– नरेन्द्रबहादुर थापा
आज वि.सं.२०८२ साल पौष ६ गते तदनुसार डिसेम्बर २१, सन् २०२५ , आजको दिन विश्व ध्यान दिवस हो । यस अवसरमा म आफैले समेत पनि समाजमा सामाजिक चेतना जागृत गराउने दाइत्व बोध गर्दै , यो दिवसबारे कलम चलाउने जमर्को गर्दै छु। पाठक वर्गबाट सकारात्मक सुझावको अपेक्षा राख्दै एउटा संस्कृत श्लोकबाट यो लेख सुरु गर्न चाहन्छु ।
ू ध्यानेनात्मनि पश्यन्ति केचित् आत्मानमात्मना ।
अन्ये साङ्ख्येन योगेन कर्मयोगेन चापरे ।
यो श्लेकको अर्थ हो
ध्यानमार्फत केही व्यक्तिहरूले आफ्नो आत्मालाई अनुभव गर्छन् । अन्य ब्यक्तिहरुले ज्ञानमार्ग , योगमार्ग वा कर्ममार्गद्वारा आत्मालाई प्राप्त गर्छन्। यस श्लोकले मानव समाजमा ध्यान र आन्तरिक शान्तिको मार्गको महत्वलाई स्पष्ट पार्दछ। ध्यान मानव जातिमा आत्मा चिन्तनको शक्तिशाली माध्यम हो।
नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा नेपाली बृहत शब्दकोशका अनुसार ध्यानको अर्थ भनेको कुनै विषय वा कार्यमा रुचिपूर्वक भएको एकाग्रता , ख्याल ,धेय , चिन्तन , , मनन ,सोंच , तन्मयता र तल्लिनता हो। आफ्नो कार्यमा लगाएको ध्यानकै कारणले गर्दा नै मानिसले आफ्नो लक्ष्यमा सफलता हासिल गर्दछ ।
विश्व ध्यान दिवसलाई आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घ महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रुपमा मनाउने घोषणा गरेको छ। यो घोषणा ६ डिसेम्बर २०२४ मा सार्वभौम तथा सर्वसम्मत रुपमा पारित भएको छ , जसमा नेपाल , भारत , लिकटेनस्टिन , श्रीलंका , मेक्सिको र अण्डोरा लगायतका देशहरुले विश्व ध्यान दिवस मनाउने प्रस्तावलाई समर्थन गरेका थिए । पहिलो विश्व ध्यान दिवस २१ डिसेम्बर ,२०२४ मा मनाइएको थियो । अहिले यो दिवस दोस्रोपटक मनाइँदै छ। यस दिवसको आधिकारिक नारा ‘इनर पीस ग्लोबल हार्मोनी’ अर्थात भित्री शान्ति (वैश्विक सद्भाव भन्ने हो । यस दिवसको यो नाराले व्यक्तिगत चेतना , मानसिक शान्ति र विश्वभरिको सामाजिक र मानवीय सद्भावलाई जोड दिन्छ।
ध्यानले आजको शान्तिपूर्ण विश्वमा मानव चेतनालाई बलियो बनाउने, आन्तरिक शान्ति र समग्र कल्याणमा योगदान दिने अभ्यासहरूको रुपमा महत्व पाएको छ। महासभाको दस्तावेजले यो दिवसले मानिसहरुलाई ध्यानबाट प्राप्त हुनेमा मनको शान्ति र समुदायगत सद्भावनातर्फ प्रेरित गर्ने लक्ष्य राखेको बताएको छ ।
विश्व ध्यान दिवसको यो दिन विशेष गरी मानव समाजमा तनाव व्यवस्थापन , आत्मचिन्तन र सकारात्मक जीवनशैलीलाई प्रोत्साहन दिन ध्यान कार्यक्रम , सेमिनार र कार्यशालाहरू आयोजना गरिन्छ ,जसले ध्यानको शारीरिक , मानसिक र आध्यात्मिक लाभ तथा यसको सार्वभौम महत्त्वलाई मान्यता दिएको छ।
आज विश्व तीव्र गतिमा दौडिरहेको छ। प्रविधि , उपभोक्तावाद र प्रतिस्पर्धाको अन्धो होडवाजीमा मानव जीवन बाह्य रूपमा त शक्तिशाली नै देखिन्छ , तर आन्तरिक रुपमा भने झन् कमजोर , तनावग्रस्त र असन्तुलित बन्दै गएको छ । युद्ध , हिंसा , असमानता , मानसिक रोग , डिप्रेसन र आत्महत्याका बढ्दो घटनाहरुले स्पष्ट संकेत गर्दछन् कि समस्या केवल आर्थिक वा राजनीतिक मात्र होइन , चेतनाको संकट हो । यही सन्दर्भमा विश्व ध्यान दिवसले मानव सभ्यतालाई आत्म चिन्तन र आन्तरिक रुपान्तरणतर्फ फर्कन आह्वान गर्दछ ।
ध्यान कुनै धर्म ,जाति , लिङ्ग वा संस्कृतिमा सीमित अभ्यास होइन । यो मानव चेतनाको वैज्ञानिक र सार्वभौमिक विधि हो। ध्यान भनेको आँखा चिम्लेर संसारबाट भाग्नु होइन , बरु आफूभित्रको संसारलाई बुझ्दै बाहिरी संसारसँग सन्तुलित सम्बन्ध कायम गर्नु हो । आज जब मानिस बाहिर सबै कुरा नियन्त्रण गर्न खोज्दछ , ध्यानले भन्छ ( पहिले आफूलाई नियन्त्रण गर ।
आधुनिक जीवनशैलीले मानिसलाई समाजमा निरन्तर तनाव , चिन्ता र भयमा बाँच्न वाद्य बनाएको छ । कार्यालय लगायतका विविध कामहरुको दबाब , बेरोजगारी, ऋणको भार , राजनीतिक अन्योलता , सामाजिक सुरक्षा आदि ( यी सबैले मानिसको मानसिक स्वास्थ्यमा तहसनहस बनाइरहेका छन् । यस्तो अवस्थामा ध्यान मानिसको लागि कुनै विलासिता हुँदै होइन, आवश्यकता नै बनेको छ ।
वैज्ञानिक अनुसन्धानकर्ताहरूले पनि प्रमाणित गरिसकेका छन् ( नियमित ध्यानले तनाव घटाउँछ , स्मरण शक्ति बढाउँछ ,भावनात्मक सन्तुलन कायम राख्छ र रोग प्रतिरोधात्मक क्षमता समेत बलियो बनाउँछ । त्यसैले ध्यानले मानिसलाई एकाग्रता र लगनशील बनाउँछ , जसले गर्दा ब्यक्ति सुन्दर , शान्त , स्वस्थ्य र सन्तुष्ट रहन्छ र यसले मानिसको आयु वृद्धि गर्न समेत मदत गर्दछ । समाजमा सबै मानिसहरू यसरी नै ध्यान शक्तिको बाटो अघि बढ्ने हो भने समाज कति सभ्य र सुन्दर हुन्छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
नेपाल जस्तो विकासशील देशको समाज , जहाँ राजनीतिक अस्थिरता , भ्रष्टाचार , बेरोजगारी र निराशा गहिरिदै गएको छ , त्यहाँ ध्यानको महत्त्व झन् बढ्दै गएको छ । चेतनाविहीन आक्रोशले समाजलाई विनाशतर्फ लैजान्छ भने, चेतनायुक्त संघर्षले परिवर्तनको मार्ग खोल्दछ । ध्यानले व्यक्तिलाई मात्र होइन , यसको अनुसरण सबैले गरेमा समाजलाई नै चेतनशील , जिम्मेवार , सहिष्णु र न्यायप्रेमी बनाउँछ । चेतनशील नागरिक बिना कुनै पनि सामाजिक रुपान्तरण सम्भव हुँदैन ।
विश्व ध्यान दिवस केवल व्यक्तिगत शान्तिका लागि मात्र होइन , विश्व शान्तिका लागि पनि सन्देश हो। युद्ध र हिंसाले भरिएको संसारलाई हतियार भन्दा ध्यान नै पहिलो शक्ति हो । हतियार भन्दा बढी ध्यान नै चाहिएको छ । हतियार चलाउन पनि ध्यान कै आवस्यकता पर्दछ । शक्ति प्रदर्शन भन्दा बढी आत्मसंयमता चाहिएको छ । अरुलाई जित्ने होड भन्दा पनि , पहिले आफूलाई वा आफ्नो मनलाई जित्ने साहस आवश्यक छ । ध्यान भनेकै त्यही साहसको अभ्यास हो।
आजको दिन हामी सबैले आत्मप्रश्न गर्न आवश्यक छ कि हामी कति सचेत छौँ रु हामी कति मानवीय छौँ रु हामीले प्रगतिका नाममा के गुमाइरहेका छौं रु र के प्राप्त गरिरहेका छौँ रु
विश्व ध्यान दिवसको अवसरमा केही मिनेट मौन बस्नु , स्वास(प्रश्वासमा ध्यान दिनु , आफ्नो मनको हलचल नियाल्नु जस्तो सानो अभ्यासले ठूलो परिवर्तनको ढोका खोल्न सक्छ। यदि व्यक्ति बदलिन्छ भने परिवार बदलिन्छ , परिवार बदलिँदा समाज बदलिन्छ र समाज बदलिँदा संसार नै बदलिन्छ ।
ध्यान कुनै नयाँ घटना होइन ( ध्यानका अभ्यास प्राचीन धर्म(दर्शन, योग र बौद्धिक परम्परामा धेरै पुरानो अभ्यासहरूसँग जोडिएको भएपनि यो दिवसलाई अब आधिकारिक रुपमा अन्तर्राष्ट्रिय दिवसको रुपमा मान्यता दिइएको छ ।
ध्यान मौन क्रान्ति हो , जहाँ हतियार होइन , चेतनाको विजय हुन्छ ।
अब अन्त्यमा , विश्व ध्यान दिवसले अशान्त विश्वमा चेतनाको शान्त क्रान्तिको माग गर्दै यही क्रान्तिमा सहभागी भएर आ(आफ्नो ठाउँबाट समाज परिवर्तनको संघर्षलाई निरन्तरता दिन हामी सबैलाई आमन्त्रण गर्दछ । धन्यवाद !
मिति ः२०८२ पौष ६ गते

