माक्र्सवादी सही शिक्षा र व्यवहारबाट विमुख हुँदा परेको मार

–लोकनारायण सुवेदी
विश्वमा आफुलाई माक्र्सवादी दावी गर्र्ने पक्षबाट बारम्बार यसको यान्त्रिक, आर्थिक र कठमुल्लवादी(जडसुत्रवादी) किसिमले यसको व्याख्या र व्यवहार गरेका कारण र साथसाथै देश तथा स्थान विशेषका ऐतिहासिक तथा सामाजिक विशेषताहरु र परिस्थिति अनुरुप माक्र्सवादको विकास गर्न असक्षम भएका कारणले समेत यस दर्शन र सिद्धान्त विरुद्ध रहेको खेमालाई ‘माक्र्सवादको मृत्यु’को घोषणा गर्न बल प्रदान गर्ने गरेको कुरा पटक पटक दोहोरिने गर्दै आएको हो । यसमा अझ अगाडि बढेर यसका अतिरिक्त त्यो माक्र्सवाद विरोधी खेमाले ‘विचारधाराको अन्त्य’,‘इतिहासको अन्त्य’ र ‘उत्तर आधुनिक वैचारिक राजनीति’ जस्ता चरम दक्षिणपन्थी भविष्यवाणी गर्नका लागि पनि अनुकूल माहोल बनेको हो । यी सबै कुरा विश्वव्यापी अभियानकारुपमा हुँदाहुदै पनि आज यही यस्तो समय पनि हो जतिबेला सबै ठाउमा मजदुरवर्ग र उत्पीडित जन समुदाय तथा उत्पीडित राष्ट्रहरु समेत संघर्षरत रहेका छन् । आजको विश्वमा अनौपचारिक र असंगठित तप्काको ठूला संख्या एकजुट हुदै गएको पनि देखिदै आएको छ । मजदुर, किसान, महिला, प्रबासी शरणार्थी तथा उत्पीडित जन समुदायका विभिन्न तह र तप्काहरु पनि आफ्नो हक हितका निम्ति आवाज उठाउदै आएका छन् । यसले प्रष्ट पार्दछ कि आजको नवउदारवादी वित्तीय पूँजीवादको संकटले सबैलाई पिरोलेको छ र यसले उत्पन्न गर्ने चौतर्फी विकराल समस्याको समाधान नखोजी धरै छैन भन्ने स्थिति फेरि पनि बन्दै गएको छ । यस स्थितिले पुनः माक्र्सवादका महत्वपूर्ण योगदानहरूको अध्ययन गर्नुपर्ने र यस बिकराल बन्दो अपूर्व संकटपूर्ण स्थितिको समाधान खोज्नु पर्ने महत्वपूर्ण आवश्यकता अझ बढ्न गएको छ।
इतिहास हेर्दा र केलाउँदा सन् १८१८ को पाँचौ महिना मई ५ का दिन जर्मनीमा जन्मेका कार्ल माक्र्स आफ्नो समयको विश्वका सबैभन्दा महान चिन्तक तथा क्रान्तिकारी विचारक थिए । उनको त्यही विचारले विश्वका भरीका सर्वहारा वर्ग र श्रमजीवी जनतालाई आफ्नो मुक्तिको पथ प्रदर्शन गर्न थाल्यो र बैज्ञानिक समाजवादको दिशामा संघर्ष विकसित हुँदै गयो र विश्वमा नयाँ र अभूतपूर्व परिवर्तन ल्याउन योगदान दिदै आयो । शोषित, उत्पीडित, पददलित विश्वका करोडौ करोड मानिसहरुमा नयाँ आशा र उत्साह जगायो र परिवर्तनको ऊर्जा पैदा गर्न ठूलो मद्दत गर्यो । यसले संसारलाई हेर्ने मात्रै होइन फेर्ने काम पनि गर्यो ।
त्यसैले भनिन्छ कि माक्र्सको विचारले मानव जातिको इतिहासमा सबैभन्दा धेरै प्रभाव पार्यो । उनको विचार व्यापक र बहु–आयामिक रहेको छ । खाशगरी उनले वैज्ञानिक समाजवादी विचारको विकास गरे । यसका तीन वटा मूलभूत तत्वहरु छन । ती हुन् — द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद,राजनैतिक अर्थशास्त्र र बर्ग संघर्षको सिद्धान्त । संक्षेपमा बिश्व मानब समाजको सभ्यताको ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा कार्ल माक्र्सले इतिहासको सही र वैज्ञानिक व्याख्या गरे, पूँजीवादी शोषणको मिहीन तरीकाले एमआरआई गरेरर उजागर गरे तथा त्यस आधारमा समाजवादी तथा साम्यवादी क्रान्तिको औचित्य र आधार पनि प्रष्ट पारे । यस सन्दर्भमा उनले अर्थनीति, राजनीति, दर्शन, इतिहास, सँस्कृति, समाजशास्त्र, विज्ञान र अन्य अनेक विषयमा विस्तारपूर्वक लेख्ने काम गरे ।यसरी उनले विश्वमा वैज्ञानिक समाजवादको जग बसाल्ने काम गरे । सर्बहारा महिला आन्दोलन तथा पर्याबरण आन्दोलनका लागि वैज्ञानिक आधार प्रदान गरे । उनले नश्लबाद र जातिबाद बिरोधी जस्ता आन्दोलनहरु पनि देखे र लेखे ।
यद्यपि उनको सबल किल्ला केवल उनको विचार मात्र थिएन । उनले भिन्न भिन्न देशरुका बिभिन्न ट्रेड यूनियन संगठनहरुद्वारा गठित प्रथम ‘वर्किङ्गम्यान एशोसिएशन(कामदार संघ), जसलाई प्रथम कम्युनिष्ट लीग पनि भनिएको थियो) मा पनि सक्रिय थिए । उनले जर्मन वर्कर एशोसिएशनको गठन पनि गरे । यद्यपि उनी उतिबेला बेल्जियममा बस्ने गर्दथे । कम्युनिष्ट लिगको तर्फबाटै माक्र्स र एंगेल्सले कम्युनिष्ट घोषणापत्र लेखेका थिए ।यसरी उनीहरुले सर्वहारा अन्तर्राष्ट्रबादलाई व्यवहारमा लागु गरेका थिए । जसलाई उनीहरुले पूँजीवादी राष्ट्रबादको विरोधमा प्रतिपादन गरेका थिए भन्ने कुुरा प्रष्ट छ ।

वस्तुतः ती सबै गतिविधिहरुका लागि माक्र्सलाई वयक्तिगतरुपले ठूलो त्याग र बलिदान दिनु परेको थियो । उनी र उनको परिवारलाई प्रायः सधैं नै गरिबी र प्रहरी दमन चक्रको सामना गरिरहनु परेको थियो ।उनले पटक पटक देश निकालाको सामना समेत गर्नु परेको थियो । खासगरी दुइ पटक फ्रान्सबाट र एक पटक बेल्जियमबाट । अन्ततः उनले राज्यविहीन व्यक्तिकोरुपमा इङ्गल्याण्डमा रहनु परेको थियो ।किनकि इङ्गल्याण्डले उनलाई नागरिकता दिन अस्वीकार गरेको थियो । अनि उता प्रशियाले पनि उनको नागरिकता पुनर्वहाली गर्न मानेको थिएन । यसरी उनले अत्यन्तै कठिन परिस्थितिमा आफ्नो काम जारी राख्नु परेको थियो । यस्तो अत्यन्तै कठिनाईपूर्ण जीवनका कारण उनकी पत्नी तथा परिवारले अत्यन्तै कष्टकर जीवन धान्नु परेको थियो । जसका कारणले उनीहरुका सात छोराछोरीहरु मध्ये ४ जनाले धेरै सानो उमेरमा नै आवश्यक औषधी उपचार नपाएर ज्यान गुमाउनु परेको थियो ।
यस्तो प्रकारको अत्यन्तै कठीन घडीमा पनि कार्ल माक्र्सले अर्थशास्त्र, इतिहास, समाजशास्त जस्ता विभिन्न क्षेत्रहरुका महत्वपूर्ण विचारहरु प्रतिपादन गरेका थिए । विश्वका धेरै मानिसहरु उनको यो सच्चाईलाई आज पनि स्वीका गर्ने गर्दछन् ।तर पनि उनीहरु के भन्दछन् भने क्रान्तिको उनको विचार सही छैन । तिनको यो कुरा बिल्कुलै सही होइन र यो उनको अन्य विचारमा समाहित छैन । यसो भन्नु एकदमै गलत हो । कार्ल माक्र्सका विचारहरुको सारतत्व क्रान्तिका बारेमा उनको अवधारण हो । यो उनका कामहरुको जीवन रेखा हो । क्रान्तिको विचार बिना माक्र्सको विचार केही पनि होइन र हुँदैन ।
त्यसैले यस सन्दर्भमा कार्ल माक्र्सलाई सही अर्थमा स्मरण गर्ने प्रयत्न गरौं । यस परिप्रेक्षमा सर्वहारा अन्तर्राष्ट्रवादको भावनलाई दृढतापूर्वक कायम राख्ने,जनतन्त्र र नागरिक स्वतन्त्रताका लागि अनि समाजबाद तथा साम्यबादका लागि निरन्तर लड्ने कार्ल माक्र्सले जस्तो विश्वलाई दृष्टि प्रदान गरेका छन् त्यस्तो विश्वका लागि संघर्ष गर्ने आफ्नो प्रण र उत्साह नयाँ किसिमले दोहोर्याएका छन् । त्यसैले बिश्वका धेरै क्रान्तिकारीहरुले कार्ल माक्र्सको जन्मको द्वि–शतबार्षिकी मनाउने क्रममा(आजभन्दा ८ वर्ष अघि २०१८मा) उनले देखाएको क्रान्तिारी बाटोमा हिड्नका लागि नवयूवाहरुलाई प्रेरित गर्न र विश्वलाई समाजवाद र सामाजवादको दिशामा बदल्ने नाराको आत्मा(मूख्य अन्तरबस्तु)लाई उच्च उठाउनका लागि माक्र्सका विचारहरु प्रचारित गरेका हुन् ।
हुन पनि आज नव उदारवाद अन्तरगत वित्तीय पूँजीवादी–साम्राज्यवादी व्यवस्था आफ्नो लामो इतिहासमा सबैभन्दा नराम्रोसँग अझ दीर्घकालीन संकटका बीचबाट अहिले गुज्रिरहेको छ । सामाजिक जीवनका सबै परिक्षेत्र जसमा विज्ञान र प्रविधिको अत्याधुनिक ताजा प्रगति पनि शामेल छ, मुठ्ठीभर कर्पोरेट खर्ब पतिहरुको कब्जामा छ । गरीबी, भोक, बेरोजागारी, विस्थापन, पलायन, सम्पत्तिहरुण, असमानता, असुरक्षायुक्त खतरा, पर्यावरण विनाश, साँस्कृतिक अधपत्तन आदि इत्यादि जस्ता गम्भीर विषय वस्तुहरु अत्यन्तै नराम्रो स्थितिमा पुगिसकेको छन् । एउटा सामाजिक व्यवस्थाको रुपमा वित्तीय पूँजीवाद–साम्राज्यवाद आज काल–दोषको शिकार भएको छ । यस अनुकूल वस्तुनिष्ठ परिस्थिति उपस्थिति हुँदाहुदै पनि बामपन्थी तथा कम्युनिष्ट आन्दोलन आज कमजोर अवस्थामा छ । त्यो यस स्थितिमा छैन कि त्यसले मजदुर वर्ग तथा उत्पीडित जन समुदायका बीचमा उत्पन्न र व्याप्त असन्तोषलाई क्रान्तिकारी बाटो प्रदान गर्न सकोस् । आज कम्युनिष्ट, बामपन्थी र प्रगतिशील शक्तिहरुको एउटा मूख्य कमजोरी के देखापरेको छ भने त्यो शक्ति विश्वका जनवादी, समाजवादी आन्दोलनका विगतका सकारात्मक र नकारात्मक प्रयोगहरुबाट उचित र आवश्यक शिक्षा लिन र त्यस अनुरुप राजनीतिको विकास गर्न असक्षम देखिएको छ । त्यसले गर्दा विखण्डित र विचलित विगतका समाजवादी देशहरुको नोकरशाही र केन्द्रिकत राज्यतन्त्रको नाममा स्वतन्त्र बजारका प्रवक्ता र नवउदारवादी विचारको वकालतकर्ता उत्तर आधुनिकवादीहरुले माक्र्सवादमाथि जोडदार हमला गरिरहेका छन् । माक्र्सवादी शिक्षासँग यान्त्रिक र जडसुत्रादी किसिमले टाँस्सिरहनुकासाथ साथै ऐतिहासिक तथा सामाजिक विशेषता तथा परिस्थिति अनुरुप माक्र्सवादलाई अझ विकास गर्नमा असक्षम रहनाले पनि शोषणकारी बर्ग शत्रुलाई ‘माक्र्सवादको मृत्यु’को घोषणा गर्न बल प्रदान गर्यो गरिरहेको छ । यसका अतिरिक्त ‘विचारधारको अन्त्य’, ‘इतिहासको अन्त्य’, ‘उत्तर–वैचारिक राजनीति’ जस्ता चरम दक्षिणपन्थी भविष्यवाणी गर्नका लागि पनि अनुकूल माहोल बनेको हो । तर यस्तो प्रतिकूल समय र स्थिति हुँदाहुँदै पनि प्राय सबैजसो ठाउँहरुमा मजदुर वर्ग तथा उत्पीडित जन समुदाय अहिले विश्वभरी संघर्षरत छन् । आज विश्वमा अनौपचारिक तथा असंगठित तप्का निकै ठूलो स्तरमा संगठित हुँदै गएको पनि देखिदै आएको छ । त्यसमा शोषित उत्पीडित बर्ग– मजदुर, किसान,महिला, प्रबासी शरणार्थीहरु र उत्पीडित जन समुदायहरुले आफ्नो हक हतिकारको माग पनि गरिरहेका छन् । यसले गर्दा के दिन प्रतिदिन स्पष्ट हुँदै अएको छ भने बिद्यमान मानब र प्रकृतिको निर्मम दोहन गर्ने नब–उदारबादी ब्यस्बथा अन्तरगत चौतर्फी संकट खडा भएको र त्यसको समाधन यस ब्यवस्थामा हुन सक्तैन भन्ने पुनः प्रष्ट भएको छ ।
यस अत्यन्तै संकटपूर्ण स्थितिमा माक्र्सका योगदाहरुलाई पुनः गम्भीर अध्ययन, चिन्तन र मनन गर्नु अत्यन्तै महत्वपूर्ण र आवश्यक छ । केही मानिसहरुले बुझ्ने र भन्ने गरेजस्तो माक्र्सवाद विचारहरुको अमूर्त संकलन होइन, यो त वैज्ञानिक र व्यवहारिक दुवै विचार हो । यसले कसैमाथि केही थोपर्दैन, बरु वस्तुनिष्ठरुपमा विद्यमान समाजिका सम्वन्धहरुबाट शुरु गर्दछ र त्यसबाट पार पाउने प्रकृयामा माक्र्सवादले आफुलाई विकसित तुल्याउँदछ । यसले कसैलाई समस्या समाधान गर्ने मसिहा बनाउदैन बरु जनताले स्वयं राजनीतिक चेतनबाट सुसज्जित बनेर आफ्नो अस्तित्व स्वयं बदल्दछन् भन्ने कुरामा यो एकदमै प्रष्ट छ । माक्र्सलाई कुनै पनि बेला सम्झने गर्दा यस कुरामा ध्यान केन्द्रित गर्नै पर्दछ कि जनता मौजुदा शोषणकारी व्यवस्थालाई बदल्न सचेत, संगठित र संघर्षशील भएर स्वयं अघि बढछन् । विश्व समाजको परिवर्तनको इतिहास यस्तै रहेको छ । त्यसै संघर्षको क्रममा नै नेतृत्वको जन्म र विकास पनि हुने गर्दछ ।
त्यसैले आज चुनावमा पछारिएको र ६५ प्रतिशबाट १५ प्रतिशतमा झरेका संसदबादी कम्युनिष्टहरुले भन्ने गरे जस्तो एकताको खोजीले कुनै अर्थ राख्दैन । किनभने विगतमा भएका यथास्थितिबादी संसदीय एकता अभ्यासले पनि यो कुरा राम्रैसँग दर्शाइसकेको छ । स्वाधीन, आत्मनिर्भर, समुन्नत र सुरक्षित भविष्य भएको देश निर्माण गर्न र दीगोरुपमा त्यसलाई कायम राख्न सकिने नेपाली जनताका साझा समस्याहरु नै कम्युनिष्ट एकता र सार्थक सफलताका मूल आधारहरु हुन् । त्यसैले आमूल परिवर्तनकारी चिन्तन, चरित्र र सामुहिक साझा अभ्यासको बाटो हिड्ने दृढ संकल्प व्यवहारमा मूर्तरुपमा खरो उत्रिनु पर्दछ । आजको कम्युनिष्ट एकताको राष्ट्रिय आधार र आवश्यकता यही नै हो । त्यसबाट दायाँ बायाँ गरेर सही निष्कर्शमा पुग्न र सही बाटो पहिल्याउन सकिदैन । अहिलेको अवस्था ‘किन जिउ दुःखेको सबै परीक्षण नगरी सिटामोल चक्की दिएर काम चलाउन खोजेको जस्तो मात्रै’ हो कम्युनिष्ट एकताको कुरा । यसले रोग निको पार्दैन केही बेर अल्मल्याउने टालटुले कुरा मात्र हुन्छ । अहिलेसम्मको अनुभवले दर्शाएको यथार्थ वास्तविकता पनि यही नै हो । त्यसर्थ राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या आजसम्म किन हल हुन सकेनन्, कम्युनिष्ट चरित्र, चिन्तन र व्यवहारमा किन ह«ास आयो यी कुराको गम्भीर, गहन र गहिरो समीक्षा नगरी सही दिशामा अघि बढ्न सकिने छैन ।यस धरातलीय वास्तविकतालाई ठण्डा मस्तिष्कले मनन गरौं ! एकतालाई सस्तो र विग्रहलाई गरुङ्गो नबनाउँ । बल सही र क्रान्तिकारी एकतामा छ भन्ने कुरा त पटक पटक साबित भइसकेको र भइरहेको कुरा छ । हाम्रो देशकै मात्र कुरा गर्दा पनि २०३६ साल २०४६ र २०६२÷६३ साझा संयुक्त आन्दोलनको सफलता, उत्साह र उर्जालाई मात्र सम्झे पुग्छ ।निश्चय नै ती आन्दोलनहरुका पनि सीमा र सामथ्र्य कति थियो र त्यसबाट आउन र पाउन सकिने कुराहरु के के थिए भन्ने कुराको दायरालाई बिर्सन मिल्दैन । आमूल परिवर्तनको उच्च चरणमा ती आन्दोलन विकसित हुन सकेको थिएनन् । सकुचनका समस्या र बाध्यताहरु थिए । त्यसमाथि आन्तरिक यथास्थितिवाद र बाह्य वित्तीय साम्राज्यवादी पूँजीवादले जकडेको स्थितिलाई चिर्न छोडेर कम्युनिष्ट आन्दोलनको त्यसैलाई भिर्न थाले पछि जुन विकृति र विसंगति पैदा भयो त्यसैको परिणति आजको स्थिति हो भन्न खुलस्त यथार्थको गम्भीर समीक्षाको माग गर्दछ । हचुवा एकता र हलुका विभाजनको चाकाचुली खेलेर समस्याको समाधान भेटिने र देश तथा जनताका दुःख दर्द मेटिने विश्वासिलो आधार खडा हुन सक्तैन भन्ने आजको राष्ट्रिय अन्तर्राष्ट्रिय वस्तुगत परिस्थितिको यथार्थ निचोड हो । यस आधारमा साझा अग्रगामी उन्नत माक्र्सवादी चिन्तन र व्यवहारिक सोचकासाथ एकतावद्ध हुनुकोे कुनै विकल्पै छैन ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित