किसनबहादुर वि.क.
राजनीतिक र सामाजिक क्षेत्रमा संघर्षका दुई प्रमुख रूपहरू देखिन्छन्। विचारका लागि हुने अन्तरसंघर्ष र शक्तिका लागि हुने संघर्ष। विचारका लागि हुने संघर्षले सिद्धान्त, मूल्य, र विश्वासको रक्षा वा स्थापनालाई केन्द्रमा राख्छ, भने शक्तिका लागि हुने संघर्ष व्यक्तिगत महत्वाकांक्षा, प्रभाव, र संसाधनको नियन्त्रणमा आधारित हुन्छ। यो प्रत्येक व्यक्तिले आफ्नो जीवनमा सुख, शान्ति र समृद्धिको चाहना राखेको हुन्छ, आकांक्षा राखेको हुन्छ र प्रत्येक व्यक्तिका लागि जीवनमा यस्तो आकांक्षा राख्नु स्वाभाविक पनि हो। तर केवल आकांक्षा राख्दैमा अथवा इच्छा गर्दैमा आफूले चाहेको कुरा प्राप्त हुन्छ भन्ने चाहिं होइन। यसका लागि अथक प्रयास, परिश्रम र पुरुषार्थको पनि उत्ति नै आवश्यकता पर्दछ।
परिवर्तन वा सुधार मानवको प्रकृति हो । त्यसैले, यहाँको समसामयिक राजनीतिमा देखापरेका जटील परिस्थितिलाई चिर्दै अगाडि बढ्न वैचारिक पुष्ट्याइँ खोजिनु जायज ठहर्छ । तर, यहाँ कुनै वादको प्रसङ्ग उठाइएको होइन । जीवन र जगतका सबै पाटामा विचारले फलदायी भूमिका खेलिरहेको हुन्छ । यस सिलसिलामा, मानव जीवनमा विचार कति निर्णायक हुन्छ भन्ने दर्शाउँदै “विचार विज्ञान” भन्ने आफ्नो पुस्तकमा स्वामी खप्तड बाबा लेख्छन्आफ्नो मनमा उत्तम विचारलाई स्थान देऊ किनभने ती विचार शीघ्र नै तिम्रा बाह्य जीवनको उत्तम अवस्थाका रूपमा प्रकट हुनेछन् ।
यस्तै, प्रसिद्ध अमेरिकी उपन्यासकार सु ग्राफ को भनाइ छ, ‘विचारलाई कहिल्यै कम न ठान्नु यो आविष्कार तर्फको सबैभन्दा ठूलो मार्ग हो । वास्तवमा, विचारले नै पार्टी सङ्गठनको आविष्कार भएको हो । विचारले नै पार्टी चलाउँछ । पार्टी राजनीतिको मूल शक्ति भनेकै विचार हो । एउटा निश्चित वैज्ञानिक र गतिशील वैचारिक धरातलमा उभिएर राजनीतिक अभ्यास गर्ने पार्टीको मुख्य पहिचान पनि त्यसले बोकेको वैचारिक पक्ष नै हुने गर्छ । कुनै निश्चित विचारमा टेकेरै पार्टी सङ्गठित हुने गर्छ र समर्थन बटुल्ने गर्छ । यसको मतलब पार्टी अपरिमार्जित र सङ्कीर्ण विचारमा अडिग रहनुपर्छ भन्ने होइन । पार्टी जमेको। पोखरी जस्तो पटक्कै हुनुहुन्न । पार्टीको विचारले जनतालाई निरन्तर सकारात्मक दिशातिर परिचालित गरिरहनु पर्छ, अग्रगति प्रदान गर्नुपर्छ । भौतिकवादी सिद्धान्त मान्ने पार्टीले निश्चय नै गतिशील विचारलाई अँगाल्नु अनिवार्य हुन्छ । पार्टीको नेतृत्व गतिशील र सिर्जनात्मक हुनुपर्छ भन्नुको मतलव यही हो कि प्रकृति र समाजमा आउने परिवर्तनलाई भौतिक समृद्धि मात्रै होइन स्वस्थ र दिगो समाज निर्माणका खातिर नैतिक र मनोवैज्ञानिक गुणस्तर बढाउने सवाललाई पनि बुद्धिमत्तापूर्वक सम्बोधन गर्नु आवश्यक हुन्छ ।
विचारले नीति उत्पादन गर्छ र नीतिले कार्ययोजनाको निर्धारण गर्छ । विचारले पार्टी र जनतालाई पथ प्रदर्शन गर्छ र वैज्ञानिक नीति निर्माणमा अन्तरदृष्टी प्रदान गर्छ । जनतामाझ विचार र नीति स्थापित गराउन सक्नेहरू नै पार्टीका नेताका रूपमा चिनिन्छन् । सामान्यत विचार बिनाको राजनीतिक पार्टीको कल्पना गरिन्न । किनभने मानव स्वयं नै वैचारिक एवं तर्कशील प्राणी हो । विचार शक्ति नै मानवको प्रमुख विशेषता हो, जसले मानवलाई आध्यात्मिक स्तरको निर विचार तिर समेत जान सघाउँछ । भौतिक दुनियाँमा विचार विहीन मानवको कल्पना गर्न सकिन्न । विचार बीज हो, जसबाट फल लाग्छ । राम्रो विचार मनमा फलाउदा राम्रो फल मिल्छ भने नराम्रो विचार मनमा फलाउदा नराम्रो परिणाम मिल्छ । त्यसैले त बुद्धले सम्यक दृष्टि र सम्यक विचारलाई जोड दिएका हुन् । राजनीतिक पार्टीको हकमा पनि यो साँचो हो । सही विचारलाई इमानदारी र अदम्य इच्छा शक्तिका साथ कार्यान्वयन गर्दा सफलता मिल्छ । तर विचार सही बोकेर पनि त्यसलाई कार्यान्वयन गर्ने क्रममा मानसिकता गलत दिशातिर वा क्षणिक स्वार्थ तिर मोडियो भने परिणाम उल्टो आउँछ । यसप्रति पूर्व सजगता आवश्यक पर्छ ।
विचारको सुरुवात व्यक्तिबाट हुन्छ तर त्यो समाजका धरातलीय यथार्थबाट हुर्किएको हुन्छ । व्यक्तिले विचार प्रकट गर्छ, सामाजिकीकरण गर्छ । धेरैको हितमा देखियो भने विचार समाजकै साझा सम्पत्ति बन्छ तर व्यक्तिभन्दा माथि उठ्न नसकेको विचारले सामाजिक मान्यता प्राप्त गर्दैन । राजनीतिक पार्टीको हकमा पनि यो शाश्वत हुन्छ । विचारले पार्टीको वास्तविक परिचय दिन्छ । व्यक्तिभन्दा माथि उठेर बृहत समाजको हित गर्न सक्ने विचारले धेरै जनसमुदायलाई आकर्षित गर्छ । शक्ति र नाफा–केन्द्रित विचारलाई मात्र जनमायौं र मानव हितकारी शाश्वत विचारलाई दबाइयों भने कालान्तरमा समग्र समाजले पीडा भोग्नुपर्ने स्थिति आउँछ ।

