इस्माली
साउनलाई सार्थक बनाउँदै सात दिनदेखि यावत मुद्रा प्रदर्शन गर्दै परिरहेको झरी गए बेलुकी बल्लतल्ल थामिएको थियो र आकाश उघ्रिन खोजेको थियो । तर उघ्रिसकेको थिएन । आज भदौरे संक्रान्तिका दिन पनि आकाशमा फाट्टफुट्ट बादलहरु थिए नै र सम्भवतः त्यसैले सूर्य पहिलोपटक ससुराली गए झैं सलज्ज गाह्रो मानीमानी झुल्किँदै थियो । टोलको इनारमा भीड बिहानैदेखि बढ्दै थियो । कोही नुहाउँदै थिए त कोही लुगा पखाल्दै थिए अनि कोही गाग्रो भर्दै थिए । पानी नचल्ने जातका दुई तीनजना आइमाई अलग्गै उभिएर पालो पर्खंदै थिए ।
तिनै पर्खालुहरुको भीडमा थपिई गाउँवाली अनि कान छुट्टिन लागेको र डढेर ऊ जस्तै कालै भएको सिलबरे तसला इनारका घाट वरतिरै राख्दै बोली, “विचरी पर्सावाली त गइछ ।”
“साँच्चै कि ख्याल ख्याल ?” नुहाउँदै गरेकी कुनै आइमाईले अविश्वस्त स्वरमा सोधी ।
“साँच्चै नै हो । मेरो देवरले भनेको…।” गाउँवालीले थपी ।
“कैले…? कतिखेर..?”
“खै कैले कतिखेर हो कुन्नि ! विहान मान्छेहरुले देख्दा बाटो तताइसकेकी थिई अरे ।”
“राम ! राम ! ! त्यस्तो कष्ट खपेर बस्नुभन्दा त गएकै जाती ।”
दया–माया, सद्भावना र सहानुभूतिका आद्र्र स्वरहरु पानी पँधेरोबाट अल्छी पाराले बतासिंदै जुम्सो वेग हान्दै ढिलो चाँडो टोलका घरघरमा भित्रियो । भित्रियो बस त्यति मात्र । सुन्ने र सुनाउनेहरुमध्ये अधिकांशले तुरुन्तै भावशुन्य एवं निर्विकार एवं सहजमुद्रा ग्रहण गरे, मानौं केही भएकै छैन ।
गाउँलेहरु उसलाई पर्सावाली भन्थे । पर्सा भन्ने गाउँ उसको माइती गाउँ थियो । दशगजा नजिकको गाउँ अनि पूरै गाउँ मुसलमानहरुको बस्ती । सबथोक थियो पर्सामा गाउँ थियो, गाउँलेहरु थिए, मस्जिद थियो, कुरान थियो, मौलवी थिए, धर्म थियो, मदरसा थियो, संस्कृति थियो, शोषण थियो, ठूलाबडा थिए, अत्याचार थियो, नियम–कानुन थियो, असन्तोष थियो तर विद्रोह थिएन । पर्सावाली थिई, उसका आम बाबु थिए, भाइ बहिनी थिए र इष्टमित्र थिए ।
पर्सावाली सिया थिई वा सुन्नी भन्न गाह्रो थियो । उसको निकाह सानै उमेरमा भयो । त्यसताका आफ्नो घर गाउँ, आमाबाबु, इष्टमित्र, साथीसंगी छोडेर नौला मान्छेका साथ हिंड्नपर्दा आँखामा आँसुको भेला उर्लिरह्यो । गाउँ छोडेर दश गजानिर आइपुग्दा बुर्काको आँखीझ्यालबाट आप्mना डबडबाउँदा आँखाले उसले पर्सालाई हेरी । पर्साको फाँट र मेघा खोलालाई हेरी अनि गह्रौं मनले ती सबलाई अलविदा भनी । त्यसपछि एक तमाससँग सुँक्क सुँक्क गरिरही । तिनताका ऊ साह्रै सानी थिई र उसको मनस्थितिले सियासुन्नीमा कुनै भेद देखेको थिएन । तर जब उसका चेत खुले, त्यो बेला उसले के चाल पाई भने परिवारमा र छिमेकमा सिया सुन्नीको भेदमा विभाजित हुनु श्रेयस्कर थिएन । र, मुसलमान हुनु नै जीवनका लागि अथवा भनौं बाँच्नका लागि असल हतियार थियो । किनभने गाउँ त्यसताका हिन्दु र मुसलमानमा बाँडिएर भयावह त्रासदी भोग्दै थियो ।
दशैंको बेला थियो । हिन्दुहरुले आफ्नो आस्थाकी अधिष्ठात्री महाशक्ति देवी दुर्गाको मूर्ति बनाई मेला चलाएका थिए । मुसलमानहरु दाहा बनाएर जात्रा मनाउँदै थिए । तर जात्राका लागि दुवैथरीले वर्षौंदेखि हाट लाग्ने गरेको स्थानलाई नै उपयुक्त ठह¥याएका थिए । हिन्दुहरु आप्mनो जात्रास्थलमा मुसलमानको दाहा देख्न चाहँदैनथे र मुसलमानहरु हिन्दुकी दुर्गालाई त्यहाँ देख्न चाहँदैनथे । यसरी हाट साम्प्रदायिक संघर्षको मूल थलो बनिदियो । अनि निस्के घरघरबाट लठ्ठी, भाला, गडाँस, बन्चरो र कोदाली । अनि बग्यो रगतको खोला । केही हिन्दुहरु सहिद भए र केही मुसलमानहरु जन्नतमा पुगे । पर्सावालीको लोग्ने पनि यसै मुहूर्तमा पर्सावालीलाई छोडेर हिंडिदियो ।
यो घटनापछि पर्सावाली एकदमै एकाकी र भावुक भइदिई । उसलाई राम्र्रोसँग थाहा भएन– उसको मियाँ (खसम) जन्नत (स्वर्ग) मा पुग्यो कि जहन्नुम (नर्क) मा । छिमेकमा अधिकांश मुसलमानहरु भन्थे– हनिफ भाग्यमानीथियो किनभने उसले जनतामा शरण पायो । तर गाउँका केही मानिसहरु भन्थे, उसको खसम हनिफले व्यर्थै ज्यान गुमायो र ऊ पक्कै पनि नर्कमा आफ्ना पट्यारलाग्दा दिनहरु भोग्दै होला । दुईचारजना यसो पनि भन्थे–मानिसहरु हिन्दु, मुसलमान वा शिख पठान आदिमा विभाजित हुनु अज्ञानको फल हो । हिन्दुलाई मुसलमानले वा मुसलवानलाई हिन्दुले ठगेको, लुटेको भन्दा बढी भयावह र पीडादायी त गरिब हिन्दुलाई धनी हिन्दुले र गरिब मुसलमानलाई धनी मुसलमानले गर्ने गरेको व्यवहार छ । त्यसो हुँदा हिन्दु मुसलमानको सट्टा गाउँ समाज धनी र गरिब अथवा लुट्ने–लुटिनेमा बाँडिनु राम्रो हो । मानिसहरुबीच एकता, मेल र फुटका आधार श्रम र धन हो । श्रम नगर्नेहरु हिन्दु मुसलमान जे भए पनि एक हुन सक्छन् भने श्रम गर्नेहरु पनि जुनसुकै सम्प्रदायका भए पनि एक हुनुमा मानव जातिको कल्याण छ । हनिफले यो कुरो बुझिदिएन र गलत कुराका लागि ज्यान गुमायो ।
मान्छेहरुका कुरा सुन्दासुन्दा ऊ आजित भइसकेकी थिई र उसको विवेकले हिन्दु र मुसलमानमा फरक देख्न र स्वर्गनर्कमा विश्वास गर्न छोडिसकेको थियो । ऊ सोच्दथी– मेरो लोग्ने म¥यो । ऊसँगै केही अरु मुसलमानहरु र केही हिन्दुहरु पनि मरे । ती कसका लागि र किन मरे ? बाँच्ने पाए के ? मर्नेको परिवारले कुन ऐश्वर्य भोग गरे ? त्यो त्रासदीपूर्ण भयावह युद्ध जित्यो कसले र हा¥यो कसले ?
त्यो भयावह लडाइँ निरर्थक किन लडियो, किन ? रह्यो कुरो स्वर्ग र नर्कको …. मेरो लोग्ने म¥यो र मरिसकेपछि ऊ गाडियो । त्यसो हुँदा ऊ जाने ठाउँ एउटै थियो र बाटो पनि एउटै थियो । यदि त्यही ठाउँ कसैका दृष्टिमा स्वर्ग र कसैका दृष्टिमा नर्क हुन्छ भने यो मान्छेको सोचाईको विभेद मात्रै हो । उसको मृत्युलाई राम्रो ठह¥याउनेहरुले उसलाई स्वर्गमा देखे र नराम्रो ठह¥याउनेहरुले नर्कमा । बस्, फरक यत्ति थियो ।
उसको लोग्ने मरिसकेको थियो । र ऊ अब एक्ली थिई, नितान्त एक्ली । उसको एक्लोपनको साथी कोही थिएनन् । उसको देवरको विवाह भइसकेको थियो । त्यसैले देवरले उसलाई स्वीकार्न एकदमै अस्वीकार ग¥यो । त्यसो हुँदा ऊ अब आप्mनो बाँकी जीवनको साथी छान्न स्वतन्त्र पनि थिई । शुक्रबार ऊ मस्दिज जाने गर्थी तर मस्जिदमा पनि उसको दग्ध मनले शान्ति पाउन सकेन ।
तिनताका उसको गाउँमा इन्कलाबीहरु पसेका थिए । उसकै गाउँका कतिपय मानिसहरु इन्कलाबी बनेका थिए । ऊ पनि उनीहरुको कुरो सुन्थी, चित्त बुझाउँथी । मनलाई शान्ति दिलाउँथी अनि असंख्य प्रताडितहरुको सेवा गर्ने प्रण गर्थी मनमनै । यसैबीच उसले एउटा भयावह, विकराल एवं त्रासदीपूर्ण विभत्सता देखी । उसले इन्कलावीहरु देखेकी थी, माया गर्थी ऊ तिनीहरुलाई । तर ‘आज यी सब के भैरहेछ ? ऊ केही बुझिरहेकी थिइन । गोरा साहेबहरु आफ्नो देश फर्कै रे–सात समुद्रपारी । तब फेरि किन मान्छेको आँखामा हिंसाको प्रेत नाचिरहेछ, किन ? किन असंख्य नारीहरुको सतित्व लुटिइरहेछ–हिजोसम्मका आफन्तहरु आज किन पराई भैरहेछन् ? किन ? किन ? चेत खुल्दा देखि –हिन्दुस्तान बनिसकेछ, पाकिस्तान बनिसकेछ । उसले देखी–मानिसहरु हिन्दुस्तान भागिरहेछन्, कोही पाकिस्तान भागिरहेछन् । यो भागदौडमा मान्छे आफ्नो वर्गसँग घात प्रतिघात गरिरहेछ । यो देखेर ऊ झन् विक्षिप्त भई । ऊ न त पाकिस्तान चाहन्थी, न त हिन्दुस्तान । किनकि ऊ त पर्सावाली थिई । उसले झल्झली आफ्नो माइती देश सम्झी । अब त उसको हृदयमा न त सिया सुन्नीको लागि कुनै ठाउँ थियो, न त हिन्दु मुसलमानका लागि । उसको हृदय त बहुसंख्यक मानव मात्रको हितका लागि तड्पिरहेको थियो । तर उसको तड्पाइलाई आँखामा हिंसाको प्रेत नचाउने बुज्रुकहरु अनर्गल प्रलाप भनिदिन्थे । त्यसो हुँदा ऊ विक्षिप्त बनी माइती देश फर्की । यो फर्कनु उसको माइती देशको इतिहासमा अपूर्व घटना थियो । सीता र भृकुटीको भन्दा फरक ।
उसको माइतीमा मेघा नदी धक फुकाएर बग्दै थियो, सिंगै गाउँलाई बगर बनाएर । अनि त्यही बगरको डिलमा थियो, ताहिर मियाँको विशालकाय महल र वरपर केही झुप्राहरु । ताहिरको अधरमा विरुपाक्षे मुस्कान सलबलाउँदै गरेको देखेर ऊ झसङ्ग झस्की । पर्साका केहीलाई मेघाले खाएछ, केहीलाई ताहिरले पचाएछ । केहीलाई ताहिरले अँगालेछ, अरुलाई उसैले लघारेछ ।
पर्सावाली अलमल्ल परी किनभने त्यहाँ न त पर्सा थियो न त माइती । पर्सा खुम्चेर ताहिर टोल बनेको थियो । उसको लागि अब न त समाउने हाँगो थियो, न त टेक्ने धर्ती नै । टेक्ने धर्ती र समाउने हाँगोको खोजमा ऊ वल्लोपल्लो गाउँ चहार्न थाली । अनि जीविकाको लागि उसले आफ्ना बलिया पाखुरीहरुको सदुपयोग गरी ।
ऊ घर घरका जुठा भाँडा माझ्थी । गाउँभरिका सुत्केरी स्याहार्थी अनि घरघरमा ऊ आफ्नो कथा सुनाउँदै हिंड्थी–‘हनिफ कसरी म¥यो अनि उसको मृत्यु किन सार्थक भएन…।’ यसरी ऊ गाउँका लागि समर्पित भइदिई । शहर बजारबाट निकै टाढा रहेको अनकन्टार गाउँ थियो त्यो, जहाँ न कुनै अस्पताल थियो न कुनै डाक्टर, न कुनै नर्स । डाक्टर भने पनि नर्स भने पनि अस्पताल भने पनि उही पर्सावाली थिई । प्रसव वेदनाले थलिएकी जुनसुकै आइमाईको सेवामा ऊ हाजिर गराउँथी आफूलाई । जाति, धर्म, वर्ण आदि केही पनि उसको सेवा कार्यमा छेकबार बनेनन् । एक किसिमले हेर्ने हो भने त्यो गाउँको लागि ऊ फ्लोरेन्स नाइटिङ्गेल नै थिई भने पनि हुन्छ ।
रहँदा बस्दा दिन बित्दै जाँदा पर्सावालीको उमेर ढल्दै गयो र बुढ्यौलीले छोयो । नातागत भयो र शरीरमा हाड छाला बाहेक केही रहेन । दिनप्रतिदिन उसमा असशक्तता बढ्दै गयो अनि उसका पाखुरीहरु दुर्बल भए । ऊ काम गर्न नसक्ने भई । आँखामा फुलो प¥यो । आँखा नदेख्ने भई अनि देख्दादेख्दै पर्सावाली थला परी । महिनौं दिन थला परी । उही पर्सावालीको लास आज बेवारिसे र अलपत्र परिरहेको थियो ।
मुसलमानहरु उसको लास उठाउन तयार थिएनन्–“हिन्दुहरुको जुठो–पूरो खाएर ऊ धर्म–च्यूत, जाति–च्यूत, भैसकेकी थिई ।” यो उसमाथिको गम्भीर आरोप थियो ।
“पर्सावाली हरहालतमा मुसलमान थिई र यसको सद्गद तिमीहरुबाटै हुनुपर्छ ।” गाउँका प्रधानपञ्च लगायत केही गैरमुसलमानहरुको ठहर थियो ।
र, मुसलमान–हिन्दुको मत मतान्तरको यो रेलापेलामा गाउँकी नाइटिङ्गेल अर्थात् पर्सावालीको लास अलपत्र पसारिएको थियो । रेडियोमा भने मुलुकी ऐन दिवसको शुुभ मुहूर्तको सन्देश वक्तव्य घन्किरहेथ्यो ।

