मनु वि.क.
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सहित ६ राजनीतिक दलहरुको आयोजनामा निर्वाचन बहिस्कार कार्यक्रम घोषणा भएको थियो । सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको म्याण्डेट भन्दै २०८२ फागुन २१ गते संसदीय निर्वाचनको घोषणा गरेको थियो । संसदको निर्वाचनको घोषणा भए पछि राजनैतिक दलहरु निर्वाचनमा सहभागी भइरहेको बेलामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको थियो । साथै थप पाँच कम्युनिष्ट पार्टीहरुले पनि निर्वाचन बहिस्कारको निर्णय गरेका थिए । ती पार्टीहरुले केन्द्रीय संघर्ष समिति नै गठन गरेर निर्वाचन बहिस्कार गर्ने निर्णय गरेका छन् ।
निर्वाचन बहिस्कारको पहिलो चरणको कार्यक्रम अन्तर्गत पुस २९ गते उपत्यका बन्द कार्यक्रम आयोजना भएको थियो । उपत्यका बन्द कार्यक्रमको पूर्वसध्यामा पुस २८ गते काठमाण्डौको विभिन्न स्थानमा मसाल जुलुसको आयोजना गर्ने निर्णय भएको रहेछ र पार्टीहरुले विभिन्न स्थानमा एकल वा संयुक्त रुपमा नेतृत्व गर्ने निर्णय भएको रहेछ । काठमाण्डौको बागबजार हाँकको कार्यालयमा काम गर्दा गर्दै हामीलाई असन तिर कार्यक्रममा जानु पर्ने भन्ने जानकारी आयो । पाँच बजेतिर हामी राम बहादुर बुढा र म असन बजारतिर लागियो,असन बजारमा जाँदा त्यहाँ कोही पनि चिनेका साथीहरु हुनुहुन्थेन । रामबहादुरले कहाँ हो भन्दै लोकेसनको जानकारी लिँदै हुनु हुन्थ्यो । त्यतै वरिपरी नै बस्ने सल्लाह अनुसार हामी त्यही यता उता हेर्दै गर्दा मित्रलाल पंज्ञानी आइपुग्नु भयो । हामी र मित्रलाल पंज्ञानी त्यही अलमलिँदै गर्दा पेशल दाहाल आइपुग्नु भयो । वहाँको पछाडि सिआइडी नै लागेको रहेछ । मंगलसिङ तामाङ पनि त्यहाँ हुनुहुन्थियो । हामी त्यहाँ यसो अलमलिँदै थियौं । त्यसैमा गंगा मानान्धर पनि आउनु भयो । वहाँले असनमा केही किन्न खोजिरहनु भएको थियो । हामी त्यहाँबाट नरदेवी जाने बाटातिर लागियो । असनबाट अलिभित्र पुगियो र त्यहाँ एक मन्दिर छ । त्यो मन्दिरको अर्कोमुखतिर बस्न मिल्ने ठाउँ छ, हामी त्यही नै बसियो । त्यहाँ गंगा पौडेल लगायतका साथीहरु आउनु भयो । गंगा पौडेल आउँदा मुस्काउनु भएको थियो । मैले मन मनमा सोचे केही छ, ….पछि त्यहाँ म बसेकै ठाउँमा आए पछि गंगा सरलाई सन्चो विसन्चो सोधेँ । वहाँले ठीकै छ भन्नु भयो ।
यसो कुराकानी गर्दै गर्दा मित्रलाल पंज्ञानी होटेलतिर रेष्टरुम खोज्न पस्नु भयो । अब अध्याँरोले विस्तारै छोप्दै थियो । असन भित्रको बजार दिउँसै पनि अध्यारो जस्तो हुन्छ त्यो माथि पौषको महिना छोटा दिन ,घाम गइसके पछि त झमक्कै रात पर्न लाग्यो । यही बेला मशाल बाल्ने निर्णय भयो । मान्छेहरु निकै हतारमा आहोर दोहोर गरिरहेका थिए । साँगुरो बाटो,सवारी साधनको ओहोरदोहोरको भीड,सवारीहरुको टिँटीँ आवाज,त्यही मन्दिरको छेउमा बाटोमा नै मशाल बाल्ने कुरा भयो । मशाल बालियो । मशाल बाल्दा त एक जना मोटरसाइकल चालकको टाउकामाथि मशाल बल्न थाल्यो । मलाइ निकै डर लाग्यो । वहाँलाई छिटो साइकल चलाउँनुस, मशाल जुलुश छ भने । वहाँले के गरेको यो ? भन्दै रिसाउँदै हुनुहुन्थ्यो । मैले छिटो चलाउनु जुलुश छ भनेपछि थोरै साइड पाएर साइकल हुइँक्याउनु भयो । धन्न उनको टाउकामा मशालको आगो खस्न पाएन । मशाल जुलुश निकै संवेदनशील कुरा। त्यो पनि असनको व्यस्त गल्लीमा बाल्नु निकै अपर्झट र होसियारी पूर्वक बाल्नु पर्ने । मलाइ कहीँ कतै कुनै जनाको बाइकमा आगो खस्ला कि ,कसैको टाउकामा आगो बल्ला कि भन्ने जस्तो डर लागिरहेको थियो । मशाल बाल्दा बाल्दै सवारीहरु कतिपय भागिसके । अनजान सवारीहरु आउँदै थिए । मशाल बालेर “पुस २९को उपत्यका बन्द सफल पारौं! कथित संसदीय निर्वाचन बहिस्कार गरौं ! स्वाधिन संयुक्त सरकार गठन गरौं । संयुक्त संघर्ष समिति जिन्दावाद ! लगायतका नाराहरु लगाउँदै जुलुश शुरु हुन थाल्यो । मलाई मशालको कारण जनधनको क्षति नहोस् भन्ने मनमनमा थियो । मशाल बोकेको हातले कैयौं बाइकहरुलाई इशाराले साइड लगाउन अनुरोध गरेँ । क्षणभर मै व्यस्त सडक खाली जस्तो हुँदै थियो । मशाल जुलुश केही पर पुग्दै थियो । प्रहरी आइपुगिहाल्यो । सकेसम्म म प्रहरीको मशाल आक्रमणबाट भाग्न खोजें,मशाल जोगाउन खोजें, मशाल बोकेका साथीहरु निकै पर पुगिसकेका थिए । म निकै वर जिन्दावाद,मुर्दावाद,निर्वाचन बहिस्कार गरौं, स्वाधिन संयुक्त सरकार गठन गरौं,कठपुतली सुशीला कार्की नेतृत्वको सरकार खारेज गर भन्दै थिएँ । प्रहरीले मेरो हातको मशाल खोस्न बल ग¥यो। मैले खोस्न दिएन ।फेरि कोशिस ग¥यो, मैले समात्दा समात्दै मशाल खोसियो । म खाली हात भएँ । पर हेर्छु त रामबहादुर बुढा, राम नेपाली,दिनेश शर्मा ,मंगलसिङ तामाङ लगायतका साथीहरुलाई गिरफ्तार गरिसकेको रहेछ । केही साथीहरु अझै पर पुगिसकेका रहेछन् ।मलाइ भने गिरफ्तार गरेन । यसो महिला प्रहरी छ कि भनेर हेरेँ रहेनछ । मलाइ समात्न महिला प्रहरी नभएका कारण नसमातिएको रहेछ भन्ने मन मनमा अनुमान लगाउँदै थिएँ ।
गिरफ्तार साथीहरुलाई सोही बाटो हुँदै फर्काउँदै थियो । रामबहादुरलाई जोड जबरजस्तीपूर्वक गरेको देखेर मैले प्रहरीलाई भने “पत्रकार हो गिरफ्तार नगर्नु ।” रामबहादुरले हातको इशाराले भन्नुभयो “नबोल्नु” रामबहादुरले नारा लगाउँदै गर्नु भयो । गिरफतार हुनुभएका साथीहरु सहित हामीले साथ दिँदै आयौं । असनमा नै आइपुगेर म प्रहरीबाट छलिनु पर्ला भनेर यसो के हेरेको थिएँ,महिला प्रहरी आइसकेका र प्रहरी भ्यान आइसकेको रहेछ । गिरफ्तार साथीहरुलाई भ्यानको पछाडि चड्न भने । मलाइ महिला प्रहरीले भ्यानको अगाडि बस्नु भन्दै हप्काए । म भाग्ने बाटो नै पाइन ,भ्यानमा बसें । भ्यान भित्र त पेशल दाहाललाई कोचिसकेको रहेछ । पेशलले भन्दै हुनुहुन्थ्यो म मशाल जुलुशमा सहभागी हुनै नपाइ गिरफ्तार गर्नु भयो ? यो के गरेको भनेर प्रहरीलाई सोध्दै हुनुहुन्थ्यो । भ्यान प्रहरी परिसर भद्रकालीतिर हुइँकियो । प्रहरी परिसर म कहिल्यै प्रवेश नगरेको ठाउँ । कैयौं आन्दोलनहरुमा सहभागी भए पनि प्रहरी गिरफ्तारीमा परेको पहिलो चोटी थियो । के होलार ? के गर्लार ? भनेर मनमनमा सोच्दै थिएँ ।
प्रहरी परिसरमा लगेपछि निकै सोधखोज भयो । सबै रेकर्ड राखियो । कोहो? कहाँबाट आएको ? बा कोहो ? आमा कोहो ?हजुरबा को हो ? के गर्ने हो ? कहाँ बस्ने हो ? पार्टीको कुन पदमा हो ? तमाम प्रश्नहरु सोधियो गिरफ्तारहरु सबैको रेकर्ड उतारियो । एक चोटी हैन, धेरै चोटी, एक जनाले होइन धेरै जनाले । हामीलाई कसैसँग पनि सम्पर्क गर्न दिइएन । मलाइ नानीले के गर्ली भनेर चिन्ता लागिरहेको थियो । कम्तीमा पनि हामीलाई प्रहरीले गिरफ्तार गरेको जानकारी गराउन पाए त हुने थियो भन्ने मनमा भइरहेको थियो । हाम्रो झोला, मोबाइल, सबै खोसियो । मौसम पनि पानी पर्ला पर्ला जस्तो भएको थियो । एक जना महिला प्रहरीले मेरो घाँटीमा बाँधेको सल छुटाउन भनिन् । मैले जाडो हुन्छ त, के बाँध्ने? भन्दै सोधे । उनले भित्र सिरक पाइन्छ । मज्जाले गर्मी हुन्छ भन्दै सुनाइन् । मलाइ उनको कुरामा विश्वास त हुने कुरा भएन । कैयांै नेताहरुलाई हिरासतमा राख्दा भोग्नु परेका दुःख कष्टहरुको बारेमा सुनेको र पढेको कारण उनको कुरामा विश्वास लाग्ने कुरा भएन । उनले यहाँ यसरी सल बाँध्न पाइँदैन भन्दैथिइन् । सल टाउकामा बाँध्न नपाए चिसोले मार्ने भयो भन्दै चिन्ता लागिरहेको थियो । कपालमा बाँध्ने काँटा पनि खोल्नु पर्छ भन्दै उनले सुनाइन् । मलाइ यसो गर्नु निकै गाह्रो भइरहेको थियो । त्यो दिन बिहान नुहाएको थिएँ । कपाल सुकाउन कपाल खुलै काँटाले च्यापेर काममा आएको थिएँ । कपालमा तेल लगाएर मिलाएर कोर्न पनि पाएको थिएन । खुला कपाल थियो ।अब च्यापेको काँटा पनि खोलेपछि कपाल गुजुल्टो पार्नु पर्ने भयो भनेर त्यही गरेँ ।
नेताहरुको ज्याकेटमा भएका डोरी फुकाल्न लगाइयो । नेताहरुले हामीले केही गर्दैनौं ,हामीले यो लगाएर केही हुँदैन भनेर भन्नु भएको थियो तर उनीहरुले मान्ने कुरा भएन । दिनेश शर्मालाई ज्याकेटको टोपीमा लगाइएको डोरी फुकाल्न भने पछि वहाँलाई असैह्य भएछ ,वहाँले यो यो ज्याकेट नै राख्नु भनेर ज्याकेट नै खोलेर बुझाइदिनु भयो । हामीले भन्यौं चिसो छ । गाह्रो होला तर वहाँले मान्ने कुरा भएन । वहाँले भित्रबाट लगाएको स्वएटरको भरमा जाडो सहने हिम्मत गर्नु भयो । प्रहरीले हिरासतभित्र लैजाने बेला जुत्ताको तुना समेत फुकाल्न भन्यो । जुत्ताको तुना फुकाल्न भने पछि मलाइ साह्रै सहनै नसक्ने भयो । मैले भनें यदि त्यसो हो भने जुत्ता यही राख्नुस्, यहाँ अर्को चप्पल भए पनि व्यवस्था गर्नुस् । उनीहरुलाई यो कुराले साह्रै रिस उठेछ होला मलाई हिरासत भित्र लैजान भन्दै प्रहीलाई अह्राए । मलाई हिरासत भित्र लैजान फलामे बार खोलियो । नुघेर भित्र छिर्न पर्ने खालको एउटा फलामे बार बनाइएको रहेछ । महिला प्रहरीले भनिन् –नुघेर छिर्नुहोला । उनको कुरा सुनेर मलाइ लाग्यो ए ,यो त राम्रो कुरा हो । मनमनमा सोचेँ ए फलामको बारभित्र पनि राम्रो कुरा आउने रहेछ कि क्याहो ? फलामे बार बाट म नुघेर छिरेँ । छिर्दा त दाहिने साइडको कोठा भित्र हिरासतमा राखिएका युवाहरु कोठाभरी थिए । म मनमा सोचें युवाहरुको विजोग छ । हेर्ने, सोच्ने कुरा गर्न पाइँदैन,केही पाइला अगाडि बढाउँदा जुत्ता राख्ने ¥याक रहेछ ,प्रहरीले भनिन् –जुत्ता यहाँ राख्नुस्,जुत्ता राख्ने ठाउँ नजिकै पानीको जार रहेछ । हिरासतमा रहेका महिला र पुरुष दुवैले प्रयोग गर्न मिल्ने गरी पानीको जार राखिएको रहेछ । जुत्ता खोलेर राख्दा जारबाट खाने पानी भर्दा पानी खसेको रहेछ भने मोजा जति पुरै भिज्ने अवस्था आउन सक्ने खालको । मैले जुत्ता खोल्दा निकै सावधानी अपनाएँ मेरो मोजा निभिजोस भनेर म जुत्ता खोलेर ¥याकमा राखेर अगाडि बढ्नु पथ्र्यो । म फेरी प्रहरीले जे भन्छिन् त्यही मान्दै दुइचार पाइला अगाडि बढ्दा देव्रेतिर पारी पट्टि भित्तामा कपडाहरु सुकाएको डोरी देखें र कम्पाउण्ड पनि रहेछ । केही पाइला सार्दा अर्को फलामे बार खोलियो । फलामे बारकोमाथि लेखिएको थियो हिरासत नं ००४ । त्यो खोलेपछि पहिला जस्तै नुघेर छिर्नु पर्ने फलामे बारको ढोका बनाइएको थियो । मलाई भित्र जान भनियो म नुघेर भित्र छिरेँ । प्रहरीले त्यहाँको कमाण्डरलाई भनिन् –कमाण्डर यता हेर ,वहाँलाई के गर्नु पर्छ भन्नु भन्दै अह्राइयो र बारमा चावी झुण्ड्याइयो ।
हिरासतमा कमाण्डर भन्ने हुन्छ भन्ने कुरा मैले पहिलोचोटी थाहा पाएँ । महिलाहरुको हिरासत निकै नै अँध्यारो खालको थियो ।यसो ढोकाबाट छिर्दा छिर्दै दाँयातिर ट्वाइलेट रहेछ । ट्वाइलेट निकै गन्हाउने खालको रहेछ । छिर्दा छिर्दै ट्वाइलेटको गन्ध नाकमा पसिहाल्यो । सबैले अँध्यारोबाट आँखा तानेर म तिर ध्यान दिएको जस्तो लाग्यो । यसो म पस्ने बित्तिकै सबैले उत्सुकता साथ सोध्न खोजेको थाहा पाएँ । पस्दा नपस्दै तपाइँ के गरेर आउनु भयो ? भन्दै महिलाहरुले मलाई निकै जिज्ञासापूर्वक सोध्नु भयो । मैले जुलुश गर्दा पक्रेर ल्याएको हो भन्दै सुनाएँ । त्यहाँ एक जना पत्रकार पनि हुनुहुँदो रहेछ । वहाँले भन्नुभयो –तपाइँ त समाजसेवी जस्तो लाग्यो नि ! तपाइँलाई त देखे देखे जस्तो लाग्यो नि। वहाँको जिज्ञाशालाई मैले भने देख्नु भयो होला,म लेखहरु लेख्छु ,हाँक साप्ताहिकमा काम गर्छु । त्यसकारण लेख मार्फत देख्नु भयो कि भनेँ । वहाँले भन्नुभयो म पनि पत्रकार हो । म अनन्धानमूलक पत्रकारिता गर्छु । हिरासतमा बसेकाहरुलाई संसार अन्धकार हुने रहेछ । समाचार केही सुन्न बुझ्न नपाएपछि के भइरहेको छ भन्ने नै थाहा नहुने भयो । बाहिरबाट गएकाहरु अर्थात नयाँ हिरासतमा आएकाहरुलाई सबैले के छ ? बाहिर कस्तो छ ? के हुँददैछ ? भन्दै सोधेर केही थाहा पाउने रहेछन् ।
हिरासतको कोठा भित्र लैजाने बेलासम्म साढेसात जति भैसकेको थियो । हिरासतमा रहेकाहरु सबै जना आ–आफ्नो स्थानमा थिए सबैले सिरक वा कम्मल यस्तै ओढेका थिए । मैले प्रहरीसँग सलहरु हटाउन भन्दाको बेलामा नै भनेको थिएँ । ओढ्ने के हो ? व्यवस्था गर्नु । हिरासतमा रहेकाहरु, हिरासतको नियमको बारेमा पहिलेदेखि नै जानकारी पाएर बसेकाहरु र कुनै सामान आफ्नो हो भनेर सोचिरहेको अवस्थामा मैले उनीहरुलाई दुःख दिएर, उनीहरुसँग मागेर ओढ्न थाले भने उनीहरु नराम्रो मान्लान् भन्ने सोचेको थिएँ ,त्यसकारण मलाइ के हो व्यवस्था गर्नु भन्दै प्रहरीलाई भनें । प्रहरीले भनेकी थिइन् भित्र नै छ । तर भित्र गएर यसो कुरा गरेर सकेपछि मलाई कसलाई भनौं ,कसलाई भनौं भन्दै अफ्ठ्यारो लागिरह्यो । तर पनि भन्नु त पर्ने नै थियो मैले त्यहाँ भने– म सुत्ने कता हो ? म हजुरहरु मध्येमा कोसँग सुत्न सक्छु ? हिरासतमा रहेको मध्ये एक जना बहिनीले भन्नु भयो मसँग सुत्नु होला । मत त्यहाँ खाली हात छु ,मसँग भएको एउटा कान छोप्ने रुमाल पनि बाहिर राखिएको छ । जाडोले कमाउने छ । म जाडोमा सुत्दा जहिल्यै बाक्लो टोपी लगाएर र रुमाल राम्रोसँग घाँटीमा बेरेर सुत्नु पर्ने खालको बानी परेको मान्छे । अब निन्द्रा लाग्दैन ,निन्द्रा नलागेपछि स्वास्थ्यमा समस्या देखिने भयो भनेर निकै चिन्ता परिरह्यो । त्यहाँ ८ बजे साँझको खाना आयो । हिरासतमा सबैलाई खाना खान भनियो । खाना खानेहरुले खाने ,नखानेहरुले आफैले क्यान्टिनबाट पैसा तिरेर मगाएर खाने गर्नु पर्ने रहेछ । कसैले पनि बाहिरबाट अथवा घरबाट खाना मगाउन नपाइने रहेछ ,सबैले खाना खाए । मलाई खाना खान मन लागेन । सबैले आ आफ्ना थालहरु माझे । खाएको ठाउँमा सफाइ गरे ।
त्यसपछि म ट्वाइलेट गएँ । त्यहाँ ट्वाइलेटमा त महिलाहरुको भित्री लुगाहरु निचरेर सुकाएको देखें । किन यसरी ट्वाइटमा भित्री लुगाहरु सुकाउन बाध्य पारिएको होला? मैले मनमनमा कल्पना गरेँ । महिलाको भित्री लुगाहरु निकै घाम लाग्ने स्थानमा सुकाउनु पर्छ , त्यो लुगाहरु घाम लाग्ने स्थानमा सुकाएमा घामले निर्मलीकरण गर्न मद्दत गर्छ तर त्यहाँ त्यति धेरै जना महिलाहरुले लगाएको भित्री लुगाहरु त्यसै ट्वाइलेटको खापाहरुमा सुकाइएको थियो । यहाँ महिला प्रति समाजमा देखिने र गरिने व्यवहारको प्रतिबिम्बि देखिन्छ । समाजमा आज पनि महिलाका भित्री वस्त्र पुरै लुकाएर सुकाउने चलन छ । त्यो त्यहाँ पनि देखियो । पुसको महिना अँध्यारो कोठा ,अँध्यारो ट्वाइलेट कहाँबाट हावा आउने र सुक्ने ?घाम त कहिल्यै पर्ने नै होइन । पुरुष प्रधान समाजले बनाएका नियमहरुले महिलाहरुलाई थिच्दै आएको छ । त्यहाँ पनि पुरुषहरुले देख्ने गरी भित्री लुगा सुकाउन हुँदैन भनेर होला सायद त्यसरी ट्वाइटको खापाहरुमा भित्री लुगा सुकाउन बाध्य पारिएको, नत्र त बाहिर झुण्डाएको डोरीमा तिनी बस्त्रहरु सुकाउन दिए त अलि सुक्ने थिए। मनमा यही कल्पना गरेँ। अलि बेर पछि महिला प्रहरी आएर आदेश दिइन् ट्वाइलेटमा सुकाएका भित्री लुगाहरु तुरुन्तै हटाउनु है । यहाँ ट्वाइलेटमा सर आउनु हुन्छ । महिलाहरुलाई कति अफ्ठ्यारो हो ? आफ्ना लुगा सुकाउन बाहिर छैन ।त्यति दुःखका साथ ट्वाइटको खापाहरुमा सुकाउनु परेको छ ,त्यो पनि सर आउनु हुन्छ भन्दै हटाउन भनेर आदेश छ ।अब उनीहरुले तिनी भिजेका चिसा भित्री लुगाहरु कता पोको पारेर राख्नु पर्ने हो ? भन्दै मनमा सोचें । महिलाको शरिर विशिष्ट प्रकारको हुन्छ । उनीहरुलाई छिट्टै संक्रमण फैलन सक्छ । त्यसकारण उनीहरुका भित्री वस्त्रहरु घाम लाग्ने ठाउँमा सुकाउनु पर्छ भन्ने विज्ञानले प्रमाणित गरि सकेको छ तर पनि शासकहरुको दिमाग र व्यवहार परिवर्तन नभएको हिरासतमा देखिन्छ । सायद महिलाले यो समस्या बुझेर लागू गर्ने थिए कि ? मनमा कुरा बाहेक त के हुनु र ? महिलाहरुलाई न घाम न न उज्यालो ठाम ।
खाना खाएपछि त्यहाँको खानाको बारेमा उनीहरुले कुरा सुनाए । “यहाँ खाजा अति महंगो छ, खाना पौष महिनामा पुरै मूलाको झोल हो, नुन पनि लागेको हुँदैन । बिहानै साँझै त्यही मात्रै हो । यहाँ नास्ता किनेर खानु पर्छ ,घरबाट पैसा ल्याउन सक्नेहरुले त किनेर खाने नसक्नेले त्यसै हो । यहाँ थुनेको छ ,कमाइ केही पनि छैन,अब किनेर खानु कहाँबाट खाने ? कसले पैसा दिन्छर किन्न सकिने, विदेशीहरु हिरासतमा छन् उनीहरुको खबर गर्ने पनि कोही छैन । पैसा कतिले पुग्छर ? यहाँ धेरै गाह्रो छ ।”मलाई मन मनमा लाग्यो हिरासत भनेको त व्यापारको केन्द्र पो रहेछ । मान्छेहरुलाई हिरासतमा नलैजाने हो भने त उनीहरुको व्यापार कसरी चल्छ? सबैले यो कुरा कसरी नबुझेका होलान् र? भन्दै मनले प्रश्न गरिरह्यो ।
हिरासतमा रहेका महिलाहरुको यी कुराहरु सुनेर मलाई निकै दुःख लाग्यो । मैले सोधेँ के हिरासतमा नास्ता राज्यले खान दिँदैन ? यो त निकै अव्यवस्था भयो । हिरासतमा राखेकोलाई उसको स्वास्थ्य उपचार, उसको खानपान,उसले घरपरिवारसँग भेट्न पाउने वा खबर गर्न पाउने अधिकार हुन्छ भन्ने कुरा गरेँ । यसो भनिरहेको बेलामा कमाण्डर भन्ने आएर भोलिको नास्ता कसकसले के खाने टिपाउनु भन्दै लेख्न थालिन् । खान चाहनेले नाम टिपाए तर मैले टिपाइन । मैले पैसा बोकेको थिइन । मैले भनें –म सँग त पैसा छैन । पैसा केही त थियो होला तर झोला बाहिर राखिएको थियो । मेरो कुरा सुनेर अर्कीले मेरोलागि पनि भन्दै थप खाजाको नाम मैले पर्दैन भन्दा भन्दै पनि टिपाइन् । त्यहाँ कमाण्डर भन्नेले भोलि एक जना रिहा हुँदैछ ,उसको धरौटी राख्ने छैन भन्दै पैसा मागिन् मसँग त थिएन । सबैले सकेको चन्दा दिए । मैले दिन पाइन । मलाई यो चन्दा संकलन राम्रै लाग्यो । हिरासतमा पनि मानवीय सहयोग बचेको देख्दा मलाई अति नै खुशी लाग्यो । पैसा दिन नपाएकोमा दुःख लाग्यो । मनमनमा एकले अर्कोको यस्तै सहयोगले नै मानव समाज चलेको कुरा हाम्रो समाज चलेको कुरा सोचिरहेँ ।
मैले पटक पटक मेरो बच्चालाई फोन गर्छु भनेर अनुरोध गर्दा पनि सुनेको नसुन्यै गरिँदै थियो । मैले फेरी अनुरोध गरेँ ।यो पाली भने फोन गर्न दिइयो । आदेश थियो “धेरै नबोल्नु ।”मेरो छोरीले प्रयोग गर्ने नम्बर सबै टिपियो । नाम टिपियो । फोन गर्न दिए । मैले भने “नानी घर आयौ ? भात खानु, बाबा, म, गंगापौडेल लगायत धेरैलाई पक्राउ गरेर ल्याएको छ । राम्रोसँग बस्नु ” उसले कता जानु भएको र ? किन जानु भएको र? भन्दैथिई । यति भन्दा नभन्दै ‘भयो’ ‘भयो’ अब धेरै नबोल्नु भनेर प्रहरीले भनिन् । मैले फोन राखेँ । भन्न त सबैको नाम भन्ने मन थियो तर भन्न पाइन । गिरफ्तार परेको खबर मात्रै भनेँ ।
हामी आन्दोलनमा गिरफ्तार गरेकाहरुलाई हाम्रो स्वास्थ्य परिक्षण गर्न भनेर रातको समयमा प्रहरी गाडीमा कोचेर कान्तिपुर अस्पताल तिनकुने लगियो । हामीलाई हतकडी लगाएर लगियो । राजनैतिक गतिविधि गर्दा पक्राउ परेकाहरु जसको कुनै कसुर छैन र पनि हतकडी लगाएर चेक गर्ने भन्दै लगियो । मलाई निकै चिसो भइरहेको थियो । त्यस्तै अरुलाई पनि भइरहेको थियो नै । गाडीमा कोचेर लगेर चेक गर्ने भनेको त केही पनि रहेनछ ,डाक्टरले केही औषधी खानुहुन्छ ? के रोग छ ? केही चोटपटक छ ? भन्नेबाहेक केही पनि सोधेनन् । फेरी कोचेर अस्पतालबाट हिरासतमा ल्याइयो । हिरासतमा आएपछि फलामका डण्डीहरुको बार खोलियो र भित्र पसाइयो । म भित्र गएँ र आराम गर्न थालेँ । मलाई केही समय पहिले जसले म सँग सुत्नु होला भन्नु भएको थियो वहाँको नै छेउमा गएर पल्टिएँ,ओढ्ने कपडा पल्लो ओछ्यानबाट ल्याएँ तर निकै पातलो । त्यसले के छेक्ला भनेर उहाँले नै मलाई आफुले ओढ्न लागेको पातलो कपडा खापेर ओढ्ने तयार पारिदिनुभयो । यसो गरेपछि मलाई अलि सजिलो भयो । नत्र मैले उहाँले ओढेको कपडा कसरी मिलाउनु ? गाह्रो हुने थियो । अब भने बाहिर धेरै अँध्यारो थियो । अँध्यारो कोठाबाट हेर्दा बाहिर भित्तामा झुण्ड्याएको घडिको सुइ विस्तारै चलेको बिजुलीको उज्यालोमा देखिँदै थियो । त्यो अँध्यारो कोठाको सूचनाको स्रोत भनेको त्यही घडी नै रहेछ । निदाएर उठेपछि बिहान,दिउँसो,साँझ हुन्छ भन्ने मनमा सम्झने र समय छुट्याउने । यो बाहेक अर्को विकल्प छैन । रात अबेर भयो अँध्यारो कोठाबाट घडीको भित्तातिर हेर्दै एक जनाले भनिन् “अब यो घडीको सुइ हिँड्दैन ।” उनको कुरा ठीक थियो । रात कटाउन गाह्रो छ । दिनमा त बरु यसो उसो गरेर कटाइन्छ भन्ने कुरा उनको हो । महिलालाई राखिएको कोठामा घाम त के प्रकाश सम्म पनि जाने रहेनछ । अँध्यारो भित्रबाट बाहिर देखिने तर बाहिरबाट भित्र नदेखिने । जाडोको बेला घाम देख्नु छैन । चिसो कोठा धन्न तलभुइँमा प्लाइराखेको रहेछ । महिनौं दिनसम्म त्यहाँ बस्नु परे त मान्छेलाई मारिहाल्छ । रोग नलागेकालाई पनि रोग लगाइ हाल्छ । अलिकता घाम छिर्ने किन नबनाएको होला बनाउँदा ? हिरासत र जेलमा किन व्यवास्ता सरकारको ? संसारमा हिरासत र जेलहरुको सुधारको लागि अभियानहरु चलिरहेका हुन्छन् । नेपालमा पनि जेल सुधार आन्दोलनहरु चलेका इतिहास छन् । तर शासकहरुको सुधार गर्नु पर्छ भन्ने दिमागको विकास किन हुन नसकेको होला ? यस्तै मनमा सोच्न पुगेँ ।
साँझ सुत्ने बेलामा सँगै सुतेका दिदी बहिनी मध्येमा एक जनाले भन्नु भयो–“मेरो त चेक वाउन्सको केस हो । मेरो धेरै त थिएन,हाताहाती विश्वासको भरमा पैसा त दिएकी थिएँ ,थोरैमात्रै बाँकी थियो । चेक म्याद राखेर दिएको थिएँ तर उसले मलाई फसाउनलाई यस्तो केस गरेछ । अब म कति दिन बस्नु पर्ने हो ? निकै पीर परेको छ ।”अनि मैले भनेँ त्यति पैसा त कहीँ न कहीँ बाट मिलाउन सक्नु हुन्छ होलानि ! घरमा कोको हुनुहुन्छ ? मिलाउन सकिहाल्नु हुन्छ नि । उनले भनिन्– अब तपाइँले पैसा मिलाउन सक्नु हुन्छ ? हुन्छ भने मिलाउनु न म छिट्टै दिन्छु ,उनको यो कुराले मलाई निकै अफ्ठ्यारो लाग्यो । मान्छेलाई सहारा चाहिएको बेला हो यो । त्यही भएर मलाई नचिनेको न कहिल्यै भेट नभएको मानिसले पनि यसरी कुरा गर्नु भनेको सहाराको र विकल्पको खोजी होला भन्ने मनमनमा लाग्यो र भने –त्यति त हजुरहरुको परिवारले नै मिलाउन सकिहाल्नु हुन्छ ।
उहाँ निदाउनु थाल्नु भयो । मलाई पटक्कै निद परेको छैन । अर्को तिर फर्किएर सुत्न खोजें । अर्कोतिरको बहिनीको हिरासतमा परेको ५ दिन भइसकेको रहेछ । उहाँ पनि उही चेक वाउन्सको नै केस रहेछ । चेक वाउन्स पनि झण्डै करोड बराबरको । उहाँ थाइराइडको विरामी पनि हुनुहुँदो रहेछ । उहाँले कसरी त्यत्रो धेरै चेक वाउन्स हुन पुग्यो भनेर सोध्दा जग्गा प्लटिङको कारण भनेर निकै सुनाउनु भयो । वहाँको कुरा सुनेर मत झसङ्गै भएँ । साथी साथी मिलेर जग्गा प्लटिङ गरेको, जग्गा प्लटिङ गरेपनि आफ्नो नाममा छैन, प्लटिङको लागि खरिद गर्दाको कागज गरेको मात्रै छ । साथीले प्लटिङ छोड्यो । अब उसलाई पैसा दिनु पर्ने, पैसा दिन पछि दिउँला भन्दा भन्दै मानेन,जग्गाको कारोबार छैन । जग्गा बिक्दा पनि बिक्दैन अब कसरी तिर्ने ,अर्को जग्गा बेचेर उसलाई पूर्ति गरौंला भनेको अर्को जग्गा पनि बिक्री हुँदैन । यसो हुँदा मिलाउँला भन्दा भन्दै खाली चेक दिन पुगेँ । यसले केश हालेछ । घरमा सानो बच्चा छ, सासु बुढी हुनुहुन्छ, यहाँ आउन त आउनु भएको छ । पैसा दिन सक्ने होइन । यहाँ खानलाई पनि पैसा चाहिन्छ,अब कसरी के गर्ने के ? थाइराइडको बिरामी छु ,मुटु ढुकढुक हुन्छ के गर्ने , यहाँबाट निस्कन पाए मत जे गरेर भए पनि खाने थिएँ ।
उनको कुरा सुनेर म निकै पीरमा परेँ । जग्गा प्लटिङले कतिलाई रातारात सम्पन्न बनाए पनि कति जनालाई यस्तै बनाएको होला ? भन्दै मनमा कुरा खेलिरह्यो । उनैबाट थाहा भयो त्यहाँ हिरासतमा रहेकाहरु कोही मानव बेचविखनमा,कोही लागूऔषधमा, कोही चेक वाउन्समा,कोही किर्तेमा,कोही नेपाली नागरिकताबनाएर विदेश पुगेका र त्यहाँबाट नेपाल फिर्ता पठाइएका रहेछन् । अबेरसम्म जाडो र कुराले निदाउन सकिन । समाजमा बढेको अपराध नियन्त्रण गर्ने कसरी हो ? युवाहरु जो केही गर्ने क्षमता राखेका छन् ,उनीहरु थुनिएको देखेर मुटु पोलिरह्यो । राज्य जो अपराधीलाई जन्माउँछ । कोही बच्चा जन्मिँदैमा अपराधी हुँदैन । जब उ बढ्दै जान्छ,समाज र राज्यले नै अपराधी बनाउँछ । मान्छेले अरुलाई ठग्छ, लुट्छ वा जे गर्छ त्यसको दोष राज्य नै हो भन्ने मनमनमा सोचिरहेँ ।
समाजको नै प्रतिबिम्ब नै त्यहाँ देखिने हो । समाजमा अहिले लागू औषधको कारोबार बढेको छ । लागूऔषधको बिक्री वितरण गर्ने, प्रयोग गर्ने वा भरिया बन्नेहरु केटी वा महिलाहरु पनि बढ्दैछ् भन्ने कुरा त्यहाँ देखिन्थ्यो । देश अझै लागू औषधको अन्तर्राष्ट्रिय केन्द्रको रुपमा प्रयोग भएको जस्तो छ । किनकि त्यहाँ लागूऔषधको केशमा हिरासतमा रहेकाहरु विदेशी महिलाहरु पनि देखिए । विदेशी महिलाहरु त्यो पनि भर्खरका केटीहरुलाई लागूऔषधको केशमा पक्रिएको रहेछ । मानव बेचविखन र देहव्यापारमा लगाएको केसमा पनि उत्तिकै गिरफ्तार देखिए । कति त पटके रुपमा मानव बेचविखनमा परेका महिलाहरु पनि थिए । अझै यसो कुरा सुन्दा त एक जना महिला गर्भवति पनि छु भनेर भन्थिइन् रे । यदि गर्भवति भएको भए त त्यो चिसोमा घाम देख्नै छैन ।मेरो आङ नै जिरिङ्ग भएर आयो । मैले मन मनमा सोचें उनलाई पनि गिरफ्तारी पछि अस्पताल लगियो होला ।डाक्टरलाई उनको कुरा सुनाइन् कि नाइ होला ? डाक्टरले उनी गर्भवति छन् ,उनलाई विशेष ख्याल गर्नु पर्ने कुरा सुझाएकी नाइ होला? गर्भवतिको बेलामा पाउनु पर्ने स्याहार सुसारबाट उनी त बञ्चित हुने भइन् । मनमा यस्तै चिन्ता खेलिरह्यो ।
म राती अबेरमात्रै कति बेला निदाएँछु थाहा नै भएन । बिहान बिउँझिएर पारी भित्तामा हेर्दा सात बज्न लागेको थियो । कति जना सुतिरहेका थिए त कति बिउँझिए पनि ओढ्ने भित्र नै थिए । म बिहानको नित्य काम सकेर बसेँ ।चिसो अति थियो । मेरो जीउ चिसोेले गर्दा अरठ्ठ परेको थियो । मुख धोएँ ,बिहानमा खाने पानी भर्न पनि भित्रबाट कुरेर हेरेर बसेर पालैपालो भर्नु पर्ने रहेछ ।मेरो बिहानमा पानी खाने बानी भएकाले पानीको लागि यसो हेरेँ लाइन कहिल्यै नसकिने । बिरामीहरु औषधी खानलाई पानी खोज्दै थिए । म धेरै बेर कुरेर बसेर अलिकता पानी खान पाएँ । पानी खान जाँदा एकपट्टि कुनाको ¥याकमा किताबहरु देखें । अब दिन कटाउन गाह्रो होला भनेर मैले केही किताब हेर्न थालेको त के गरेको भन्दै प्रहरीले हप्काउन थालीहाली । मैले किताब रहेछ पढ्न खोजेको भन्दै दुइवटा किताब लिएर नुगेर बार भित्र पसेँ। एउटा किताब थियो ‘सति’ । यो किताब पढ्न थालेँ,त्यो बेला हिँजो टिपाएको खाजा क्यान्टिनबाट आयो । मलाई पनि खाजा मागिदिने साथीले खानु भन्दै दिनुभयो ।मलाई निकै अफ्ठ्यारो लाग्यो ।मैले वहाँले मगाइदिएको केही खाजा खाएँ । खाजा खाने बेलामा हाम्रा गिरफतार पर्नु भएका साथीहरुले पनि मेरोलागि खाजा मगाउनु भएको रहेछ । हजुरलाई खाजा भन्दै मेरो नाम लिएर बोलायो । म त्यो खाजा लिन पुगेँ ,बाहिरबाट भित्र खाजा लिएर आउँदा त कमाण्डर भन्ने रिसाएको जस्ता पाएँ । मलाई कमाण्डरमार्फत नमगाएर उताबाट मगाएको भनेर रिसाएको भन्ने बुझ्न मलाई गाह्रो हुने कुरा थिएन । म ती साथीसँग बाँडेर खाजा खाएँ । म त्यही सती भन्ने किताब पढ्न थालेँ ।त्यो किताबमा संसारभरमा महिलाहरुले सति जानु पर्ने नियम रहेको कुरा बताइएको थियो ।
१० बज्दा तिरहोला बिहानको खाना आयो । सबैले खाना खाए । मैले खाना खाइन । मलाई सबैले खाना नखाएको भन्दै हेरिरहेका थिए । मलाई बिहानको खाजाले गर्दा भोक लागेको थिएन ।मनमा केही घण्टा पछि छोड्ला नखाए पनि केही हुँदैन भनेर खाना खान मानिन । हिरासतमा नयाँ जानेहरुलाई सफा गर्न लगाउने चलन रहेछ । सफा नगर्नेले २५० रु पैसा तिर्नु पर्ने रहेछ । म र एकजना अर्को बहिनी नयाँ रहेछौं । हामीलाई बिहान सुनाइयो । मसँग साथमा पैसा नभएका कारण के गर्ने भन्ने मनमा परिरहेको थियो ।
अर्को नयाँ बोलेर बस्नु भएको थियो । मैले सफा गर्दिन्न मैले खाना पनि खाएको छैन भनें । अर्कोसाथीलाई अफ्ठ्यारो पल्र्ला भन्ने मनमा सोचेर फेरी भने –हुन्छ गरौंला । अलिकता सफा गर्न थालेको बेला हामीलाई वयानकालागि लैजाने कुरा भएछ त्यसकारण बोलाइयो । म वयानकालागि अनुसञ्धान कार्यालय त्यही परिसर भित्रै रहेछ त्यहाँ जानु पर्ने भयो । हामीसँगै अरु स्थानबाट गिरफ्तार पर्नु भएका अरु पार्टीका साथीहरु पनि वयानकालागि लैजाँदै रहेछन् । वयानकालागि लैजाँदा उहाँहरुलाई भेटियो । वहाँहरुलाई भेटेपछि कतिपय त चिन्तामा भएको जस्तो देखिन्थ्यो । सोध्ने उनै कुरा कहाँ के गर्ने ? बाआमा को? फोटो खिच्ने रेकर्ड राख्ने सबै गरियो । के काम गर्नु हुन्छ? मैले भने पत्रिकामा काम गर्छु , हाँक टुडेको सम्पादक छु कति पढ्नु भएको छ ? मलाइ वुर्जुवा शिक्षा भन्दा मान्छेले जीवन जिउन संघर्ष गर्दा पाएको शिक्षा महान लाग्छ त्यही पनि आफुले पढेको कुरा सुनाए । सुनाउँदा मैले जो केही नपढेर पनि जीवनमा महान कामहरु गर्नुभएका महान मान्छेहरु छन् उनीहरु पनि बाँचिरहेको कुरा सम्झिएँ ।
अँध्यारो कोठामा त महिलाहरुलाई राखिएको रहेछ पुरुषहरु बस्ने कोठाहरु त कम्तीमा पनि उज्यालो रहेछ । ओहो यो महिलाहरुलाई किन अँध्यारो कोठामा राखिएको होला ? मन मनले सोच्यो । त्यहाँ जाँदै गर्दा मैले हामीलाई बयानकालागि लैजाने सुरक्षा कर्मीलाई सोधेँ यहाँ त कोठाहरु खाली नै रहेछ त ? उनले भने हो ,यसको क्षमता १ हजार जनाको छ । मलाई केही भए पनि जानकारी भयो ।हामी फेरी कोठामा ल्याइयो । कोठामा आउँदा कोठा सफा गर्न नयाँ महिलाले २५० तिरीसक्नु भएको जानकारी दिनु भयो । कोठामा आए पनि त्यहाँ पढ्ने केही गर्न पाइने होइन । कोठामा चिच्याउने हल्ला मात्रै । १० बजेपछि हिरासतमा राखिएकाहरुलाई म्याद थप्न हिँडाउन पर्ने, यो मान्छे आइज भन्दै चिच्याउने । हल्लाखोर मात्रै, हल्लाको गुञ्जायमानले टाउको नै दुख्ने भयो । महिलाहरुले बाहिर बसेर केही मनोरञ्जकालागि टिभी हेर्ने काम पनि गरेका थिए । टिभीमा कुनै राम्रो च्यानल आउने होइन । त्यसै फिल्महरु त्यस्तै देखाइँदो रहेछ ।
हिरासतमा आँसु छ । कतिपय विदेशी महिलाहरु रोइरहेका थिए । उनीहरु नेपालको कानुन हामीलाई थाहा छैन । अब हामीलाई कति दिन राख्छ ?हामीलाई परिवारसँग फोनमा कुरा गर्न पनि दिइएको छैन भन्दै रुँदै थिए । महिलाहरु कोही रुन्छन् कोही निन्याउरा हुन्छन् के गरौं र कसो गरौं भन्दै छटपटी मात्रै नै छ । कतिपय विदेशी महिलाहरुलाई भाषाको समस्याले अल्ल न मल्ल परेको पाएँ । नेपालमा कानुन व्यवसायी र न्यायधीशले अंग्रेजी भाषा जानेका हुँदैन् ?भनेर मलाई सोध्दै थिए । एक जनाले त धर्मको किताब निकालेर पढेकी थिइन् । उनले किताब पढेको देखेर कुन प्रकारको किताब हो भनेर मैले सोधे। उनले भनिन् मलाई अल्लाहले दखिरहनु भएको छ । मलाई सायद यहाँबाट छुटाउन सक्नु हुन्छ कि भनेर उनले जवाफ दिइन् । उनको कुरा सुनेर मलाइ लाग्यो मानिसहरु आफुभन्दा सर्वशक्तिमान अरुनै छ भनेर विश्वास गर्छन् । स्वयम् आफैमा विश्वास गर्दैनन् । आफु निर्दोष भए त कानुनले केही गर्दैन भनेर सोच्ने भन्दा पनि अरु नै सवैशक्तिमानलाई पुकार गर्ने चलन छ । यसैले नै धर्मको जन्म हुन पुग्यो । दिन भरि के गर्ने म्याद थप गर्नु पर्नेहरुलाई म्याद थप गर्न हिँडाउने,म्याद थप गरि सकेकाहरुको काम हुने भएन । महिला दिदी बहिनीहरु गाउँघरमा जस्तै एकले अर्कोको जुम्रा हेर्ने, एक अर्काको दुःख सुखको कुरा गर्ने गरेर दिन कटाउँदा रहेछन् । हिरासतमा नङ बढेर नङ काट्न नपाएकाहरुले नङ काट्ने कुरा आयो । कसकसले नङ काट्ने हो भनेर सोधियो र प्रत्येक व्यक्ति सँग १० रुपियाँ मागियो । मलाई निकै अचम्म लाग्यो । ३० रुपियामा पाइने नङकटबाट नङ काटेको प्रत्येक व्यक्तिबाट १०रुपियाँ माग्दा त्यो पैसा कता जान्छ ? यस्तो त नहुनु पर्ने भन्दै सोचिरहें । ट्वाइलेट सफा गर्ने सरफ समेत त्यहाँ व्यवस्था थिएन ।हिरासतमा राखिएकाहरु आ–आफै किनेर सफा गरेको कुरा सुनाउँदै थिए । एकले अर्कोको सरफ चलाएको भन्दै झगडा पनि उत्तिखेरै भएको देखें । हिरासतमा अभाव छ ,केही पनि छैन । पैसा पनि त हुनुप¥यो । अभावले नै त झगडा हुने हो । हिरासतमा कम्तीमा पनि तिनीहरु त व्यवस्था हुनु पर्ने हो । हिरासतमा त्यसरी थुनेर राखिने रहेछ । कथम कदाचित प्राकृतिक विपत्ति जस्तै भूकम्प आएमा हिरासतमा राखिएकाहरुको जीउ कसरी सुरक्षित हुन्छ ? मनमा प्रश्नहरु आएरहे ।
हामीलाई भेट गर्नकोलागि बाहिर पार्टीका नेताहरु आउनु भएको रहेछ । चिन्तामणि शर्मा,शारदा महत,केदार खतवडा, शुरेश श्रेष्ठ सहित आउनु भएको थियो । हिरासतमा आफन्तीसँग टाढैबाट भेट गर्न दिइँदो रहेछ । बारबाट टाढा बसेर के कसो छ भनेर कुरा गर्न पाइने रहेछ । कुरा पनि के गर्ने सबै एकैचोटी बोल्दा केही नसुनिने । हल्लाले केही थाहा पाउन नसकिने जस्तो । साथीहरु भेट गर्न आएको खबर आउँदा निकै खुशी लागेको थियो ।
त्यहाँ केटाहरुलाई त कम्तीमा पनि कम्पाउण्डमा उभ्याउने कम्पाउण्डमा यसो हिँड्न दिने गरेको देखियो तर महिलाहरुलाई त त्यो पनि छैन । पुरुषहरु हिरासतको कम्पाउण्डमा चिच्याएको ,जे गर्नु आदेश छ सोही गरेको बार भित्रबाट टुलुटुलु हेर्नु र सुन्नु बाहेक अरु केही पनि छैन । महिलाहरु बोल्नु हुँदैन,मनको कुरा खोल्नु हुँदैन,बोलेपनि सानो आवाजमा बोल्नु पर्छ, अफ्ठ्यारो जति सबै सहनु पर्छ भन्ने जस्तो समाजमा बसेको र बसालिएको छ । हिरासतभित्र पनि महिलाहरु सुनसान आवाजविहीन भएर बसिरहेको देखें । बाहिर कम्पाउण्डमा हल्ला गरेको चिच्याएको आवाज चुपचाप सुनेर हेरेर मन बुझाउनु पर्ने बाध्यता जुन देखें मनमा कुन्ता शर्माको कविता आइरह्यो –पोथीहरु बास्नु हुँदैन, सिउर हल्लाउँदै जताततै बास्ने काम भालेको मात्रै हो ।
हामीलाई फेरी वयानकालागि बोलाइयो । अर्को अनुसन्धान कार्यायलमा त्यही नै । हामी सबैजना त्यहाँ गइयो । फरक फरक कोठामा राखेर सबैलाई एक एक गर्दै प्रश्नहरु सोधियो । अनुसन्धानको एक कर्मचारीले दिनेश शर्मालाई र मलाई एउटै कोठामा लगेर सोध्न थाले ।यो सरकार कसरी कठपुतली भो भन्दै सोधियो । दिनेश शर्माले स्पष्ट रुपमा जेनजी आन्दोलन पछि गठन भएको हो ।यो सरकार असंवैधानिक छ ।यो सरकार अमेरिकी र भारतीय योजनामा बनेको सरकार हो भनेर जवाफ दिनु भयो ।अझै अमेरिकी हुन् भन्ने प्रमाण के छ ? भन्दै उनले सोधे दिनेश शर्माले यो त सबै स्पष्ट नै छ नि बारबरा फाउण्डेस, अमेरिकी युथ काउन्सिल, टिओवी सबै यसका उदाहरण हुन् नि भनेर जवाफ दिनु भयो । वहाँको कुरा सुनेर उनले ती सब सामाजिक संजालमा आएका कुरा मात्रै हुन् यी केही पनि होइन् भनेर भन्दै थिए ।
उनको यो कुरालाई सुन्दा मलाई यति धेरै अनुसन्धान गर्ने तपाइँहरुले देश जलाउने कार्यक्रम जेनजीको नाममा हुँदा के हेरेर बस्नु भएको थियो भनेर सोध्नै लागिसकेको थिएँ । त्यो बेला सकियो भनेर हिँड्नु परिहाल्यो । मनमनमा सोचे यिनीहरु देश आगो लगाउने बेलामा लुकेर बसे । अहिले हामीलाई राष्ट्रियताको विषयमा संघर्ष गर्दा,देशको पक्षमा जनतालाई सचेत पार्ने काम गर्दा यसरी केरकार गर्दैछन् भनेर मन मनमा कुरा परिरह्यो । हामीलाई फेरी हिरासत भित्रै ल्याइयो । हामी त्यही बस्दै थियौं। कता कता के अभियोग लगाएर थुनेर राख्छ कि भन्ने चिन्ता पनि मनमा थियो । राज्यले चाह्यो भने क्षण भर मै जे पनि गर्न सक्छ । जे पनि हुन सक्छ भन्ने परिरहेको थियो । रात पर्न आँटिसक्यो तर पनि रिहा गर्ने कुनै कुरा आएन । साँझको खाना खाने बेला पनि भयो । तर छुटाउने कुनै कुरा आउँदैन । अन्तिममा अस्पताल जाने भनेर गाडीमा कोचियो । हामी अस्पताल जाँदा प्रहरीले कुरा गरे त्यहाँको खानाको बारेमा । खाना त हामीलाई खिर भन्दा मिठो लाग्छ । भोक लागे पछि हामीले त त्यो खाना खिर भन्दा मिठै मानेर खान्छौं । हामीलाई अस्पताल लगेर चेक गरेको जस्तो गरियो । हामीलाई फिर्ता ल्याइयो । हामीलाई छोड्ने तरखर भयो । साँझको आठ बजिसकेको थियो । तर छोड्नकोलागि बुझ्ने मानिसहरु चाहिने भन्ने कुरा थियो । हामीलाई पार्टीका साथीहरु बुझ्न जानु भएको थियो । हामीलाई छोड्ने बेलामा सबैको व्यक्तिगत विवरण माग गर्ने सबै भयो । यति धेरै अव्यवस्थित जस्तो कि लेख्ने मानिस पनि एक जनाको भरमा जस्तो थियो । अर्कोलाई फोन गरेर बोलाएको खाना खाँदा खादैको भात छोडेर आएँ कस्तो गाह्रो भन्दै आफ्नो दुःख पोखे । त्यहाँ कसैलाई धेरै काम भएको,काम गर्दा गर्दै कसैले खान पनि राम्ररी नपाएको, कामको बाँडफाँड व्यवस्थित नभएको छुट्ने बेलामा देखियो ।
सबैकुरा मिलाउँदा समय रातमा परिणत हुँदै थियो । हामीलाई लिन सुरेश श्रेष्ठ,चितामणि शर्मा,शारदा महत, इश्वर तिमल्सिना,आकाश महर्जन, रिना गेलाल सहितको टोली पुगेको थियो । हिरासतबाट रिहा भएर झोला,सामान बुझेर निस्कने बेलामा गेटमा प्रहरीहरुले भन्दै थिए नहिड्नु आन्दोलनमा ।आन्दोलनमा हिंडेर के पाउने होर ? मलाई त यस्तो बुढी मान्छे पनि के आन्दोलनमा हिनेको ?अब नहिड्नु भनेर सुनाउँदै थिए ।बाहिर निस्केर हामीलाई साथीहरुले अविर र खादाले स्वागत गर्नुभयो । निस्केर फोटो खिच्यौं, अध्यारो हुँदै थियो । हामीलाई २४ घण्टामा छोड्नु पर्ने तर २६ घण्टा राखियो । हामीलाई गिरफ्तार गर्दा ६ जति बजेको हुनु पर्छ तर छोड्दा ८ बजिसकेको थियो ।हामीलाई दुइ घण्टा जति किन बढि राख्नु परेको ? समय भन्दा ढिलो छोड्नु कामको लाहपर्वाही हो । हामीलाई साथीहरुको सहयोगमा आफु बस्ने स्थानमा पु¥याइयो । म घर पुग्दा छोरी गिनिजले खाना बनाएर राखेकी थिइन् । उनले भनिन– ए, आउनु भयो ? मैले भने अँ आएँ । मैले हिजो बिहान भात खाएदेखि दुइ छाक भात खाएको थिएन । निकै भोक लागिरहेको थियो । नानीले खाना बनाएको देखेर खुशी लाग्यो । बाबु आफ्नो फुपुकोमा गएको कारण उसको चिन्ता थिएन । राम बहादुर पनि आइपुग्नु भयो । नानीलाई टेकहरी न्यौपानेले रिहा हुनु हुँदैछ भनेर सुनाउनु भएको रहेछ । नानीलाई गोबिन्द सिङ थापाले पीर नगर भन्दै फोन गर्नु भएको रहेछ । गाह्रो भए हाम्रोमा आऊ,भन्दै वहाँले फोनमा बोलाउनु पनि भएको कुरा नानीले सुनाइ । भोलिपल्ट हाँकको काममा लाग्नु पर्ने थियो लागियो । हिरासतमा त यति धेरै बलियो बारहरु बनाएर राखिने रहेछ । जेलमा पनि त्यस्तै बलियो बार बन्धन राखिएको होला । भदौ २४ गतेको जेनजीको नाममा भएको विद्रोहमा कसरी सबै निस्कन सफल भए ? कसरी अपराधीहरु भाग्न सफल भए ?उत्तर खोजिरहेको छ । अझै त्यो भन्दा बढि अपराधी जन्माउने यही समाज हो । यो समाजलाई अपराध मुक्त कसरी बनाउन सकिन्छ ? युवाहरुको जीवन थुनेर, थुनिएर बित्नु परेको छ । अपराध गर्न बाध्य पारिएका हज्जारौं जीवनहरुले नयाँ जीवन कहिले पाउलान् ? संसारमा लाखौं जनहरुलाई जेलमा सडाइएको छ । आफ्नो सत्ता जोगाउन शासकहरुले हज्जारौंलाई जेलमा कोचेर ढल्कि हिँडेका छन् । समाजलाई अपराध मुक्त र जेलमुक्त कसरी बनाउन सकिन्छ ? प्रश्नहरु मनमा उब्जिरहेका छन् ।

