कोरियामा पनि वर्गीय विभेद छ

 – खिम मगर
मेरो स्थायी घर बागलुङ जिल्लाको दर्लिङ हो । मैले केही वर्ष कास्कीको पोखरामा बसेर संगठनको काम र हाँक साप्ताहिकको काम गरेको थिएँ । म २०८० साल जेठ १६ गते नेपालको एयरपोर्टबाट मन गरुङ्गो बनाएर परदेशीएको हुँ । चाहना नहुँदा नहुँदै पनि जीवनयापनका लागि पैसा कमाउन विदेश जानु नेपालीको बाध्यता छ । म पनि केही पैसा जोडी पछि नेपाल फर्केर केही गर्छु भन्ने उद्देश्यले प्रदेश आएको हुँ।

कोरियामा मैले रिसाइकलिङ कम्पनीमा काम गर्दछु । इलेक्ट्रोनिक टिभी जस्ता सामानमा रहेका विभिन्न पाटपुर्जाहरू खोलेर छुट्टाएर राखिदिनुपर्छ । कहिलेकाहीँ सिसाको कम्पनीमा पनि काम गर्छु । अनि सिसा पेलेर गाडीमा हालेर पठाउनुपर्छ। मेरो उठ्ने समय भनेको बिहान ७ बजे हो। ७ बजे उठेपछि बिहानको खाजा नास्ता बनाई खाने र हल्का व्यायाम गर्ने गर्छु । त्यस लगतै हाम्रो कम्पनीमा जाने गाडी आउने हुँदा ७ बजेर ४० मा गाडी चढ्छु अनि ८ बजेर २० मिनेटतिर कम्पनीमा पुगी चिया कफी खाने अनि कामको लागि तयारी हुने र ८ बजेर ४० मा काममा लाग्ने अनि दुई घण्टा काम गरेसँगै १०ः ५० मा मेरो १५ मिनेटको ब्रेक टाइम हुन्छ ।

लगभग एक आधा घण्टा काम गरेपछि १२ः३० बजे खाना खाने समय हुन्छ र हामी फेरि एक बजेर ३० मिनेटमा फेरि काम सुरु गर्छौं र ४ बजे फेरि चिया खाने समय हुन्छ र चिया पिउँछौ र फेरि हाम्रो काम सुरु हुन्छ । त्यस लगत्तै बेलुकी छ बजे र १० मिनेटमा हाम्रो काम गर्ने समय ८ घण्टा पुग्छ र ड्युटी छुट्टी हुन्छ । र प्रायः मेरो कम्पनी बिजी हुने भएको कारणले मैले दुई घण्टा ओभरटाइम गर्नुपर्छ । ओभरटाइम भयो भने मैले ८ः१० सम्म काम गर्नुपर्छ । त्यसलगत्तै फेरि गाडी चढेर ८ः ५० मा बस्ने ठाउँ होस्टेलमा फर्किन्छौं । त्यसपछि नुहाएर खाना बनाएर खाएर लगभग रातिको १० बज्छ। १० बजिसकेपछि समाचारहरु, फेसबुक, युट्युब, टिकटक हेर्ने र अनलाइन पत्रपत्रिका पढ्ने गर्छु। ११ देखि १२ को बीचमा म सुत्ने काम गर्छु। यसरी नै मेरो दिनचर्या चलेको छ ।

हामी विदेशमा अनेक समस्या बोकेर आएका छौं। हाम्रो जीवनमा पनि धेरै समस्याहरु छन्। आफ्नो देश छोडी प्रदेशमा काम गर्नु धेरै गाह्रो छ किनभने भाषिक समस्या छ । खानपानका समस्या छ , स्वास्थ्य समस्या छ । मेरो कम्पनीमा विशेष समस्या भनेको मेरो लागि धेरै धुलो धुवा हुन्छ । र आफूभन्दा अगाडि आएका साथीहरुले आफूले सजिलो काम गर्न खोज्ने र पछाडि आएका साथीहरूलाई अप्ठ्यारा काम गराउने गर्छन् । कोरियामा सबैभन्दा समस्याको विषय के छ भने कोरियाका साहु, म्यानेजरहरूले पछाडि आएका साना मान्छेको कुरा नसुन्ने, जहिले पनि जुनियर मान्ने र पुराना मान्छेको मात्र कुरा सुन्ने प्रवृत्तिले गर्दाखेरि नेपालीहरुले आत्महत्या पनि गरेको रेकर्ड छ । केही महिना अगाडि म्याग्दीका एक जनाले आत्महत्या गरे ।  सानोतिनो समस्यालाई मैले समस्या मान्दैन त्यसो भएको कारणले म ढुक्क छु समस्या आए पनि समस्यासँग लड्ने क्षमता ममा छ ।

मैले काम गर्ने कम्पनीमा नेपालीहरू ११ जना छौं । धेरै जसो नेपालीहरूले ठुलाठुला भट्टीमा, कारखानाहरूमा काम गर्दछन् र खेतीपाती, पशुपालन, बङ्गुर फार्म आदिमा पनि काम गर्दछन् । मेरो धेरै साथीहरूसँग भेटघाट छलफल भएको छैन। किनभने मेरो शनिबार पनि काम चल्ने भएको हुँदा, अरु मेरो फुर्सदमा साथीहरूको समय नमिल्ने भएको कारणले गर्दाखेरि मेरो भेटघाट छलफल भएको छैन । खेतीपातीमा काम गर्ने साथीहरूको विदा नमिल्ने भएको कारणले गर्दाखेरि हामी सहजै भेटघाट हुन सक्दैनौँ ।

मैले जाने, सुनेसम्म दक्षिण कोरियामा पनि विभिन्न राजनीतिक दल सम्बद्ध प्रबासी संगठनहरु, विभिन्न जातीय संगठन, एनजीओ आइएनजिओका संगठनहरू छन् । त्यसमध्ये एमटियु माइग्रेसन ट्रेड युनियन विश्वासिलो युनियन मानिन्छ । आफ्नो ठाउँमा अरु संगठनहरुले के कस्ता काम गरे मलाई त्यति जानकारी छैन तर Migration Treature  युनियनले भने सधैँ नेपालीहरूको हकहितको लागि सधैं लडिरहेको छ । यहाँका शोषित पीडित भएका नेपालीहरूको लागि आर्थिक, नैतिक सहयोग, कानुनी परामर्श विभिन्न तहले सहयोग गरिरहेको छ ।

दक्षिण कोरियामा बसेर काम गरिरहँदा नेपालको सम्झना आउँछ । आफ्नो देशको मातृभूमिको र बाआमा घरपरिवारको याद नआउने कुरो त हुँदै भएन । देश र मातृभूमिप्रति भनेर लेखेर बयान गर्न नसक्ने गरी याद आउँछ । सबै कुरा लेख्न पनि सक्दिन , भन्न पनि सक्दिन ।

कोरिया र नेपालमा मैले धेरै भिन्नता पाएको छु । कोरिया एउटा पुँजीवादी देश हो। हामीले बुझेको अध्ययन गरेको पुँजीपति वर्ग मजदुर किसानको लागि शोषक नै हो । हामीले नेपालबाट जस्तो कोरिया सुनेका छौं , त्यस्तो कोरिया छैन । यहाँ पनि पुँजीपति वर्ग र श्रमजीवी वर्ग छन् र पुँजीवपति वर्गले श्रमजीवी वर्गलाई अति शोषण गरेका छन् यहाँ पनि । नेपालभन्दा केही कानुनहरु बलियो छन्, ज्याला परिश्रम गरेबापतको काम पैसो समयमा पाउँछन् भन्ने मात्रै हो । यहाँ पनि सर्वसाधारण जनताले भनेजस्तो शिक्षा, स्वास्थ्य लिन सक्दैनन् र विभिन्न विलासिका सामान पनि प्रयोग गर्न सक्दैन । नेपाल र कोरियाको बीचमा फरक भन्ने हो भने नेपाल एक पुँजीवादी देश हो । जहाँ श्रम को मूल्य छैन । नेपालमा जनताले खेती गरेबापत फसलले बजारको मूल्य पाएको छैन । दक्षिण कोरियामा खेती गरे पनि खेतीले बजार पाएको छ तर मूल्य त्यति राम्रो पाएको छैन र नेपाल जस्तै कोरियामा पनि गाउँमा भन्दा सहरमा बस्ने मानिसको जनसङ्ख्या निकै धेरै छ ।

नेपालमा कुनै पनि राजनीतिक दल नजिक भएर गुण्डागर्दी गर्ने घुस कमिसन खाने चलन छ । यहाँ नेपालभन्दा अलि कम छ र नागरिक सरकारप्रति अति उत्तरदायी जिम्मेवारी छन् । र कर आफूले कमाए बापतको तिर्छन् र सधैं अनुशासित रहन्छन् । हाँक साप्ताहिकले मेरो मनका कुरा राख्न दिएकोमा धन्यवाद दिन्छु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित