अट्रेस्लियामा अध्ययन शुल्क धेरै महंगो छ

– सुमन पौडेल
म ६ महिना पहिले २०२५ फेब्रुअरीमा अस्ट्रेलिया आएको हुँ । अस्ट्रेलियाको सिड्नीको मकोइरी विश्वविद्यालयको MIT AI (Masters Of Information Technology in Artificial Intelligence) मा भर्ना भएर अध्ययन सुरु गरेको छु । यो स्नातकोत्तर तहको दुई वर्षे प्रोग्राम हो । मेरो घर पाल्पा जिल्लाको तानसेन न.पा. ४, सिलखानटोल हो । मैले वृन्दावन इङ्गलिस बोर्डिङ स्कूल तानसेनबाट एस.एल.सी. उत्तीर्ण गरेको हुँ । प्लस टु मैले न्यू होराइजन, तानसेनबाट नै गरेको हुँ । प्लस टु पछि मैले काठमाडौंको नेपाल कमर्स क्याम्पस मीन भवनबाट चार वर्षे कोर्ष BIM ( Bachelor  Of Information Management) अध्ययन पूरा गरेको हुँ । BIM भनेको Management र Information Technology दुई विषयको मिश्रित विषय हो ।
कृत्रिम बौद्धिकता (AI) सम्बन्धमा नेपालमा पढाई हुँदैन । त्यही भएर मलाई अस्ट्रेलिया आउनु प¥यो । यदि नेपालमै यो विषय पढाई हुने भएको भए मैले नेपालमै पढ्ने थिएँ । आजको युग AI को युग हो । AI को प्रयोगले काम सजिलो र छिटो बनाइदिन्छ । नेपालमा AI को प्रयोग निकै कम हुन्छ । नेपालमा केही कम्पनीहरुले आफ्नो विजिनेसमा AI प्रयोग गर्न थालेका छन् । आफ्नो अध्ययन पूरा गरिसकेपछि नेपाल फर्किएर AI सम्बन्धी काम गर्ने सोंचाई छ । हेरौं ! पहिले त पढाईको काम सकाउनु प¥यो । मास्टर लेभलको पढाईपछि थप रिसर्चमा लाग्ने कि भन्ने पनि सोंचेको छु । मैले सिकेको सीप, क्षमतालाई सकभर नेपालमै प्रयोग गर्न पाए हुन्थ्यो भन्ने मलाई लाग्छ ।

अस्ट्रेलियामा झण्डै २ लाख नेपालीहरु छन् । त्यसमध्ये झण्डै ६० प्रतिशत विद्यार्थीहरु छन् । यहाँ अस्ट्रेलियामा कलेजको अध्ययन शुल्क अत्यन्त महंगो छ । दुई वर्षे मास्टर पूरा गर्न करिब ८० लाख रुपैयाँ लाग्छ । विद्यार्थीहरुले खर्च जुटाउन अध्ययनको अलावा काम गर्नुपर्ने हुन्छ । यहाँ बाहिर देशबाट अध्ययन गर्न आउने विद्यार्थीहरुका लागि एक हप्तामा जम्मा २४ घण्टा मात्र काम गर्न पाउने नियम छ । त्यसरी हप्तामा जम्मा ३ दिन जति मात्र काम गर्न पाइन्छ । त्यति कामले अस्ट्रलियामा खान र कोठा भाडा तिर्न पुग्छ । तर कमाईले कलेजको फिस तिर्न पुग्दैन । कलेजको केही फिस पहिले नै तिर्नु पर्ने हुन्छ ।

यहाँ बाहिरबाट पढ्न आउने विद्यार्थीहरुले प्राइभेट विश्वविद्यालय र कलेजमै पढ्नु पर्दछ । यहाँ सरकारी सस्तो विश्वविद्यालय र कलेज पनि छन् । तर त्यसमा प्रायः अस्ट्रेलियाका नागरिक र पि.आर.धारीहरुले मात्र पढ्छन् । हामी जस्ता बाहिरबाट गएकालाई त्यो अवसर छैन ।

अस्ट्रेलिया पढ्न आउनेलाई छात्रवृत्तिको व्यवस्था पनि छ । तर त्यो निकै सीमित छ । मैले पनि छात्रवृत्ति पाएको हुँ तर निकै सानो एमाउण्ट मात्र । कुनै कुनै नेपाली विद्यार्थीहरु शुल्क तिर्न नसकेर वा काम नपाएर कलेज नै छोड्नु परेका घटना पनि छन् । तर अलि मिहेनत गरेर खोज्ने हो भने सानो तिनो काम अस्ट्रेलियामा पाइन्छ । मैले काम गरेर खाने र बस्ने खर्च जुटाएको छु ।

अस्ट्रेलिया पढ्न आउन चाहने विद्यार्थीहरुलाई म के भन्न चाहन्छु भने यहाँ आउनु भन्दा पहिले कन्सल्टेन्सीको कुरा मात्र नसुनेर धेरै कुरा बुझेर, आफ्नो आर्थिक व्यवस्थापनलाई ख्याल गरेर मात्र आउनु होला ताकि यहाँ आएर अनावश्यक दुःख पाउन नपरोस् ।
AI पढ्न चाहने साथीहरुलाई यो क्षेत्रमा आउन आग्रह गर्दछु । किनभने यो विश्वप्रशिद्ध नविनतम प्रवृत्ति हो । AI ले मानव जीवनका विभिन्न पक्षलाई छिटो र सजिलो बनाउँछ ।
(हालः सिड्नी, अस्ट्रेलिया)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित