भारत माओवादीमुक्त भएको घोषणा , के अव भारतमा माओवादी आन्दोलन उठ्ने छैन ?

 

समाचार बिश्लेषण

 रामबहादुर बुढा , काठमाडौं । चैत्र १६,२०८२ (२०२६ मार्च ३० ) का दिन भारतीय संसदमा बोल्दै गृहमन्त्री अमित शाहले भारत माओवादी मुक्त भएको घोषणा गरेका थिए ।  शाहले मार्च ३१, २०२६ सम्ममा भारतलाई पूर्ण रूपमा माओवादी (नक्सलवादी )   मुक्त बनाउने लक्ष्य राखेको बताउँदै आएका थिए । उक्त घोषणा सँगै प्रश्न उठेको छ – के अव भारतमा माओवादी आन्दोलन उठ्ने छैन ? भारतको सरकारी पक्षले अव भारतमा माओवादी आन्दोलन उठ्ने छैन भनेर दावी गरिरहेको छ भने क्रान्तिकारी दृष्टिकोण राख्ने पार्टी, समूह , माओवादी पक्षधर वुद्धिजीविहरुले माओवाद एउटा विचारधारात्मक संघर्ष भएकाले यो आन्दोलन समाप्त भएको घोषणा गर्दैमा  आन्दोलन समाप्त नहुने बताएकाछन् ।

भारतको संसदमा बोल्दै गृहमन्त्री अमित साहले भनेका थिए , “ म खुल्लमखुला भन्न सक्छु कि हामी नक्सलवादीमुक्त भएका छौँ, यो भन्न कुनै हिचकिचाहट छैन । माओवाद तथा नक्सलवादका नाममा हिंसा गर्नेहरूको दिन अब सकिएको छ।  माओवादीका दुई कमान्डर बाहेक सबै या त मारिएका छन् वा आत्मसमर्पण गरेका छन्। उनीहरूले पनि चाँडै आत्मसमर्पण गर्नेछन्।” शाहकै अनुसार पनि माओवादीहरू सबैलाई मारेर वा आत्मसमर्पण गराएर सकेका रहेनछन्। जब हत्या गरेर वा आत्मसमर्पण गराएर सकेका छैनन् भने यो ‘माओवादी समाप्तको घोषणा’ अर्थहीन छैन ?

भारतीय कम्युनिष्ट आन्दोलनको इतिहासमा १९६४ मा भाकपा बाट विभाजित भइ भाकपा (माक्र्सवादी) बनेको थियो र १९६९ मा भाकपा (माक्र्सवादी) बाट विभाजित भइ भाकपा (माले) बनेको थियो । भाकपा (माले) का प्रथम महासचिव चारु मजुम्दार थिए । १९६९ अप्रिल २२ का दिन लेनिन जन्मेको दिन पारेर कलकत्तामा एक भव्य समारोहका बीच कानू सन्यालले भाकपा (माले) गठन भएको घोषणा गरेका थिए । सन् १९७२ मा भा.क.पा. मा. ले.का महासचिव चारु मजुम्दारको हिरासतमै हत्या गरिएको थियो । अहिले नक्सलाइट आन्दोलनबाट विकास भएको माले धार धेरै टुक्रामा विभाजित छन् ।भारतमा १९७२ मा चारुमजुमदारको हत्यापछि सेलाएको सशस्त्र संघर्ष फेरि १९८० को दशकपछि संगठित रुपमा अगाडि आयो। सन् १९८० मा भाकपा पिपुलस् वार ग्रुप (पीडब्जी) अगाडि आयो । त्यस्तै माओवादी कम्युनिस्ट केन्द्र (एमसीसीआई) पनि सशस्त्र विद्रोहमा लाग्यो । २००४ सालमा पिपुल्स वार ग्रुप र माओवादी कम्युनिस्ट केन्द्रको एकता भई भाकपा (माओवादी) गठन भयो। २००४ देखि २०१५ सम्म भारतका आन्ध्र, बिहार ,पश्चिमबंगाल, छत्तिसगढ लगायत ठूलो क्षेत्रमा भाकपा (माओवादी)ले आफ्नो प्रभाव विस्तार गरेको थियो । भारतीय सरकारले माओवादीभित्र नै घुसपैठ गराएर धेरैको हत्या र हजारौंलाई आत्मसमर्पण गराएपछि आन्दोलन अहिले कमजोर भएको छ ।

 

भारतीय कम्युनिष्ट पार्टी (माओवादी) उत्तर समन्वय समिति (एनसीसी) ले अप्रिल १७, २०२६ मा
प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्ति यस प्रकार छ :

“ देवजीको नवप्रचण्डपथ र उनी जस्तै अरु अवसरवादीहरुको भण्डाफोर गरौं !

मार्क्सवाद–लेनिनवाद–माओवादको झण्डा उँचो राखौं !

सबै अवसरवादी, पलायनवादीहरु र संशोधनवादी तत्वहरूलाई गाडौं !

कमरेडहरू,

इतिहासले हामीलाई सिकाएको छ कि दुई समानान्तर राजनीतिक कार्यदिशा राजनीतिक सत्ताकोको लागि एकअर्काविरुद्ध लडिरहेका छन्। एउटा कार्यदिशा कमरेड कार्ल मार्क्स, कमरेड एंगेल्स, कमरेड लेनिन, कमरेड स्टालिन, कमरेड माओ, कमरेड चारु मजुमदार, कमरेड कन्हाई चटर्जी, कमरेड बसवराज, कमरेड राज, कमरेड कोसा, कमरेड हिड्मा आदि जस्ता कम्युनिस्ट क्रान्तिकारीहरूले लिएका छन् भने अर्को कार्यदिशा बर्नस्टिन, काउत्स्की, लिन पियाओ, प्रचण्ड,  देवजी,भेनोग्पाल, कोवाड, बल्राज , प्रशान्त राही आदि जस्ता विश्वासघातीहरुले लिएका छन्। दोस्रो कार्यदिशा पक्रनेहरु  शत्रुका एजेन्टहरू हुन् जसले श्रमिक वर्गको राजनीतिक कार्यदिशालाई कमजोर र नष्ट गर्न त्यस माथि आक्रमण गरिरहेका छन्। यसबाहेक, हामीले यो बुझ्नु आवश्यक छ  कि सही राजनीतिक कार्यदिशाको विकास अवसरवादी संशोधनवादी तत्वहरुका विरुद्ध संघर्षको दौरानमा मात्र हुन सक्छ। हामीले कमरेड मार्क्स, कमरेड लेनिन र कमरेड माओको  कार्यदिशाको पक्षमा उभिन पाउँदा र लड्न पाउँदा गर्व गर्नुपर्छ। साँचो मित्र त्यो हो जो आवश्यकताको समयमा उपयोगी हुन्छ। विश्वभरका कम्युनिस्ट क्रान्तिकारीहरूलाई यो कुरा स्पष्ट भइसकेको छ कि भारतीय क्रान्तिका गद्दाहरू देवजी,भेनोग्पाल, कोवाड, बलराज जस्ता जनताका मित्र होइनन्, बरु क्रान्तिकारीको भेषमा रहेका शत्रुका एजेन्ट हुन्। शासक वर्ग, उनीहरूका एजेन्ट र अवसरवादी, पलायनवादी – संशोधनवादी तत्वहरूले खडा गरेका सबै अवरोधहरूका बीचमा, हाम्रो पार्टी नवौं महाधिवेशन–एकीकृत महाधिवेशनको राजनीतिक कार्यदिशा कार्यान्वयन गर्न अगाडि बढिरहेको । हाम्रो पार्टीको  कार्यनीति र  रणनीति दस्तावेजमा भनिएको छ कि ‘ हाम्रो जस्ता देशहरूमा, क्रान्ति मुख्यतया सुरुदेखि नै सशस्त्र हुनेछ । ’ नयाँ जनवादी क्रान्तिको दौरानमा , संघर्षको मुख्य रूप सशस्त्र संघर्ष हुनेछ, र संगठनको मुख्य रूप सेना हुनेछ। जनताको सशस्त्र सेनाको समर्थन बिना, जनसङ्घर्ष र जनसङ्घर्षको निर्माण सफलतापूर्वक सम्पन्न हुन सक्दैन। छापामार युद्धको विकास र विस्तार गरेर  मात्र पार्टीले जनसङ्घर्षलाई बलियो बनाउन समर्थ हुन सक्छ र यसरी वैकल्पिक जनसत्ताको जग बसाल्न सक्षम हुनेछ। ’ र यस उद्देश्य प्राप्त गर्नका लागि, हाम्रो पार्टी सुरुदेखि नै सशस्त्र र भूमिगत रहनेछ। हाम्रो पार्टी यस राजनीतिक बुझाइलाई दृढतापूर्वक अवलम्वन गर्दछ र नयाँ जनवादी क्रान्तिलाई सफल पार्न कटिबद्ध छ। हामीले २००७ मा विश्व सर्वहारा वर्गको अगाडि लिएको अडानलाई दृढतापूर्वक अँगालेका छौं। हामी आज कमजोर हुन सक्छौं, तर हाम्रो कमजोरी रणनीतिक होइन। रणनीतिक रूपमा, हामी सही राजनीतिक लाइनमा छौं, र त्यसैले, तीन ठूला पहाडहरू –साम्राज्यवाद, दलाल नोकरशाही पूँजीवाद र सामन्तवाद–जसले देश र विश्वका जनतालाई थिचोमिचो गरिरहेकाछन् –लाई नष्ट गर्न हामी निश्चित रूपमा  अगाडि आउनेछौं ।

क्रान्तिकारी आन्दोलनका क्रममा हामीले अवसरवादी, पलायनवादी  र संशोधनवादी तत्वहरूका विरुद्ध अभियान चलाएकाछौं । हामीले  यस प्रेस विज्ञप्ति मार्फत देवजीको आत्मसमर्पणको बारेमा हाम्रो बुुझाईलाई स्पष्ट गर्न चाहान्छौं । देवजी हाम्रो पार्टीको केन्द्रीय समिति – पोलिटब्यूरोका सदस्य थिए, तर शत्रुका अगाडि आत्मसमर्पण गरेदेखि, उनी हाम्रो पार्टीसँग सम्बन्धित छैनन्। वास्तवमा, उनलाई  भारतीय क्रान्ति र विश्व सर्वहारा वर्गको गद्दार भन्न कुनै हिचकिचाहट हुनुहुँदैन। एक मुख्य अंग्रेजी पत्रिकासँगको अन्तर्वार्तामा उनले भनेका थिए कि ’मलाईअझै पनि मार्क्सवाद–लेनिनवाद–माओवादमा विश्वास छ र पार्टीको राजनीतिक उद्देश्यलाई लागु गर्न वैधानिक तरिकाले काम गर्ने छु।’ यो एउटा रोचक तथ्य हो कि उनले सोनुलाई गद्दार भनेका थिए । उनले भनेका थिए कि उनले पार्टीलाई खुला र वैधानिक  बनाउन काम गर्नेछन्, सरकारलाई प्रतिबन्ध हटाउन अनुरोध गर्नेछन् । मालेमासँग परिचित जो कोहीले पनि कम्युनिष्ट पार्टी खुला र कानुनी हुन सक्दैन भन्ने तथ्यको कदर गर्नेछन्।

देवजीले सजिलैसित आत्मसमर्पणको राजनीतिलाई अपनाए, कमरेड लेनिनले त्यस्तो आत्मसमर्पणको राजनीतिलाई भन्नुभएको थियो, ‘ भूमिगत हाम्रो पार्टी विघटन गर्न कानुनी प्रेसको विरोध गर्दछ वा यसको सहारा पनि लिन्छ, र त्यसो गर्नेहरूलाई हाम्रो पार्टीको कट्टर शत्रु मान्नुपर्छ  ’ । (ब्रसेल्स सम्मेलनको रिपोर्ट –कमरेड लेनिन)

यसरी, देवजी हाम्रो पार्टीको कट्टर शत्रु हुन्, र उनको गद्दारी गम्भीर  छ। कमरेड लेनिनले पलायनवादलाई यसरी परिभाषित गर्नु भएको थियो, “ भूमिगत कार्यशैलीको परित्याग, त्यसपछि सबै कुरालाई वैधानिक ढाँचामा ल्याउने,वैधानिक  ढाँचा भित्र सीमित गर्ने,  त्यसकारण,………. जसको पार्टीले निन्दा गर्छ।  पुरानो पार्टीको ठाउँमा कुनै अव्यवस्थित,  खुकुलो संरचनाद्वारा प्रतिस्थापन गरिन्छ, जसलाई पार्टी भन्न सकिँदैन,   – पार्टीले यसलार्ईे निःशर्त निन्दा गर्छ। ” हामी देवजीलाई क्रान्तिकारीको भेषमा रहेको अर्को सोनु मात्र ठान्छौं। यस प्रकारको नयाँ प्रचण्डवादको कुनै भविष्य छैन। हामी सबैले देख्यौं कि नेपालका युवाहरूले यसलाई अस्वीकार गरे। दवेजीको पार्टीलाई खुला वैधानिक  पार्टीमा रूपान्तरण गर्ने मामलाको सन्दर्भमा, हामी कमरेड लेनिनलाई उनको पलायनवादको प्रतिवादको रूपमा उल्लेख गर्दैछौं। कमरेड मार्क्सले भने कि डर अवसरवादीहरूको विशेषता हो। कमरेड राजुदा, कमरेड कोसादा, कमरेड हिड्मा जस्ता सबै शहीद कमरेडहरूले पनि यस्तै परिस्थितिको सामना गरे, तर उनीहरूले पार्टीको राजनीतिक लाइनको रक्षा गर्न शहादत रोजे। उनको लागि, राजनीतिक लाइन उनको छाला भन्दा बढी महत्त्वपूर्ण थियो। यद्यपि, यो दवेजी जस्ता व्यक्तिको लागि विकल्प थिएन: उनले  पलायन रोजे। कामरेड लेनिनले पलायनवादको बारेमा भनेका छन् कि “ पलायनवाद भनेको अवसरवाद हो जुन पार्टीलाई ध्वस्त पार्ने हदसम्म जान्छ। यो स्वतः स्पष्ट छ कि यदि पार्टीको अस्तित्वलाई अस्वीकार गर्ने तत्वहरूलाई पार्टीमा समावेश गरियो भने, यो टिक्न सक्दैन। यो पनि उत्तिकै बुझ्न सकिन्छ कि वर्तमान परिस्थितिमा, ‘ भूमिगत ’ लाई हटाउनु भनेको पुरानो पार्टीलाई हटाउनु हो। ”  केही मिडिया हाउसहरूले पार्टी विभाजित भएको भनेर प्रलाप गर्न रुची मानिरहेका छन् , तर यी अज्ञानी आत्माहरूले यो महसुस गर्दैनन् कि पार्टीलाई तोड्न चाहनेहरू विरुद्ध संघर्ष नगरी पार्टी निर्माणको काम गर्न असम्भव छ। त्यसैले हामी दोहोर्याउन चाहन्छौं कि पार्टीमा टुटफुट त्यस्तो केही भएको छैन । हामी जे गरिरहेका छौं त्यो पार्टी भित्रका शासक वर्ग तत्वहरूको  पलायनवाद विरुद्ध संघर्ष गरिरहेका छौं । हाम्रो समितिले अवसरवाद, पलायनवाद र संशोधनवादको प्रश्नमा लेख, विज्ञप्ति र प्रेस विज्ञप्ति ल्याएको थियो। संसारका मानिसहरूले सोनुलाई पर्दाफास गरेका थिए र त्यसैले क्रान्तिकारीहरूको पदलाई भ्रमित पार्न शासक वर्गले देवजीको अनुहारलाई समर्थन गर्नुपरेको थियो। कमरेडहरू,
हामी निराश नहुनुहोस्, दृष्टि नगुमाउनुहोस्। भारतमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनले यति ठूलो धक्का भोगेको यो पहिलो पटक होइन, यसअघि १९७० को दशकमा पनि हामीले यस्तै धक्का भोगेका थियौं। कमरेड चारुको शहादत पछि पार्टी विघटन भएको थियो र धेरै अवसरवादी शक्तिहरू अस्तित्वमा आए, धेरै टुक्राटुक्रा भएका समूहहरू थिए। देशमा क्रान्तिको लागि कुनै केन्द्र बाँकी थिएन तर हामी छापामार आधार क्षेत्रहरूलाई पुनर्जीवित गर्न र निर्माण गर्न सक्यौं। वर्तमान समयमा हामीसँग अझै पनि नेतृत्वदायी कमिटीहरू छन् र हाम्रो केन्द्रीय समितिले अझै पनि रणनीतिक क्षेत्रहरूमा जनयुद्धको नेतृत्व गरिरहेको छ। विजय हाम्रो हो, सबैभन्दा घृणित र निर्दयी जारका शक्तिहरूले हामीलाई पृथ्वीको आधा गोलार्धमा रातो झण्डा फहराउनबाट रोक्न सकेनन्। हामी उही विरासतका धारक हौं, हामी अवसरवादी पलायनवादी –संशोधनवादी तत्वहरूलाई पराजित गर्नेछौं र नयाँ जनवादी  क्रान्ति तर्फ समाजवाद र अन्ततः साम्यवाद तर्फ अगाडि बढ्नेछौं। ”

 

यो लामो विज्ञप्ति यहाँ किन दिइएको हो भने मार्च ३० मा भारतीय गृहमन्त्री अमित शाहले माओवादी समाप्त भएको घोषणा गरे तर त्यो घोषणा पछि अप्रिल १७ मा यो विज्ञप्ति प्रकाशित भयो । भारतमा माओको सिद्धान्त समाप्त भएको छैन भन्ने प्रमाण यो विज्ञप्ति पनि होइन र  ?

माओवादी आन्दोलनको प्रमुख कारण—आदिवासीहरूको जग्गा, वनको अधिकार, र गरिबी हो । भारतको वर्तमान व्यवस्थाले समाजमा विद्यमान वर्गीय असमानतालाई अन्त्य गर्न सक्दैन । वर्गीय असमानता रहँदा सम्म वर्ग संघर्ष कुनै न कुुनै रुपमा अगडि बढिरहन्छ । माओवादीहरूले भनिरहेका छन् कि उनीहरू पछि हटेका मात्र हुन्, पूर्ण रूपमा समाप्त भएका छैनन् ।

सशस्त्र विद्रोहमा नरहेका भारतका अन्य कम्युनिस्ट पार्टीहरुले पनि अमित साहको घोषणालाई गलत भनेका छन् । भाकपा (माले) रेड स्टारका पोलिट्व्यूरो सदस्य तुहिन रेडले भने, “माओवादी आन्दोलनलाई बन्दुकले दवाएर समाप्त हुँदैन । समाजमा शोषण, अत्याचार कायम राखेर कसरी विद्रोह रोकिन्छ रु भारतमा अहिले हिन्दुवादी आर।एस। एस। फासीवादी गुटले तमाम शोषित पीडित किसान, मजदुरमाथि अत्याचार थोपरेको छ । आर।एस।एस। फासिवादका विरुद्ध संघर्ष रोकिनेवाला छैन ।” तुहिनले भाकपा (माओवादी) ले गाउँले शहर कब्जा गर्ने लाइनमा पुनर्विचार गरी सशस्त्र विद्रोहको तयारी तर्फ लाग्नुपर्ने सुझाव दिए ।

भाकपा (माले) का संस्थापक महासचिव चारु मजुम्दारका छोरा तथा हाल भाकपा (माले) लिवरेशनका पश्चिम बंगाल स्टेट कमिटीका सेक्रेटरी अभिजित मजुम्दारले भने, “१९७० को दशकमा इन्दिरा गान्धीले इमर्जेन्सी लगाएर नक्सलाइट समाप्त गरेको घोषणा गरेकै हुन् । हजारौं कम्युनिस्टहरु मारे । पछि २००० को दशकमा मनमोहन सिंहले पनि माओवादी विद्रोहलाई “भारतको आन्तरिक सुरक्षामा सबैभन्दा बढी चुनौती” भनेर दमनको नीति अपनाएका थिए । माओवादी आन्दोलन विचारधारात्मक आन्दोलन भएकाले यो दमन गरेर सकिंदैन । अवश्य पनि माओवादी आन्दोलनसित हाम्रा केही मतभेद छन् ।”

चीनमा कम्युनिस्ट पार्टीलाई समाप्त हुने स्थिति आएपछि माओको नेतृत्वमा चिङ्काङ्ग पहाडको आधार इलाका छाडेर “लम्बे अभियान” मा माओको नेतृत्वमा गएका थिए । भाकपा (माओवादी) ले पनि कमजोर भएको अवस्थामा संघर्षको चरित्रलाई बदल्नेबारे सोच्नुपर्ने हो कि ! यसको अर्थ पलायनवादलाई पछ्याउने भन्न खोजिएको हैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित