काठमाडौ । बदलिँदो परिस्थितिमा स्रष्टाहरुको सिर्जनात्मक र संस्थागत भूमिकाका सन्दर्भमा मङ्गलबार (२०८२ चैत २४ गते) “वर्तमान समयमा स्रष्टाहरुको दायित्व” विषयक विचार गोष्ठी सम्पन्न भएको छ । घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित उक्त गोष्ठीमा डा. अमर गिरीले सोही विषयको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।
डा. गिरीले वर्तमान समयलाई तीव्र सूचना प्रवाह, बजारवाद र उपभोक्तावाद हावी भएको र प्रविधिको वर्चस्व बढ्दै गएको समयका रुपमा चित्रित गर्दै यस्तो समयमा स्रष्टाहरुले सङ्गठित र सिर्जनात्मक रुपमा समाजपरक र सौन्दर्यपरक भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । अवधारणापत्र पेश गर्दै उहाँले भन्नुभयो, “मानवताका पक्षमा, परिवर्तनका पक्षमा र सुन्दर समाज निर्माणका पक्षमा उभिने स्रष्टाहरुले आफै आफ्नो भूमिकालाई परिभाषित गर्नुपर्छ । आजको मानवद्वेषी संरचनाविरुद्ध नभिई स्रष्टाले यस दायित्वलाई निर्वाह गर्न सक्दैन ।”
नेपालको बिग्रँदो आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक स्थिति स्रष्टाका लागि गम्भीर सरोकारका विषय भएको चर्चा गर्दै डा. गिरीले परिवर्तनका निम्ति सङ्घर्षरत स्रष्टाहरुबीचको सहकार्यलाई बढाउन आवश्यकता रहेको पनि औंल्याउनुभयो । गिरीले अवधारणापत्रमा अन्यायपूर्ण युद्धको प्रतिवाद, आणविक हतियार निर्माणको होड र पर्यावरण विनाशले निम्त्याएको सङ्कटप्रति पनि स्रष्टाहरुको गम्भीर सरोकार हुनुपर्नेमा जोड दिनुभयो ।
डा. गिरीको अवधारणापत्रमाथि टिप्पणी गर्दै प्रा.डा. रमेशप्रसाद भट्टराईले स्रष्टाहरुले प्रतिरोधी ज्ञान निर्माणको अगुवाई गर्नुपर्नेमा पछिल्लो समयमा त्यो भूमिका फितलो हुँदै गएको जिकिर गर्नुभयो । डा. भट्टराईले ज्ञान निर्माण कुनै एकजना व्यक्तिको क्षमताको विषय नभई संस्थागत र सामूहिक प्रयत्नको उपज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “ज्ञान निर्माणको काम प्रतिष्ठानहरु, बौद्धिक सङ्गठनहरु, सांस्कृतिक संस्थाहरु र प्रगतिशील लेखक सङ्घ जस्ता मञ्चहरुबाट हुनुपर्ने हो । तर, पछिल्लो समयमा प्रगतिशील लेखक सङ्घ कहाँ छ वा छ कि छैन, कसैलाई थाहा छैन । त्यसको उपस्थिति बजारमा कतै देखिन्नँ ।” डा. भट्टराईले हाल उत्तरआधुनिकतावादका नाममा भइरहेको सांस्कृतिक अतिक्रमणको पनि स्रष्टाहरुले प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।
अर्का टिप्पणीकार संस्कृति अध्येता भोगीराज चाम्लिङले आज नेपालका समाजवादी चिन्तन बोक्ने स्रष्टाहरुले नेपाली समाजभित्रै रहेका प्रगतिशील तत्त्व र समाजवाद मैत्री ज्ञान प्रणालीहरुलाई आत्मसात् गरेर मात्रै विश्वव्यापी रुपमा साम्राज्यवादी संस्कृतिसँग जुध्न सक्ने विचार व्यक्त गर्नुभयो । उहाँले नेपाली राजनीतिका परिवर्तनहरुलाई जोगाउन र नयाँ न्यायपूर्ण समाज निर्माण गर्न समुदायको ज्ञानमा भएको भौतिकवादी र प्रगतिशील तत्त्वलाई अँगाल्नुपर्नेमा जोड दिनुभयो ।
गोष्ठीमा घम्बर नेपाली,ले नेपाली समाजको आजको स्थिति, निजी सम्पत्तिको उन्मूलनको अवस्था, दक्षिण एसियाली समाजमा जात व्यवस्थाको विभेद र समाजवादी आन्दोलनबारे विचार राख्नुभयो । त्यस्तै विष्णु ज्ञवाली, सरोजदिलु विश्वकर्मा, कल्पना खरेल, प्रा. मधुसुदन गिरीले पनि आआफ्ना विचार प्रस्तुत गर्नुभयो ।
गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि भूपाल राईले घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानसँगको सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै प्रतिष्ठानका तर्फबाट भएका नयाँ कामहरुबारे चर्चा गर्नुभएको थियो । स्रष्टा ढकालबारे डा. कृष्णराज अधिकारले बोल्नुभएको थियो भने घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानका कार्यहरुबारे संस्थाका कार्यवाहक अध्यक्ष तथा साहित्यकार हरिहर खनालले प्रकाश पार्नुभएको थियो ।
साहित्यकार तथा समालोचक घनश्याम ढकालको १४औं स्मृति दिवसका अवसरमा आयोजित उक्त गोष्ठीमा स्वागत मन्तव्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले गर्नुभएको थियो भने सञ्चालन घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानका सदस्य तेजविलास अधिकारीले गर्नुभएको थियो ।



