भारत । भारतमा ४ वटा राज्य आसाम, बंगाल, तामिलनाडु, केरला र एउटा केन्द्र शासित राज्य पाण्डीचेरीमा अप्रैलको अन्तिम सातातिर विधानसभा निर्वाचन शुरु भई अहिले त्यसको नतिजा पनि आइसकेको र केही बाँकी रहेको देखिन्छ । यसपटक निर्वाचनमा पहिले सरकार बनाएका दलहरुको नराम्रो हार भएको छ भने प्रतिपक्षमा रहेका पार्टीहरु सरकार बनाउने स्थानमा आएका छन् । तामिलनाडुमा भने विजय थलापथीको नयाँ टीभीके पार्टीले पहिलो स्थान प्राप्त गरेको छ ।
खास गरेर केरलमा लामो समयदेखि वामपन्थी दलहरुको सरकार कायम रहेको थियो । यसपटक उनीहरुको हार भएको छ । त्यहाँ इन्डियन नेशनल कांग्रेस ६३ सिट हात पारेर पहिलो पार्टी बनेको छ । तामिलनाडुमा अहिलेसम्म एम.स्टालिनको द्रमुक (डीएमके) पार्टीको सरकार थियो । यो निर्वाचनमा साउथ इण्डियन अभिनेता विजय थलपथीको टीभीके पार्टीले १०८ सिट ल्याएर पहिलो पार्टी बनेको छ । तामिलनाडुमा लामो समयदेखि जयललिता र करुणानीधिको पार्टी अन्नाद्रमुक र द्रमुक (डीएमके) ले आलोपालो शासन गर्दै आएका थिए । त्यो वर्चश्व समाप्त भएर एउटा अभिनेताको हातमा सत्ता जाने भएको छ । पश्चिम बंगालमा ३० वर्ष सीपीएमले शासन गरेकोमा पछिल्लो १५ वर्षदेखि तृमुल कांग्रेसले शासन गरेको थियो । यसपटक तृमुल कांग्रेसकी नेतृ ममता वेनर्जीको नराम्रो हार भएको छ । ८० सिट मात्र प्राप्त भएको छ । यसपटक विजेपीले २०७ सिट लिएर पहिलो पार्टी बनेको छ । आसाममा पनि विजेपीले ८२ सिट ल्याएर पहिलो पार्टी बनेको छ ।
निर्वाचनको परिणामलाई हेर्दा भारतमा पनि पुराना दलहरुप्रति जनताको वितृष्णा देखिएको छ र नयाँलाई हेर्ने लहर आएको देखिएको छ । “नयाँलाई हेर्ने” अभियानले वीजेपी जस्तो हिन्दुत्ववादी पार्टीलाई निर्वाचनले सत्तामा ल्याएको छ । भारतमा वीजेपीले हिन्दुवादी नारा दिएर विश्व साम्राज्यवादको नवऔपनिवेशिक शोषणलाई निरन्तरता दिंदै आएको छ र त्यहाँ दलित, मुस्लिम तथा अल्पसंख्यक माथि ज्यादती हुँदै आएको छ । त्यस्तै विजय थलापथी नयाँ अभिनेता भए पनि उनी राजनीतिमा २ वर्षदेखि आएका छन् । उनको राजनैतिक अनुभवले भारतीय जनतालाई समृद्धितर्फ लैजान सक्ने देखिंदैन ।
भारतको निर्वाचनः नयाँ दलहरु अगाडि
Comments

