काठमाण्डौ । दुई वर्षदेखि जारी हमास इजरायल युद्ध अक्टोबर ९ देखि युद्धविराममा परिणत भएको छ । हमास र इजरायलबीच जारी युद्धविराम पछि गाजामा हमासले आफ्ना करिब सात हजार लडाकु तैनाथ गरेको छ । गाजालाई फेरि आफ्नो नियन्त्रणमा लिनकालागि ती लडाकूहरु तैनाथ गरिएको हो । हाल इजरायली सेना पछि हटेका स्थानहरुमा हमासले आफ्ना हजारौं लडाकु तैनाथ गरेको छ । गाजामा शान्ति स्थापना गर्नेबारेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावमा इजरायलले गत अक्टोबर ९ मा सहमति गरेपछि हमास र इजरायलबीच ७ अक्टोबर२०२३ देखि जारी युद्ध , युद्ध विराममा परिणत भएको छ । युद्धविराम प्रस्तावमा दुवै तर्फका बन्दीहरु रिहा गर्ने ,जारी शत्रुता अन्त्य गर्ने, गाजाबाट इजरायली सेना फिर्ता गर्ने र मानवीय सहायता गाजामा प्रवेश गर्न दिने विषयमा सहमति भएको थियो । सो सहमतिसँगै इजरायली सेना गाजाबाट हटेको हो । गाजामा हालसम्म मारिनेहरुको संख्या ६७ हजार ६८२ रहेका छन् । १लाख ७० हजार भन्दा बढि घाइते भएका छन् । मारिनेहरुमा अधिकांश महिला र बालबालिकाहरु रहेका छन् । इजरायली सेना गाजाबाट हटेसँगै विस्थापित प्यालेष्टाइनीहरु गाजामा फर्किदै गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । युद्धविराम भएपछि बन्दीहरु आदानप्रदान गर्ने काम भइरहेको छ । अहिले गाजामा स्थायी शान्ति स्थापना गर्ने प्यालेष्टाइनीहरुको आफ्नो भूमिमाथिको अधिकार स्थापना गर्ने र गाजामा पुर्ननिर्माणको कुरा महत्वका साथ उठेको छ । विश्व स्वास्थ्य संगठनले गाजामा घाइतेहरुको स्वास्थ्य अवस्था विग्रदो रहेको बताएको छ । १५ हजार घाइतेहरु हात खुट्टा विहीनको अवस्थामा रहेको र उनीहरुको स्वास्थ्यमा सुधारकोलागि गाजा भन्दा बाहिर उपचारको लागि लैजानु पर्ने अवस्था रहेको बताएको छ र त्यहाँ अनेक भाइरल रोगहरु फैलिन सक्नेप्रति सचेत रहन समेत अनुरोध गरेको छ । गाजामा जारी युद्धमा इजरायललाई अमेरिकाले हात हतियार आर्थिक सबै सहयोग गर्दै आएको थियो । अक्टोबर ७ मा हमासबाट आक्रमण भए पछि इजरायलले प्रतिआक्रमण भनेर आकाश ,जल र जमिनबाट स्थानीयलाई सूचना दिएर र सूचना नदिइकनै भारी मात्रामा आक्रमण गरेको थियो । हमासलाई निशाना बनाउँदै गरिएको आक्रमणले गाजा खण्डहरमा परिणत भएको छ ।

