कुमारी थापा
वर्षदिनको तीज आयो दिदी बहिनी भेटौं है
यो सालको तीजको शुभकामना ।
२०८२ साल तीजको लहर
सबै मिली दुःख बिसाउँ लानु के छर ?
दश हण्डर खाइयो पाउन दुःख पाइयो
प्रदेशी जिन्दगी यसै जाने भो ।
जहाँ गएनी दुःखै मात्रै यो जीवनमा हेर न
रुढीवादी संस्कृतिलाई पर्छ फेरन ।
लाखौं युवा विदेशिए देशमा रोजगार नहुँदा
कुर्चि पाए देशै बेच्छन् भ्रष्ट नेताले ।
घुमी फिरी आउँछ तीज चेलीलाई जुटाउन
प्रदेशमा काम गरी बित्यो जीवन ।
बुझौ न हामी दिदी बहिनी बुझौं सबै जनताले
अझै पनि लुटिरहेछन् देशका नेताले ।
गणतन्त्र आयो तर सुख छैन जनतालाई
जुन सरकार आएपनि बस्छन् घुस खाई ।
कति सहनु शोषण दमन अर्कैको देशमा
सोचेजस्तो हुन्न रहेछ परदेशमा ।
सिन्दुर ,टीका ,चुरा, पोते नारीको गहना
यो विचारलाई त्यागी हामी अघि बढौं न ।
रुढीवादी संस्कृतिले हामी पछि पर्दैछौं
यो चलनलाई त्यागी अब अघि बढ्दै छौं ।
प्रदेशीको वेदनालाई कसले बुझिदिन्छ र ?
एक जुट भै फेर्नु पर्छ देशको मुहार ।
प्रदेशी नेपालीको एउटैमात्र सहारा
अखिल भारत नेपाली एकता समाज ।
संसार भरि छरिएका हामी सबै नेपाली
एकजुट भै लड्नु पर्छ शिर उचाली ।
फर्कौं अब स्वदेशमै हुन्न विदेश धाएर
देशमा विकास गर्नु पर्छ एकजुट भएर ।
प्रदेशी आवाज छ यो ,कायर हामी छैनौं
संघर्षको मैदानबाट पछि हट्दैनौं ।
भन्दै आज दुःख बिसाउँ तीजको बेलैमा
फेरि पनि भेट हुनेछौं अर्को सालैमा ।

