– नरेन्द्रवहादुर थापा
२६ डिसेम्बरलाई माओ जयन्ती विशेष दिनका रूपमा लिइन्छ । । सन् २०२५ को २६ डिसेम्बरको दिन कामरेड माओको १३३औं जन्मजयन्तीको दिन हो । २६ डिसेम्बर केवल एउटा जन्मदिन मात्र होइन , यो विश्व इतिहासमा शोषितपीडित जनताको मुक्तिको संघर्षलाई वैज्ञानिक दिशा दिने महान क्रान्तिकारी कामरेड माओत्सेतुङलाई स्मरण गर्ने एउटा ऐतिहासिक दिन हो । माओ केवल चीनियाँ क्रान्तिका नेता मात्र होइनन् , उनी मार्क्सवाद–लेनिनवादलाई औपनिवेशिक , अर्धऔपनिवेशिक र अर्धसामन्ती समाजको ठोस यथार्थसँग जोडेर विकास गर्ने एक महान चिन्तक हुन् ।
माओत्सेतुङको जन्म सन् १८९३ डिसेम्बर २६ मा चीनको हुनान प्रान्तको साओसान गाउँमा एक साधारण किसान परिवारमा भएको थियो । उनको बाल्यकालदेखि नै क्रान्तिकारी चेतनाको विकास हुँदै आएको थियो। कठोर परिश्रम , किसान जीवनका पीडा , सामन्ती शोषण र असमानताले उनको चेतनामा प्रारम्भदेखि नै गहिरो प्रभाव परेको देखिन्छ । अध्ययनप्रति रुचि राख्ने माओले चिनियाँ परम्परागत शिक्षा र आधुनिक बिचार बीचको द्वन्दलाई आफ्नै जीवनमा अनुभुति गरे ।
युवा अवस्थामा उनले चीनियाँ समाजको पछौटेपन, विदेशी साम्राज्यवादी हस्तक्षेप र चीनियाँ सामन्ती शासक वर्गको उत्पीडनलाई नजिकबाट देखे । यही यथार्थले उनलाई क्रान्तिको बाटो रोज्न वाद्य बनायो।
कम्युनिस्ट पार्टीको स्थापनासँगै कामरेड माओत्सेतुङले पार्टी र क्रान्तिको नेतृत्व गर्दै आए ।सन् १९२९ मा स्थापना भएको चीनियाँ कम्युनिस्ट पार्टीका संस्थापकहरु मध्ये माओ अग्रपंक्तिमा थिए । उनले प्रारम्भमा नै एउटा मौलिक निष्कर्ष निकाले ।चीन जस्तो देशमा क्रान्तिको मूख्य शक्ति मजदुर मात्र होइन , विशाल किसान जनता हुन् । यो निष्कर्ष नै माओको क्रान्तिकारी योगदानको मेरुदण्ड बन्यो ।ग्रामीण क्षेत्रलाई आधार बनाएर जनयुद्ध सञ्चालन गर्ने , जनतालाई राजनीतिक रुपमा संगठित गर्ने र पार्टी,सेना र जनताको सम्बन्धलाई अविछिन्न बनाउने उनको रणनीतिले चिनियाँ क्रान्तिलाई बिजयतर्फ डोर्यायो ।
लङ्ग मार्चस् माओत्सेतुङको साहस, दृढता र ऐतिहासिक मोड थियोे । सन् १९३४–३५ को ऐतिहासिक लङ्ग मार्च माओको नेतृत्व क्षमताको कशी थियो । हजारौं किलोमिटर लामो यो कठिन यात्रा केवल सैनिक पुनस्संरचना मात्र थिएन । यो क्रान्तिकारी दृढता , जनताप्रतिको विश्वास र नेतृत्वको परीक्षा थियो। यही क्रममा माओ पार्टीको निर्विवाद पार्टी नेता बने ।
कामरेड माओत्सेतुङको कुशल नेतृत्वको कारण नै नयाँ चीनको उदय भएको थियोे । दीर्घकालीन जनयुद्ध , जापानी साम्राज्यवादसँगको सङ्घर्ष र आन्तरिक प्रतिक्रियावादी शक्तिसँगको युद्धपछि , सन् १९४९ अक्टोबर १ मा जनवादी गणतन्त्र चीन स्थापना भयो। यो केवल चीनको मात्र राजनीतिक परिवर्तन थिएन , यो विश्वशक्ति सन्तुलनमा आएको ऐतिहासिक मोड थियो। ् माओको नेतृत्वमा चीनले सामन्ती शोषण, विदेशी प्रभुत्व र अपमानको इतिहास तोड्दै स्वाधीनताको नयाँ युग सुरु गर्यो। माओका वैचारिक योगदानको पक्ष पनि उत्तिकै महत्त्वको विषय हो । माओत्सेतुङको महानता केवल सत्ता प्राप्तिमा सीमित छैन । उनका प्रमुख वैचारिक योगदानहरू आज पनि विश्वका क्रान्तिकारीहरूका लागि मार्गदर्शक नै बनेका छन् ।जस्तै –
० जनरेखा (मासलाइन) जनता नै इतिहासका सर्जक हुन्।
० दीर्घकालीन जनयुद्धको सिद्धान्त
० अन्तरविरोध सम्बन्धी दर्शन
० निरन्तर क्रान्तिको सिद्धान्त ।
० संशोधनवाद र बुर्जुवा अधिनायकत्व विरुद्ध सशस्त्र संघर्ष
उहाँले भन्नु भएको थियो “जनता, केवल जनता नै इतिहास निर्माण गर्ने शक्ति हुन् ।
महान सर्वहारा सांस्कृतिक क्रान्ति र बहसको विषय पनि माओत्सेतुङको अर्को महत्त्वपूर्ण विचार हो ।माओको जीवन र नेतृत्व पूर्णतः विवादरहित त थिएन। यद्यपि महान सर्वहारा सांस्कृतिक क्रान्ति उनका विचारको प्रयोगसँगै आएका चुनौतीहरूको एउटा महत्त्वपूर्ण उदाहरण नै हो। तर यसको मूल उद्देश्य सत्तामा पुगेपछि पनि बुर्जुवा प्रवृत्ति पलाउन नदिनु आज पनि गम्भीर बहसको विषय बनेको छ।
ूमाओ आज किन सान्दर्भिक छन् भन्ने प्रश्नको जवाफमा भन्न सकिन्छ कि आज विश्व पुनः साम्राज्यवाद , युद्ध , असमानता , पुँजीवादी संकट र जनविरोधी शासनको चपेटामा छ। यस्ता बेला माओले सिकाएको आत्मनिर्भरता(जनताको शक्तिमा विश्वास, क्रान्तिमा दृढता , सिद्धान्त र व्यवहारको एकता पहिलेभन्दा झनै सान्दर्भिक बनेका छन्। निष्कर्षमा भन्नुपर्दा कमरेड माओत्सेतुङ एउटा व्यक्ति मात्र होइनन् । उनी एउटा युग , एउटा विचारक र एउटा संघर्षशील परम्परा हुन्। उनको जीवनीले सिकाउँछ कि क्रान्ति सजिलो हुँदैन , तर सही विचार, सही नेतृत्व र जनतासँगको गहिरो सम्बन्धले इतिहास बदल्न सकिन्छ ।
२६ डिसेम्बर माओजयन्तीका अवसरमा हामी माओलाई केवल सम्झनु होइन , उनका विचारलाई उत्पीडन विरुद्धको संघर्षमा व्यवहारमा उतार्नु नै सच्चा श्रद्धाञ्जली हुनेछ ।
मिति २०८२ पौष ८ गते

