काठमाडौं । वरिष्ठ कवि मञ्जुल (मेघराज नेपाल) यतिखेर गम्भीर बिमारीका कारण काठमाडौँको मोडेल अस्पतालमा उपचाररत हुनुहुन्छ । गीत, संगीत, कविता र अन्य विधाका साहित्यिक सृजनाका संगम मञ्जुल देशभित्र र देश बाहिरका धेरै लेखक र पाठकहरूको अत्यन्तै सम्मानित र प्रिय साहित्यकार हुनुहुन्छ ।
कवि, गीतकार तथा गायक मेघराज नेपाल (मन्जुल) का रचनाहरु वाम आन्दोलन र विचारसँग नजिक छन् । उहाँका रचनाहरु शोषित पीडित, गरिब, दुःखी जनताका पक्षमा जीवन्त बनेर उभिएका छन् ।
मानिस छुत अछुत हुन्छ
म भन्दै भन्दिन
जाति र पाति छुट्याउने रितलाई
म मान्दै मान्दिन
‘‘‘‘‘‘‘‘।।
मर्नु पर्छ एकदिन सबैले
हामी पनि मर्छौं
हामी मर्दा जनताको
शिर उठाई मर्छौं
‘‘‘‘‘‘‘‘‘
उठ् उठ् नारी हो
अब डर छैन
एउटा मात्र हातले
ताली बज्दैन
‘‘‘‘‘‘‘‘‘‘
कोही त भने जहाजमा हरर
कोहीका भने पसिना धरर
हाम्रो नेपालमा
कोहीका लुगा बत्तुले बालेको
कोहीका लुगा बाह्र ठाउँ टालेको
हाम्रो नेपालमा
कोहीका घरमा डाक्टरको चाकडी
कोही त मर्छन् अस्पताल नहेरी
हाम्रो नेपालमा
‘‘‘‘‘‘‘‘।
यस्ता सशक्त गीत मञ्जुलबाटै रचना भएका हुन् ।
नेपाली भाषा, साहित्य, कला, संस्कृतिमा मञ्जुलको योगदान छँदैछ ,उहाँले चिनियाँ कवि आइछिङ्को ‘उज्यालोको प्रशंसामा’ कविता संग्रहलाई नेपाली भाषामा अनुवाद गर्नुका साथै अमेरिकी कवि वेनएम्सिस लगायत थुप्रै विदेशी साहित्यकारहरुका रचनालाई नेपाली भाषामा अनुवाद र थुप्रै नेपाली साहित्यकारहरुका रचनाहरु विभिन्न विदेशी भाषामा अनुवाद गरी प्रकाशन गर्ने कार्यमा पनि उहाँको योगदान छ ।
मञ्जुल नेपाली, हिन्दी, अंग्रेजी, चाइनिज, स्पेनिस, फ्रेन्च लगायतका ७ भाषाका जानकार हुनुहुन्छ ् ।
माता जमुना नेपाल र पिता टीका बल्लभको कोखमा गोगने, भोजपुरमा वि.सं. २००३ सालमा जन्मिएका मञ्जुलले वि.सं. २०२४ देखि रेडियो नेपालमा गीत लेखन र गायन थाल्नुभएको थियो । २१ वर्षको कलिलो उमेरमा नै ‘छेकुडोल्मा’ उपन्यास लेखेका मञ्जुलका साइली मोरीलाई(गीत संग्रह), गायक यात्री (कविता संग्रह), सम्झानाका पाइलाहरु(यात्रा संमरण), मञ्जुलका नयाँ कविताहरु, सिद्धिचरणहरु, मृत्यु, चोकटी र बाल्यकालसँग खेल्दै (कविता संग्रहहरु(, पहाड जस्तो म, बाटो जस्तो म (संस्मरण) लगायतका कृतिहरु प्रकाशित छन् ।
उहाँ ब्यथित काब्य पुरस्कार, उत्तम पुरस्कार, सिद्धिचरण काव्य पुरस्कार, साझा पुरस्कार,विश्व ज्योति साहित्य सम्मान लगायतका राष्ट्रिय पुरस्कार र सम्मानबाट पुरस्कृत तथा करिव ५ दर्जनभन्दा बढी संघ–संस्थाहरुबाट सम्मानित हुनुहुन्छ ।
विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंमा करिब ३ दशक प्राध्यापन पेशामा समय व्यतित गरेका मञ्जुल नेपालको चर्चित सांस्कृतिक राल्फा आन्दोलनका एक सदस्य हुनुहुन्थ्यो । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान कमलादीमा प्राज्ञ सभा सदस्य , संगीत नाट्य प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यको जिम्मेवारी समेत वहन गर्नु भएको थियो । ।उहाँका शुभचिन्तकहरु वरिष्ठ कवि मञ्जुलको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेकाछन् ।

