काठमाडौं । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको भेला भाद्र २१ गते ललितपुरको कुपण्डोलस्थित क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको कार्यालयको सभाहलमा सम्पन्न भएको छ । मोर्चाका संयोजक लोकनारायण सुवेदीले राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको दोस्रो राष्ट्रिय भेलाको व्यानर बाचन गरेर भेलाको उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन मन्तव्य राख्दै सुवेदीले भन्नु भयो, “ ६५ प्रतिशत नेपाली जनताहरु कम्युनिष्ट समर्थक भएपनि टुटफुट मात्र भइरहेको स्थितिमा राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाललाई निरन्तर अगाडि बढाउन सक्नु हाम्रो सफलता हो । ” क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेलले मोर्चाको भेला सफलताको शुभकामना दिँदै कम्युनिष्ट आन्दोनलमा फुटका बाबजुद कम्युनिष्टहरु एकता गर्न पनि सक्दछन् भन्ने उदाहरण राष्ट्रिय क्रान्तिकारी मोर्चा हो भन्नु भयो । कार्यबाहक महासचिव गौरवले इतिहासको स्मरण गर्दै भन्नु भयो “कार्ल माक्र्सले स्थापना गरेको प्रथम अनतर्राष्ट्रिय विभिन्न मतभेदका कारण विघटन भयो तर ऐङगेल्सको नेतृत्वमा पुनः दोस्रो अन्तर्राष्ट्रियको गठन भयो । यस्ता कैयौं विभाजन र एकताको प्रक्रियाबाट विश्व कम्युनिष्ट आन्दोलन अगाडि बढिरहेको छ । मोर्चा भित्र पनि नयाँ जनवाद सम्पन्न गरी समाजवादमा जाने कि सिधै समाजवादी क्रान्ति गर्ने भन्ने विषयमा विवाद छ तापनि हामीले सहमति भएका विषयहरुमा एकता कायम गर्दै अगाडि बढ्न सक्नु पर्दछ । के गर्दा क्रान्तिकारी आन्दोलनलाई फाइदा पुग्छ त्यसमा सबै मिलेर निर्णय गरौं । हाम्रो पार्टीको आलोचना गर्नुस यदि हाम्रा कमजोरी छ् भने हामी सच्याउन तयार छौं ।मोर्चामाथि पार्टीको निर्णय लाद्न थाल्यौंभने मोर्चामा फुट हुन्छ । त्यसैले सहमति भएका विषयलाई स्वीकार गर्दै फरक मतलाई सम्मान गर्दै मिलेका विषयमा एकता कायम गर्दै अगाडि बढौं । सबै काम र गतिविधि मोर्चाबाट हुनु पर्छ भन्ने नीति गलत हो। मोर्चाका सन्दर्भमा यस्तो गलत नीति र संकीर्णता अपनाउनु हुँदैन भनेर माओले पनि भन्नु भएको छ ।”
त्यसपछि अखिल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा राष्टिय क्रान्तिकारी मोर्चा नेपालका पूर्व संयोजक नारायण प्रसाद शर्माले कमजोर हुँदै गएको कम्युनिष्ट शक्तिलाई एकठाउँमा ल्याउनु पर्ने धारणा राख्नु भयो । नेकपा मशालका पुष्पलाल श्रेष्ठले सँगै काम गरेका र अग्रज कामरेडहरुसँग भेट हुन पाउँदा खुशी व्यक्त गर्दै भेला सफलताको शूभकामना दिनु भयो । त्यसै गरी नेकपाका शरण विक्रम मल्लले आन्दोलनको नेतृत्व गर्ने शक्ति यो मोर्चा हो भन्नु भयो । वहाँले एक जना व्यक्तिले पनि ठूला ठूला आन्दोलन र उपलब्धि हासिल गर्न सक्दछन् । प्रतिरोध जनअधिकार आन्दोलनका संगीत श्रोताले साम्राज्यवाद विरोधी मोर्चा बनाउन जरुरी छ, यो मोर्चालाई साम्राज्यजाद विरोधी मोर्चाको रुपमा विकास गर्न आवश्यक छ भन्नु भयो । नयाँ जनवादी मोर्चाका दिनेश बर्तौलाले संसदवादीहरुको भ्रमलाई चिर्न पर्ने बताउनु भयो । नेकपा माक्र्सवादी पुष्पलालका टंक भट्टराईले चीनले पनि नेपाललाई हस्तक्षेप गर्न थालेको बताउँदै राष्ट्रिय स्वाधिनताको आन्दोलनको आवश्यकतामा जोड दिनु भयो ।
कार्यक्रममा नेकपा वामपन्थी केन्द्रका संयोजक राजकुमार कक्षपति ,वाम बुद्धिजीवि महादीव पोख्रेल, कोशी प्रदेशबाट अनुकुल , मधेश प्रदेशबाट इश्वर ढुङगेल,गण्डकी प्रदेशबाट दीपक गुरुङ,वागमती प्रदेशबाट शैलज पौडेल, लुम्बिनी प्रदेशबाटबाट कमल भूषालले भेला सफलताको शुभकामना दिनु भएको थियो ।
दोस्रो चरणको कार्यक्रमबाट राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको १७ सदस्सीय केन्द्रीय समिति गठन भएको छ । जसको संयोजक सन्तबहादुर नेपाली, सदस्यहरु लोक नारायण सुवेदी, नरेद्रबहादुर तान्डुकार, दिेनेश शर्मा , मुकुन्द आचार्य , पुस्कर गौतम , प्रमोद धिताल ,शैलज पौडेल , विमल शर्मा , पुष्पलाल श्रेष्ठ , दिनेश बर्तौला , रामशरण मगर ,अच्युतराज ज्ञवाली ,टंकप्रसाद भट्टराई , नविन कुमार कक्षपति , प्रेमबहादुर तरामी मगर र महादीप पोख्रेल रहनु भएको छ । समिति गठन पश्चात बसेको बैठकले २०८२ भाद्र २४ गते मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलन गर्ने र त्यस पछि लिपुलेकबारे काठमाण्डौमा अन्तरक्रिया कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।
![]()

