएको हो । जतिबेला देखि त्यहाँ वस्ती बस्न शुरु भयो त्यति बेलादेखि नै शुरु भएको हो । जतिबेलादेखि त्यहाँ वस्तीबस्न शुरु भयो । त्यतिबेलादेखि हालसम्म संघर्ष जारी छ । छ दशक लामो संघर्षको फेहरिस्त बताउन त यहाँ कति सम्भव होला ? २०२० सालमा सुस्ता गाउँ पंचायत कायम गरिएको थियो । सुस्ता पंचायतको स्थापनाकालका प्रधानपञ्च–टेकनारायण उपाध्याय थिए । संयोगले उनी आज सुस्ता गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । त्यतिबेला यहाँ प्राथमिक विद्यालय, हुलाक, स्वास्थ्य चौकी स्थापना भएको थियो । सुस्तावासीहरु जागरुक र एकताबद्ध थिए । देशभक्त, इमान्दार र जुझारु भएकै कारणले नै उनीहरुले सुस्ताको रक्षा गर्दै आएका थिए । २०३४ सालमा आएको ठूलो बाढीले सुस्ता डुवान गरेर खण्डहरु बनाइदियो । बस्ती उजाड भयो । विस्थापित बनाइदियो । बाढीले विस्थापित गराइएका सुस्तावासीहरुलाई नारायणी नदी वारी त्रिवेणी नर्साही गाउँमा बसालिएको थियो । जव सुस्ता क्षेत्र मानव वस्ती विहीन, खण्डहर र भयो तव भारतीयहरुले अतिक्रमण गर्ने काम तीव्र रुपमा गर्न थाले । झण्डै पचास हजार हेक्टर क्षेत्रफल भएको सुस्ता अहिले १४ हजार हेक्टरमा खुम्चिएको छु । चार गुणा ठूलो भूगोल त अतिक्रमणमा परिसकेको छु । अतिक्रमणको क्रम रोकिएको छैन । सुस्तावासीहरु, सुस्ता बचाउ अभियानका अभियन्ताहरु लडिरहेका छन्, संघर्षकै मैदानमा छन् ।
० सुस्ता बचाउ अभियान र आन्दोलनका संस्थापक अध्यक्ष गोपाल गुरुङजीको देहावसान भएपछि उहाँको स्मृति दिवस पनि मनाउने गरिएको छ । यस आन्दोलनमा गुरुङजीको योगदान बारे चर्चा गरिदिनुस् ।
–सुस्ता क्षेत्रमा २०२० साल भन्दा अगाडि घना जंगल थियो । मानव वस्ती नभएको हुनाले भारतले सीमा मिच्दै अतिक्रमण गर्दै,हरेक वर्ष नेपाली भूमि कब्जा गरिरहेको थियो । अहिलेसम्म पनि बेला मौकामा गरिरहेको छ । ०२१ सालमा तात्कालीन राजा महेन्द्रकै निर्देशनमा भारतीय प्रहरी, सेना, नेपाली सेना र प्रहरीबाट सेवा निवृत्त भएका व्यक्तिहरुलाई तिनका परिवारलाई तराईका जिल्लाहरुको भारतसँग जोडिएका सीमा क्षेत्रमा बसोबास गराउने र ती क्षेत्रहरुलाई सीमा अतिक्रमणबाट संरक्षण गर्न त्यहाँ बस्ती बसाउने योजना अनुसार सुस्तामा पनि वस्ती बसाल्ने काम भयो । नदी पारी एउटा सिंगै सुस्ता गाउँ पंचायत कायम गरियो । सुस्ता क्षेत्रमा बसोबासको व्यवस्था नहुँदै दक्षिणतिरबाट सीमा अतिक्रमण शुरु भैसकेको थियो । बसोबास शुरु भएपछि पनि भारतले अतिक्रमण गर्ने काम रोकेन । शुरुदेखि नै बेलाबेलामा नेपाली भूमि माथि अतिक्रमण र नेपाली जनतालाई भारतीय गुण्डा, लठैत र एसएसवी जवानबाट दुःख, हैरानी, ज्यादती गर्ने काम भैरह्यो र त्यो क्रम अझै रोकिएको छैन । यसप्रकारका घटनाका विरुद्धमा देशभक्त सुस्तावासीहरु जागरुक संगठित र एकताबद्ध हुनै पर्दथ्यो । सुस्ताको रक्षा गर्न र त्यहाँ देशभक्त स्वाभीमानी नेपाली नै भएर बाँच्नका लागि सुस्ता बचाउ अभियान गठन गरी सीमा रक्षाको पहरेदारको काम गर्दै आएका छन् । सुस्ता बचाउ अभियान नेपाल २०६२ सालमा जिल्ला प्रशासन कार्यालय परासीमा दर्ता भएको छ । गोपाल प्रसाद गुरुङले यसको गठन र नेतृत्व गर्दै अभियानलाई अगाडि बढाउने र स्थापित गराउने कामको नेतृत्व गरे । यसरी देश र जनतालाई सुस्ताको समस्याबारे ध्यानाकर्षण गर्दै सम्पूर्ण देशभक्तहरुलाई सहयोगका अपिल गर्दै अगाडि बढ्ने क्रममा विरामी परेर उनलाई उपचारका लागि २०७९ पौष ८ गते भैरहवा शिक्षण अस्पतालमा भर्ना गरियो । उनको उपचारका लागि सरकार, राज्यसँग वार वार सहयोगका लागि अपिल र अनुरोध गरियो तर सुनुवाई भएन । स्रोत र साधनका अभावकै कारण उनको उपचार राम्रोसँग हुन सकेन । उपचारकै क्रममा २०७९ साल माघ १० गते उक्त अस्पतालमै देहावसान भयो । गोपालप्रसाद गुरुङको निधन भएको तीन वर्ष भएको छ । हरेक वर्ष उनको र सुस्ता बचाउ अभियानका अभियन्ता देशभक्त शहिद रमानन्द चमारको सम्झना र सम्मानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने गरिन्छ । नेपालको अखण्ड भूमि सुस्ताको रक्षाका लागि लड्दै आउने क्रममा, संघर्षकै दबाबका कारण सुस्तालाई जोड्ने १६०० मिटर लामो झोलुङगे पुल बनेको छ । यो पुल बनेपछि सुस्तावासीलाई हिउँद वर्ष दिन रात आतेजाते गर्न सजिलो भएको छ । प्राथमिक स्वास्थ्य चौकी स्थापना भएको छ । जनता दलित आधारभूत विद्यालयमा आठ कक्षासम्म पढ्नका लागि भवन कोठा बनेको छ । जनपद प्रहरी र सशस्त्र प्रहरी बलको भवन पक्की बनेको छ । यी कामहरु सुस्ता बचाउ अभियानले चलाएको आन्दोलन, धर्ना, राष्ट्रव्यापी आवाज उठाएर, देशभक्तहरुको दबाबकै कारण मात्रै सम्भव भएको हो । सुस्तामा पहिलो पटक नेपाल सरकारका तर्फबाट मन्त्रीको हैसियतमा माननीय गिरिराजमणी पोखरेललाई लैजान सफल भएको थियो ।
० सुस्ता बचाउ आन्दोलनका सहिद रामानन्द चमारको संघर्षको कथा सुनाउनु पर्दा के भन्नुहुन्छ ?
–देशभक्त सहिद रामानन्द चमारको जन्म सन् १९४५ (वि.सं. २००१साल) मा १९५० को नेपाल–भारत सन्धि हुनु भन्दा अगाडिको नेपाल र हालको भारतको विहार चन्नपुर भेडीहारी नवलपुर बजारमा भएको हो । उनको मातापिताको नाम गंगादेवी चमार र कौडी चमारी हो ।
देशभक्त सहिद मानन्द चमारको जीवनी र सुस्ताको सम्बन्ध अति घनिष्ठ रुपमा जोडिएको छन् । सुस्ताको अवस्थिति, भूगोल सुगौली सन्धिताका १८१६ सुस्ता क्षेत्र जंगल थियो । यो घना जंगलमा भारतीय काठ तस्करहरु, शिकारीहरु आएर मनलाग्दो गर्दथे । नारायणी नदी हालको स्थान भन्दा दुईकोष पूर्व भएर बगेको थियो । अर्थात् सुस्ता क्षेत्र भन्दा पूर्व भएर बगेको थियो । बितेको झण्डै दुई सय वर्षको बीचमा धेरै ठूला ठूला बाढीहरु आए पटकपटकका बाढीहरुबाट नदीले पूर्वबाट पश्चिम तर्फ ठाउँ सर्दै आयो । उतिबेला देखि नै भारतले सुस्ता क्षेत्रमा विवाद गर्ने, अतिक्रमण गर्ने काम गर्दै आएको छ । जव सुस्तामा बसोबास बसाल्ने योजना भयो । २०२१–०२२ सालमा भूपु सैनिक किशोर कुमार गुरुङको नेतृत्वमा बस्ती बसाउने काम शुरु भयो । वस्तीका बासिन्दाहरुलाई जुत्ता बनाउने, मर्मत गर्ने मान्छेको खाँचो प¥यो । यही क्रममा सुस्ताका बासिन्दाहरुसँग रामानन्दको सम्पर्क भयो । सुस्ताका बासिन्दाहरुले इमान्दार, मेहनती लगनशील मान्छे खोजिरहेको बेला रामानन्द चमारले सुस्ता आएर बसोबास गर्न र इमान्दारिताका साथ काम गर्ने इच्छा र प्रतिबद्धता व्यक्तगरे । त्यसपछि उनको सपरिवार भेडीहारी नवलपुर बजारबाट सदाको लागि बसाइसराई गरेर सुस्ता आयो । सुस्ताका बासिन्दाले चाहे जस्तै गरी उनले इमान्दारिपूर्वक र मेहनतका साथ काम शुरु गरे । सुस्ताका बासिन्दाको विश्वास प्राप्त गरे । नेपालको अखण्ड भूमि सुस्ताको माटोसँग उनको गहिरो साइनो र भावना जोडियो । उनले एउटा असल देशभक्त नेपालीको भूमिका निर्वाह गर्दै सुस्तामा भएको भारतीय अतिक्रमणका विरुद्धको संघर्षमा सक्रिय रुपमा लाग्दै अगाडि बढे । एउटा असल देशभक्त नेपालीका रुपमा चिनारी बनाउँदै स्थापित भए । उनका सपरिवार जीवन संगीनी भुजेली चमार र छोराहरु समेत सुस्ता बचाउ अभियानमा सक्रिय रुपमा लागे । एउटा उच्च प्रकारको देशभक्ति प्रदर्शन गरे । हाल उनको परिवारमा छोराहरु अमर चमार, बालचन्द्र चमार र ५ जना नातिनातिनाहरु छन् । जीवनसंगिनी भुजेलीको देहान्त भैसकेको छ । यो परिवारले जुत्ता, चप्पल, पुरानो छाता, लाइट बनाउने मर्म गर्ने गरेर जीवन निर्वाह गर्दै आएको छ । दुई चार कठ्ठा जमिन छ तर यति जमिनले वर्षभरी खान पुग्ने अन्न उत्पादन हुँदैन त्यसैले निमेक र ज्याला मजदुरी नगरी निर्वाह चल्दैन । यसरी आफ्नो जीवनयापन गर्दै एउटा असल देशभक्तको भूमिका निर्वाह गर्दै आएको रमानन्द चमारको–सुस्ता बचाउ अभियानले आयोजना गरेको विरोध तथा जनप्रदर्शन, धर्ना, जुलुस,ज्ञापनपत्र बुझाउने आन्दोलनकै क्रममा काठमाडौंको थापाथलीस्थित कालमोचन घाटको सतल (बागमतीको तिर) आवासको रुपमा प्रयोग गरिएको स्थलमा २०६४ साल माघ ७ गतेका दिन ६४ वर्षको उमेरमा सहादत भयो । देशभक्त सहिद रामानन्द चमारले मातृभूमिको अखण्ड भूभाग सुस्ताक्षेत्र रक्षाको खातिर गरेको समर्पण र त्यागको उच्च सम्मान गर्दै उनीप्रति श्रद्धा सुमन टक्रयाउँदछौं । सुस्तामा अतिक्रमणको समस्या त पूरा नै छँदै थियो । तर भारत सरकारले नेपाल–भारत सीमा क्षेत्रमा एसएसबी (सीमा सुरक्षा बल) तैनाथ गर्न थालेपछि सुस्तामाथिको अतिक्रमण अझै तीब्र गर्न थाले । सुस्तावासीहरुमाथि ज्यादती, दमन, नेपालभित्रै हतियार सहित आएर लुटपाट, बलात्कार गर्ने काम पनि पटकपटक भए । सुस्तावासीलाई “कि त सुस्ता छोड कि त आत्म समर्पण गरेर हामी अब भारतीय हौं भन” भन्दै हतियारधारी बर्दीधारी एसएसबीका जवानहरुले भन्दा पनि धम्क्याउँदा पनि रामानन्द चमार र आम सुस्तावासीहरुले न त आत्मसमर्पण गरे, न त सुस्ता भूमि छोडेर हिंडे, सुस्तामै एसएसबी जवानहरु र भारतीय गुण्डा लठैतहरुसँग भौतिक रुपले संघर्ष गरे । भौतिक रुपमै प्रतिवाद, प्रतिकार गरेर सुस्ताको रक्षा गर्नु आफ्नो परम कर्तव्य ठानेर –ज्यानको बाजी थापेर संघर्षमा डटिरहे । यस महान कामका लागि रामानन्द चमार र सम्पूर्ण सुस्तावासी सुस्ता बचाउ अभियान, नेपालका अभियन्ताहरुलाई उच्च सम्मान टक्रयाउँदछौं ।
सरकार र राज्यको ध्यानाकर्षण गर्नका लागि दर्जनौं पटक परासी, बुटवल, नारायणगढ, भरतपुर, काठमाडौं ठूलाठूला संख्यामा प्रतिनिधिमण्डल गएका घटनाहरु धेरै छन् । यसै क्रममा २०६४ साल पौष १६ गते ९४ जनाको टोली सुस्ता बचाउ अभियानको व्यानर सहित गोपालप्रसाद गुरुङको नेतृत्वमा अभियानका पदाधिकारी अभियन्ता हामी राजधानी काठमाडौं पुग्यौं । बागमती किनार थापाथली रामन्दिर सत्तल कालमोचन घाटमा आन्दोलनका क्रममा राति बस्ने र खाना पकाउने खाने ठाउँ पाइयो । जहाँ २४ सै घण्टा दुर्गन्ध र बागमतीको चिसो सिरेटो आउँछ । दिउँसो मन्त्रालयहरु र राजनैतिक दलका कार्यालयमा जाने, नारा जुलुस सहित घेराउ गर्ने, ज्ञापनपत्र दिने, देशभक्त नागरिकहरुको ध्यानाकर्षण गर्ने, बेलुका राम मन्दिर सत्तल बस्ने गरिएको थियो । हरेक दिनको कार्यतालिका यही हुन्थ्यो । यसै क्रममा अत्यन्त प्रदुषित वातावरण पुषको जाडो त्यसमा पनि बागमती नदीको सिरेटो, ओढ्ने कपडाको अभाव, सन्तुलित खानाको कमजोर व्यवस्थापनका कारण रामानन्द चमार विरामी परे । उनको उपचारका लागि प्रयत्नहरु गरियो तर त्यो खराब प्रदुषित वातावरणमा उपचार प्रभावकारी हुन सकेन । उनलाई उनकै प्यारो सुस्तामा भएको झुपडीमा लैजान अभियन्ता साथीहरु सबैले प्रयत्न ग¥यौं तर उनी मानेनन। हामी जुन माल लिएर आएका छौं–“सुस्ता क्षेत्रमा नेपाल–भारत सीमा व्यवस्थापन गर्ने, सुस्तावासीहरुलाई नागरिकता प्रदान गर्ने, झोलुङगे पुल निर्माण गर्ने लगायतका हाम्रा आठ सूत्रीय मागहरु पूरा नभएसम्म म सुस्ता फर्किन्न बरु मर्न परे म यही मर्छु” भनेर अड्डी लिए ।
सुस्ता बचाउ अभियान, नेपालका मागहरु प्रति ऐक्यबद्धता जनाउन दिनहुँ जसो साँझ विहान सयौं, हजारौं मानिसहरु आउने जाने क्रम चलिरहेको थियो । सुस्ता बचाउ अभियानलाई ऐक्यबद्धता जाहेर गर्न आउने संस्था र व्यक्तिहरुसँग पनि उनले यही अडान व्यक्त गर्दथे । माक्र्सवाद अध्ययन अनुसन्धान प्रतिष्ठान एवं माक्र्सवादी चिन्तनका अध्यक्ष स्वनाम साथी उक्त समितिका साथीहरुः घनश्याम शर्मा पौड्याल, शरद पौडेल, पुरुषोत्तम कोइराला, पुरण गुरुङ, रमेश सुनुवार, दुर्गादत्त अधिकारी लगायत व्यक्तिहरु उक्त स्थानमा पुगेर सुस्ता बचाउ अभियान प्रति ऐक्यबद्धता र रामानन्द चमारलाई स्वास्थ्यलाभको कामना आगन्तुक,अतिथि पुस्तिका लेखन गर्ने काम भयो । दर्जनौं संस्थाहरुको संस्थागत उपस्थिति रह्यो । सीमा तथा जल सरोकार समाज, सीमा अतिक्रमण प्रतिरोध समिति नेपाल, सीमा सरोकार नागरिक समिति केन्द्रीय कार्यालय, राष्ट्रियता सम्बन्धी कार्यदल, नागरिकता दुरुपयोग प्रतिरोध केन्द्रीय समिति, राजनीतिज्ञ, बुद्धिजीवी, लेखक,पत्रकार, सीमाविद्हरुको ऐक्यबद्धता प्राप्त भयो । त्यसैगरी राजनैतिक दलका नेताहरु जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन, मजदुर किसान पार्टीका प्रतिनिधि, नेकपा मालेका नेताहरु , नेकपा माओवादीका नेता कार्यकर्ताहरु, एकता केन्द्र–मसालका नेताहरु, देशभक्त लोकतान्त्रिक मोर्चाका फणिन्द्र नेपाल, चेतेन्द्र हिमाली, बुद्धिनारायण श्रेष्ठ उक्त स्थलमा सहभागी उपस्थित भई हस्ताक्षर गरी ऐक्यबद्धता जनाउनुभयो । उनको सहादतपछि उनको सम्मानमा रत्नपार्कमा श्रद्धाञ्जली सभा आयोजना गरियो भने उनको शवलाई सुस्ता लगेर नारायणी नदीमा अन्तिम दाहसंस्कार गरियो ।
० सुस्ताको समस्या नेपालीहरुको साझा समस्या हो । सुस्ता बचाउ आन्दोलनमै मतभेद छ भन्ने सुनिन्छ । देशको रक्षाको प्रश्नमा यस्तो विवाद नहुनु पर्ने हो । किन मतभेद ?
–सुस्ताको समस्या आम नेपालीहरुकै समस्या हो । यो राष्ट्रिय समस्या हो । त्यसैले यो साझा र प्रमुख समस्या हो । अझ विश्वका जहाँकही बसेका देशभक्त नेपालीहरुको समस्या हो । देशभक्ति भाव, देशप्रेम देशप्रति दायित्वबोध हुने हरेक नेपालीको मुटुको घाउ चह¥याउने सवाल हो । मुटु चह¥याउनेहरु कसरी आनन्दसँग बस्न सक्छ र ? राष्ट्रियताको रक्षा, सीमा अतिक्रमण, कुनै पनि प्रकारका वैदेशिक हस्तक्षेप कायम रहँदासम्म हुन सक्दैन । यो सम्पूर्ण देशभक्त नेपालीहरुको प्रत्यक्ष सरोकारको विषय मुुटु हुने विषय, राष्ट्रिय अस्मिता र स्वाभिमानको विषय र सवालमा मतभेद हुनुपर्ने कुनै तर्क छैन । सम्पूर्ण सुस्तावासीहरु नेपालको अखण्ड भूमि सुस्ताको रक्षाको लागि सुस्ता बचाउ अभियान नेपालमा एकताबद्ध छन् । कुनै मतभेद छैन– एकताबद्ध भएर नै अगाडि बढ्ने छन्, जबसम्म सुस्ताको समस्या हल हुँदैन । सुस्ता बचाउ अभियानको मागहरु पूरा हुँदैन । आन्दोलन रोकिंदैन ।
० सुस्तावासीहरुका समस्यालाई बुँदागत रुपमा भन्नुपर्दा के के छन् ?
सुस्ताका बासिन्दाहरुको मुख्य समस्याहरुः
(क) नेपाल–भारत–सीमांकन एवं दशगजा तथा सीमा व्यवस्थापन नभएकोले भारतीय पक्षबाट हुने हर प्रकारका हस्तक्षेप र अतिक्रमणको चपेटामा परेका छन् । यो समस्या सिंगो नेपाल कै राष्ट्रिय समस्या भएकोले सरकार(राज्य) ले जति सक्यो छिटो भारतसँग कुटनीतिक पहल गरी सीमा समस्या हल गर्नुपर्दछ ।(ख) सुस्ताक्षेत्रमा –६० वर्ष पहिलेदेखि बसोबास गर्दै आएका सुस्ताको रक्षाको लागि आवाज उठाउँदै संघर्ष गर्दै आएका सुस्ताका देशभक्त नागरिकहरु, सुस्ताका बासिन्दा एवं सुस्ता बचाउ अभियानका अभियन्ताहरु नागरिकताबाट बन्चित रहेका छन् । तिनीहरुलाई नागरिकता दिने व्यवस्था राज्य (सरकार) ले तुरुन्त गर्नुपर्दछ ।(ग) नागरिकताबाट बन्चित हुनु परेका कारण सरकारी कारोबार गर्न अवरोध भएको छ, जग्गा लेनदेन, संस्थादर्ता गर्न ऋण लिन पाएका छैनन् । जग्गा धनी प्रमाण पुर्जा लिनका लागि पनि नागरिकताको प्रमाणपत्र नभएकोले यस्ता काम रोकिएको छ । सुस्तामा बसोबास गरेका भूमिहीन, सुकुम्बासीहरुलाई जजग्गाको व्यवस्थापन गरी प्रमाणपुर्जा (लालपुर्जा) दिने व्यवस्था गर्नुपर्दछ । (घ) सीमा रेखा दशगजा सीमा स्तम्भ व्यवस्थित नभएकोले भारतीय सुरक्षाबल (एसएसबी)गुण्डा लठैतहरु जथाभावी सुस्ता गाउँमा पसेर गाउँलेलाई ज्यादती गर्ने, सास्ती कटाउने हुनाले नेपालको सीमा सुरक्षा तथा सशस्त्र प्रहरी बललाई व्यवस्थित परिचालन गर्ने–सुस्ताको पोष्टमा आवश्यक दरबन्दी कायम गरी खटाउने गर्नुपर्दछ हाललाई यसरी सुस्तावासीहरुको सुरक्षा व्यवस्था गर्नुपर्दछ ।ङ) खुला सीमा भएकोले–गुण्डा, लठैत, गलत काम गर्ने मनसाय बोकेका मानिसहरुलाई सुस्ता गाउँ पस्न सजिलो छ । यस कारण पनि सुस्तामा झगडा र अपराधजन्य गतिविधि हुने गरेका छन् । यसैले नियन्त्रित सीमा प्रणाली लागु गर्नु पर्दछ । यस प्रणालीमा कुनै एक देशको यात्रु सीमा पार गरी अर्को कुनै देशमा जानु प रे –आवश्यक कागजात देखाउनु पर्दछ । अहिले सुस्ता क्षेत्र, झोलुङगे पुल बनेका कारण–आवत जावत त सजिलो भएको छ तर पुल धेरै लामो भएको र मोटरसाइकल जथाभावी दौडाउने हुनाले पुलको सुरक्षा गर्न पनि नियमन सीमा प्रणाली लागु गर्न आवश्यक छ । च) सुस्ताको पुरानो वस्ती भएको ठाउँको धेरै भाग त भारतीयहरुले खेती गरेर बस्न थालेका छन् । जबकि ०२३–२४ सालमै जग्गा धनी प्रमाण पुर्जा तात्कालीन नेपाल सरकारले बाँडिसकेको छ । अहिले जग्गाको पुर्जा सुस्तावासीहरुको सिरानी वा बाकसमा छ भने उक्त पुर्जावाला जग्गामा भारतीयले कब्जा जमाएर खेती गरेका छन् ।छ) सुस्ता गाउँदेखि १५ किलोमिटर माथितिर गण्डक बाँध बाँधेर नारायण नदीको पानी उत्तर प्रदेश र विहार लगेको छ । बाँधको वनावटका कारण गण्डक बाँधबाट झरेको पानीको बहावले नेपालको जमिन वर्षेनी कटान गरेको छ । यस कटानको कारण दुवैतिर नेपालकै जमिनलाई प्रभाव पारेको छ । जस्तो कि बाँधबाट झर्ने नेपाल तर्फकै जमिनमा ठोक्किएर जमिन कटान गर्ने क्रम हरेक वर्षायाममा भइरहेकै छ भने नेपालतर्फ ठोक्किएको उक्त वहाव केही तल पुगेपछि सुस्ता क्षेत्रमा ठोक्किन पुग्छ –यसरी वारी पनि कटान पारी पनि नेपालकै जग्गा कटान हुँदै आएको छ । २०३४ सालको बाढीको बेला भारतले एक्कासी गण्डक बाँधको ढोकाहरु (फारक) खोलेको हुनाले सुस्तामा बाढी पसेर वस्ती विस्थापित गरेको हो । यसर्थ कटान रोक्नका लागि दुवै तर्फ (वारीपारी) व्यवस्थित तटबन्ध गरिनु पर्दछ । यसरी मात्रै नदी कटानको समस्याबाट सुस्तालाई बचाउन सकिन्छ ।(ज) सुस्तामा जनता दलित आधारभूत विद्यालय छ तर आवश्यक दरबन्दी नभएकोले–विद्यालय चलाउन निकै समस्या छ–तसर्थ आवस्यक दरबन्दी व्यवस्थापन गरिनुपर्दछ ।झ) सुस्ताको वस्ती लाई भेटने (३१७ घर धुरी लाई) – उखु मिल चलाउन समेत – क्षमता पुग्ने विद्युत ट्रान्समिटरको व्यवस्था गरि – निशुल्क (गरिव, विपन्नहरूलाई) मिटर वक्स र लाइन जडान गर्ने व्यवस्था मिलाइनु पर्दछ ।
० सुस्तावासीहरुका समस्या समाधानका उपायहरु के के छन् ?
– १) सुस्ताको समस्या वारे माथि पनि उल्लेख गरिसकेका छौ। जहां समाधानको कुरा छ।
– नेपाल र अंग्रेज वीच सन १८१६ मा सुगौली सन्धि पश्चात नवलपरासी जिल्लाको उत्तर–पूर्वमा रहेको त्रिवेणी घाटदेखि पूर्वमा र– दक्षिण पश्चिममा रहेको सगरदिन्हा पश्चिममा सीमाङ्कन गरी जंगे पिल्लरहरु खडा गरियो ।
२)तर नारायणी नदी सीमा रहेको त्रिवेणीघाटदेखि सगरदिन्हासम्मको १४ किलोमिटर नदीको वहाव क्षेत्रमा सीमाङकन गरिएन । धारलाई सीमा रेखा मानी त्यसै छोडियो।
३)तर नारायणी नदीले ठूला बाढीको समयमा आफ्नो धार परिवर्तन गरी नेपालतर्फ हानिइ नेपालको जमिन कटान ग¥यो । फलत सम्वत १९०२ को भिषण वाढीमा ६,३०० हेक्टर, २०११ मा ४,००० हेक्टर, २०२९ मा ६६० हेक्टर, २०३४ मा २,७०० हेक्टर २०४६ मा ३५० हेक्टर गरी हाल सम्म १४ हजार हेक्टर नेपाली भूमि कटान भएको छ ।४)जव नदीले कटान गरी नेपाली भूमि छाड्छ तव भारतीयहरूले नेपाली भुमि माथी दावि गर्दै मिच्दै कब्जा गर्दै आइरहेका छन ।५) नदीले समय समयमा आफ्नो धार बदल्नाले नै सुस्ताको मुल समस्या तथा वाद विवाद रहेको छ । ६) मेची नदीमा जस्तो नारायणी नदीको दाँया वाँया जङ्गे, खम्बा खडा नगरिनु नै समस्याको जड रहेको छ ।७)गण्डक बाँध भैसालोटन (सम्वत २०१५–१६) बनाउने क्रममा निर्माण कार्य सुगम बनाउन नारायणी नदीलाई नेपाल तर्फ डाइभर्सन गरिएको थियो । यस पछिको ठूलो वाढीहरुमा त्यही डाइभर्सन नाघेर नदिले बहाव परिवर्तन गरी नेपाली भूभाग कटान गर्दै आएको छ ।८)विहारमा चुनाव हुदाको समयमा भारतीय राजनीतिक नेताहरुले मतदातालाई आकर्षण गर्न सुस्ता क्षेत्रको जग्गा भारतीय किसानलाई वितरण गछौं भन्ने नारा दिनाले– भारतीय किसानहरुले जमिन मिचेका छन कब्जा जमाएका छन ।९)भारतीय सशस्त्र प्रहरी सीमा सुरक्षाबल (एसएसवि) का टुकडी सुस्ता क्षेत्र नजिकै तैनाथ गरिनाले भारतीय किसानले जमिन मिच्ने मनोवल पाएका छन् ।१०)सुस्तामाथीको यस प्रकारका समस्याहरुहल गर्नका लागि नेपाल सरकार ÷ राज्यले आवस्यक पहलकदमी नगर्नु ।
समाधानका लागि विगतमा भएका प्रयासहरु
१) नदी कटानका कारण विवाद सल्लाउन सम्बत १९८६मा संयुक्त सीमा कमिसन गठन गरिएको थियो ।२) यस्तो कमिसनने सम्वत १९९४,२००२, २००९, २०१० मा गरी पटक पटक संयुक्त बैठक ग¥यो तर समाधान हुन सकेन ।३) २०२१–०२२ सालमा सुस्तामा निवृत सेना प्रहरीहरुको परिवारहरु लाई बसोवास गराइयो र नापी कार्य शुरु गरियो । तर यो कार्यले पूर्णता पाउन सकेन–यो काममा पनि भारतीयहरुद्वारा दखल पु¥याउने, वाधा पु¥याउने काम भयो।४) २०३२–०३३–सानमा पुन केन्द्रीय नापी विभागवाटै नापी टोली खटाएर पठाइयो तर भारतीय पक्ष बाट– पुन अवरोध गर्ने काम भयो। नापी टोलीको अमिनलाई नै अपहरण गर्ने काम भारतीय पक्षबाट भयो। नापीका लागि लगिएका प्राविधिक समानहरू पनि लुट्ने, खोस्ने र वेपत्ता पार्ने काम भयो। ५) सुस्तामा २०२१–०२२ मा बस्ती वसाउँदै गर्दा त्यसलाई सुस्ता गाउँ पञ्चायतबाट नामाकरण नौ वटा वडाहरु विभाजन गरी विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी पनि स्थापना गरियो–भारतीय– गुण्डा, एस.एस.वीहरु लड्दा लड्दै २०३४ सालको वाढीले – विस्थापित गरायो– त्यस पछि राज्यवाट प्राथमिकता साथ भूमिको रक्षा, सुस्तावासीको उद्दार गर्ने विषयमा– ध्यान पुगेन ।६)जनपद प्रहरी, सीमा रक्षावल तथा सशस्त्र प्रहरीहरु कच्ची भवनमा वस्नु पर्दथ्यो – अहिले–पक्की भवन बनेको छ। स्वाथ्थ्य चौकी पनि स्थापना भएको छ ।७) सबै भन्दा अप्ठ्यारो त आवात–जावत गर्नका लागि बाटो थिएन पुल थिएन– २०८१ सालमा १५७६ मिटर को झोलुङ्गे पुल निर्माण भएको छ । यसले आवागमनका लागि सजिलो भएको छ ।८) वि.सं. २०३९ सालमा नेपाल–भारत संयुक्त प्राविधिक सीमा समिति गठन भई कार्य गरिएको भएता पनि यो प्राविधिक समितिले सुस्ता क्षेत्रको समस्या हल गर्न सकेको पाइँदैन ।
९) जिल्ला स्तरीय सीमा समितिका संयुक्त वैठकहरूमा २०६२ – सो समय सम्मको गतिविधिलाई दृष्टिगत गरी तत्कालका लागि दशगजा क्षेत्र भनि तोकिएको थियो । तर त्यसलाई पनि भारतीय, किसान, गुण्डाले उल्लघन गरी अतिक्रमण कार्य जारी गरेका छन ।१०) नेपालको तर्फबाट २०६३ सालमा शशस्त्र प्रहरी वलको सानो टुकडी सुस्तामा खटाइएको छ तर – थोरै संख्यामा (दरबन्दी) भएकोले प्रभावकारी हुन सकेको छैन।
समाधानका तात्कालीन उपाय
१) जमिन अतिक्रमणका सम्बन्धमा हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा राखी यस सम्बन्धी स्थानीय स्तरमा संयुक्त टोली (प्रमुख जिल्ला अधिकारीकै अध्यक्षतामा) ले गरी समधानका उपाय खोज्ने ।
२) सशस्त्र प्रहरी बलको संख्या थप गर्ने, माथिल्लो निकायबाट देशभक्तिको उच्च मनोबल बनाउने, प्रशिक्षण र निर्देशन सहित खटाउने ।
३) सशस्त्र प्रहरी बल (सीमा सुरक्षा फोर्स) पर्ने आवश्यक प्राविधिक सामाग्रीहरु, हातहतियार, सूचना प्रविधि संयन्त्रको आवश्यक बन्दोबस्त गर्ने यस्तै जनपद प्रहरीका लागि पनि सोही अनुसार व्यवस्थापन गर्ने ।
४) उप स्वास्थ्य चौकीमा औषधि आपूर्तिमा निरन्तरता दिने, स्वास्थ्यकर्मी जनशक्तिको उचित व्यवस्था गर्ने ।
५) धेरै लामो संघर्ष, दबाब र प्रयत्न पछि २०८१ सालमा १५७६मिटरको पुल बनेको हो, यसको सुरक्षामा ध्यान दिने । हाल यस पुलमा अनियन्त्रित रुपमा मोटरसाइकल कुुँदाउने, भारतीय आवरा, लठेत र ट्यापेहरु आएर होहल्ला गर्ने र झगडा गर्ने पुलमाथि अनावश्यक गतिविधि गर्ने भएकोले कडा निगरानी राखेर नियमन गर्ने, यस्ता प्रवृत्तिका व्यक्तिहरुलाई आवश्यक कार्यवाही गरी, पुल र सुस्तावासीहरुको सुरक्षामा ध्यान दिनुपर्दछ ।
६) विकासका अन्य पूर्वाधारहरु, विजुली वत्तिको व्यवस्था बाटो, कृषि वा कृषिजन्य उद्योग गर्न चाहनेहरुलाई ऋणको व्यवस्था मिलाउने, सुस्तामै आत्मनिर्भरताको स्थिति पैदा गर्न आवश्यक पहलकदमी गर्ने ।
दीर्घकालीन उपायहरुः
१) सुस्ता सीमासम्बन्धी विषय संवेदनशील भएको हुनाले भारतीय पक्षसँग राम्रोसँग संवाद गर्ने, यसका लागि पाको र अनुभवी कुटनीतिक माध्यम परिचालन गर्ने ।
२) राजनीतिक र सामाजिक तहमा सुस्ता क्षेत्रका रहेका नेपाली किसानका समस्या अवगत गराउँदै वारिपारिको सम्बन्ध सुमधुर बनाउन दुवैतिरका किसान र बुद्धिजीवीहरुका बीच संयुक्त छलफल चलाउने ।
३) दुवै देश नेपाल र भारतका सरकार प्रमुखका तहबाट आपसी सौहार्दपूर्ण तरिकाबाट सुस्ता समस्या हल गर्ने ।यसका लागि ऐतिहासिक तथ्य, सन्धि सम्झौता, वैज्ञानिक, व्यवहारिक सहमति र सुझबुझका आधारमा सीमा विवाद हल गरी दशगजा र सीमा स्तम्भहरु खडा गर्ने ।
० हाँक साप्ताहिक मार्फत् भन्नु पर्ने केही छ कि ?
– सर्वप्रथम हाँक साप्ताहिकलाई धन्यवाद छ । आम नेपाली श्रमजीवी र देशभक्त जनताका बीचमा हाम्रो धारणा सम्प्रेषण गर्ने मौका प्रदान गरेकोमा ।
– हाँक साप्ताहिकले नेपाली श्रमजीविहरुको पक्षधरता गर्दै आएको छ, यो पक्षधरताले निरन्तरता पाओस् भन्ने शुभकामना दिन चाहन्छौं । उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
– यही २०८२ साल श्रावण १७ गतेका दिन, सुस्तामा नै सुस्ता बचाउ अभियान र माक्र्सीय गुरुकुलको आयोजनामा नेपालको देशभक्ति तथा राष्ट्रियता आन्दोलनका हस्ती किसान आन्दोलनका जुझारु नेता–भिमदत्त पन्तको ७२ औं स्मृति कार्यक्रम आयोजना गरिएको छ । उक्त अवसरमा सुस्ता बचाउ अभियान नेपाल र माक्र्सीय गुरुकुलले प्रकाशन गर्ने तयारी गरेको गण्डकी आवाज सुस्ता विशेषांक पत्रिका देशभक्त प्रगतिशील लेखक, साहित्यकारहरुबाट संयुक्त रुपमा विमोचन गर्ने कार्यक्रम भएकोले हाँक साप्ताहिकलाई हार्दिक निमन्त्रणा गर्दछौं । उक्त विमोचन कार्यक्रमको हाँक साप्ताहिक मार्फत् देश विदेशमा सम्प्रेषण गरिदिनु हुनेछ भन्ने अपेक्षा गरेका छौं ।
सुस्ता विशेषांकको विमोचन किन सुस्तामै आयोजना गरियो भने सुस्ता बचाउ अभियान, नेपालका जेष्ठ अभियन्ता एवं देशभक्त सहिद रामानन्द चमार र अभियानका संस्थापक अध्यक्ष दिवंगत गोपाल प्रसाद गुरुङको सम्मान एवं समर्पण सुस्ताकै माटोमा गर्ने निर्णय गरिएको हो ।

