भारत । अखिल भारत नेपाली एकता समाजले नेपालको जेन्जी आन्दोलन र भारतमा आधार कार्डबारे समाजको दृष्टिकोण स्पष्ट गरेको छ। अखिल भारत नेपाली एकता समाजको केन्द्रीय समितिको बैठक २०२५ सेप्टेम्बर २१ मा बसेपछि समाजका केन्द्रीय अध्यक्ष आनन्द थापाले जारी गरेको वक्तव्यमा सो स्पष्ट गरिएको हो।
वक्तव्यको पूर्णपाठ यसप्रकार छ,“अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको बैठक दिनाङ्क २१ सेप्टेम्बर २०२५ का दिन सम्पन्न भएको छ। उक्त बैठकले लिएका कतिपय समसामयिक विषयलाई सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।
नेपालमा जेन जी पुस्ताले सरकारद्वारा प्रतिबन्ध सोसल मिडियाको पुनर्स्थापना र देशमा पन्पिरहेको चरम भ्रष्टाचारको विरोध गर्न लक्षित गरी भाद्र २३ र २४ तदनुसार ८ र ९ सेप्टेम्बर २०२५ मा आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले गोली प्रहार गर्नुका कारण ज्यान जी पुस्ताको प्रदर्शनले भ्रष्टाचारी सरकारका विरुद्ध विकराल रूप लिन पुग्यो । आन्दोलनको उद्देश्य सही थियो र सही दिशामा अगाडि बढिरहेको पनि थियो तर उक्त आन्दोलनमा देशी विदेशीहरूको घुसपैटका कारण देशका महत्त्वपूर्ण कार्यालय नेताहरूका घर तोडफोड, आग्जनी र ध्वंसात्मक कार्य हुन पुग्यो । कैयन कैदीहरु जेलबाट भागेका छन् । जुन अराजक कामहरू भए त्यसको निष्पक्षताको आधारमा छानबिन हुनु पर्दछ । जेन जी आन्दोलनले भ्रष्टाचार गर्ने नेताहरुलाई खबरदारी गर्नुका साथै सत्ताचुत पनि गरेको छ । सेना र जेन जी बीच भएको सहमतिले सुशिला कार्कीको नेतृत्वमा सरकार गठन गरिएको छ । सरकारले छ महिनामा निर्वाचन गराउने घोषणा गरेको छ । सरकार कसरी अघि बढ्छ समयले बताउनेछ।
भारतमा कार्यरत नेपालीहरूलाई आधार कार्ड अनिवार्य बनाएर अत्यन्त असहज परिस्थिति सिर्जना गराइएको छ। अहिले सजिलै आधार कार्ड बनाउन पनि सकिँदैन । नेपालीहरूले नेपाली नागरिकता र आधारकार्डसँगै राख्न हुँदैन भन्ने अर्को हल्ला छ । आधार कार्डको पछाडि स्पष्टसँग लेखिएको छ कि आधार कार्ड भारतीय राष्ट्रिय परिचय पत्र हैन भनेर । तर नेपालमा स्थानीय सरकारले भारतमा कार्यरत नेपालीहरुलाई नागरिकता बनाउन जाँदा आधार कार्ड छ कि छैन भए रद्द गरेर आउ भन्ने जस्ता झमेला लगाइदिने गर्दछन्। त्यस्तै भारतमा कतिपय प्रान्तीय सरकारले आधार कार्ड र नेपाली नागरिकतासँगै राख्न हुँदैन यसले दुई देशको नागरिक दर्साउँछ भनेर सर्वसाधारण जनतालाई तंग गर्ने गरेको पनि पाइएको छ । यो गलत हो। भारत सरकारले स्पष्ट रुपमा भनेको छ कि नेपाली भएको नाताले नेपाली नागरिकता राख्न पाउनु पर्दछ। भारतमा कार्यरत नेपाली भएको हुनाले आधार कार्ड पनि बनाउन आवश्यक छ र यसले दुवै देशको नागरिकता दर्साउँदैन। तसर्थ हाम्रो संगठनले के स्पष्ट गर्न चाहन्छ भने आधार कार्ड र नेपाली नागरिकताले दुई देशको नागरिक भएको अङ्कित गर्दैन र भारतमा कार्यरत नेपालीहरुलाई यस विषयमा यातना नदिन माग गर्दछ । अर्कोतर्फ आधार कार्डको बदला भारतमा कार्यरत नेपालीहरूका लागि नेपाली नागरिकता प्रयोगमा ल्याउनु पर्छ भन्ने संगठनको माग रहँदै आएको छ। यदि भारतमा नेपाली नागरिकताले काम गर्यो भने हामीलाई भारतीय कुनै पनि डकुमेन्टको आवश्यकता पर्दैन।”


