काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा (मसाल)का नेताहरुबीच वर्तमान राजनैतिक विषयमा महत्वपूर्ण भेटघाट भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यबाहक महासचिव सीपी गजुरेल , स्थायी समिति सदस्य सन्तबहादुर नेपाली र नेकपा (मसाल) का नेता भैरव रेग्मीकाबीचमा २०८२ असोज ३ गते महत्वूर्ण राजनैतिक भेटघाट सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको कार्यालय कुपण्डोलमा भएको भेटघाटमा जेन्जी आन्दोलनपछि देशमा उत्पन्न परिस्थिति र निकासबारे महत्वपूर्ण छलफल भएको छ ।
दुवै पार्टीका नेताहरुले जेन्जी आन्दोलनपछि संसद विघटन ,सुशीला कार्की नेतृत्वको सरकार गठन हुनु देशमा प्रतिगमन भएको भन्दै अग्रगामी निकासको लागि सबै एकजुट भएर आन्दोलनमा उत्रिनु पर्ने आवश्यकतामाथि जोड दिनुभयो । जेन्जी आन्दोलनको नाममा भएको तोडफोड, आगजनी , संसद विघटन र सरकार परिवर्तनबारे गम्भीर छलफल भयो । नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेतृत्वहरुले देशमा संसद पुनस्र्थापना भएपनि बारम्बार प्रतिगमनको खतरा रहिरहने भन्दै अग्रगामी निकासकोलागि र प्रतिगमनलाई रोक्न कम्युनिष्ट घटकहरुका बीचमा मतभेद भएपनि देशभक्त, वामपन्थी कम्युनिष्ट क्रान्तिकारीहरु मिलेर ठोस साझा निश्कर्षमा पुग्नु पर्ने र आन्दोलनलाई साझा बनाएर जानु पर्ने धारणा राख्नु भयो ।
त्यस्तै नेकपा (मसाल)का नेता भैरव रेग्मीले आफ्नो पार्टीले प्रतिगमनको खतरा टरेको छैन भन्दै आएको र अहिलेकोलागि संसदको पुनस्र्थापना हुनु पर्नेमा पार्टी रहेको धारणा राख्नु भयो । आन्दोलनमा के कसरी जानसकिन्छ भन्नेबारे पार्टीले बैठक बसेर तय गर्ने कुरा नेता रेग्मीले राखेको स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले जानकारी गराउनु भएको छ ।

