अविचलित योद्धा हर्कबहादुर शाहीः एक संक्षिप्त विवेचना

-भागवत खनाल

२०४७ सालको कार्तिक महिना थियो । म मुस्ताङबाट जिल्ला प्रशासन कार्यालय, दैलेखको प्रशासकीय अधिकृत पदमा सरुवा भएर गएको थिएँ । नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ चुनौतीको बेला थियो । बिस्तारै मानिसहरू परिचय गर्न आउने क्रम चलिरहेको थियो । सुरम्य हावापानी, सागपात, फलफूल र गोरसको बाहुल्य भएको हुँदा त्यहाँ एक प्रकारको रमाइलो वातावरण पनि थियो ।
एक दिन एक जना अग्ला मानिस आएर भन्नुभयो, “नमस्कार म हर्कबहादुर शाही ।” सामान्य परिचय र भलाकुसारीसँगै केही बेर कुराकानी गरियो । उहाँको अग्लो, गोरो र ओजयुक्त व्यक्तित्वलाई देखेर म निकै प्रभावित भएको थिएँ । म जिल्ला प्रशासनको अधिकृत, उहाँ नेमकिपाका जुझारु नेता । म उदारवादमा विश्वास गर्ने युवक, उहाँ अलि परिपक्व हुँदै रहेका कम्युनिस्ट नेता । आफ्नो सिद्धान्तमा अडिग भएर समाज परिवर्तनका लागि संघर्ष गर्ने मानिसप्रति मेरो सम्मान नहुने कुरै भएन । हामी जिल्ला प्रशासन कार्यालयको चउरमा बसेर राजनीतिक दल नभई राजनीतिबारे कुराकानी गथ्र्यौं । हामी दुबै सतर्कताका साथ शब्दहरूको प्रयोग गथ्र्यौं । उहाँसँग मेरो बौद्धिक मित्रता कायम हुँदै गयो । त्यहाँ बसुन्जेल कहिल्यै पनि आपसी तिक्तताको अनुभव गर्नु परेन ।
हामी छुट्टिएको करिब साढे तीन दशकपछि नेपालगन्जमा शाहीजीका सुपुत्र दीपकसँग भेट्ने अवसर जु¥यो । कुराकानीका क्रममा उहाँले भन्नुभयो, “म सानै हुँदा हजुरलाई दैलेखमा देखेको थिएँ ।” बडो खुसी लाग्यो । प्रसङ्गवस दैलेख सम्बन्धी विगत र आगतका धेरै कुराहरू भए । दीपकजीले मलाई आफ्ना पिताको जीवनीबारे प्रकाशित स्मृतिग्रन्थ उपहार दिनुभयो ।
पञ्चायत कालमा कम्युनिस्ट बन्नु खेलबाडको कुरा थिएन । उहाँको समयमा कम्युनिस्ट बन्न हिम्मत र जज्बा चाहिन्थ्यो । राजनीतिक दमन, गिरफ्तारी र प्रतिबन्धका कारण खुलारूपमा कम्युनिस्ट हुँ भन्दै हिँड्न सहज थिएन । त्यस्तो परिस्थितिमा पनि कम्युनिस्ट बन्नु उहाँको “प्यासन“ थियो । अचेल त कतिपयका लागि कम्युनिस्ट पनि फेसन जस्तै भएको छ । ईष्र्याले बनेका केही कम्युनिस्टहरू अचेल आफै ईष्र्याका पात्र बन्न थालेका छन् ।


शाहीजी जुझारु त हुँदै हुनुहुन्थ्यो । बम्बैमा नोकरी गरेर बस्दा उहाँ भाकपाका तत्कालीन महासचिव श्रीपाद अमृत डाँगेको सम्पर्कमा पुग्नुभयो । उहाँ कम्युनिस्ट विचारप्रति आकर्षित हुनुमा डाँगेको मुख्य प्रभाव रहेको बारे मोहन वैद्य “किरण“ले यसै पुस्तकमा विस्तारमा वर्णन गर्नु भएको छ ।
सीपी गजुरेल शाहीजीको अटल व्यक्तित्वबारे लेख्नुहुन्छ, “जतिसुकै कठिन र अप्ठेरो परिस्थितिमा पनि विचलित नहुने गुण उहाँमा प्रचुर मात्रामा थियो ।“
डा. दीपेन्द्र रोकाया शाहीजी प्रचण्डको माओवादी छाडेर नेकपा ( क्रान्तिकारी माओवादी ) मा गएपछिको प्रसङ्गको सम्झना गर्दै लेख्नुहुन्छ, “अनि तपाईंको पार्टी कसरी चल्दैछ भनी सोधेँ, उहाँले हाँस्दै भन्नुभयो,विचार जोगाउन्या र सक्दासम्म सङ्गठन विस्तार गन्र्या भनेका छौं ।“
शाही खरो हुनुहुन्थ्यो । विष्णु रिजालको शब्दमा “आफ्नै सर्तको जीवन बाँच्ने“ नेता । उसबेला कम्युनिस्ट बन्नुको तात्पर्य नै संघर्ष हुन्थ्यो । अब त प्रायः त्यही सदस्यता सुखको खोजीमा लिने चलनसमेत आयो । राष्ट्रिय भावनाले ओतप्रोत शाहीले लेख्नुभएको थियो, “दुई देशबीच सम्झौता हुनु अनौठो होइन । देश र जनतालाई के हानि र के फाइदा भयो भन्ने कुरा मुख्य हुन्छ ।“
रङ्गनाथ जोशी हर्कबहादुर शाहीको व्यक्तित्वबारे लामो विवरण
दिँदै लेख्नुहुन्छ, “मेरो घरमा आउँदा मेरा परिवारका मानिसले कुनै गोरा आएको छ भनेका थिए । तर मलाई उहाँ अजरबैजानी आर्य जस्तो लाग्नुहुन्थ्यो । ….।“ रङ्गनाथ जोशी सोभियत संघमा कृषि पढेका मान्छे । उहाँ बागवानी फार्ममा जागिर खान दैलेख जानुभयो । उहाँको भित्री उद्देश्य भने कम्युनिस्ट विचारको प्रवाह गर्नु थियो । त्यहीँ उहाँको शाहीजीसँग भेट भएछ । शाहीजी घोडा चढेर आएको देख्दा रङ्गनाथलाई केही असहज लागेछ । तर शाहीजी दमको दीर्घरोगी भएको कुरा थाहा पाएपछि बल्ल उहाँको चित्त शान्त भएछ ।


युवा अवस्थामा हर्कजीलाई साथीहरूले “दैलेखका लेनिन” भन्ने गर्थे । शाहीजी दुई अवधि चामुण्डा गाउँ पञ्चायतको जनपक्षीय प्रधनपञ्चका रूपमा निर्वाचित हुनुभएको थियो । पछिल्लो समयमा उहाँ नेमकिपा छाडेर नेकपा माओवादीमा प्रवेश गर्नुभयो । तर पार्टीको वैचारिक स्खलन देखेर उहाँलाई दुःख लाग्यो । त्यसपछि उहाँ नेकपा ( क्रान्तिकारी माओवादी ) को पोलिटब्युरो सदस्य बन्नुभयो । हर्कजी ७३ वर्षको उमेरमा काठमाडौंमा दिवङ्गत हुनुभयो ।
यो पुस्तक केवल हर्कबहादुर शाहीको जीवनवृत्त मात्र होइन । यो कर्णाली – भेरी प्रस्रवण क्षेत्रको तत्कालीन समाजबारेको फेहरिस्त पनि हो । यसमा त्यस बखतको समाजमा परिव्याप्त शोषण, उत्पीडन र दलनविरुद्ध हर्कबहादुर शाहीले गरेको संघर्षबारे थुप्रै विवरणहरू छन् । यसभित्र समाहित विभिन्न लेखकका लेखहरू निकै पठनीय र मननीय छन् । यो पुस्तक केवल वामपन्थी विचार राख्नेहरूका निम्ती मात्र नभई नेपाल, नेपाली र नेपालको इतिहासमा चाख राख्ने सबैका लागि उत्तिकै उपयोगी छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित