(माओ दिवसका सन्दर्भमा २०८२ पौष ११ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीसको स्वागत मन्तव्य)
२६ डिसेम्बरका दिन माओको जन्मदिवस संसारभरि हर्सोल्लासका साथ मनाइन्छ । यो ठाउँमा आज हामीले पनि माओ दिवस मनाइरहेका छौं । विश्वभरिका सर्वहारा वर्गका लागि २६ डिसेम्बर खुुसी र गौरवको दिन हो । माओले आम शोषित पीडित जनताका लागि जुन योगदान दिनुभयो। युग युगसम्म उहाँको योगदान अजर र अमर रहनेछ।
हामीले हरेक वर्ष २६ डिसेम्बरलाई माओ दिवसका रुपमा मनाउँदै आइरहेका छौं तर यसपटकको माओ दिवस अलि फरक छ। किनभने राजनीतिक परिस्थितिमा फेरबदल भएको छ ,अलि भिन्न प्रकारको राजनीतिक परिस्थिति सिर्जना भएको छ , त्यसकारणले गर्दा अन्य माओ दिवस भन्दा यो फरक छ। गत भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनपछि नेपालको राजनीतिमा परिवर्तन आएको छ। जेन जी आन्दोलनपछि साम्राज्यवाद र विस्तारवादको योजनामा सुशिला कार्की नेतृत्वको नयाँ सरकार गठन भएको छ। फागुन २१ गते आम निर्वाचन गर्ने भनिएको छ । यो स्थितिमा हाम्रो पार्टीले निर्वाचन बहिष्कार गर्ने भनेको छ। पार्टी र व्यक्ति बदलेर होइन व्यवस्था बदल्नु पर्छ भन्ने हाम्रो धारणा हो ।
गत भाद्र २३ र २४ गतेको जेन्जी विद्रोहबाट नेपालको सरकारमा बस्दै आइरहेका पार्टीहरू सरकारभन्दा बाहिर भएका छन् र साम्राज्यवाद तथा विस्तारवादका कठपुतलीहरू सरकारमा आएका छन्। पुराना पार्टीहरु विभिन्न ढंगले एकता गर्ने र चुनावमा जाने तरखर गरेको देखिन्छ । चुनावका लागि नयाँ नयाँ पार्टीहरु खुल्ने र एकता गर्ने प्रक्रिया पनि चलिरहेको छ । नेपालमा चुनाव धेरैपटक भएको छ। २००७ सालको राजनीतिक परिवर्तनपछि २०१५ सालमा पहिलोपटक आम निर्वाचन भयो । २०१७ सालपछि राजाले शासनसत्ता आफ्नो हातमा लिएपछि पनि धेरैपटक चुनावको ढोङ गरियो। २०४६ सालमा नेपाली जनताले पञ्चायती व्यवस्थालाई फाल्ने काम गरे। त्यसपछि पनि धेरै पल्ट चुनाव भयो। ६२ ६३ को जनआन्दोलनपछि नेपालमा गणतन्त्र आयो र त्यसपछि पनि चुनावहरू हुँदै आएका छन्। यी चुनावहरुले जनताको जीवनमा के परिवर्तन ल्याए त भन्दाखेरि खास परिवर्तन केही पनि ल्याउन सकेन । चुनावले केही मुठीभर व्यक्तिलाई फाइदा पुर्याए पनि जनताका समस्याहरु जिउका तिउ रहे। जिउका तीउ मात्रै होइन विकराल बन्दै गए। देशमा खाने लाउनेको समस्या जीवन जिउने समस्याले गर्दा लाखौं लाख युवाहरु विदेश पलायन भए । विद्यार्थीहरु नेपालमा पढ्न छाडेर विदेश तिर गइरहेकाछन् । यसबाट के देखियो त भन्दाखेरि व्यक्ति परिवर्तन गरेर र दल परिवर्तन गरेर जनता र देशको समस्या समाधान हुनेवाला छैन। यो व्यवस्था दलाल तथा नोकरशाही पुँजीपति वर्ग तथा सामन्त वर्गको व्यवस्था हो।
यो व्यवस्थाले आम शोषित पीडित र सर्वहारा वर्गको पक्षमा कुनै काम गर्नेवाला छैन। त्यसकारणले संसदीय व्यवस्थाबाट हैन , आफ्नै व्यवस्था स्थापना गर्ने दिशातिर जनतालाई आकर्षित गर्नका लागि जनताको ध्यान नयाँ व्यवस्थाप्रति आकर्षित गर्नका लागि जनतालाई ध्यान त्यतातर्फ मोड्नका निमित्त हामीले यो चुनाव बहिष्कार गर्ने निर्णय गरेका हौँ। शोषित पीडित वर्गको आफ्नै शासन स्थापना गर्नतिर हामी लाग्नुपर्छ । यदि हामी त्यतातर्फ सोच्दैनौ भने देशको अवस्था झन् विकराल बनेर जानेछ। कामरेडहरू , यो कार्यक्रमबाट फर्किएपछि आम जनताको बीचमा हामीले किन चुनाव बहिष्कार गर्दै छौं भन्ने कुरा लिएर जानुहुने छ ।

