–नरेन्द्रबहादुर थापा
१. साम्राज्यवाद भनेको के हो ?
साम्राज्यवाद भनेको अर्काको देश कुनै न कुनै हिसाबले नियन्त्रण वा कब्जा गरी आफ्नो स्वार्थ सिद्धीको लागि शासन गर्ने नीति हो । आजको युग २१औँ शताब्दीको पुजीवादी युग हो। यो २१औं सताब्दीको युग भए पनि खास गरेर बीसौं शताब्दीमा जस्तै साम्राज्यवादका विरुद्धमा विश्व सर्वहारा क्रान्तिले निरन्तरता पाएको छ ।अर्थात् यो युग विश्व साम्राज्यवाद र विश्व सर्वहारा क्रान्तिको वीचको अन्तरविरोधको युग भएको हुनाले यस युगमा यी दुई तत्वहरु बीचको अन्तरविरोध चलिरहनु स्वभाविक छ । तर अघिल्लो शताब्दीको युगको तुलनामा यस युगमा विश्व राजनीतिमा परिवर्तन आएको छ।
२.पहिलेको साम्राज्यवाद
तत्कालीन समयमा विश्वमा शक्तिशाली देशहरूले कमजोर मुलुकलाई प्रत्यक्ष सैनिक हस्तक्षेप गरी कब्जा गर्दथे । शक्तिशाली मुलुकहरु भनेका आर्थिक रुपले सम्पन्न साम्राज्यवाद तथा उपनिवेशवादको नीति र सिद्धान्त अवलम्वन गर्ने साम्राज्यवादी देशहरू हुन् । ती कमजोर औपनिवेशिक मुलुकहरुलाई शक्तिशाली साम्राज्यवादी मुलुकहरूले उपनिवेशवादको नीति प्रयोग गर्दै आफ्नो उपनिवेशकोरूपमा कब्जा गरी प्रत्यक्ष शासन गर्दथे । ती गरीब र कमजोर मुलुकहरूको समूहलाई साम्राज्यवादका औपनिवेशिक मुलुकहरूकोरूपमा बुझिन्थ्यो।
३.साम्राज्यवादको विद्यमान स्थिति र फासीवादको प्रयोग
अहिले २१ औं सताब्दीको विश्व राजनीतिमा कैयौं परिवर्तनहरु आएका छन् । यो शताब्दीको बदलिँदो विश्व राजनीतिक परिवेशमा साम्राज्यवाद र फाँसीवादले नयाँ र सूक्ष्म रूप धारण गरेका छन्। विशेषगरी नेपाल जस्ता नवऔपनिवेशिक (नियोकोलोनिएल)मुलुकहरूमा यसको प्रभाव प्रत्यक्ष सैन्य हस्तक्षेपबाट बदलिएर अब यो आर्थिक, सांस्कृतिक र राजनीतिक माध्यमबाट प्रकट हुने गरेको छ।
परम्परागत रूपमा साम्राज्यवाद भन्नाले एउटा शक्तिशाली देशले अर्को कमजोर देशलाई प्रत्यक्ष औपनिवेशिकरूपमा कब्जा गर्दथ्यो। तर २१औँ शताब्दीमा साम्राज्यवादले अप्रत्यक्षरूपमा नयाँ ढंगले कमजोर मुलुकमा आफनो उपनिवेशको रूपमा शासन गर्ने भएको हुनाले औपनिवेशिक मुलुकहरूले अहिले ुनवऔपनिवेशिक रूप धारण गरेका छन् । यहाँ ती नव औपनिवेशिक देशहरू झन्डा र भूगोलमा त स्वतन्त्र देखिन्छन्, तर उनीहरूको अर्थतन्त्र, निर्णय प्रक्रिया र संस्कृतिमा विदेशी शक्तिहरूको अदृश्य नियन्त्रण रहन्छ। यही नियन्त्रणलाई टिकाउन कतिपय अवस्थामा साम्राज्यवादीहरुले फाँसीवादलाई एउटा हतियारको रूपमा प्रयोग गर्ने गरेका छन्। त्यसैले अहिले फासीवाद नवऔपनिवेसिक मुलुकहरूलाई आफ्नो नियन्त्रणमा राख्ने साम्राज्यवादीहरुको हतियारको रूपमा प्रयोग हुने गरेको छ ।अब साम्राज्यवादले पनि आफ्नो नयाँ रुप धारण गरेको छ ।
४.साम्राज्यवादको नयाँ स्वरूप
आजको साम्राज्यवाद पहिलेको जस्तै बन्दुक र गोली लिएर आउने होइन ।अहिले यसले औपनिवेशिक मुलुकहरूलाई प्रलोभन देखाएर प्रभावित गर्ने केही सम्झौता र शर्तहरु लिएर आउने गरेको छ। यही नै साम्राज्यवादको नयाँ स्वरुप हो । यसका मुख्य माध्यमहरू निम्न छन् ः
आर्थिक ऋणको पासोः साम्रावादीहरुले नयाँ ढंगले बहुराष्ट्रिय कम्पनी र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमार्फत कमजोर देशहरुलाई विभिन्न प्रलोभनमा पारी नयाँ ढंगले प्रभावित गरेर ती मुलुकहरूको प्राकृतिक स्रोत,साधन र बजारमाथि अप्रत्यक्षरूपमा कब्जा जमाउँँदै आउने गरेका छन।औपनिवेशिक मुलुकहरू साम्राज्यवादले राख्ने गरेका संम्झौता र सर्तहरू प्रति सजग हुन जरुरी छ।
सांस्कृतिक अधिपत्यः उनीहरूले औपनिवेशिक मुलुकहरूमाथि आफ्नो भाषा, जीवनशैली र उपभोगवादी संस्कृति लादेर औपनिवेशिक मुलुकहरुको स्थानीय मौलिकता नष्टगर्ने तर्फ अग्रसर हुँदै आउने गरेका छन्,जुन कुरा गरीब मुलुकहरूका लागि चुनौतीपूर्ण बनेको छ ।
नीतिगत हस्तक्षेपः नयाँ रुप लिएर आएका साम्राज्यवादीहरुले कुनै पनि देशको बजेट, कानुन र वैदेशिक नीतिमा पर्दा पछाडिबाट खेल्ने गरेका उदाहरणहरु प्रशस्त पाइन्छन् ।
५.फासीवादको नयाँ उदय
साम्राज्यवादको बीचबाट फासीवादको नयाँ उदय भएको छ । नवऔपनिवेशिक मुलुकहरूमा जब जनता आर्थिक संकट र बेरोजगारीबाट थिचिन्छन्, तब त्यहाँका शासकहरूले आफ्नो सत्ता बचाउन फाँसीवादको सहारा लिन्छन्। २१औँ शताब्दीको फाँसीवादका विशेषताहरू यस्ता छन्ः
उग्र राष्ट्रवादको नाराः साम्राज्यवादीहरुद्वारा वास्तविक समस्या (जस्तैः गरिबी, भ्रष्टाचार)बाट ध्यान मोड्नका लागि काल्पनिक शत्रु खडा गरेर जनतामा घृणा फैलाउने कार्य गर्दै आएका छन् ।
दमनकारी राज्यसत्ता ः फासीवादले विचार अभिव्यक्तिको स्वतन्त्रतामाथि बन्देज लगाउँछ र विरोधी स्वरहरूलाई राज्यको शक्ति प्रयोग गरेर दबाउने गर्दछ।
क्रोनी क्यापिटलिज्म (आसेपासे पुँजीवाद)ःफाँसीवाद भनेको मिलेमतो गरेर अर्थात् मिलेर खाने पुजीवादी प्रणाली हो । यसलाई आसेपासे पुजीवाद पनि भनिन्छ । फासीवादी राजनीतिक प्रणालीमा सीमित व्यापारी र राजनीतिज्ञको मिलेमतोमा देशको ढुकुटी समाप्त हुने गर्दछ । यही नै फासीवादको आर्थिक आधार हो र राजनीतिक चरीत्र पनि हो ।
६.साम्राज्यवाद र फासीवादबीचको सम्बन्ध
यी दुई तत्वहरु साम्राज्यवाद र फासीवद एकअर्काका परिपूरक हुन्। साम्राज्यवादी शक्तिहरूलाई आफ्नो स्वार्थ अनुकूलको वातावरण बनाउन एउटा ुकठपुतली वा तानाशाह शासकको खाँचो पर्छ। अर्कोतर्फ, आन्तरिकरूपमा कमजोर र अलोकप्रिय शासकलाई सत्तामा टिकिरहन वैदेशिक शक्तिको समर्थन चाहिन्छ। यसरी विदेशी साम्राज्यवादी हस्तक्षेप र आन्तरिक फासीवादको एउटा खतरनाक गठजोड तयार भएको हुन्छ। यही अप्राकृतिक र खतरनाक गठजोडको कारणले गर्दा कमजोर ,गरीब र नवऔपनिवेशिक मुलुकहरूको राष्ट्रियता र राष्ट्रिय स्वाधीनतामा खतराको स्थिति उत्पन्न हुन जान्छ । यसको ज्वलन्त उदाहरण नेपालमा अहिले कठपुतली सरकार बनाएर फाँसीवादको दिशामा अघि बढेको देखिएको छ ।
७.नेपालमा अमेरिकी साम्राज्यवादको प्रभाव ः
नेपालमा अमेरिकी साम्राज्यवादको आर्थिक, राजनीतिक र साँस्कृतिकरुपले प्रभाव परेको छ ।यी सबै प्रभावबारे निम्न अनुसार बुझ्नुपर्दछ।
आर्थिक प्रभावः अमेरिकाले नेपालमा सिधै उपनिवेशकोरूपमा शासन गरेजस्तो नदेखिए पनि आर्थिक सहयोग, अनुदान र परियोजना मार्फत प्रभाव पारेर शासन गरेको देखिन्छ । यसको उदाहरण मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)हो। यसरी यो सहयोगकोरुपमा भनिए पनि अमेरिकी स्वार्थमा जोडेर हेर्नुपर्दछ । यसले नेपाललाई भूराजनीतिक प्रतिस्पर्धामा धकेल्ने उद्देश्यबाट काम गरेको छ ।
राजनीतिक प्रभावः अमेरिकी साम्राज्यवादको नेपालमा कूटनीतिक प्रभाव जस्तो देखिए पनि यो उसको हस्तक्षेपकारी भूमिका नै भएको बुझ्नुपर्छ ।अप्रत्यक्ष भनेपनि विभिन्न नाममा एनजीओ ,आइएनजीओ खोलेर प्रत्यक्ष शासन गर्न खोजेको छ ।यसरी नै आफ्नो अनुकूलको कठपुतली सरकार बनाउन सफल भयो ।यो सरकारबाट आफ्नो सैन्य रणनीति अन्तरगतको स्टेट पार्टनर्शिप प्रोग्राम (एसपिपि)पारित गराउन चाहन्छ ।
सांस्कृतिक प्रभाव ःअमेरिकी संस्कृति नेपालमा मिडिया र प्रविधिबाट फैलिएको छ। फिल्म, संगीत, फेसन र जीवनशैलीमा अमेरिकी प्रभाव स्पष्ट छ । फेसबुक, युट्युब जस्ता प्लेटफर्मले यसको प्रभावलाई अझ बढाएका छन्।
सैन्य रणनीतिक प्रभाव ःनेपाल औपचारिक रूपमा कुनै सैन्य गठबन्धनमा छैन। तर युनाइटेड स्टेट आर्मीसँग तालिम र सहयोगका कार्यक्रमहरू हुने गरेको देखिन्छ । अमेरिकाले इन्डो प्यासिफिक रणनीति मार्फत दक्षिण एसियामा आफ्नो उपस्थिति बढाउन चाहन्छ।
८.निष्कर्ष
२१औँ शताब्दीमा नवऔपनिवेशिक देशहरूका लागि साम्राज्यवादबाट बिशेष गरि अमेरिकी साम्राज्यवाद बाट बच्न धेरै चुनौतीहरुको सामना गर्नु पर्दछ । ती मध्ये मुख्य चुनौती भनेकै आफ्नो सार्वभौमसत्ता र लोकतन्त्र जोगाउनु हो। जबसम्म कुनै पनि देश आर्थिक रूपमा आत्मनिर्भर हुँदैन र जनतामा सचेत राजनीतिक चेतना हुँदैन, तबसम्म साम्राज्यवाद र फाँसीवादको छाया परिरहन्छ। यसको लागि हामी सदैव सचेत रहनु आवस्यक छ।
आजको आवश्यकताः वास्तविक स्वाधीनताका लागि हामीले केवल सीमाको सुरक्षा गरेर मात्र पर्याप्त हुँदैन । त्यसका लागि आजको स्थितिमा आर्थिक आत्मनिर्भरता, समावेशी लोकतन्त्र र वैचारिक स्वतन्त्रताको रक्षा गर्नु प्रत्येक नव औपनिवेशिक मुलुकहरूका लागि अनिवार्य आवश्यकता हुन्छ ।
मिति ः २०८३ ज्येष्ठ ५ गते

