जेन जी आन्दोलनमा कहाँ के भयो ? ७७ जिल्लाको संक्षिप्त जानकारी

 

रामबहादुर बुढा ,काठमाण्डौ । गत भाद्र २३ र २४ गतेको जेन जी आन्दोलनमा ठूलो जनधनको क्षति भयो । हाँकले ७७ जिल्लामा जेन –जीआन्दोलनको के कस्तो प्रभाव रह्यो भनेर जानकारी संकलन गरेको छ । मूलभूत क्षतिको विवरण, कैदीबन्दीको फरार र फिर्ती सम्बन्धमा जानकारीहरु संकलन गरिएको छ ।

ताप्लेजुङ
जेन –जीहरुले भाद्र २३ गते नारा सहित प्रदर्शन गरेका थिए । सदरमुकामको वीरेन्द्रचोकमा भेला भएका जेन–जीले सरकारको राजीनामा मागदेखि सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गरे । उनीहरूले स्टप करप्सन को ब्यानर बोकेका थिए। प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले बताए अनुसार २४ गते बेलुकी दीप प्रज्ज्वलन गरेपछि कांग्रेस, एमाले , रास्वपा, माके लगायतका पार्टी कार्यालयहरु तोड फोड गरियो । फुङिलङ नगरपालिका भवनलाई क्षति पु¥याइयो । तमोर हाइड्रो पावरको भवनमा क्षति पु¥याएको थियो , पर्यटन विभागले बनाइदिएको पाथिभरा बिसाउने भवन पनि जलाउने काम भयो । ताप्लेजुङ कारागारमा १५२ कैदी बन्दी रहेकोमा कसैले पनि फरार हुन पाएन ।

पाँचथर
पाँचथरमा जेन जी समूहले सुरुमा शान्तिपूर्ण ढंगले विरोध प्रदर्शन गरेको थियो । भाद्र २३ गते साँझ ५ बजे आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न गर्दै दीप प्रज्ज्वन गरिएको थियो । भाद्र २४ गते पाँचथरमा करिब ३ सय जना बढी युवाहरूले सहभागिता जनाएका थिए । प्रदर्शनकारीहरूले सरकारलाई ‘हत्यारा’ भन्दै कडा आवाजमा नारा लगाएका थिए ।

इलाम
इलाममा सुरु भएको जेनजी आन्दोलनले स्थानीय प्रशासन, सरकारी सेवा र राजनीतिक दलको कार्यालयमा ठूलो क्षति पुराएको थियो । स्थानीय संचार माध्यमहरुले बताए अनुसार इलाममा सवैभन्दा बढी क्षति इलाम नगरपालिकामा भएको छ । सदरमुकाम समेत रहेको यस नगरपालिकाको भवन, फर्निचर, कार्यालयको उपकरणमा क्षति पुगेको छ । इलामको सूर्योदय नगरपालिकामा जेनजीको प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । इलाम नगरपालिकापछि सवैभन्दा बढि क्षति भोग्ने स्थानीय तहमा माई नगरपालिका रहेको छ । माई नगरपालिका वडा नं. ६ बाहेक सबै वडामा क्षति पुगेको छ । मेयरको कार्यकक्ष पूर्ण रूपमा जलेर नष्ट भएको छ भने कम्प्युटर, डेस्कटप लगायत महत्वपूर्ण सामग्रीमा क्षति पुगेको छ । पश्चिम क्षेत्र फाकफोकथुममा जेनजीले वडा वडामा आन्दोलनका कार्यक्रमहरु गरेपनि भौतिक संरचनामा आक्रमण भएन । जिल्लामा तेश्रो सवैभन्दा बढी क्षति व्यहोर्ने गाउँपालिकामा रोङ रहेको छ  । इलामका राजनीतिक दलका कार्यालयहरुमा जेनजी आन्दोलनले क्षति पुगेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको कार्यालयमा आगजनी भएको छ ।

झापा
पाँचथर जिल्ला हिलिहाङग गाउँपालिका वडा नं २ अमरपुरका कमल भण्डारी झापाको विर्तामोडमा प्रहरीसितको झडपमा घाइते भए र  उनको अस्पतालमा नै मृत्यु भयो । झापाको भद्रपुरस्थित कारागारमा १६सय कैदीबन्दीहरु छन् । कारागार प्रशासक रेवन्त भट्टराइले बताएअनुसार त्यहाँ कैदीबन्दीहरु कारागारबाट निस्केर जान पाएनन् । सरकारी कार्यालय, नगरपालिका र गाउँपालिकाहरुमा क्षति पु¥याएको छ ।

मोरङ
मोरङमा स्थानीय संचार माध्यमहरुले जिल्ला प्रशासन कार्यालयलाई उदृत गर्दै दिएको समाचार अनुसार १४८ सरकारी कार्यालयहरु मध्ये ७० प्रतिशत कार्यालयमा आगजनी र तोडफोड गर्ने काम भएको छ । संघीय सरकारका २१, प्रदेश सरकारका १४ , स्थानीय तहका १० कार्यालय र अन्य ५८ कार्यालय गरी १०३ वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । प्रहरीका २ दर्जन कार्यालयमा क्षति पु¥याइएको छ । आठवटा राजनीतिक दलका कार्यालय तोडफोड गरिएको छ । ३ वटा व्यापारिक केन्द्रमा क्षति पु¥याएको छ । विराटनगरको ऐतिहासिक कोइराला निवासलाई समेत क्षति पु¥याइएको छ । २० जना प्रहरी घाइते भएका थिए । मोरंग कारागारमा १६सय भन्दा बढी कैदी बन्दीहरु छन् । बन्दीहरु कुनै पनि भाग्न पाएनन् ।

सुनसरी
भाद्र २३ गते सुनसरीमा २ जना प्रदर्शनकारीको प्रहरीको गोलीबाट मृत्यु भएको थियो । इनरुवा उपमहानगरपालिका , कोशी र दोहवी लगायतका पालिकाहरुमा क्षति पु¥याएको छ । सुनसरीको झुम्कास्थित कारागारका निमित्त प्रशासक राम निरौलाले बताएअनुसार कारागारमा रहेका १७९९ जना कैदीबन्दीहरु मध्ये ३ जना कारागार मै रहे र बाँकी १७९६ जनालाई प्रदर्शनकारी हुल आएर लिएर गएका थिए । असोज १३ गते बिहानसम्म ९८९ जना फर्किएका छन् ।

धनकुटा
धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताएअनुसार धनकुटामा ठूलो क्षति हुन पाएन । महालक्ष्मी नगरपालिकाको कागजातहरु जबरजस्ती खोसेर लिएर गएका छन् । त्यसलाई पालिकाले फिर्ता गर्न आग्रह गरेको छ । सदरमुकाममा शान्तिपूर्ण नारा जुलुश भएको थियो । धनकुटा कारागारमा १६० भन्दा बढी कैदीहरु छन् । हामी निस्कन पाउनु पर्छ भनेर हल्ला गरेका थिए तर कारागार प्रशासनले निस्कन दिएन । कुनै पनि सरकारी कार्यालय क्षति भएन ।

तेह्रथुम
तेह्रथुम प्रमख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताएअनुसार आठराइस्थित निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पुख्र्यौली निजी घरमा आगजनी गरिएको बाहेक अरु कुनै पनि अप्रिय घटना भएको छैन । म्याङलुङबजार लगायतका ठाउँहरुमा प्रदर्शन गरेका थिए । म्याङलुङ कारागारमा करिब सय जना कैदी छन् कुनै पनि फरार भएनन् ।

खोटाङ
खोटाङका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताएअनुसार भाद्र २३ र २४ गते सदरमुकाममा युवा विद्यार्थीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका थिए । कुनै पनि अप्रिय घटना घटेन । खोटाङबाट काठमाण्डौ गएका २ जना घाइते भएका छन् ।

भोजपुर 

भोजपुरमा पनि जेन जि आन्दोलन प्रति ऐक्यवद्धता जनाउँदै भाद्र २४ गते प्रर्दशन गरिएको थियो । भोजपुरको डाँडागाउँबाट नारा बाजी सहित सुरु प्रदर्शन बजार परिक्रममा पश्चात सदरमुकाम स्थित चारभञ्ज्याङ चोकमा पुगेर बिरोधसभामा परिणत भएको थियो । प्रदर्शनमा विद्यार्थी सहित स्थानीय युवायुवति, सर्वसाधारणहरुको सहभागिता थियो । युवाहरुले भष्ट्रचार अन्त्य, सामाजिक सञ्जाल बन्द र भविष्य सुनिश्तिताका लागि गरेको आन्दोलनमा गरिएको दमनको निन्दा गर्दे नाराहरु लगाईएको स्थानीय सञ्चार माध्यमहरुले जनाएकाछन्। भोजपुर कारागारका निमित्त प्रशासक केशव प्रशाद खनालले जानकारी गराए अनुसार कारागारमा ९८ जना बन्दी थिए ।कुनै पनि भागेनन् । झुम्काबाट भागेर गएका ३ जनालाई केही दिन कारागारमा राखेर झुम्का पठाइएको छ । नख्खुबाट भागेका २ जनालाई भोजपुर कारगारमा राखिएको छ। मौसम अनुकुल भए पछि ती नख्खुपठाउने कारागार प्रशासनको योजना छ ।

 

ओखलढुङगा
ओखलढुङगाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले दिएको जानकारी अनुसार भाद्र २४ गते २ सय जना जति प्रदर्शनकारीहरुले सदरमुकाममा नारा जुलुश गरेका थिए । कुनै पनि सरकारी कार्यालयमा क्षति भएन । कारागारमा रहेका कुनै पनि कैदी बन्दीहरु फरार हुन पाएनन् बरु काठमाण्डौबाट भागेका केही कैदी ओखलढुङगा प्रशासन कार्यालयमा सम्पर्क आएका छन् उनीहरुलाई कारागारमा राखिएकोछ ।

संखुवासभा
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताएअनुसार संखुवासभामा शान्तिपूर्ण कार्यक्रम रह्यो ।आन्दोलनकारीले शान्तिपूर्ण जुलुश गरे। चैनपुरस्थित कारागारमा १४६जना कैदीहरु रहेकामा कुनै पनि भागेनन् ।

सोलुखुम्बुु
यस जिल्लामा जेन जी आन्दोलन शान्तिपूर्ण नै रह्यो । तर सोलुखुम्बु कारागार प्रशासक सुमन कार्कीले बताए अनुसार कारागारमा रहेका ९२ जना बन्दी मध्ये ८२ जना भागेका थिए । असोज १७ गते सम्म ८० जना कारागार फर्किएका छन् ।

उदयपुर
उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेले बताएअनुसार त्रियुगा नगरपालिकामा प्रदर्शनकारीहरुले क्षति पु¥याएकाछन् । त्यसबाहेक कुनै पनि सरकारी कार्यालयमा ठूलो क्षति भएको छैन । प्रदर्शनकारीहरुले ढुङगा हानेर जिल्ला प्रशासन लगायत केही कार्यालयका झ्यालका सिशा फुटेका छन् । आगलागी वा आधिकारिक कागजात जलाउने काम भएको छैन । तर एमाले, कांग्रेस, माकेको कार्यालय जलाइएको छ । नेकपा एस र राप्रपाको कार्यालय भाडामा भएकाले तिनका सामाग्री बाहिर निकालेर जलाइएको छ । त्रियुगा मेयर र उपमेयरको कोठाहरुमा पनि आगलागी गरिएको छ । पूर्व मेयर वलदेवको घर र पूर्व उपसभामुख सिर्जन दनुवारको घरमा पनि क्षति पु¥याएको छ । उदयपुरमा २५५ जना कैदी बन्दी रहेकामा कुनै पनि फरार हुन पाएनन् ।

सिन्धुली
सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताएअनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कारागार, करदाता सेवा कार्यालय,जिल्ला समन्वय समिति, काङ्ग्रेस,एमाले,माओवादी केन्द्रका कार्यालयहरु आन्दोलनकारीहरुबाट जलाइएका छन् । नागरिकता फाँटका करिब साठी वटा ढड्डा जलाइएको छ । मुद्दाशाखा र नागरिकताका कागजातहरु जलाइएका छन् । केही आंशिक जलेका छन् । सिन्धुली कारागारमा रहेका ४७१ जना कैदीबन्दी सबै फरार भएका थिए । असोज सात गतेसम्म ३ सय भन्दा बढी फिर्ता भएका छन् ।

रामेछाप
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यमकृष्ण थापाले बताएअनुसार कारागार बाहेक सरकारी कार्यालयहरुमा खासै क्षति हुन पाएन ।गौरीशंकर संरक्षण क्षेत्रको टहरामा आगजनी गरिएको छ । रामेछाप कारागारमा तोडफोड गरी भाग्न खोज्दा सुरक्षाकर्मीले गोली चलाउँदा ३ जनाको मृत्युु भएको छ ११ जना घाइते भएका छन् ।घाइतेहरुलाई अस्पतालबाट डिस्चार्ज गरी फर्ता गरिएको छ ।

दोलखा
जिल्ला प्रशासन कार्यालय दोलखाका सुब्बा हरेराम न्यौपानेले बताएअनुसार दोलखामा कुनै पनि क्षति भएको छैन ।
२४ गते दिउँसो १२ बजेतिर २५ जना जति युवाहरुले चरिकोटको सातदोबाटो चोकमा आधा घण्टा नाराजुलुश गरेका थिए । दोलखा कारागारमा रहेका १३९ जना कैदी बन्दीहरु कुनैपनि फरार हुन पाएनन् ।

सिन्धुपाल्चोक

सदरमुकाम चौतारा लगायत मुख्य बजार क्षेत्रमा जेन जी आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै विद्यार्थी र स्थानीय जनतालेप्रदर्शन गरेका थिए । भोटेकोशी गा.पा.मा आन्दोलनकारीहरुले  क्षति गरेको थिए । कारागारमा १३४ जना बन्दी रहेकामा कुनै पनि भागेनन् । अरु ठाउँबाट भागेर आएका ४ जनालाई कारागारमा राखिएको छ ।

ललितपुर
ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले बताएअनुसार सबैभन्दा ठूलो भौतिक क्षति भैंसीपाटीस्थित मन्त्री निवास जलाएर ध्वंश गरिएको छ । ४४ वटा विल्डिङहरु मध्ये ४० वटा क्षति भएका छन् । क्षति विवरण र पुनर्निर्माणबारे सम्बन्धित निकायले अध्ययन गरिरहेका छन् । प्रहरी विट ,वडा प्रहरी ,प्रहरी प्रभाग ,गरी जम्मा २० वटा प्रहरी इकाइहरुमा आगजनी र तोडफोड भएको छ । असोज ९ गतेसम्म २० वटै प्रहरी इकाइहरुमा सरसफाइ गरेर सेवा सुचारु गरिएको छ । गोदावरीस्थित डिभिजन वन कार्यालयमा सामन्य तोडफोड ,हात्तीवनस्थित सवडिभिजन वन कार्यालयमा आगलागी , गोदावरीको सनराइज सम्मेलन केन्द्रमा तोडफोड ,विभिन्न राजनीतिक नेताहरुको व्यक्तिगत भवनमा आगजनी भएका छन् । तर जिल्लास्तरका जिल्ला प्रशासन,मालपोत, नापी ,ललितपुर महानगरपालिका सबै सुरक्षित रहेका छन् । वडा नं ४ को कार्यालयमा सामान्य तोडफोड भएको छ । नख्खु कारागारमा आगजनी र तोडफोड भएको छ । नख्खु कारागारमा रहेका कुल १२८१ कैदीबन्दी मध्ये १२८० जना भागेका थिए । असोज ९ गतेसम्म ५सय भन्दा बढी कैदीहरु फर्किएर ÷फर्काएर आएका छन् ।

भक्तपुर
भक्तपुर जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सुदीप कुमार वस्नेतले बताए अनुसार जिल्ला प्रशासन ,जिल्ला समन्वय ,जिल्ला प्रहरी ,सडक डिभिजन, मध्यपुर ठिमी नगरपालिका सूर्यविनायक नगरपालिकाको वडा ७ र ८ लाई क्षति पु¥याइएको छ । जिल्ला प्रशासन कार्यालयका नागकिता फाँटका अनुसूचि ,मुद्दा शाखाको स्टोरमा आगजनी गरिएको छ । नागरिकता र मुद्दा फाँटका कागजातहरु आंशिक क्षति भएका छन् । केही सुरक्षित नै छन् र केही पुरै जलेका छन् । जिल्ला प्रशासन कार्यालयका केही सवारी साधन जलाइएको छ तर जिल्ला अदालत ,मालपोत र नापी कार्यालय भने सुरक्षित रहेका छन् ।
शिक्षा मन्त्रालय अन्तर्गतका सानो ठिमीस्थित कार्यालयहरु भने सुरक्षित रहेको छन् । भक्तपुरमा बालसुधारगृहमात्र रहेको छ र कारागार छैन ।

 

काठमाण्डौ
जेन जी आन्दोलनमा सबै भन्दा धेरै क्षति व्यहोर्ने जिल्ला काठमाडौं हो । भाद्र २३ गते जेन जी आन्दोलनकारीहरुले प्रदर्शन शान्तिपूर्ण हुने छ भने पनि त्यो आन्दोलन हिंसात्मक हुन पुुग्यो । त्यसै दिन नयाँ बानेश्वर स्थित संघीय संसद भवन अगाडि १७ जना युुवाहरुको प्रहरीको गोली लागी हत्या भयो । भाद्र २४ गते संघीय संसद भवन , सिंहदरवार स्थित प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, महान्यायधिवक्ताको कार्यालय,जिल्ला अदालत,जिल्ला प्रशासन,जनसंख्या मन्त्रालय,बार एशोशिएशनको कार्यालय लगायत जलाए । यस्तो प्रतित हुुन्थ्यो कि मानौ ठूूलो युुद्ध भइरहेको थियो । नेपालका मुुख्य प्रशासनिक केन्द्रहरु जलिरहेका थिए । शहरमा सडकमा टायर,मुुढा,काठ,कपडा जलिरहेका थिए । काठमाडौंको आकाश धुुवाँले ढाकिएको थियो । काठमाण्डौमा सबै प्रहरी चौकीहरु ,चन्द्रागीरि केवलकार , हिल्टन होटेल , विभन्न स्थानका भाटभाटेनी सुपरमार्केटहरु लगायतका व्यापारिक केन्द्रहरु, नेताका निजी निवासहरु , तोडफोड र आगजनी भएको थियो ।
काठमाण्डौको सुन्धारा, जगन्नाथ देवल कारागारमा रहेका ३८ सय कैदीबन्दीहरु रहेकोमा कारागार प्रमुख कृष्णप्रसाद चापागाइँले बताएअनुसार ३३ सय कैदीबन्दीहरु भागेका थिए । असोज १२ गतेसम्म ११ सय फर्किएका छन् भने २२ सय जना अझै फरार छन् ।
भाग्नु भन्दा पहिले उनीहरुले कारागारमा आगजनी र तोडफोड गरेका थिए । भुटानी शरणार्थी प्रकरणका अभियुक्त टोपबहादुर रायमाझी पनि फर्किसकेका छन् । भाद्र २५ गते डिल्लीबजार कारागारका कैदीबन्दीहरु कारागारमा आगजनी गरेर भाग्न खोज्दा सेनाले रोकेको थियो ।

मकवानपुर
जेन जी आन्दोलनले उग्र रूप लिएपछि बागमती प्रदेशको राजधानी हेटौँडामा पनि विभिन्न स्थानमा तोडफोड र आगजनी भएको छ। आन्दोलनकारीहरूले बागमती प्रदेशका मन्त्रालयहरू, संसद् भवन, सरकारी कार्यालयहरू, नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयहरूमा आगजनी गरेका थिए । हेटौँडामा मङ्गलवार भाद्र २४ गते आन्दोलनकारीहरूले मुख्यमन्त्री इन्द्र बानियाँ र अन्य नेताहरूको घर तथा हेटौँडा नगरपालिका र वडा कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए । मकवानपुरको भिमफेंदीका कारागार प्रशासक सुवास पौडेलले बताएअनुसार १०६६ जना कैदीबन्दी रहेकामा ४४० जना भागेका थिए । २१२ जना असोज १२ गतेसम्म कारागारमा आएका छन् जसमध्ये ७६ जना मात्र आफै आएका हुन्भने बाँकीलाई प्रहरीले पक्राउ गरी ल्याएको हो । कारागारमा रहेका मेशिन ,कागजात, अभिलेख, फर्निचर ,सवारी साधनलाई आगजनी गरी कैदीहरु हिँडेका थिए ।

चितवन
चितवनमा भरतपुर महागरपालिका लगायत धेरै नगपालिका र सरकारी कार्यालयहरुमा आगजनी र ध्वस्त गर्ने काम भएको छ । जेन जी आन्दोलनका क्रममा चितवनमा ७९ वटा सार्वजनिक संस्था, १६ वटा निजी निवास र ३ वटा पार्टी कार्यालयमा पूर्ण रूपमा क्षति तथा प्रदेश अन्तरगतका ४ वटा कार्यालयमा आंशिक क्षति भएको जनाइएको छ ।

पूर्ण क्षति हुनेमा जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, जिल्ला निर्वाचन कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना, आन्तरिक राजस्व कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, शिक्षा विकास समन्वय इकाई, चितवन जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, पूर्वाधार विकास कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय रहेका छन्। सहकारी तालिम केन्द्र, जिल्ला कृषि कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, मालपोत कार्यालय खैरहनी, नापी कार्यालय खैरहनीमाक्षति भएको छ । जिल्ला समन्वय समितिको कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, माडी नगरपालिका र मालपोत कार्यालय चनौलीमा सामान्य क्षति पुगेको छ।

भरतपुर महानगरपालिका र वडा नम्बर ४, ५, ६, ७, १०, १३, १४, १५, २१, २२, २३, २४ र २६ गरी १३ वटा वडामा, उत्तर पूर्वी चितवनका रत्नन गरपालिका र १, ४, ५, ९, ११, १२, १३, १४, १५ र १६ नम्बर वडा गरी १० वटा वडामा पूर्ण क्षति भएको छ भने २, ३, ६, ७, ८ र १० गरी ६ वटा वडामा आंशिक क्षति भएको छ । राप्ती नगरपालिका र १, २, ३, ४, ५, ६, ७ र ८, खैरहनीको १ देखि १३ नम्बर वडा, इच्छाकामनाको २ नम्बर वडामा पूर्ण रूपमा क्षति भएको छ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको घरमा आगलागीको क्रममा एक जनाको मृत्यु भएको छ।

चितवन कारागारका प्रशासक रविन्द्र ढुङगानाका अनुसार ७४२ जना कैदीबन्दीहरु मध्ये सबै भागे । असोज १३ गतेसम्म १७९ जना मात्रै कारागार फर्किएका छन् ।

नुवाकोट
नुवाकोटमा केही सरकारी कार्यालयहरुमा क्षति पु¥याइएको छ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिङ केसी लगायतका घरहरुमा क्षति पु¥याएको छ । नुवाकोट कारागार प्रशासक भेषबहादुर कुँवरले बताए अनुसार ७३५ जना कैदीबन्दीहरु छन् । कुनै पनि कैदी बन्दी भागेनन् । बरु अरु जिल्लाबाट भागेका कैदीबन्दीहरुलाई लिएर त्यहाँ राख्ने काम भइरहेको छ । थपिँदा ८ सय जना कैदी बन्दी पुगेका छन् ।

धादिङ
धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रशाद न्यौपानेले बताए अनुसार सुरुङ मार्गनेर खत्री पौवामा करीव १२ जनाको अस्थायी प्रहरी चौकी थियो । त्यो प्रहरी चौकीमा आगजनी गरिएको थियो । खानीखोलामा हतियार लगेर प्रहरीले जोगाए । त्यो प्रहरी चौकी सुरुङमार्गको सुरक्षाकोलागि राखिएको थियो । धादिङ कारागारका प्रशासकीय अधिकारी सरस्वति अधिकारीका अनुसार कारागारमा २४३ जना कैदीबन्दीहरु थिए । २५ गते बिहान ९ बजेदेखि २ बजेसम्म कारागारस्थलमा दोहोरो भिडन्त भयो ।प्रहरीले नियन्त्रणमा लिनलाई सबै उपायहरु अपनायो । पानीको फोहाराहरु प्रयोग ग¥यो चेतावनी दियो । उनीहरुले कोठाभित्र आगजनी गरे आखिरमा सेनाले बल प्रयोग गर्दा ७ जना घाइते भए । सुरक्षाकर्नीको गोली लागेर २ जनाको मृत्यु भएको थियो ।

सप्तरी
सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बताएअनुसार जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय सुरक्षित रहे भने ३१ वटा विभिन्न सरकारी कार्यालयहरुमा क्षतिपु¥याए । कांग्रेस ,एमाले, माके र जनमतका कार्यालय तोडफोड गरियो तर जसपाको कार्यालय भने क्षति भएन । कारागारका ५२३ जना कैदीहरु भागे अहिले फर्किने क्रम जारी छ ।

सिराहा
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज वरालले बताएअनुसार जिल्ला प्रशासन कार्यालय लगायतका महत्वपूर्ण कार्यालयहरु सुरक्षित नै रहे । भूमि सुधार लगायतका कार्यालयहरु तोडफोड भए । पुत्ला दहन, जुलुश नाराहरु भए । कारागारबाट कुनै पनि कैदी बन्दी भाग्न पाएनन् ।

धनुषा

मधेश प्रदेशको राजधानी जनकपुरमा भएकाले यहाँ धेरै क्षति भयो । प्रदेश तह र जिल्ला स्तरका सरकारी कार्यालयहरु तोडफोड र आगजनी गरिए ।धनुषा जिल्लाको यदुकुवा इलाका प्रशासन कार्यालयका शाखा अधिकृत बालमुकुन्द शर्माले बताएअनुसार यदुकुवाक्षेत्रमा नारा जुलुश भएको थियो तर कुनै क्षति भएन । धनुषा जिल्लामा कारागार नभएकाले कैदी भाग्ने समस्या रहेन ।

महोत्तरी
महोत्तरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोख्रेलले बताएअनुसार सदरमुकाममा खासै क्षति भएन । पिपरा गापाको दुइ मोटरसाइकल र एक गाडी जलाइएको थियो । अख्तियार कार्यालयको सिशा फुटाइएको थियो ।बर्दिबासको पवन मिथिला होटेललाई तोडफोड गर्ने काम भएको थियो । महोत्तरीस्थित कारागारमा रहेका ५७६ जना कैदीबन्दीहरु मध्ये १ जनामात्र बसे बाँकी सबै फरार भएका थिए । असोज ८ सम्म करिब २५० जना फिर्ता भएका छन् ।

सर्लाही
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताएअनुसार मलंगवामा राजनैतिक दलका कार्यालयहरुलाई तोडफोड गर्ने ,सामानहरु बाहिर ल्याएर जलाउने काम भएको छ । ३ सय जना जति कैदी बन्दी भएकामा उनीहरु भाग्न पाएनन् ।

रौतहट
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनिष झाले बताएअनुसार आन्दोलनकारीहरुले जिल्ला प्रशासन कार्यालय लगायतका सरकारी कार्यालयहरुमा ढुङ्गा मुढा गरेर झ्यालका सिसा फुटाउने तोडफोड गर्ने गरेको भए पनि नागरिकता फाँट,सरकारी कार्यालयका कागजातहरु सबै सुरक्षित रहेका छन् ।

पर्सा
पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाको कार्यालयमा देशका अन्य जिल्लामा कैदीबन्दीहरू जेल तोडेर बाहिर निस्केको खबर सुनेलगत्तै पर्साको वीरगन्जमा रहेको जेलका कैदीबन्दीहरूले पनि तोडफोड गर्दै भाग्ने प्रयास गर्दा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतले अवस्था नियन्त्रणमा लिने प्रयास गरेका थिए । बीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीका अनुसार त्यहाँ १३५० जना कैदी बन्दी छन् । उनीहरुले कारागारमा स्टोरमा आगोलगाइदिएका थिए । कारागारको परखाल भत्काएका थिए । कारागार भित्रका सामानहरु तोडफोड गरेका थिए । सेना परिचालन भएका कारणले उनीहरु भाग्न पाएनन् ।
मधेश प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिका कार्यालयमा युवाहरूको समूहले तोडफोड गर्दै आगजनी गरेपछि कार्यालय पूर्ण रूपमा जलेर ध्वस्त भएको छ। आगजनी गरेका आन्दोलनकारीहरूले महानगरपालिकाका मेयर राजेशमान सिंहको घरमा साथै महानगरपालिकामा पसेर रातभर सामान चोरीसमेत गरेका थिए । युवाहरूको आन्दोलनको आडमा पर्सालगायत विभिन्न जिल्लामा अन्य समूहले समेत सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा क्षति पुर्‍याएका थिए । कतिपयले सुनियोजित तरिकाले तोडफोड र आगजनी गरिएको पनि भनेका छन्।

नवलपुुर
पूूर्व नवलपरासी नयाँ जिल्ला भएकाले सरकारी कार्यालयहरुको आफनो भवन छैन । निजी भाडामा बसेका छन् । त्यसैले भवनहरु जल्नबाट बचे । गैडाकोटको मौलाकालीका केवलकारलाई आन्दोलनकारीहरुले क्षति पुु¥याए । हुक्सेको प्रहरीचौकीमा पनि क्षति पुु¥याए । यस जिल्लामा कारागार छैन ।

नवलपरासी

स्थानीय सञ्चार माध्यनहरुले जनाए अनुसार युवाहरूले रामग्राम ३ स्थित नेपाली काङ्ग्रेसको क्षेत्रीय कार्यालय तोडफोड , एमालेको रामग्राम ३ स्थित कार्यालयमा ढुङ्गामुढा गरेका थिए। जिल्ला प्रशासन कार्यालयमा जेन जीका समूहहरूले केहीबेर ढुङ्गामुढा गरेका थिए । त्यस लगत्तै प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरी आन्दोलनकारीलाई तितर बितर पारेको थियो। जिल्ला समन्वय समिति नवलपरासी, रामग्राम नगरपालिका, सरावल गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका, प्रतापपुर गाउँपालिका र सुनवल नगरपालिकामा आगजनी गरेका थिए। विभिन्न पार्टीका नेता कार्यकर्ताहरूको घरमा पनि आगजनी गरे। प्रदर्शनकारीहरूले सुनवल नगरपालिका की नगरप्रमुख बिमला अर्यालको घर, वर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्र प्रकाश उपाध्यायको घर, नेपाली काङ्ग्रेसका प्रदेश सभासद् विश्व प्रेम पाठक, सभासद बैजनाथ जयसवाल, संघीय सांसद सरिता भुसाल खनालको घरमा र विनोद चौधरीको बर्दघाट स्थित सम्पर्क कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए।

 

गुल्मी
प्रमुुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार कांग्रेस एमाले माओवादी केन्द्रका कार्यालयबाट फर्निचरहरु केही कागजपत्रहरु बाहिर सडकमा ल्याइ जलाउने काम गरेका थिए ।कारागारबाट कैदीहरु भागेनन् सरकारी कागाजातहरु पनि सुुरक्षित नै रहे ।

पाल्पा
पाल्पामा सामान्य नाराजुलुश भयो । सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीका अनुसार कुनै क्षति भएन । केही नगरपालिकाहरुमा आन्दोलनकारीले कालोझण्डा गाड्ने काम गरेका थिए । कैदीबन्दी २३५ जना रहेकामा कोही पनि भाग्न पाएनन् ।

रुपन्देही
रुपन्देहीमा सरकारी कार्यालय र पार्टीका नेताहरुको भवन जलाइएका छन् । वुटवलस्थित एमाले,कांग्रेस , राष्ट्रिय जनमोर्चाको कार्यालयमा क्षति गरिएको छ । स्थानीय सञ्चार माध्यमले जनाए अनुसार रुपन्देहीमा आन्तरिक राजस्व कार्यालय, सिद्धार्थनगर नगरपालिका, नापी कार्यालय, नगर प्रमुख र उपप्रमुखको घर, युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेको घर, जिल्ला ट्राफिक कार्यालय भैरहवा, भैरहवा भन्सार कार्यालय, मणिग्रामस्थित वालकृष्ण खाडको निवास, ड्रिमल्याण्ड होटल, पूर्व मुख्यमन्त्री लिला गिरीको निवास, इलाका प्रशासन कार्यालय, बुटवल उपमहानगरपालिका, उच्च अदालत बुटवल, प्रदेश प्रमुख कार्यलय, प्रदेश लोकसेवा आयोग, बेलबासस्थित नापी कार्यालय, मालपोत कार्यालय, यातायात कार्यालयमा आगजनी र तोडफोड भएको थियो। रुपन्देही, भैरहवा कारागारमा ६३७ बन्दी रहेकामा कोही पनि फरार हुन पाएन ।

अर्घाखाँची
अर्घाखाचीको सन्धिखर्क नगरपालिकालाई क्षति पुु¥याएको छ , भूमिकास्थान नगरपालिकामा पनि केही क्षति पुु¥याएको ।राष्ट्रिय जनमोर्चाको कार्यालयमा आगजनी गरिएको छ । विगत द्वन्द्वकालमा माओवादीहरुले सन्धिखर्क आक्रमण गर्दा सरकारी कार्यालयहरु जलेका थिए ।तर जेन्जी आन्दोलनमा नगरपालिका बाहेकका सरकारी कार्यालय जलेनन् । अर्घाखाँचीका कारागार प्रशासक कमल पन्थीले बताएअनुसार त्यहाँ जम्मा ९२ जना कैदी बन्दीहरु छन् । कुनै पनि भाग्न पाएनन् ।

कपिलवस्तुु
कपिलवस्तुका कारागार प्रशासक रेशमलाल भुुषालका खनुसार ४५९ जना कैदीबन्दी रहेकामा ४३० जना भागे र२९ जना बसेका थिए । असोज १३ गतेसम्म २६३ जना फर्किएका थिए ।

दाङ
दाङमा देउखुरीस्थित प्रदेश कार्यालयहरु ,घोराही र तुलसीपुस्थित सरकारी कार्यालयमा प्रदर्शनकारीले क्षति प¥याएका छन् । जेन–जीको आन्दोलनले दाङमा सरकारी र निजी संरचनामा व्यापक क्षति भएको छ। स्थानीय संचार माध्यमले बताए अनुसार दांगमा न्यूनतम ४८ सरकारी निकाय, नौ वटा पार्टी कार्यालय, पाँच सार्वजनिक तथा व्यावसायिक भवन र आठ निजी निवासमा तोडफोड र आगजनी भएको छ। घोराहीमा जिल्ला मालपोत, नापी, उपमहानगरपालिका, वडा कार्यालयहरू, जिल्ला अदालत, सरकारी वकिल, भूमि आयोग, नगर विकास, शिक्षा समन्वय इकाइ, खानेपानी, सडक, पूर्वाधार विकास, निर्वाचन र जिल्ला समन्वय समिति जस्ता सेवाग्राहीसँग प्रत्यक्ष सम्बन्धित कार्यालयमा क्षति पुगेको छ।

तुलसीपुरमा उपमहानगरपालिका, मालपोत, उच्च अदालत, सरकारी वकिल, नापी, लोकसेवा आयोग, इलाका प्रशासन, आन्तरिक राजश्व, यातायात, आयल निगम, नगर विकास, सिंचाइ र भूसंरक्षण कार्यालयमा आक्रमण भएको छ। लमहीमा नगरपालिकाको कार्यालय, वडा नं ५ र प्रदेश मन्त्री निवासमा समेत क्षति पुगेको बताइएको छ। घोराहीको सभाहल, जेसीज भवन, होटेल तथा तुलसीपुरको बहुउद्देश्यीय व्यापारिक टावरमा तोडफोड र आगजनी भएको छ।

नेकपा एमालेका महासचिव शंकर पोख्रेल, कोमल वली, हिराचन्द्र केसी, शिवकुमार आचार्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी, लुम्बिनी प्रदेशसभा सदस्य राजु खनाल, घोराही उपमहानगरका मेयर नरुलाल चौधरी र उपमेयर हुमाकुमारी डिसीका घरमा पनि क्षति गरेका छन् । मालपोत र नापी कार्यालयको सम्पूर्ण अभिलेख समाप्त भएकाले तत्काल सेवाग्राहीलाई सुविधा दिन असम्भव भएको छ। आगजनीले जन्म, मृत्यु दर्ता, नागरिकता, पासपोर्ट, विदेश अध्ययनका सिफारिस, सामाजिक सुरक्षा नवीकरण, गम्भीर रोगका बिरामीका सिफारिस, जग्गा नामसारी र कारोबारजस्ता काम पूर्ण रूपमा अवरुद्ध भएका छन्।

दाङमा दुुइ ठाउमा घोराही रतुलसीपुरमा कारागार छन् । घोराही कारागारका प्रशासक थमन खड्काका अनुसार त्यहा ४५० जना कैदी बन्दीहरु छन् । कुनै पनि भाग्न पाएनन् । तुलसीपुर कारागारमा निमित्त प्रशासक गिरबहादुरका अनुसार ४७३ जना कैदीबन्दी रहेकोमा २५३ जना भागे १३८ जना असोज १३ गतेसम्म फर्किएका छन् ।

बाँके
बाँकेमा जेन जी पुस्ताका आन्दोलनकारीहरू नेपालगन्जको जमुनाहा नाका पुग्दा प्रहरीहरू पोस्ट छोडेर भागेका थिए। नाकास्थित भन्सार कार्यालयको सामान जाँच कक्षमा राखिएका सामान तोडफोड र लुटपाट समेत भएको बताइएको छ । भारततर्फ बिहानैदेखि ठूलो सङ्ख्यामा भारतीय सुरक्षकर्मीहरु तैनाथ थिए । नेपालतर्फ पनि सशस्त्र प्रहरी र नेपाली सेना नाकामा खटिएका थिए । बाँकेमा भाद्र २४ गते साँझसम्म क्षति पुर्‍याएका कार्यालयमा अन्य व्यक्तिहरूले राति अबेरसम्म लुटपाट गरेको  थिए । नेपालगन्जको ट्राफिक पोस्टमा आन्दोलनकारीले तोडफोड गरेर गइसकेपछि ट्राफिक प्रहरीले कारबाहीका लागि राखेका मोटरसाइकल लगायत अन्य सामानहरू ओसारपसार गर्दै गरेको अवस्थामा जेन जीको समूहले सामान चोरी गर्ने व्यक्तिहरूलाई आफैँ हटाएर ट्राफिक पोस्टको गेट बन्द गरेको थियो । भद्र २४ मा आन्दोलनले हिंसात्मक रूप लिँदै अधिकांश सरकारी कार्यालय, विभिन्न दलका पार्टी कार्यालय र नेताका निजी घरसम्ममा तोडफोड तथा आगजनी भयो । आन्दोलनकारी युवाहरूले छानीछानी सरकारी कार्यालय र पार्टी कार्यालयहरू लक्षित गर्दै आक्रमण गर्दा नेपालगन्ज र कोहलपुर क्षेत्र पूर्ण रूपमा अशान्त बनेका थिए । प्रदर्शनका क्रममा नेपाली कांग्रेस पार्टी कार्यालय, एमाले पार्टी कार्यालय, माओवादी पार्टी कार्यालय कोहलपुर, नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, कोहलपुर नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय नेपालगन्ज, आन्तरिक राजस्व कार्यालय कोहलपुर, जिल्ला अदालत बाँके, उच्च अदालत नेपालगन्ज , उच्च सरकारी वकिल कार्यालय नेपालगन्ज, मालपोत कार्यालय नेपालगन्ज, नापी कार्यालय नेपालगन्ज, जिल्ला हुलाक कार्यालय बाँके, भन्सार कार्यालय नेपालगन्ज र कोहलपुर नगरपालिका मेयर पूर्णप्रसाद आचार्यको घरमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगन्जमा पनि तोडफोड भएको थियो । प्रदर्शनकारीले नेपालगन्जका विभिन्न चोकमा रहेका ऐतिहासिक र राजनीतिक नेताका सालिक पनि भत्काएका छन्। बीपी चोकमा रहेको बीपी कोइरालाको सालिक, गणेशमान चोकमा रहेको गणेशमान सिंहको सालिक, पुष्पलाल चोकमा रहेको पुष्पलाल श्रेष्ठको सालिक र सेतु विकको सालिक भत्काएर केहीमा आगजनी समेत गरिएको प्रत्यक्षदर्शीले बताएका छन्।

बर्दिया
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत विमल गुरुङले बताएअनुसार जिल्ला प्रशासन, मालपोत र नापी जस्ता महत्वपूर्ण सरकारी कार्यालयहरु सुरक्षित रहेका छन् । गुलरिया नगरपालिकामा आगजनी भएको थियो । त्यस नगरपालिकाको १ करोड ३० लाख बराबरको क्षति भएको प्रहरीको समेतको उपस्थितिमा तयार पारिएको प्रतिवेदनमा भनिएको छ । पूर्व मन्त्री सन्जय कुमार गौतमको घरमा आगजनी भएको छ । गणेशमान चोकमा रहेको गणेशमानको शालिक तोडफोड भएको छ । बर्दियामा जिल्ला प्रहरी कार्यालयमाथि पनि तोडफोड गर्न खोजिएको थियो तर सम्भव भएन । बर्दिया कारागारमा ४५० जना कैदी रहेकोमा होहल्ला गरेर निस्कन खोजेका थिए । बेलैमा सेना र सशस्त्र परिचालन गरेपछि कारागार तोडेर बाहिर निस्कन सम्भव भएन ।

सल्यान
सल्यानका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद सुवेदीले बताएअनुसार सदरमुकामस्थित सल्यान नगरपालिकामा २ वटा डिस्प्लेवोर्ड तोडफोड भएको बाहेक अरु कुनै पनि घटना भएन । शान्तिपूर्ण नाराजुलुश र दीप प्रज्ज्वलन भएको थियो । सल्यानमा १३० जना कैदी बन्दी रहेकोमा कोही पनि निस्कने प्रयास गरेनन् ।

प्यूठान
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताएअनुसार राष्ट्रिय जनमोर्चा र एमालेको कार्यालयमा धेरै क्षति भएको छ । राजमोको कार्यालयमा आगजनी गरिएको थियो । कांग्रेस र माओवादीको कार्यालय भवनबाट सामान निकालेर आगजनी गर्ने तोडफेड गर्ने क्षति भएको छ ।सरकारी कार्यालयहरु कुनै पनि क्षति भएनन् । कारागारबाट कैदीहरु भाग्न पाएनन् ।

रुकुम पश्चिम

सहायक प्रमुख जिल्ला अधिकारी केशव प्रशाद ओलीले बताए अनुसार आन्दोलन शान्तिपूर्ण नै रह्यो । कारागारमा रहेका १५८ जना बन्दीहरु मध्ये तीन वटा ढोका फोरेर ८८ जना भागेका थिए । १७ गते सम्म २४ जना फर्किएका छैनन् ।

 

रुकुम पूर्व
प्रमुख जिल्ला अधिकारी सीता परियारले बताए अनुसार भ्रष्टाचारको विरोध गर्दै  बजारमा आन्दोलनकारीहरुले भाद्र २३ गते नारा जुलुश गरेका थिए । मानवीय र भौतिक क्षति केही भएन । नयाँ जिल्ला भएकाले कारागार पनि नभएकोहुँदा कैदीबन्दीको समस्या भएन ।

रोल्पा
प्रमुख जिल्ला अधिकारी बासु दाहालले बताए अनुसार लिवाङ,सुलीचौर ,घर्ती गाउँ, होलेरी, त्रिवेणी जस्ता बजारमा नारा जुलुश गरिएका थिए । अरु कुनै क्षति भएन । कारागारबाट पनि कोही भाग्न पाएनन् ।

कास्की
सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताएअनुसार मुख्यमन्त्रीको कार्यालय ,प्रदेश सभाको कार्यालय , जिल्ला प्रशासन कार्यालय ,मालपोत कार्यालय, अदालत सहित १२५ वटा स्थानमा सरकारी र निजी भवनहरु आगजनी र तोडफोड भएको थियो । कास्कीको कारागारमा ७७३ जना कैदी बन्दी रहेकामा सबै फरार भएका थिए । असोज १० गतेसम्म ४०० जना फिर्ता भएका छन् ।

तनहुँ
तनहुँ दमौलीबाट पुष्पलाल श्रेष्ठले हाँकलाई बताएअनुसार जेनजी आन्दोलनकारीहरुले कांग्रेस, एमाले,समाजवादीको कार्यालयमा तोडफोड गरेका छन् । दमौलीस्थित एकदेव आले स्मृति प्रतिष्ठानको कार्यालय पनि तोडफोड भएको छ । जिल्ला प्रशासन कार्यालय ,जिल्ला अदालत, मालपोत, वन, सिंचाइँ, खानेपानी,सरकारी वकिलको कार्यालयमा क्षति गरेका छन् । दमौलीस्थित कारागारमा रहेका ३२७ कैदीहरु सबै भागेका थिए असोज ७ गतेसम्म १२७ जना फिर्ता भएका छन् ।

म्याग्दी
म्याग्दीमा पनि जेन जी आन्दोलनको प्रभाव परेको प्रमुख जिल्ला अधिकारी वद्री प्रसाद तिवारीले हाँकलाई बताए । म्याग्दीस्थित राजनीतिक पार्टीहरु कांग्रेस ,एमाले, माओवादी, विप्लव, रास्वपा, लगायतको कार्यालयमा क्षति पु¥याउने काम भएको छ । म्याग्दी कारागारबाट ७६ जना कैदीहरु फरार भएका थिए । जसमध्ये १० जनालाई सुरक्षाकर्मीहरुले भाग्दा भाग्दै पक्राउ गरी कारगारमा राखेका छन् । ७६ जनामध्ये ६८ जना असोज ६ गतेसम्म कारागारमा फर्किएको प्रमुख जिल्लाअधिकारी तिवारीले बताए ।

बाग्लुङ
प्रमुख जिल्ला अधिकारी कुमारसिङ गुरुङले बताएअनुसार सदरमुकामको कांग्रेस ,एमाले ,माकेको कार्यालयबाट सामाग्रीहरु बाहिर निकालेर आन्दोलनकारीले जलाएका थिए । गलकोट नगरपालिकाको वोर्ड निकालेर फ्याँकेका थिए । बागलुङ नपाको वडा नं १२ को कार्यालय सामान झिकेर नष्ट गरेका थिए । बाग्लुङ कारागारमा १७१ जना कैदी बन्दी भएकामा कारागार तोडफोड गर्न खोजेका थिए । तर प्रशासनले उनीहरुलाई भाग्न दिएन । १४ जनालाई स्याङ्जा र म्याग्दी पठाइएको छ ।

पर्वत
पर्वतका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताएअनुसार सदरमुकामको कांग्रेस ,एमाले ,माकेको कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । पूर्व मन्त्री पदम गिरीको घरमा आगजनी गरे। मोदी गाउँपालिकाको अध्यक्षको कुर्चि तोडफोड गर्ने र फाल्ने काम गरे ।भेटेनरी कार्यालयको झ्याल फुटाए । अरु सरकारी कार्यालयहरु सुरक्षित नै रहे । कारागारमा ९४ जना कैदी बन्दी रहेकामा १९ जना भागे र असोज ९ गतेसम्म ११ जना फर्किएका छन् ।

गोर्खा
गोर्खाका प्रमुख जिल्ला अधिकारी रामुराज कदरियाले बताए अनुसार गोर्खा जिल्लामा कुनै क्षति भएन । शान्तिपूर्ण नारा जुलुस भयो । कारागारमा १०८ जना कैदी बन्दी रहेकामा कुनै पनि फरार भएनन् ।

लमजुङ
लमजुङका प्रमुख जिल्ला अधिकारी माधव प्रशाद पोख्रेलले बताए अनुसार लमजुङ जिल्लामा कुनै क्षति भएन । बेंशी शहर, राइनास,गोर्लेटार,भोटेओडार लगायतका बजार क्षेत्रमा शान्तिपूर्ण नारा जुलुस भयो । अहिले लमजुङमा कारागार नभएकाले कैदी बन्दीको समस्या भएन ।

मुस्ताङ
जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले हाँक साप्ताहिकलाई बताएअनुसार सदरमुकाम जोमसोम बजारमा बेलुकी १५ जना जति युवाहरु जम्मा भएर  जेन्जी आन्दोलनमा मरेका युवाहरुको सम्झनामा दीप प्रज्ज्वलन गरेका थिए । त्यसबाहेक अरु कुनै पनि प्रदर्शनको कार्यक्रम भएनन् ।

मनाङ
जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले हाँक लाई बताएअनुसार सदरमुकाम बजारमा भाद्र २४ गते ,बेलुकी करीब २० जना जति युवाहरु जम्मा भएर जेन्जी आन्दोलनमा मरेका युवाहरुको सम्झनामा दीव प्रज्ज्वलन गरेका थिए । त्यसबाहेक अरु कुनै पनि प्रदर्शनको कार्यक्रम भएनन् ।

जाजरकोट
जाजरकोटमा राजनीतिक दलका कार्यालयहरुलाई क्षति पुु¥याए ।कुशे गाउँपालिकाको एक वडामा क्षति पुु¥याए । जाजरकोट कारागारका नायब सुुब्बा गौरीओलीका अनुसार कारागारमा ७९ जना कैदीबन्दीहरु छन् । हामी बाहिर निस्क्न पाउनुपर्छ भनेर भाद्र २४ गते हल्ला गर्ने ,पर्खाल हान्ने गरेका थिए । सेना परिचालन भएपछि भाग्न पाएनन् ।

सुर्खेत
सुर्खेतमा कर्णाली प्रदेशका कार्यालयहरुमा क्षति पुु¥याएको छ ।मुख्यमन्त्री , मुख्यमन्त्री निवास ,प्रदेशसभाको कार्यालयहरुमा क्षति पुु¥याइएको छ । विरेन्द्र नगर नगरपालिका ,मेयर उपमेयरकाुे निजी निवास ,वडा नं १ देखि १२ सम्मको कार्यालयमा क्षति पुु¥याइएको छ ।सुर्खेत जिल्लाप्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय लगायत केही कार्यालयहरु सुरक्षित रहेका छन् ।सुर्खेत कागागारका नासुभुवन गौतमका अनुसार ३९३जना कैदी बन्दी रहेकोमा उनीहरु कोही पनि भाग्न पाएनन् ।

कालीकोट
भाद्र २४ गते कालीकोट सदरमुकाममा भाद्र २३ गतेको काठमाण्डौको गोली काण्डको विरोध गर्दै राष्ट्रिय झण्डार प्ले कार्ड बोकेर युवा विद्यार्थीहरु सडकमा निस्किएका थिए ।

डोल्पा
सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलले बताएअनुसार जेन्जी आन्दोलनमा डोल्पामा कुनै क्षति भएन । कारागारका कैदी बन्दीहरुले दुइ ओटा सिलिण्डर बम पड्काएर कारागारको दुवैतिरको पर्खाल भत्काएर बाहिर निस्किएका थिए । सुरक्षाकर्मी परिचालन गरेर भाग्नबाट कैदी बन्दीहरुलाई रोक्न सफल भएको अधिकारी पौडेलले हाँकलाई बताए । जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका थिए । तर कुनै भौतिक क्षति भएन ।

मुगु
सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले बताएअनुसार सदरमुकाम गमगडी केन्द्रित भएर नारा जुलुश गरेका थिए । त्यहाँ पनि कुनै भौतिक क्षति भएन ।

जुम्ला
जिल्ला प्रशासन कार्यालय तोडफोड गर्नुका साथै चन्दननाथ नगरपालिकाको कार्यालयमा तोडफोड गरिएको छ । प्रदर्शनकारीहरूले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको पार्टी कार्यालयहरूमा आगजनी गरे । उनीहरूले पार्किङ गरेर राखिएका सवारीसाधन समेत जलाए । चन्दननाथ नगरपालिकाभित्र पार्किङ गरेर राखिएको दमकल, एम्बुलेन्स, शववाहन, डोजर, मेयर तथा उपमेयरको गाडी तोडफोड गर्नुका साथै चारवटा मोटरसाइकल र एउटा स्कुटर जलाएका छन् । नगरपालिकाको लागि सुरक्षा गर्न खटिएका नगर प्रहरी अनिता सुनार र जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत वरिष्ठ प्रहरी हवल्दार आइतमान तामाङ घाइते भएका थिए । जुम्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताएअनुसार कारागारबाट भागेका ३६ जना बन्दीहरुमध्ये अहिले फर्केर आइरहेका छन् । असोज ६ गतेसम्म १९ जना अझै फरार छन् ।

हुम्ला
जिल्ला प्रशासन कार्यालय हुम्लाका नासु मोहन शर्माले बताएअनुसार हुम्ला सदरमुकाममा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि आएर विरोध सभा गरेका थिए । कुनै भौतिक क्षति भएन ।

कैलाली
कैलालीमा भाद्र २४ गते जेन जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण धेरै भवन र अन्य संरचना ध्वस्त भएका छन् । कर्फ्यू लगाइएको भए पनि प्रदर्शनकारीहरूले प्रदेशसभा भवनसँगै विभिन्न मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, जिल्ला प्रशासन, मालपोत, नापी, भन्सार, यातायात, सहरी विकास लगायतका सरकारी भवनहरूमा आगो लगाएका थिए । त्यस क्रममा धनगढी विमानस्थल भवनमा पनि तोडफोड भएको थियो । कैलालीमा दर्जनौ सरकारी गाडीहरु जलेका छन् । भाद्र २४ बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ढुङ्गामुढा गर्दै अघि बढेका प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घरमा आगजानी र तोडफोड गरेका थिए । नेकपा एमाले र नेपाली कांग्रेसका कार्यालयहरूमा पनि आगजनी गरिएको थियो । जिल्ला प्रशासन कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताएअनुसार कैलालीमा जेनजी आन्दोलनबाट धेरै ठूलो क्षति भएको छ । मुख्य मन्त्रीको कार्यालय, प्रदेशसभाको भवन , जिल्ला प्रशासन कार्यालय तोडफोड र आगजनी भएको छ । प्रशासन कार्यालयका कम्प्युटरका डाटा कागजातहरु ,मालपोत कार्यालयको ढड्डा ,जिल्ला प्रशासन कार्यालयका सवारी साधन ध्वस्त पारिएको छ । कांग्रेस, एमाले लगायतका पार्टी कार्यालयहरु तोडफोड गरिएको छ । जिल्ला प्रशासन कार्यालयका पुराना मुद्दाको फाइलहरु नष्ट गरिएको छ । कैलाली कारागारमा रहेका ६६७ जना कैदीहरु कारागारबाट भागेका थिए । असोज ७ सम्म २५० भन्दा बढी फर्किएका छन् । फर्किनेमा ३ जना भारतीय पनि छन् ।

बझाङ
जिल्ला प्रशासन कार्यालय बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जेन्जी आन्दोलनबाट सामान्य क्षति भएको बताइन् । तलकोट गापाको वडा नं १ मा कार्यालयका केही सामान क्षति पु¥याएका छन् । भाद्र २५ गते बुंगल नगरपालिका मेयर र उपमेयरका निवासबाट कपडा र केही सामानहरु निकालेर जलाउने काम भएको थियो । बझाङ कारागारमा रहेका ८४ जना कैदीहरुमध्ये ६५ जना भागेका थिए । सहायक प्रजिअ जोशीका अनुसार असोज ६ गतेसम्म ५० जना कारागारमा फर्किसकेका छन् ।

बाजुरा
जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी सितल बहादुर रावलले जेन्जी आन्दोलनबाट सामान्य क्षति भएको बताएका छन् । सहायक प्रजिअ रावलका अनुसार कारागारमा आगलागी गरेर पर्खाल भत्काएर हुलदंगा गरी भाग्न खोजेका थिए तर प्रशासनले उनीहरुलाई नियन्त्रणमा लिन सफल भयो र कैदीहरु भाग्न पाएनन् ।
आन्दोलनकारीहरुले जिल्लाप्रशासन कार्यालय अगाडि टायर बाल्ने र १ घण्टा जति विरोध कार्यक्रम गर्ने काम गरेका थिए । उनीहरुले केही सरकारी कार्यालयका राष्ट्रपति र प्रधानमन्त्रीका फोटोसमेत निकालेर फाल्ने काम गरेका थिए ।

अछाम
अछाम जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नवराज अवस्थीका अनुसार मंगलसेनस्थित एमाले, कांग्रेस लगायतका पार्टी कार्यालयहरुमा तोडफोड गर्ने र भौतिक क्षति पु¥याउने काम गरेका थिए । आन्दोलनकारीहरुले मंगलसेन नगरपालिकाबाट पनि केही कुर्ची र भौतिक सामाग्रीलाई क्षति पु¥याए । कारागारबाट कैदीहरु भाग्न खोजेको भए पनि प्रशासनले उनीहरुलाई भाग्न दिएन ।

डोटी

डोटीका विभिन्न सरकारी कार्यालयहरुमा क्षति पुु¥याएको छ। डोटीमा कारागारमा ७१ जना कैदीबन्दी थिए । र बालसुधार गृहमा ५३ जना थिए । कारागारका प्रशासक लालबहादुर बोगटीका अनुसार कैदीहरु भाग्न पाएनन् तर बाल सुधार गृहबाट ५३ जनामध्ये ५२जना नै भागे ।असोज १३ सम्म ३४ जना बाल बन्दीहरु फर्किएका छन् ।

डडेल्धुरा
डडेल्धुरा कारागारबाट भागेका ३१ जना कैदीबन्दीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। कारागारमा तोडफोड र आगजनी गरेर ८५ जना भागेका थिए । ती मध्ये ३१ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर फेरि कारागारमै राखेको थियो ।

वैतडी
जिल्ला प्रशासन वैतडीका प्रशासकीय अधिकृत बाबुराम पन्थीले बताएअनुसार भाद्र २३ र २४ गते २०–३० जना युवाहरुले सदरमुकाममा सामान्य प्रदर्शन गरेका थिए । तोडफोड आगजनी कुनै पनि अप्रिय घटना घटेन । कारागारमा रहेका जम्मा ६२ जना कैदीहरु सबै २४ गते राति फरार भएका थिए । असोज ७ गतेसम्म ६० जना कैदीहरु फिर्ता भएर आएका छन् ।

दार्चुला
सहायक प्रमख जिल्ला अधिकारी मोहनसिङ धामीले बताएअनुसार जेनजी आन्दोलनमा कांग्रेस र एमालेको कार्यालय तोडफोड भएको छ । शैले शिखर नगरपालिकाको कृषि शाखामा पनि तोडपोड भएको छ । कारागारबाट २७१ जना कैदीहरु भागेका थिए । असोज ७ गतेसम्म करिब १५० जति फिर्ता भएका छन् ।

कन्चनपुर
कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयका धर्मराज थापाले बताएअनुसार जिल्ला प्रशासन कार्यालय  , मालपोत कार्यालयमा केही तोडफोड गरेका छन् । तर कार्यालयका कागाजातहरुमा खासै क्षति पुगेको छैन । सुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका र पुनर्बास नगरपालिकामा क्षति पु¥याएकाछन् । क्षतिको विस्तृत विवरण अध्ययन गर्ने काम चलिरहेको छ । कञ्चनपुर कारागारबाट भागेका ४७८ कैदीहरु मध्ये असोज ७ गतेसम्म ३०० भन्दा बढी फिर्ता भइसकेका छन् ।

अन्त्यमा
नेपालको राजनीतिक आन्दोलनको इतिहासमा दुुई दिनमा यति ठूलो क्षति भएको यो पहिलो घटना   हो ।नेपालको कुनैपनि आन्दोलनमा अहिलेसम्म देशले यति ठूलो क्षति व्यहोर्नुपरेको थिएन ।२००७ साल ,२०३६ साल, २०६२ –६३ को जनआ न्दोलन, १० वर्षे माओवादी जनयुद्ध ,मधेशआन्दोलनमा पनि सिंह दरबार ,सर्वोच्च अदालतसहित देशभरका अदालतहरु जलाइएको थिएन ।  ७७ वटै जिल्लाको विवरण हेर्दा हिमाली जिल्लाहरुमा जेन्जी आन्दोलनबाट सबैभन्दा थोरै क्षति भएको छ । काठमाण्डौ उपत्यकामा सबैभन्दा बढी क्षति भएको छ ।त्यसपछि पोखरा ,विराटनगर, चितवन ,वुटवल, नेपालगञ्ज धनगढी जस्ता जनसंख्या धेरै भएका ठाउँहरुमा धेरै क्षति भएको छ ।कम जनसंख्या भएको ठाउँहरुमा कम क्षति भएको पाइएको छ ।

 

कारागारबाट भागेका कैदी बन्दीहरुको विवरण

सुनसरी    –१७९६
सोलुखुम्बु     –८२
सिन्धुली     –४७१
ललितपुर    – १२८०
काठमाडौं    –३३००
मकवानपुर   –४४०
चितवन       –७४२
सप्तरी        –५२३
महोत्तरी      –५७५
रुकुम पश्चिम   –८८
कपिलवस्तु    – ४३०
कास्की         –७७३
म्याग्दी         – ७६
जुम्ला           – ३६
कैलाली        – ६६७
बझांग            –६५
डडेल्धुरा        – ८५
बैतडी            –६२
दार्चला         –२७१
कञ्चनपुर       –४७८

पर्वत              –१९
तनहुँ             –३२७
दांग तुल्सीपुर     –२५३

माथि उल्लेखित २३ जिल्लाबाट जेन जी आन्दोलनका बेला १२,७६९ जना कैदीबन्दीहरु कारागारबाट फरार भएका थिए । जसमध्ये अहिलेसम्म ७ हजार भन्दा बढी कारागारमा प्रहरीद्वारा पक्राउ परी वा आफै फर्किएर आएका छन् । सरकारले असोज २० गतेसम्म सबै कैदीबन्दीहरुलाई कारागारमा फर्किन सूचना जारी गरेको छ । २०गतेसम्म नफर्किएमा कारागार ऐन २०७९ अनुसार कारबाहीहुने सरकारले जनाएको छ । जेनजी आन्दोलनकाबेला रामेछाप र धादिङमा सुरक्षाकर्मीले गोली चलाउँदा ५ जनाको मृत्युभएको थियो । बर्दिया र वीरगञ्जमा कैदीबन्दी र सुुरक्षाकर्मीको बीचमा भिडन्त भयो ।कैदीबन्दीहरुलाई भाग्न बाट रोक्न सुुरक्षा कर्मीहरु सफल भए । वागलुुङ, डोल्पा, जाजरकोट, बाजुरा लगायतका स्थानहरुमा कैदीबन्दीहरुले जेल तोडेर भाग्न खोजेका थिए तर सफल भएनन् ।

यो आन्दोलनमा भ्रष्टाचार विरुद्ध र सामाजिक संजालमाथिको प्रतिबन्ध हटाउन आन्दोलन गरिएको भनिएपनि यो आन्दोलनले विभिन्न समुहहरु आक्रोश पोख्ने माध्यम बन्यो । जेनजी आन्दोलनले सरकार परिवर्तनको कुरा पनि गरेको थिएन र उनीहरुले आन्दोलन हिंसात्मक नगर्ने नै भनेका थिए । त्यो आन्दोलनमा घुसपैठ गरेर अवोध विद्यार्थीहरुलाई उग्र बनाइयो । र मृत्युको मुखसम्म प¥याइयो ।यो सबैको समग्र मूल्याङकन गरेर सरकारले बेलैमा सुरक्षा प्रबन्ध गर्नु पर्दथ्यो र विद्यार्थीहरुलाई हत्या गर्नु हुने थिएन । विद्यार्थीको हत्याको कारणले नै देशभरि आगो बल्ने वातावरण बनायो । जेनजी आन्दोलनबाट जे जती क्षति भयो त्यसको मूख्य जिम्मेवार ओली सरकार नै हो तर देशभरि तोडफोड र आगजनीमा संलग्नहरुको बारेमा जानकारी लिँदा स्वयम् सत्ताधारी पार्टी र संसदमा प्रतिनिधित्व गर्ने पार्टीकै समर्थक कार्यकर्ताहरु सहभागी भएका छन् । ओलीसित आक्रोशित एमालेका कार्यकर्ता, शेरबहादुर देउवासँग रिसाएका नेपाली कांग्रेसका कार्यकर्ता ,आन्दोलनमा सहभागी भए । प्रचण्ड नेतृत्वको माकेले त खुलेआम आन्दोलनलाई प्रोत्साहित गरिरहेको थियो । रास्वपा ,बालेन समुह ,हर्कसाङपाङ समुह ,लगायतका समुहहरु आगजनी र तोडफोडमा संलग्न भएको देखिन्थ्यो । ती विभिन्न समुहहरुलाई विदेशी शक्तिकेन्द्रहरुको सहयोग समर्थन पनि थियो । नेपालका लागि पूर्व भारतीय राजदूत के भी राजनले नेपालको यो जेनजी आन्दोलनमा भारत र अमेरिकाको समान दृष्टिकोण थियो भनेबाट नै विदेशी शक्ति केन्द्रहरुको यस आन्दोलनमा राम्रै घुस पैठ थियो भन्ने बुुझ्न सकिन्छ ।

देशमा यति ठूलो क्षति र फौजदारी अभियोग लगाउन मिल्ने समेतका घटनामा अहिले जेनजी आन्दोलनसँग जोडेर गौरीबहादुर कार्की आयोगले प्रतिवेदन नबुुझाउँदासम्म कसैलाई पनि कारबाही नगर्ने भनिएको छ । यो सरकारले पनि सुशासन दिने भन्दा पनि अपराधीहरुलाई नै संरक्षण गर्न थालेको हो कि भनेर यत्र तत्र प्रश्न गर्न थालिएको छ।

 

नोटः फोटो च्याट जिपिटिको सहयोगमा लिइएको हो ।

 

 

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित