गिरिराजमणि पोखरेल
कमरेड निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनका एक शिखर व्यक्तित्व हुनुहुन्थ्यो । क निर्मल लामा कम्युनिस्ट, बाम र लोकतान्त्रिक आन्दोलनको लागि मात्र होइन देशभक्ति र युवाहरूको आन्दोलनको लागि पनि एक प्रेरणादायी व्यक्तित्व हो। आजको पुस्ताका लागि क निर्मल लामाको सन्देश स्पष्ट छ—राजनीति केवल सत्ता केन्द्रीत चुनाव जित्ने माध्यम होइन, समाज परिवर्तनको अभियान हो। यदि नेता विलासी भए, कार्यकर्ता अध्ययनविहीन भए, पार्टी जनताबाट टाढियो र राजनीति केवल सत्ता केन्द्रित बन्यो भने क निर्मल लामाको नाम लिइरहनुको कुनै अर्थ रहँदैन। उहाँलाई साँचो श्रद्धाञ्जली भनेको स्वच्छ राजनीति गर्नु हो, जनताको पक्षमा उभिनु हो, अन्यायविरुद्ध संघर्ष गर्नु हो, विचार र नैतिकताको राजनीति पुनर्जीवित गर्नु हो।
नेपालको युवा विद्रोहले स्पष्ट रूपमा देखायो कि जेनजी को आन्दोलन जति नै शक्तिशाली र उत्साही किन नहोस्, यदि त्यसमा सिद्धान्तनिष्ठा, स्पष्ट दिशा र संरचना नभएमा त्यो सजिलै सत्ताको भर्याङ बन्न सक्छ। आन्दोलनको ऊर्जालाई अवसरवादी राजनीतिक दल र व्यक्तिहरूले आफ्नो स्वार्थअनुसार प्रयोग गरेर मूल मागहरूलाई कमजोर बनाउने र आन्दोलनलाई आफ्नो राजनीतिक लाभको साधन बनाउने खतरा रहन्छ। यस्तो परिस्थितिमा निर्मल लामाले देखाएको बाटो नै एक मात्र विकल्प हो — अटल सिद्धान्तनिष्ठा, इमानदारी, जनतासँगको गहिरो सम्बन्ध र निरन्तर संघर्ष मार्फत मात्र नयाँ पुस्ताको आन्दोलन सच्चा जनपक्षीय बन्न सक्छ। नत्र, जति नै ठूलो भीड र डिजिटल तीव्रता किन नहोस्, आन्दोलन अन्ततः केही व्यक्तिहरूको सत्तारोहणको भर्याङ बन्ने जोखिम रहन्छ।
नरबहादुर कर्माचार्यको सादगी र निर्मल लामाको सहकार्य यस सन्दर्भमा अत्यन्त प्रेरणादायी छ। दुवै नेताले जीवनभर पद, सत्ता र व्यक्तिगत लाभलाई होइन, सिद्धान्त र जनसेवालाई प्राथमिकता दिए। नरबहादुरजीको सरल र सादगीपूर्ण जीवनशैली तथा निर्मल लामाको अटल क्रान्तिकारी निष्ठाले गरेको सहकार्यले प्रमाणित गर्छ कि सच्चा परिवर्तनकारी आन्दोलन व्यक्तिगत महत्वाकांक्षा वा गुटबाट होइन, सामूहिक समर्पण, नैतिक दृढता र जनकेन्द्रित सोचबाट मात्र निर्माण हुन्छ। आजको जेनजी पुस्ताले यही विरासतलाई आत्मसात् गरेमा मात्र उनीहरूको आन्दोलन सडकबाट सत्तासम्मको भर्याङ बन्नेछैन, बरु साँच्चिकै जनताको मुक्ति र समाज परिवर्तनको शक्ति बन्न सक्छ।

क.निर्मल लामा एउटा व्यक्ति मात्र होइनन्, एउटा राजनीतिक संस्कार हुन्। एउटा नैतिक मापदण्ड हुन्। एउटा अधुरो सपना हुन्। उहाँको सम्झना भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ। काम गरेर, संघर्ष गरेर, जनताको पक्षमा उभिएर र राजनीति सफा बनाएर मात्र उहाँप्रति साँचो सम्मान व्यक्त गर्न सकिन्छ। “मेरो सम्झना गरि खाने वर्गले गरोस्, काम गरेर, क्रान्ति गरेर” भन्ने उहाँको सन्देश आज पनि नेपाली राजनीतिका लागि मार्गदर्शन बनेर उभिएको छ।

