पर्या प्रदुषण र मानवको दायित्व

मोदनाथ मरहट्टा

पर्यावरण सम्बन्धमा हामी कतिपय लेखकहरूको चासोभित्र नपरेको वा महत्व नदिइएको जस्तो देखिन्छ तर हामी लेखक भनिएकाहरूले यो विषयमा चासो राख्नु पर्ने भएको छ ।
वरपर नजर दिँदा विषयहरू खात लागेर आउँछन । हामीले बुझ्नुपर्ने र बुझाउनु पर्ने थुप्रै विषयहरू रहेका छन् । हरेक दिन म खोला छेउमा उभिएको(मेरो आवाशबाट) एउटा घरको बार्दलीबाट बाहिर आँखा डुलाउँछु । पुस महिनाको चिसोमा खोलाको पानीभित्रबाट बालुवा निकालेर कुनै मजदुरले थुन्सेमा बालुवा भरिरहेछन् । त्यो कर्म उनकालागि पेट पाल्ने आधार पनि होला । यस्तै ठूला खोलाको किनार खोतलेर बालुवाको पहाड बनेको पनि देखिन्छ । तपाईं शहर बजारको छेउ कुना घुम्नुस त्यहाँ बालुवा र रोडा ढुङ्गाको पहाड देख्नु हुन्छ त्यसको पछाडी कोही सम्पन्न पात्रको पूँजी सञ्चयको लालसा लुकेको पनि हुन्छ । यहाँ पर्यावरण प्रदुषणबारे बहसको उठान गरिने छ ।
कोशिय रुपमा पर्यावरणलाई चारैतिर फैलिएको वातावरणका रुपमा अथ्र्याइएको हुन्छ । पर्यावरणमा जैविक र अजैविक घटकहरु रहेका हुन्छन् । सरल अर्थमा पृथ्वीको बाह्य परिवेश नै पर्यावरण हो । यसमा प्रदुषण बढ्दै जानु आम नागरिकको चिन्ता र चासो हो ।
हामी बाँचेको वातावरण मानव लगायत सम्पूर्ण प्राणीका लागि महत्वपूर्ण घर हो । वातावरणमा नै प्राणीको अस्तित्व अडिएको छ । वातावरणका प्राकृतिक श्रोतहरूको प्रयोगबाट नै जीवन प्रक्रिया अगाडि बढेको हुन्छ ।मानिस आज जुन अवस्थामा छ त्यो सम्पूर्ण रूपमा वातावरणको देन हो । वास्तवमा भन्नुपर्दा वातावरणको अत्याधिक उपयोगका कारण विश्वको यो विकास सम्भव भएको हो । मानव जीवनको अस्तित्व वातावरणमा अडिएको छ । चाहे त्यो भौतिक वातावरण होस वा अभौतिक यसको परिवर्तन र विनासमा हामी मानवनै जिम्मेवार छौँ र हुनु पर्दछ ।
हामी सुचना सुन्ने गर्छौँ “अमुक खोलाले वस्ती बगायो “, प्रत्येक वर्षको वर्षादमा हामी सुन्ने र व्यहोर्ने साक्ष यहि हो तर हामी यसको कारण खोज्दैनौ । खोला या

नदी आफू खुशी बस्तीमा पस्दैन ।त्यहाँ मानवीय ध्वंसको कारण हुन्छ । कसैले जिजीवीषाका कारण र कतिको आवश्यकताका कारण अतिक्रमण हुने गरेको हुन्छ । खोला आफैमा चेतनशील छैन तर प्रकृतिको कारण उ गतिशील भएको हो । उसले आफ्नो आकार लिएको हो । कुरा खोला या नदीको मात्र होइन प्राकृतिक सम्पदाको दोहनले निम्तिएका संकटको हो ।
मानव समुदायको विकाससँगै अनेक भौतिक वस्तुको उत्पादन र प्रयोग पनि बढ्यो अनि नया नया वस्तुहरूको खोज हुन थाल्यो । यो विज्ञानको देन हो तर यसै विज्ञानलाई टेकेर विनास पनि निम्तिइरहेको छ ।
वैज्ञानिकहरु भनिरहेछन् ओजनको तह घटिरहेको छ र यसको कारण कलकारखानाले फालेको प्रदुषित वायु नै हो । ओजन तहको विनास, त्यसको परिणाम स्वरूप सूर्यबाट अत्यधिक मात्रामा परावैजी किरण पृथ्वीमा आउने गरेको कारण पृथ्वीमा उष्णता, जलवायु परिवर्तन,सुख्खा र मरुभूमीकरणजस्ता समस्या विश्वव्यापी रूपमा अत्याधिक जल्दोबल्दो रूपमा देखिएको छ। विकासका क्रममा वातावरण प्रदुषणजस्ता समस्या टड्कारो रूपमा देखिएको छ। वायु,जल र ध्वनि प्रदुषणले मानिसमा मानसिक रोग लगायतका विभिन्न घातक रोगहरू निम्ताएको छ।
जसैजसै मानव सभ्यताको विकास भइराखेको छ । त्यसैगरी, पर्यावरणमा प्रदूषणको मात्रा बढ्दै गइराखेको छ । यसलाई बढाउनमा मानिसको क्रियाकलाप तथा उसको जीवनशैली धेरै हदसम्म जिम्मेवार छ । सभ्यताको विकासको साथसाथै मानिसले कयौं नयाँ खाले आविष्कार गरेको छ जसबाट औद्यागीकरण तथा नगरिकरणको प्रवृति बढेको छ । जनसंख्या वृद्धिको कारण मानिस दिन प्रतिदिन वन फँडानी गर्दै खेती र घरका लागि जमिनमा कब्जा गरिराखेको छ । खाद्य पदार्थहरूको आपूर्तिका लागि रसायनिक मलको प्रयोग भइराखेको छ ।रुख–बिरुवा, वन–जंगल, पशुपंक्षी, किरा–फट्यांग्रा, माटो, पानी, हावादेखि हाम्रो आँखाले देख्न नसिकने सुक्ष्म जीवाणुहरु छन् र मानव जीवन अस्तित्वमा छ । यीमध्ये कुनैपनि एउटा चिजको अनुपस्थितिमा पुरा पर्यावरणको सन्तुलन नै बिग्रन्छ । त्यसपछि न प्राण रहन्छ, न प्राणी ।
हाम्रा पूर्खाहरुले रूख, बिरुवा, पानी, माटो जस्ता वस्तुहरूको संरक्षणको शिक्षा दिएका छन तर हामी यति कृतघ्न छौँ “जुन थालमा खान्छौं त्यसैमा चुठ्छौं “। यसैका कारण वर्तमान अवस्थामा मानवीय क्रियाकलापले वातावरणमा नकरात्मक असर पुर्याएको छ । विगतदेखि नै मानवीय क्रियाकलापका कारण प्राकृतिक वातावरणको गलत प्रयोग बढिरहेको छ । जसलाई वातवरण प्रदुष(णको रुपमा लिन सकिन्छ ।
मानव सजिव प्राणी हो । जसले वातावरणमा सबैभन्दा धेरै हस्तक्षेप गर्दछ ।यसो गर्दा वातावरणीय सन्तुन विग्रन्छ । वातावरणको सन्तुलित प्रयोगबाट नै सवैको कल्याण हुन्छ । वातावरणको परिमार्जन गर्नु वा श्रोतहरू अनुचित प्रयोगबाट विभिन्न समस्या जस्तै रोग व्याधी, सुख्खा खडेरी वा अतिवृष्टी व्यहोर्नु परिरहेछ । आज हामी आफूसँग भएका सुविधाबाट खुशी छौँ तर सन्तुष्ट छैनौं । यसको मुख्य कारण प्रतिकूल हुदैँ गएको हाम्रो प्राकृतिक प्रणाली पनि हो । कलकारखानाबाट निस्कने फोहोर र दुर्गन्ध, मोटर गाडीले फ्याक्ने धुवाँ र वन फँडानीजस्ता कामले हावा र माटो दुवै दूषित हुदैँ गएका छन् । यसले मानिसको जीवनमा ठूलो असर गरिरहेको छ ।
हामीले वातावरणलाई सफा र स्वच्छ राख्न सकियो भने मानिसको सोचमा सकारात्मक सोच आउँदछ । प्रकृतिको शुद्ध वातावरणमा मानिस लगायत अरू प्राणी पनि स्वस्थ रहन सक्छन तर आज वातावरण फोहोर र दूषित भएका कारण मानिसको स्वास्थ्य पनि बिग्रदैँ गएको छ । आजको मानिस प्रतिकूलस्थितिमा पुग्नुमा स्वयम् मानव नै जिम्मेवार छ । उत्पादन र उपभोगका नाममा प्रयोग गरिएका प्लाष्टिकजन्य वस्तुले सडक, बजार र माटोलाई समेत प्रभाव पारेको हामीले भोगिरहेछौं ।
वातावरण मानव जीवनको अस्तित्वसँग जोडिएको विषय हुँदाहुँदै पनि आज विश्वमा मानवकै कारण थुप्रै समस्या उत्पन्न भई वातावरणमा प्रतिकूलता थपिएका छन्। प्रकृतिले मानव उपयोगी वातावरण सुम्पिएको अवस्थामा आज मानिसले विकासको होडमा वातावरणमाथि ठूलो शोषण गरेको छ र आफ्नो जीवनको अस्तित्वलाई दाउमा राखेको छ। क्षणिक फाइदालाई मात्र हेर्दा वातावरण मानव प्रतिकूल बन्दै गइरहेको छ। अझ पनि मानिसको ध्यान पूर्णरूपमा वातावरण संरक्षणमा जान सकेको छैन। वातावरणमा रहेका प्राकृतिक श्रोत र साधनको अत्यधिक शोषणले आज मानव अस्तित्व नै सङ्कटमा परेको छ। वातावरण व्यक्तिको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विषयहो। यही आज विश्वसामु जल्दोबल्दो समस्याको रूपमा रहेको छ। विकासका क्रियाकलापले पनि वातावरणलाई विनास गरेको हुन्छ। आजका

विकासले भावी पुस्ताको जीवन प्रक्रियामा असर नपुग्ने विकास दिगो वा वास्तविक विकास हो। विकासका नाममा कुनै पनि प्राणीको बाँच्न पाउने अधिकारलाई हनन गर्नुहुँदैन। तर यसो भइरहेको छ। अब ढिलो नगरी वातावरण संरक्षणका लागि सरकारीस्तरबाट पनि अझ प्रभावकारी नीतिनिर्माण गरी कार्यान्वयन गर्न जरूरी छ। जसका लागि प्राकृतिक श्रोत साधनको अतिक्रमणलाई नियन्त्रण गर्ने, विकासका क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्व मूल्याङ्कन गरेर मात्र सञ्चालनको अनुमति दिने, अत्याधिक वायु प्रदुषण, ध्वनि प्रदुषण गर्ने सवारी साधनहरू, कलकारखानाहरू, रसायनिक भट्टीहरू आदिलाई तिनिहरूबाट हुने प्रदुषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्नेजस्ता कार्य सरकारी स्तरबाट हुन आवश्यक छ। वातावरण संरक्षणका नाममा चारतारे होटलहरूमा बहस गर्ने , निर्णय गर्ने तर व्यवहारमा नजाने प्रवृतिको अन्त्य हुनु पर्दछ । साथै सरकारी निकायको प्रत्येक वार्डमा वातावरण सेल स्थापना गर्न सकिन्छ। जसबाट वातावरण संरक्षणका लागि स्थानीय समुदायसँग सहकार्य गर्दै मानवअनुकूलको वातावरण निर्माणमा सहयोग जुट्छ। जनस्तरबाट पनि वातवरण संरक्षणमा जुटनु उत्तिकै आवश्यक छ। फोहोर मैला व्यवस्थापन, वृक्षारोपण र संरक्षण, प्राकृतिक श्रोत साधनको समुचित प्रयोग, वातावरण प्रदुषणसम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गर्न सकिन्छ। स्वच्छ वातावरण भावी पिंढीलाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो। स्वच्छ वातावरण हाम्रो मात्र नभई हाम्रा भावी सन्तानको समेत अधिकार हो। यस विषयमा बेलैमा सोचौं। हैन भने हामी त समस्याको सिकार बन्छौ नै, हाम्रा सन्तानले समेत हामीलाइ धिक्कार्ने छन यसकारण पुँजीवादी उत्कर्षमा पुगेको आजको विश्वमा पुँजीवादबाट सिर्जित तमाम समस्याहरूको समाधान गर्दै सुन्दर संसारको निर्माण गर्ने अभिलाषा राख्नु आजको टड्कारो आवश्यकता हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित