न्यायपूर्ण युद्धको सौन्दर्य

शशिधर भण्डारी
लेनिनले विश्वमा चल्ने युद्धहरुमा न्यायपूर्ण युद्ध र अन्यायपूर्ण युद्धको विषयमा लामो तथा  ऐतिहासिक विवेचना गरेका छन् । न्यायपूर्ण युद्धले एउटा विचार, सपना तथा महान लक्ष्यको धार समातेको हुन्छ । अन्यायपूर्ण युद्धका अगाडि विश्वका कैयौं न्यायपूर्ण युद्धहरु पटक–पटक पराजित हुन सक्छन् तर इतिहासको प्रवाहमा न्यायपूर्ण युद्धले नै विजय प्राप्त गर्दछन् । अन्यायपूर्ण युद्ध इतिहासको अँध्यारो पाटो हो भने न्यायपूर्ण युद्ध इतिहासको उज्यालो प्रकाश हो । त्यो प्रकाशलाई अँध्यारो रातले छोप्ने प्रयत्न गरिरहन्छ तर कालान्तरमा प्रकाशको विजय हुन्छ । अन्धकारको पराजय । न्यायपूर्ण युद्धमा बेला–बेलामा ठूला–ठूला भड्कावहरु आउने गर्दछन् । न्यायपूर्ण युद्धमा पसिना बगाइरहेका अगुवा व्यक्तिहरु नै प्रतिक्रान्तिकारी बन्छन् र न्यायपूर्ण युद्धको घाँटी रेट्न पुग्छन् । विश्वको इतिहास नै वर्गसंघर्षको इतिहास हो । वर्गसंघर्षको इतिहासमा महान गद्दारीका उदेकलाग्दा घटनाहरु हुन्छन् । यो इतिहासको नियम हो । न्यायपूर्ण युद्धको पक्षमा उभिने एउटा सच्चा क्रान्तिकारीलाई यस्ता कैयौं भड्कावहरुले हल्लाउन सक्दैन । इतिहास भनेको विजय, पराजय, जित, हार तथा क्रान्ति र प्रतिक्रान्तिको गजबको श्रृंखला हो । एउटा क्रान्तिकारीले त्यो श्रृंखलालाई बुझ्न सक्नुपर्छ । त्यही बुझाइ र चेतनाले मात्र न्यायपूर्ण मुक्ति युद्धलाई वैचारिकरुपमा बलियो बनाउँदै विजयको दिशातिर अगाडि बढाउन सक्छ । इतिहासमा न्यायपूर्ण युद्धका सहिदहरु मरेर पनि बाँचिरहेका हुन्छन् । गद्दारहरु एक क्षण जितेर पनि इतिहासमा मरिरहेका हुन्छन् ।
मानव जातिको विकास, प्रगति र सभ्यताको इतिहासमा अन्यायपूर्ण युद्धको नेतृत्व गर्ने युद्ध सरदारहरुको तुलनामा न्यायपूर्ण युद्धको बीचबाट जन्मने गद्दारहरुबाट न्यायपूर्ण युद्धलाई ठूलो क्षति पुगेको देखिन्छ । त्यसैले फ्रान्सेली राज्यक्रान्तिका एकजना महान बौद्धिक व्यक्तित्व भोल्त्यरले ‘म शत्रुहरुसित लड्न सक्षम छु तर मित्रहरुसित लड्न सक्षम छैन’ भन्छन् । भयानक ठूलो त्याग, बलिदान र उत्सर्ग बोकेका विश्वका धेरै न्यायपूर्ण युद्धहरु बाहिरी कारणले भन्दा आन्तरिक कारणले नै पराजयको शिकार भएका छन् । जुन कुरा हाम्रो देशको परिदृश्यमा पनि सत्य हो । समाजमा न्यायपूर्ण र अन्यायपूर्ण युद्ध भौतिक तहमा मात्र चलेको हुन्न । त्यस प्रकारको युद्ध मूलतः विचारको तहमा चल्दछ । विचारमा चल्ने संघर्षले नै भौतिक संघर्षका लागि आधारभूमि तयार पार्दछ । विचारविहीन अवस्थामा न्यायपूर्ण युद्ध चल्न सक्दैन । पुनर्जागरणकाल, फ्रान्सेली राज्यक्रान्ति, रुसको समाजवादी क्रान्ति र चिनियाँ क्रान्तिलगायत विश्वमा भएका सबै क्रान्तिहरु न्यायपूर्ण युद्धका परिणाम थिए । ती क्रान्तिहरु एउटा विचारको प्रवाहमा अगाडि बढेका थिए ।
यस सन्दर्भमा लेनिन भन्छन्– ‘हामीले सपना देख्नुपर्छ ।’ जुन मानिसले न्यायपूर्ण युद्धको विजयको सपना देख्न सक्दैन । क्रान्तिकारी धैर्यता हुँदैन । शीघ्र क्रान्तिको लालसा राख्छ । त्यस्तो व्यक्ति यतिका  वर्ष काम गरियो केही भएन भन्ने निष्कर्षमा पुग्छ । नेताहरुबाट भएका गद्दारी र धोकालाई सिंगो विचार र सिद्धान्तको गद्दारी देख्छ । यो उसको जीवन, जगत तथा इतिहासलाई हेर्ने आदर्शवादी धारणा र छिपछिपे प्रकारको चेतना, सैद्धान्तिक र दार्शनिक स्तरको परिणाम हो । त्यसकारण एउटा क्रान्तिकारीले इतिहासलाई ऐतिहासिक र भौतिकवादी विश्व दृष्टिकोणका आधारमा विश्लेषण गर्न सक्नुपर्छ । त्यसपछि मात्र हामीले पराजित अवस्थामा रहेको न्यायपूर्ण युद्धभित्र पनि विजयको निकै उज्यालो भविष्य देख्न सक्छौं । जब हामी जीवन, जगत तथा ऐतिहासिक परिघटनाहरुलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणले हेर्ने, बुझ्ने र विश्लेषण गर्ने क्षमता राख्दैनौं, त्यस पश्चात् हामी निराशावादी, पलायनवादी र यथास्थितिवादी हुँदै प्रतिक्रान्तिकारीसम्म बन्न पुग्दछौं । त्यसकारण कुनै पनि न्यायपूर्ण युद्धका लागि सिद्धान्त, दर्शन र विचारमा दृढता पहिलो शर्त बन्न जान्छ ।
आजको विश्वमा पनि न्यायपूर्ण र अन्यायपूर्ण युद्ध चलिरहेका छन् । आजको समकालीन विश्वमा मूलतः अमेरिकी साम्राज्यवादले विश्वव्यापीरुपमा अन्यायपूर्ण युद्धको जाल फिंजाइरहेको छ । त्यसका विरुद्धमा विश्वभर न्यायपूर्ण संघर्षहरु तथा युद्धहरु चलिरहेका छन् । तर ती न्यायपूर्ण युद्ध र संघर्षहरुले अमेरिकी साम्राज्यवादका विरुद्धमा विजय प्राप्त गर्न सकेका छैनन् । ल्याटिन अमेरिका, मध्यपूर्वी एसियाका मुलुकहरुमा तथा सिंगो अफ्रिकाका कैयौं मुलुकमा अमेरिकी साम्राज्यवादले अन्यायपूर्ण युद्ध थोपरिरहेको छ । द्वितीय विश्वयुद्ध पछाडि अमेरिकाले वैश्विकस्तरमा आम नरसंहार मच्चाउँदै आएको छ । अन्यायपूर्ण युद्धको खेती अमेरिकाको प्राण भएको छ । त्यसैले लेनिनले भनेका थिए– ‘साम्राज्यवाद युद्धबिना बाँच्न सक्दैन’ लेनिनको पालामा बेलायती साम्राज्यवादको विश्वव्यापी प्रभुत्व थियो ।
द्वितीय विश्वयुद्धपश्चात् बेलायतको स्थान अमेरिकाले लिएको हो । तत्कालीन सोभियन संघ सन् १९९० सम्म अमेरिकाको समानान्तर महाशक्तिका रुपमा रहेको थियो । सन् १९९० मा सोभियत संघमा घोषितरुपमा पूँजीवादको पुनस्र्थापना भएपछि एकल ध्रुवीय महाशक्तिका रुपमा अगाडि आएको हो । शीत युद्धकालमै अमेरिकाले विश्वका चिली, इण्डोनेसियालगायतका मुलुकमा कम्युनिष्ट संहार गरेको थियो । आज अमेरिका विश्व सम्पदाको लुटमा सक्रिय छ । विश्वभर आफ्नो वर्चश्वको सत्ता कायम गर्न चाहन्छ । अमेरिकाको सो खतरनाक रणनीतिको दुश्चक्रमा नेपाल पनि फस्दै गएको देखिन्छ । त्यसो त भारतका प्रगतिशील इतिहासकार विकास मुखर्जीले अमेरिकालाई मानवतावादको विश्वको सबभन्दा ठूलो शत्रु बनाएर एउटा लामो कार्यपत्र लेखेका छन् ।
विचारको तहमा होस् या भौतिक युद्धको तहमा आज क्रान्तिकारीहरुका लागि निकै कठिन र प्रतिकूल अवस्था सिर्जना भएको छ । कम्युनिष्ट क्रान्ति भएका मुलुकमा भएको प्रतिक्रान्तिले न्यायपूर्ण युद्धको धरातल कमजोर भएको देखिन्छ । न्यायपूर्ण युद्धका अगाडि धेरै कठिनाइ र विघ्न वाधाहरु छन् । आजको दुनियाँ हामीले चाहेको र सोचेजस्तो छैन ।
क्रान्तिकारी माक्र्सवादी लेनिनवादी शक्तिहरु भन्दा प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी र संशोधनवादी तागतहरु बलिया देखिन्छन् । सामान्य व्यावहारिक मानिसहरुले यसैलाई सत्यको गजले नाप्छन् । आजको हाम्रो समाजको मूलधार विवेकवादी, तर्कशील, प्रमाणवादी र सत्यवादी छैन । अन्धविश्वासी, रुढीवादी, परलोकवादी र उपभोक्तावादी मात्र छ । जीवन, जगत र समाजलाई द्वन्द्वात्मक र ऐतिहासिक सामाजिक चेतनास्तरको मापदण्डबाट बुझ्न सक्दैन । आजको यो उत्तर आधुनिक युगमा त मानवीय चेतना विपर्यको मार्गमा हिंडेको देखिन्छ । समग्रमा हेर्दा आजको पूँजीवादी विश्व व्यवस्थाले मानव सभ्यतालाई नै बर्बाद बनाएर त्रासदीमा बाँच्न विवश बनाएको छ । यी सबै प्रतिकूलताका बीचमा उभिएर एउटा सच्चा क्रान्तिकारीले परिवर्तन, सामाजिक मुक्ति र विजयको सपनाको झण्डालाई कदापि झुक्न दिनुहुँदैन । यही नै क्रान्तिकारी आन्दोलन वा न्यायपूर्ण युद्धको महान सौन्दर्यको गाथा हो ।
द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी सिद्धान्तले यो दुनियाँ बोधगम्य छ मात्र भन्दैन परिवर्तनशील छ पनि भन्दछ । एकपटक निकै शक्तिशाली र अपराजित जस्तो देखिने अन्यायी राज्यसत्ता समयको एउटा कालचक्रमा तासको महल जस्तै ढल्छ । विश्वको इतिहासमा यस्ता धेरै उदाहरण मात्र दिन सकिने होइन कि विश्व इतिहास नै यस्तै उदाहरणहरुको खजाना हो । न्यायपूर्ण संघर्ष र युद्धले ठूला–ठूला विश्वलाई हल्लाएका साम्राज्यहरुलाई ढाल्छ । हिंजो सयौं वर्ष विश्व हल्लाएको बेलायती साम्राज्यवाद अस्तायो ।
एकदिन न्यायपूर्ण युद्धका अगाडि विश्व साम्राज्यवाद तथा सम्पूर्ण प्रतिक्रियावादी अन्यायपूर्ण राज्यसत्ता ध्वस्त हुनेछ । त्यो उज्ज्वल भविष्यका लागि क्रान्तिकारीहरुले क्रान्तिकर्म गर्न छोड्नुहुँदैन । न्यायपूर्ण युद्ध निरन्तर सकारात्मक संक्रमणको मार्गमा हिंड्छ । त्यो मार्ग बक्ररेखित हुन्छ भन्ने कुरामा एउटा क्रान्तिकारी प्रष्ट हुनुपर्छ । यो नै इतिहास र दर्शनको आधारभूत सच्चाई तथा सौन्दर्यता हो । यही सौन्दर्यताको प्रवाहमा न्यायपूर्ण युद्धले विजय प्राप्त गर्ने र एउटा सुन्दर मानवतावादी व्यवस्थाको रातो सूर्य क्षितिजबाट उदाउने छ हजारौं अँध्याराहरुलाई चिर्दै । त्यसकारण लेनिनले भनेजस्तै एउटा क्रान्तिकारीले कहिल्यै सपना देख्न छोड्न हुन्न । त्यो सपना हो,  साम्यवादी समाज स्थापनाको महान् सपना ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित