०८२ साललाई फर्केर हेर्दा

०८२ साल विदा भएर २०८३ साल आएको छ । २०८२ सालमा स्वदेश र विदेशमा विभिन्न अविस्मरणीय घटनाहरु घटे । सहकारी पीडित लघुवित्त पीडित, स्वर्गद्वारी गुठी पीडितहरुले आन्दोलन गरे । उनीहरुले न्याय पाउन सकेनन् ।
२०८२ असार २४ गते बाढीबाट चीनबाट भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत रसुवागढी नाकामा बाढी पहिरोले १८ जनाको ज्यान गयो । २०८१ वैशाख १३ गते रौतहट जिल्लाबाट जन्म कैदको सजाय पाएका अफ्ताब आलम सहित ४ जनाले वीरगञ्जस्थित उच्च अदालतले २०८२ जेठ १४ गते उन्मुक्तिको फैसला सुनाएको थियो । त्यो अत्यन्त विवादित फैसला बन्यो ।
२०२५ अगष्ट १९मा चीनियाँ विदेश मन्त्री वाङ यी भारत भ्रमणका क्रममा भारतीय समकक्षी एस. जयशंकरसित लिपुलेक नाका भएर व्यापार गर्ने सहमति गरेका थिए । उक्त सहमति २०१५ मा चीन र भारतका बीचमा बेइजिङमा नरेन्द्र मोदी र सि जिङ पिङले गरेको सम्झौताको निरन्तरता थियो । चीन र भारतको यस कार्यलाई नेपाली देशभक्तहरुले नेपालको राष्ट्रिय सार्वभौमिकतामाथिको हस्तक्षेप भनेर विरोध गरेका थिए, विरोध जारी छ । इजरायलले जुन १३ मा लेवनान माथि आक्रमण ग¥यो । रुस र युक्रनेको युद्धलाई रोक्न सकिन्छ कि भनेर अमेरिकाको अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बीचमा शिखर वार्ता भयो । तर वार्ता निश्कर्षविहीन भयो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले २०८१ चैत्र ४ गतेदेखि शुरु गरेको जनसम्बन्ध विस्तार अभियानको वैशाक १८ गते ललितपुरको कुपोण्डोलमा समापन गरिएको थियो । उक्त पार्टीले देशमा भ्रष्टाचार विरुद्धको अभियान असार ५ गतेदेखि सञ्चालन गरेको थियो ।
जेनजी आन्दोलनको नाममा २०८२ भदौ २३ गते देशमा सुशासन र भ्रष्टाचार नियन्त्रणकोलागि भनेर आन्दोलन शुरु भयो । भदौ २३ गतेको आन्दोलनमा १९ जना युवा विद्यार्थीहरु मारिए पछि भदौ २४ गते देशव्यापी रुपमा आगजनी, तोडफोड, लुटपाट भयो । देशको प्रशासनिक केन्द्र सिंह दरबार, राष्ट्रपति भवन सित्तल निवास, संसद भवन,सर्वोच्च अदालत सहित देशभरका २३ वटा अदालतहरु जलेर नष्ट भए,कैदीबन्दीहरु जेलबाट भागे । जनेजी आन्दोलनको नाममा मर्नेहरुको संख्या ७६ जना पुग्यो । देशका नेताहरुका घर, होटेल, व्यवसायिक भवन , उद्योग र व्यापरिक केन्द्रहरु जलाइयो । देशका नेताहरु, प्रधानमन्त्री सहित मन्त्रीहरुलाई सेनाले सुरक्षा दिएको भनियो । जेनजी आन्दोलनको जगमा भदौ २७ गते पूर्व प्रधानन्यायधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम चुनावी सरकार गठन भयो । नयाँ सरकारले फागुन २१ गतेको लागि संसदीय निर्वाचनको घोषणा ग¥यो । जेनजी विद्रोहको बेला भएको जनधनको क्षतिको अध्ययन गर्न गौरी बहादुर कार्की नेतृत्वको छानविन आयोग बन्यो । छानविन आयोगले तीन पल्ट म्याद थपेर अध्ययन प्रतिवेदन तयार पा¥यो । आयोगले फागुन २४ गते प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो । फागुन २१ गतेको संसदीय निर्वाचनको बहिस्कार गर्ने राजनीतिक दलहरुमाथि सरकारको व्यापक दमन भयो । देशमा भएको निर्वाचनले नयाँ राजनीतिक दल रास्वपालाई झण्डै दुइ तिहाइ बहुमत दिएको छ । गत चैत्र १३ गते वालेन साहको नेतृत्वमा सरकार गठन भएको छ ।
३ जनवरी अर्थात २०८२ पौष ३ गते अमेरिकी सेनाको डेल्टा फोर्सद्वारा सार्वभौम राष्ट्र भेनेजुयलामाथि नै आक्रमण गरी भेनेजुयलाको राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेन्सलाई रातमा अपहरण गरेर अमेरिकामा लगेर लागुऔषधको मुद्दा चलाइएको छ ।
प्यालेष्टाइनमाथि इजरायली आक्रमणको शान्ति सम्झौता भयो । शान्ति सम्झौता भए पनि प्यालेष्टाइन माथिको आक्रमण रोकिएको छैन । प्यालेष्टाइनी जनताहरु मारिने क्रम रोकिएको छैन । २०२२ फेबु्रअरी २२ देखि भएको रुस युक्रेन युद्ध अहिलेसम्म पनि जारी नै छ । इरानले आणविक केन्द्रहरु स्थापना गरेको छ भन्दै जुन महिनामा अमेरिकाले इरानका आणविक केन्द्रहरुमा आक्रमण गरेको थियो । आक्रमणमा परी इरानका सर्वोच्च नेता आयातुल्लाह खामेनीको मृत्यु भयो । त्यस्तै फेब्रुअरी २८देखि अमेरिका–इजरायलले संयुक्त रुपमा इरानमाथि आक्रमण गरेका छन् । पाकिस्तानको मध्यस्थतामा अप्रिल ११ मा भएको शान्ति वार्ता विना निश्कर्ष टुङ्गिएको छ । अमेरिका इरानबीचमा भएको तनावले विश्वमा तेलको मूल्यवृद्धि हुनुका साथै महंगी बढेको छ । युद्ध रोकिने कुनै लक्षण नै देखिएको छैन । भारतीय मोदी सरकारले भारतीय कम्युनिष्ट पार्टी माओवादीका महासचिव नम्बला केशवराव ‘वसवराजु’सहितका नेता कार्यकर्ताको अपरेस ब्याक फरेष्ट नाम दिएर हत्या गरेको छ ।
यस्तै उतारचढावपूर्ण घटना सहित २०८२ सालले हाम्रो घर आँगनबाट विदा लिएको छ । गएको समय अब फर्केर आउँदैन । व्यक्ति ,समाज, देशमा जे जे कमी कमजोरी यसको सुधारको लागि पाठ सिक्दै आगामी समयलाई अगाडि बढाउनु सबैको हितमा छ । विश्व साम्राज्यवादी संकट गहिरिंदै जाने निश्चित छ । उत्पीडित राष्ट्र र सबै मिहेनतकस जनतालाई नयाँ साललाई उपलब्धिमूलक बनाउने ध्यान पुगोस् । नयाँ वर्ष २०८३ को सबैमा शुभकामना ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित