कृष्णराज पौडेल
२०८१ साल माघ महिनाको अन्तिम हप्ता बसेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले देशव्यापी रुपमा प्रचारात्मक अभियान चलाउने निर्णय गरेको थियो । त्यसको ठोस कार्यक्रम बनाउने जिम्मा पार्टीको स्थायी समितिलाई दिएको थियो । केन्द्रीय समितिको बैठक लगत्तै स्थायी समितिको बैठक बस्यो र प्रचारात्मक अभियानको ठोस कार्यक्रम बनायो ।
१) अभियानलाई “जनसम्बन्ध विस्तार अभियान” नामाकरण गर्ने ।
२) अभियान २०८१ चैत्र १ गते उद्घाटन गरेर ०८२ वैशाख १८ गते ‘मइ दिवस’ को अवसर पारेर काठमाडौंमा समापन गर्ने ।
३) अभियान झापा जिल्लाको काँकडभित्ता, पाँचथर जिल्लाको चियोभञ्ज्याङ, कञ्चनपुर जिल्लाको गड्डाचौकी र बैतडी जिल्लाको झुलाघाटबाट एकै साथ उद्घाटन गर्ने
४) पाँचथर जिल्लाको चियोभञ्ज्याङबाट शुरु गर्ने टोलीको नेतृत्व का. रामसिंह श्रीसले झापाको काँकडभित्ताबाट शुरु हुने टोलीको हरिभक्त कंडेलले, कञ्चनपुरको गड्डाचौकीबाट शुरु हुने टोलीको कृष्ण राज पौडेलले बैतडीको झुलाघाटबाट शुरु हुने टोलीको हेमन्त प्रकाश ओलीले गर्ने निर्णय गरिएको थियो ।
त्यसैगरी अभियानको उद्देश्य ः
१) “पार्टीलाई जनतासँग जोडी स्थापित गर्ने ।
२) जनसंगठन निर्माणमा जोड दिने र पार्टी संगठनलाई सुदृढ गर्ने ।
३) राष्ट्रिय एकता महाधिवेशनबाट पारित विचारधारात्मक राजनीतिक कार्यदिशालाई जनताबीच पु¥याउने ।
४) पार्टी एकताको महत्वबोध जनतालाई गराउने ।
५) संघर्षका मुद्दाहरु संकलन गरी शुत्रबद्ध गर्ने ।
६) वर्ग विश्लेषणका ठोस आधारहरु खोज्ने र दलाल तथा नोकरशाही पुँजीवाद नेपाली जनताको प्रमुख दुश्मन हो भन्ने कुरा स्थापित गर्ने ।
७) हाम्रो पार्टीको स्थिति र अन्य पार्टीको स्थितिबारे ठोस सामाग्री संकलन गर्ने ।” (केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकद्वारा पारिति राजनीतिक दस्तावेजहरु पेज २३–२४)
गड्डाचौकीमा हुने उद्घाटन कार्यक्रमको तयारीका लागि २०८१ फागुन २३ गते कञ्चनपुर जाने विचार गरेर कञ्चनपुर पार्टीका जिम्मेवार कामरेडहरुलाई जानकारी गराएको थिएँ । पछि २०÷२१ गतेतिर व्यूरो इन्चार्ज का. शेरबहादुर देउवा र सेक्रेटरीका हरि सुवेदीको फोन आयो । उहाँहरुले भन्नुभयो “चैत्र १÷२ गतेतिर होली पर्न परेको छ । हाम्रो पश्चिममा होली पर्व निकै मनाइन्छ । थारु समुदायमा त यो पर्व ३÷४ दिन चल्छ । त्यसैले उद्घाटनको मिति पछाडि सार्नुपर्छ । मैले सोंचे कार्यक्रम बनाउँदा क्यालेण्डर पनि नहेरिकन बनाउनु गल्ती गरियो । अब मैले यो कुरा केन्द्रीय कार्यालयलाई जानकारी गराएँ । कार्यालयले ०८१ चैत्र ४ गते सबै ठाउँबाट उद्घाटन गर्ने निर्णय ग¥यो र त्यसै अनुसार चैत्र २ गते विहान म कञ्चनपुर पुगें । महेन्द्रनगरमा व्यूरो इन्चार्ज का. शेरबहादुर देउवा रकञ्चनपुर जिल्ला इन्चार्ज का. रामबहादुर महरासँग भेट भयो । त्यहाँ हामीले जनसम्बन्ध विस्तार अभियानको उद्घाटन कार्यक्रमबारे मसिनो गरी सरसल्लाह ग¥यौं । कञ्चनपुृर जिल्ला सेक्रेटरी का. विष्णुराम दमाईकी बहिनी विरामी भएर हस्पीटलमा भएकाले विष्णुजी आउन सक्नुभएन । हामीले ३ गते पत्रकार भेटघाट गर्ने, कैलाली र कञ्चनपुरबाट उद्घाटन समारोहमा जनतालाई उतार्ने कार्यक्रमको तयारी र खर्चका लागि आर्थिक र अरु सबै विषयमा निर्णय गर्न जिल्ला पार्टीको बैठक बस्ने लगायतका विषयहरु र कञ्चनपुर जिल्लाभित्र अभियान कुनकुन गाउँपालिका, नगरपालिकाहरुमा संचालन गर्ने, अभियानको लागि गाडीको व्यवस्था झण्डा व्यानर,अभियान टोलीको पहिचान झल्किने टोपी वा टीसर्ट बनाउने बारे पनि सरसल्लाह भयो । २ गते साँझ म रामबहादुर महराजीसँग उहाँको घरमा गएँ । महराजीलाई पार्टी केन्द्रीय समितिको बैठकमा देखेको र सुनेको मात्रै । उहाँसँग बसेर आपसमा संवाद भएको थिएन । यो पहिलो भेटघाट र बसाई अत्यन्त सहज र हार्दिकतापूर्ण भयो । यसै सिलसिलामा कञ्चनपुर जिल्ला सेक्रेटरी विष्णुरामजीको बहिनीको मृत्यु भएको खबर पायौं । यो शोकको घडीमा हामी त्यहाँ जानुपर्र्छ भन्ने पनि सल्लाह भयो । ३ गते विहान हामी महेन्द्रनगर पुग्यौं ।
३ गते विहानसम्म अभियान टोलीका कामरेडहरु का. चक्रपाणी शर्मा, का. अम्विका मुडभरी पनि पुगिसक्नुभएको थियो । ३ गते विहान का. चक्रपाणि शर्मा का. अम्बिका मुडभरी, का. रामबहादुर महरा सहित हामी ४ जना विष्णुराम जीको बहिनीको अन्त्यष्टी स्थल महाकाली नदीको घाटमा पुगेर श्रद्धाञ्जली कार्यक्रम गरियो र महेन्द्रनगर फक्र्यौं ।
३ गते ३ बजे महेन्द्रनगरको होटल (९÷११) मा पत्रकार भेटघाट शुरु भयो । १८ जना पत्रकारहरु र त्यहाँ सहभागी पार्टीका साथीहरुको बीचमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको “जनसम्बन्ध विस्तार अभियानको” लक्ष्य, उद्देश्य, योजना र कार्यक्रमबारे विस्तृत रुपले ब्रिफिङ गरियो । त्यहाँ पत्रकारहरुका प्रश्नहरु यस्ता थिए ।
१) नेपालका कम्युनिस्टहरु एकै ठाउँमा हुन किन सकेनन् ?
२) देशमा राजावादीहरुको गतिविधि बढेको छ । शासनसत्तामा कम्युनिस्टहरु धेरै बसे, अब यिनीहरुलाई पत्याउने आधार के छ ?
३) राजावादीका विरुद्ध दलहरु एक जुट हुनुपर्छ भन्ने कुरा पनि उठेको छ । यसमा तपाईहरुको धारणा के छ ?
४) अब राजा आउन प¥यो भन्नेहरुलाई के जवाफ दिनुहुन्छ ? आदि
२०८१ चैत्र १५ गते काठमाडौंमा राजावादीहरुले गर्ने भनिएको प्रदर्शनबारे पश्चिम नेपालमा निकै चर्चा थियो । पुराना राजावादीहरु मुख बाएर बसेका थिए । जता गयो राजाकै चर्चा थियो । हामीले भन्यौं नेपाली जनताले ०६२÷६३ को आन्दोलनमा पशुपतिमा लगेर जलाइसकेको राजतन्त्र अब फर्केर आउँदैन । नेपालको करिव २५० वर्षको परम्परागत राजतन्त्र २०५८ जेठ १९ गते नै समाप्त भएको हो । तैपनि देशमा एकजनासम्म राजावादी जिउँदो रहँदासम्म यस्ता विलापहरु सुनिन सक्छन् । कतै राजावादीहरुको भूत जाग्न थाल्यो भने गणतन्त्रवादी शक्तिहरु एकजुट भएर लखेट्नुपर्छ ।
आजको देशको आवश्यकता प्रतिगमन होइन, यथास्थिति पनि होइन, अग्रगमन नै हो । अहिले देशमा ३ वटा विचारहरु देखिएका छन् । एउटा प्रतिगामी विचार अर्को यथास्थिति मै रमाउने संसदवादी विचार र अर्को अग्रगामी विचार । हाम्रो देशको परिप्रेक्ष्यमा विद्यमान संसदीय व्यवस्थाको अन्त र त्यसको ठाउँमा जनगणतान्त्रिक संविधानको निर्माण र नयाँ जनवादी व्यवस्थाको स्थापना आजको राष्ट्रिय आवश्यकता हो र त्यसको नेतृत्व हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्दछ । त्यसैले हामीले देशभर छरिएर रहेका देशभक्त र जनतान्त्रिक शक्ति व्यक्ति समूह संघसंस्था र आम नेपाली देशभक्त जनता, बौद्धिक व्यक्तित्व, राष्ट्रिय पुँजीपतिवर्ग शिक्षक, कर्मचारी, युवा,विद्यार्थी जननिर्वाचित प्रतिनिधि पत्रकार सबै तह र तप्काका जनसमुदायहरुमा यही अपिल गर्न यो अभियान चलाउँदैछौं । जहाँसम्म कम्युनिस्टहरु एक जुट हुन नसक्ने भन्ने प्रश्न छ । यो प्रश्न अलि गम्भीरछ । कसैको नाम धनपति राखिदिएर धनको मालिक नभए जस्तै कम्युनिस्ट पार्टी नामाकरण गर्दैमा कम्युनिस्ट भइने रहेनछ ।
नेपालमा संसदीय व्यवस्थाका पक्षधर शक्तिहरुले जनतालाई हामी कम्युनिस्ट हौं भनेर ठूूलो भ्रम दिइरहेका छन् । नेपालका संसदवादी ‘कम्युनिस्ट’हरुले दलाल तथा नोकरशाही पुँजीपतिवर्ग, साम्राज्यवाद एवं विस्तारवाद र देशमा बचेखुचेको सामन्तवादका अगाडि आत्मसमर्पण गरेर शासनसत्तामा टिकिरहने गर्दा देश सबै पक्षबाट बर्बाद भएको छ । राष्ट्रियस्तरका उद्योगहरु निजीकरणको नाममा विक्री गरेर सिध्याए । देशमा आफ्नो उत्पादन छैन । सबै वस्तु र सेवामा देश परनिर्भर भएको छ । त्यसैले अग्रगमनतर्फ, नयाँ जनवाद र वैज्ञानिक समाजवाद तर्फजाने शक्तिहरुसँग एकता सहकार्य गर्ने नीति सहित हामी जनतामा परेको भ्रम साफ गर्ने यो अभियानको उद्देश्य हो । यो विषयमा का. चक्रपाणि शर्मा र मैले पत्रकारहरुको जिज्ञासा मेटाउने प्रयत्न ग¥यौं । कञ्चनपुरबाट प्रकाशित हुने छापा पत्रिका, अनलाइन पत्रिकाहरुले समाचार छापेका थिए ।
क्रमशः

