मनु वि.क.
देश खण्डहर पारियो कुनै शत्रु देखिएन
देशको संरचना जलाउन कुनै परदेशी आएन
क्षणभर मै जलाइ खरानी बनाइयो
कुनै विदेशी थिएन
किनेका सवारी साधनहरु जले कुनै विदेशीको हात देखिएन
भौतिक संरचनाहरु सकियो
दुःखी मन देखिएन !
गरिबका झुप्रामा डोजर लाग्यो कुनै परदेशी हैन ,
सुकुम्बासीको वस्ती सखापै भयो
उसको मुहार अपरिचित छैन ,
वम,गोला ड्रोन छैन तर वस्ती रातारात उजाडियो
यहाँ देखाउँदा कुनै विदेशी छैन
नमिठो बोल्ने कुनै मुख नै छैन
मिठो मिठो बोलेरै
अनेक आश्वासन देखाएरै
सिध्यायो ।
वर्षौंदेखि देखेको छु गाजाको अमानवीय आक्रमण
देखिरहेको छु ,ध्वस्त खण्डहरमा
रोइरहेका लालावाला र नानीहरु
आमाबाबु र अविभावक गुमेका निर्दोष बालकहरु
देख्दैछु धुवाँ उडिरहेको युक्रेन
देख्दैछु आगो दन्किँदै गरेको इरान
जहाँ स्रोत लुट्ने स्वार्थ टकराइरहेको छ
आकाश,जमिन र समुद्रमा
र थर्काइरहेछ प्रत्येक मुटुहरु ।
यहाँ त कोही देखिँदैन पराइँ
मत पाएर मत्ता पल्टिएकोले
खण्डहर पारिदियो बस्ती क्षणभरमै
खण्डहर बस्तीमा उभिएर सोच्दैछु
के गरिबले बाँच्ने दिन सकिएकै हो ?
के लालपूर्जा जन्मिँदासँगै ल्याएको हो ?
लालपूर्जा नभएकै कारण बाँच्न नपाइने हो?
के देश गाजा र इरान बनाउन थालिएको हो?
देशभित्र कै ले लगाएका छन् आगो
खरानीको थुप्रोबाटै उठ्न खोज्दैछ देश
थपिएको छ फेरि भग्नावशेष
भग्नावशेषमा भविष्य खोजिरहेका छन् सुकुम्बासी
र सोधिरहेका छन् देश हाम्रो पनि हैन ?
२०८३ बैशाख १५, काठमाण्डौ ।

