चन्द्रहरि सुवेदी
नेपाल अर्धसामन्ती अर्ध औपनिवेशिक विशेषता सहितको नव औपनिवेशिक देश हो । मजदुर भन्दा किसान बाहुल्य भएको विकासोन्मुख कम शिक्षित भएको मुलुक हो । दलाल नोकरशाही र बचेखुचेका सामन्तवर्ग मिलेर बनेको प्रतिक्रियावादी सत्तालाई विद्यार्थी आन्दोलनले हल्लाउदै कमजोर बनाउँदै आएको छ । चाहे त्यो त्रिचन्द्र कलेजमा पढ्ने गंगालाल श्रेष्ठ, वि.सं. १९९७ सालको सहादत होस्, चाहे त्यो २००४ सालको जयतु संस्कृतम आन्दोलन होस्, चाहे त्यो २००८ साल कार्तिक २० को चिनियाँ लालकाजी श्रेष्ठ शहादत र गृहमन्त्री वी.पी. कोइरालाको सरकार ढालेको इतिहास होस् वा त्यस्तै गरेर २०३८ सालको मंसिर ८ र चैत्र १ को क्रमशः फणिन्द्र तिमल्सिना र शिवप्रसाद पौडेलको हत्या गरेर सही र बनाएको इतिहास होस् । त्यसैको निरन्तरतामा २०४२ साल वैशाख १८ गते राति २ः५ मा तात्कालीन अवस्थामा विद्यार्थी आन्दोलनमा सबैभन्दा माथिल्लो तहबाट वलिदान दिएर पंचायती व्यवस्थाको जगै हल्लाइ दिने महान् सहिद मित्रमणि आचार्य पूर्ण पक्लिहवा क्याम्पसका. स्व.वि.यु. सभापति बहालवाला कृषि र पशु विज्ञान अध्यययन संस्थान चितवन रामपुर क्याम्पसका स्व.वि.यु. सभापति हुनुहुन्थ्यो । २०४० साल चैत्रमा सम्पन्न अनेरास्ववियुको आठौं राष्ट्रिय सम्मेलन भारतको गोरखपुर अग्रवाल भवन (धर्मशाला) बाट देव गुरुङको अध्यक्षतामा गठित केन्द्रीय समितिमा सदस्या उहाँ (मित्रमणि आचार्य) समेत बलिदानले झण्डै ५ वर्षपछि २०४६ चैत्र २६ गते पंचायती व्यवस्थाको पतन गराइदियो ।
यो पंक्तिकारलाई हाम्रो पार्टीका पीवीएम रामबहादुर बुढाले तपाई सहयोद्धा भएको नाताले एउटा संस्मरण लेख्नु भन्नुभयो । यो ४२ वर्षको अन्तरालमा मैले धेरै पटक संस्मरण लेखेको छु । यो बीचमा नारायणीमा धेरै पानी बगिसकेको छ । मित्रमणिलाई क्रान्तिकारी सहिद भन्नेहरु सुधारवाद, संसदवाद, संशोधनवाद, दक्षिणपन्थी अवसरवाद र मिलेरावादमा पतन भइसकेका छन् । नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद, साम्यवादको सपना देखेर सहिद भएका मित्रमणिको सपना अझै पूरा भएको छैन । प्रतिक्रियावादी संसदीय व्यवस्था (संघीय लोकतान्त्रिक गणतन्त्र) लाई नयाँ जनवाद पूरा भयो अब समाजवादी क्रान्ति “क्रान्तिको शान्तिपूर्ण विकास” गर्दै पूरा गर्ने भन्ने विषालु मुखहरुले सहिद भन्ने अधिकार पनि राख्दैन ।
मित्रमणि आचार्य पाँच जना दाजुभाई मध्ये काइलो हुनुहुन्थ्यो । तर तात्कालीन अवस्थामा उहाँको व्याचमा ३ जना अग्ला विद्यार्थी मध्ये उहाँ बीचको भएकोले उहाँको अर्को नाम ‘माइलादाई’ (माइलो अग्लो) थियो । २०४० साल माघमा चितवन जिल्ला अ.ने.रा.स्व.वि.यु.को आठौं जिल्ला सम्मेलन रामपुर क्याम्पसको उत्तरपट्टि नारायणी नदीको किनारको घना शिसौको जंगलको बीचमा भूमिगत रुपमा सम्पन्न भयो । म त्यतिखेर वीरेन्द्र बहुमुखी क्याम्पसमा बि.ए. दोस्रो वर्षमा पढ्दै थिएँ । त्यो सम्मेलनले मलाई अध्यक्ष र मित्रमणिलाई उपाध्यक्षमा निर्वाचित ग¥यो । २०४० चैत्र मै सम्पन्न आठौं राष्ट्रिय सम्मेलनले उहाँ केन्द्रीय समितिमा चुनिनु भयो ।
२०४२ सालमा चितवनमा कांग्रेसी गुण्डागर्दीको विगविगी थियो । शिवप्रसाद पौडेल, मित्रमणि आचार्यहरु कांग्रेसी गुण्डाहरुबाट मारिएका थिए । कांग्रेस र कम्युनिस्टलाई भिडाएर ३० वर्षसम्म निरंकुश राजतन्त्र र पंचायत टिकाउने खेलको बेग्लै समीक्षा र सिंहावलोकन गर्न जरुरी छ ।
यसै सन्दर्भमा चितवनको मेघौली गाविसमा रहेको मा.वि.मा कांग्रेसी प्रधानाध्यापकले विद्यार्थीलाई गरेको दमनको विरोधमा मेघौलीको पर्शाढापमा एउटा अभिभावक भेला राखिएको थियो । त्यही भेलामा जाने तयारी गरिरहेको अवस्थामा पहिलेदेखि नै हातहतियार सहित जिपमा आएका मण्डले र कांग्रेसी संयुक्त गुण्डाहरुले आक्रमण गर्छन् । नजिक रहेको चौधरीको घरमा भित्र मणिलगायतका साथीहरु घरभित्र लुक्न पुग्छन् । गुण्डाहरु घरभित्रै पसेर ५ जना साथीहरुलाई निर्घात कुटपिट गर्छन् । अरु ४ जना सघन उपचारपछि बाँच्न सफल हुन्छन् । ती मध्ये १ जना घाइते विष्णु थापा पिटाइकै कारण मानसिक तनावमा परिरहेका हुन्छन् र केही वर्ष अगाडि आत्महत्या गर्छन । अन्य ३ जना अहिले पनि ठूलो पीडाका बीचमा बाँचिरहेका छन् । मित्रमणि आचार्य ज्वरो आएको विरामी परेको र अत्यधिक पिटाइ र ढुंगा हातहतियार (खुडा, खुकुरी, भाला, बर्चा, चेन) को प्रयोगको कारण कानभित्रबाट रगत बगिरहेको र बेहोस अवथामै झण्डै २० कि.मि. पश्चिमबाट एउटा सर्वाजनिक बसमा राखेर साथीहरु सहित भरतपुर अस्पतालमा लगिन्छ र उपचार गराउँदागराउँदै वैशाख १८ गते राति २ः०५ मा अर्थात १ गते विहान मे दिवसको पूर्व सन्ध्यामा दुःखद मृत्यु हुन पुग्दछ । एक जना मजदुर पक्षीय विद्यार्थी नेताको सहादतले चितवन लगायत सिंगो देश शोकाकुल र स्तब्ध हुन पुग्यो । आज पनि कहिले १८ गते कहिले १९ गते मई दिवस पर्ने गर्छ । मई दिवस मनाउँदा मित्रमणि दिवस पनि सँगै मनाउँदा राम्रो हुन्छ ।

मित्रमणि सहिद भइसकेपछि त्यसको व्यापक विरोध भण्डाफोर घटनाको विस्तृत विवरण रामपुर स्ववियुको मुखपत्र ५० जना हत्याराहरुको विरुद्ध जाहेरी दर्खास्त चितवन जिल्ला अदालतमा भएको बहस पैरवी फैसलामा उल्लेख भइसकेको छ । अध्ययता र अनुसन्धान गर्नेहरुले त्यसलाई पुनः अध्ययन गर्न सक्नुहुनेछ । सहादत पछिका केही प्रतिनिधि घटनाः मे दिवसको पूर्व लाली छाउँदै गर्दा मित्रमणिको सहादतको देशैभरी खबर डढेलो जसरी फैलियो । तात्कालीन अनेरास्ववियुका केन्द्रीय महासचिव रमन श्रेष्ठ श्रद्धाञ्जली दिन काठमाडौंबाट चितवन आइपुग्नुभयो र तात्कालीन अवस्थामा चितवनमा विद्यार्थी र जनसमुदायको सबैभन्दा ठूलो सभा हस्पिटल अगाडि र शव यात्रामा उहाँले जोडदार मन्तव्य राख्दै क्रान्ति र नयाँ जनवादले मात्र मित्रमणिको हत्याको बदला पूरा हुनेछ भन्नुभयो ।
झण्डै १० हजार विद्यार्थी र जनताको उपस्थितिले भरपुर अस्तव्यस्त हुन पुग्यो । प्रहरी कार्यालय अगाडिबाट व्यानर, प्लेकार्ड र आक्रोशित जनसमूह नारा लगाउँदै हालको नारायणी पुलको दक्षिणमा बनाइएको चितासम्म शव यात्रा पुगेको थियो । पुलिस प्रशासन यति आतंकित थियो कि मूलगेट लगाएर हतियार सहित भित्री कार्यालय गेटमा सतर्क पोजिसनमा उभिएका थिए ।
० तत्काल चितवन जिल्ला पार्टीले १० हजार पर्चा छापेर “विद्यार्थी नेताको हत्या” शीर्षकमा सडकका दुवै पेटीमा उभिएका जनतालाई हत्याको जानकारी गराइएको थियो । त्यतिखेर अहिले जस्तो फोन र एफएम, रेडियो नभएकोले यो नै संचारको प्रभावकारी माध्यम बन्यो ।
० प्यूठानबाट मित्रमणिका माइला दाजु र एक जना भतिज आइपुग्नु भएको थियो । शव आधा जलिसकेको अवस्थामा २ ट्रक सेना नारायणी किनारमा आइपुगेछ आश्चर्य र कौतुहलताको बीच शाही नेपाली सेनाको कमाण्डर नाम र दर्जा थाहा भएन, एउटा टुकुडी सहित शवको परिक्रमा गरेर ३ अंजुली पानी चितामा चढाएर फरक्क फर्किएर गयो । यो किन गरियो अहिलेसम्म गर्भकै विषय बनेको छ ।
मित्रमणि खाली विद्यार्थी मात्र हुनुहुथेन । २०४१ साल मंसिरमा सम्पन्न पाँचौं महाधिवेशन पछि बनेको नेकपा(मशाल) रामपुर जिल्ला पार्टी शाखा जो सिधै केन्द्रले चलाउँथ्यो, त्यसको सेक्रेटरी पनि हुनुहुन्थ्यो । बाहिर जिल्लाबाट रामपुरमा पढ्ने पार्टीका कमरेडहरुलाई भूमिगत रुपमा माथिबाटै परिचालित गरिन्थ्यो र चितवन जिल्ला पार्टीमा जोडिंदैनथ्यो ।” यो पंक्तिकार भने स्थानीय भएकोले चितवन जिल्ला पार्टी अन्तर्गत काम गर्दथ्यो ।
मित्रमणिको यस्तो समयमा सहादत भयो कि पार्टी मित्र तीव्र र व्यापक २ लाइन संघर्ष चलेको थियो । त्यसको ६ महिनापछि असोजमा पार्टी ‘मशाल’ र मसाल भए फुट्यो । त्यसको औपचारिकता मंसिरमा राष्ट्रिय सम्मेलन गरेर (मसाल) ले दियो ।
० मित्रमणि आचार्य पार्टीभित्र चल्ने २ लाइन संघर्षमा जहिले पनि क्रान्तिकारी लाइनमा उभिनुहुन्थ्यो । २०४१ साल मंसिर १–१३ गते सम्पन्न पाँचौं महाधिवेशनमा भाग लिएर फर्किएपछि, मित्रमणिको होस्टेलको कोठामा यो पंक्तिकारको विस्तृत कुराकानी भएको थियो ।
० रामपुर क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरु मेधावी विद्यार्थीहरु हुन्थे । २ वर्ष, विज्ञान संकाय, पक्लिहवा सुन्दरबजार पढेर ३ वर्षे कृषि पढ्न रामपुर आउने गर्दथे । रामपुरमा पढ्न आउने विद्यार्थी प्रायः धनी मध्यम वर्गका हुने गर्दथे पढाई शुल्क होस्टल शुल्क र टाढाटाढा देशैभरीबाट आउँदा यातायात खर्च गरिब निम्न वर्गका विद्यार्थीहरुले बेहोर्नै सक्दैनथे । रामपुर क्याम्पसमा नेकपा (मशाल) समर्थकको बाहुल्यता थियो । हरेक वर्ष पाँचौं वर्ष सकेर विदा हुने विद्यार्थीलाई भूमिगत रुपमा क्याम्पस नजिकै क्याम्पस पार्टी जिल्ला शाखाको आयोजनामा मित्रमणि (शाखा सेक्रेटरी) को नेतृत्वमा खुशीराम पाख्रिनको घरमा विदाई कार्यक्रम राखिन्थ्यो । पार्टी केन्द्रबाट आउने प्रतिनिधिले तपाईहरु अब कृषि अधिकृत जागिर खान जानुहुन्छ । जहाँ रहेपनि देश, जनता, पार्टी र क्रान्तिको पक्षमा काम गर्नुहोला । तपाईहरु घरजाँदा तपाईहरुले प्रयोग गरेका लाउने कपडा सिरक, डसना, दरी, तकिया, तन्ना साइकल पार्टीलाई छोडेर जानुहोला ताकि हामीले पूर्णकालीन गरिब कार्यकर्ता सर्वहारा सुकुम्बासीहरुलाई वितरण गर्न सकौं । तपाईहरु त जागिर खाएर किन सकिहाल्नु हुन्छ भनिन्थ्यो । साथीहरुले खुशीसाथ छोडेर जान्थे । ती सामानहरु रामवृक्ष यादव मार्फत् धनुषाको कर्जनीया सुकुम्बासी बस्ती लगायत देशभर पार्टीले सुकुम्बासी वस्ती बसालेका ठाउँमा साथै पूर्णकालीन कार्यकर्ता गरिब कार्यकर्तालाई वितरण गरिन्थ्यो । (नोट ः रामवृक्ष यादव बहुदल आएपछि शहिद बन्नुभयो) । र पार्टी काममा सहज हुन्थ्यो । मित्रमणिका अक्षर कमिलाका फुलजस्ता गोला मिलेका साह्रै राम्रा थिए । उहाँले केही कविता पनि सिर्जना गर्नु भएको थियो । २०–२२ वर्षकै उमेरमा मित्रमणिले देश र जनताको लागि धेरै दिएर कहिल्यै नबिग्रने गरी धु्रव तारा जस्तै अटल, अजर, अमर भएर जानुभयो । हामीले मित्रमणिलाई सच्चा श्रद्धाञ्जली दिने र सम्झने भनेको उहाँले देखाएको र देखेको सपना नयाँ जनवाद– समाजवाद–साम्यवादको बाटोमा जीवन पर्यन्त संसदवादी, सुधारवादी , अवसरवादी, मिलेरावादी नभइकन निरन्तर हिंडिरहनु हो । जसरी बग्दछ इन्द्रवती ।
आजको नविनतम सिद्धान्त भनेको कम्युनिस्ट सिद्धान्त हो ।यहाँ भन्दा नयाँ सिद्धान्त अर्को छैन कम्युनिस्ट घोषणापत्र प्रकाशित भएको मितिले यो सिद्धान्त जम्मा १७८ वर्षको सबैभन्दा बच्चा हो । संसदवाद झण्डै ४०० वर्ष पुरानो र सामन्तवाद (राजतन्त्र) १००० वर्ष भन्दा पुराना सिद्धान्त हुन् । बुढाहरु पहिला मर्छन् र बच्चाको भविष्य हुन्छ । महान् माओले भनेजस्तै आगामी सय पचास वर्ष उथलपुथलका वर्ष हुनेछन्, कि क्रान्तिले तेस्रो विश्व युद्ध रोक्नेछ, कि विश्वयुद्धले क्रान्ति जन्माउने छ ।
दृष्टि क्षीतिजमा तेस्रो विश्वयुद्धको कालो बादल मडारिन थालेको छ । तेस्रो विश्वयुद्ध शुरु भयो भने महान् लेनिनले भनेझैं हामीले विश्वयुद्धमा पछि लाग्नु हुँदैन भाग लिनुहुँदैन । “आ–आफ्ना देशका प्रतिक्रियावादीहरुको विरुद्ध क्रान्ति गर्नुपर्छ । जति क्रान्ति नजिक आउँदै जानेछ । सहिदहरु चम्किँदै जानेछन् । क्रान्ति सम्पन्न भएपछि सहिदहरुका सपना साकार हुनेछन् । सहिदहरु कहिल्यै मर्दैनन् । गणना जिउँदाको मात्र हुन्छ । आजसम्म पृथ्वीमा कति जन्मेर मरे कसैले तथ्यांक राखेको छैन । ८ अरब मानिस अहिले संसारमा छन् । २ करोड ९२ लाख नेपालमा छन् । १९९७ सालमा ४ जना २०४६ सालका २६ जना जनयुद्धका १७ हजार गणना गरिएको छ । उनीहरु मरेका छैनन् उत्तरी ध्रुवमा धु्रवतारा जस्तै चमचमाइरहेका छन् र हामीलाई बाटो देखाइरहेका छन् । मित्रमणि आचार्यले जस्तै ।

