रवि पाण्डेय, नवलपरासी,२८ बैशाख । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले संयुक्त आन्दोलनको क्रममा सोमबार प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका छन् ।भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सरोकार संयुक्त संघर्ष समिति नवलपरासीले सरकारले राज्य आतंक सिर्जना गरेर सुकुम्बासीलाई बिना विकल्प घरबासबिहीन बनाउने कार्य गरिरहेकोले त्यसका बिरुद्ध प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । कार्यक्रममा समितिका संयोजक चुडामणि भण्डारीले जनताको आवासको अधिकार सुनिश्चित गर्नुको सट्टा उल्टै दमनमा उत्रनु दुखद रहेको बताए । ज्ञापनपत्र बुझ्दै नवलपरासीका प्रजिअ दीपकराज नेपालले संघर्ष समितिबाट प्राप्त ज्ञापनपत्रलाई प्रधानमन्त्री कार्यालय सम्म तुरुन्त पठाउने प्रतिबद्धता जाहेर गरे । संघर्ष समितिका अनुसार ३० गते पालिकामा मागपत्र बुझाउने, जेठ ५ गते जिल्लामा सक्रिय राजनितिक दल लगायत सँग सर्वपक्षीय अन्तरक्रिया,जेठ ११ गते जिल्लाब्यापी बृहत आन्दोलन गरिनेछ । उक्त संघर्ष समितिमा ६ वटा सुकुम्बासी संघसंगठन आबद्ध छ्न् ।

