– मोहनसिंह तामाङ
जिल्ला इन्चार्ज, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला समिति उदयपुर
० गत फागुन २१ गतेको संसदीय निर्वाचनबाट गठित रास्वपाको बालेन शाहको नेतृत्वको सरकारले गरेका कामहरुलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
–चुनाव भन्दा पहिले नेपाली जनताले रास्वपाबाट देश र जनतालाई केही राहत मिल्छ कि भन्ने आशा गरेका थिए । उनीहरुले अनेकौं आसा पनि देखाएका थिए । ती देखाएका आशा र आश्वासनहरु झुठा रहेछन् भन्ने कुरा यो दुई महिनाको सरकारको क्रियाकलापबाट प्रष्ट भएको छ । सारमा यो सरकार प्रतिक्रियावादी नै हो, यसले कही गर्न सक्दैन भन्ने हामीलाई लागेको थियो । रुपमा केही सुधारात्मक गरिहाल्छ कि भन्ने थियो । त्यो पनि होइन रहेछ ।
जनजीविकाको सवालमा कुरा गर्दा भोट पाउनको लागि सुकुम्बासी समस्या समाधान गर्छु भनेर रास्वपाका नेताहरुले भने तर सरकारमा गइसकेपछि व्यवस्थापन गर्ने नाममा वर्षा लाग्न लागेको बेला उठिबास लगायो । जनतन्त्रको कुरा गर्नुहुन्छ भने टे«ड युनियन र विद्यार्थी संगठनमाथि प्रतिबन्धको घोषणा ग¥यो । राष्ट्रिय स्वाधीनताको कुरा गर्नुहुन्छ भने कालापानी, लिपुलेक, लिम्पियाधुराबारे अडान लिएको हो कि जस्तो बाह्य रुपमा देखाउने तर समस्या समाधानको लागि ठोस कदम चालेको देखिंदैन । अझ जेष्ठ १७ गते प्रधानमन्त्री बालेन साहले संसदमा साँसदहरुले गरेका प्रश्नहरुको जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने गैरजिम्मेवार र राष्ट्रिय स्वाधीनता विरोधी अभिव्यक्ति दिएर राष्ट्रघाती मुखौटो उदांगो पारेका छन् । समग्रमा भन्दा बालेनले नेतृत्व गरेको सरकार जनविरोधी छ । फासीवाद उन्मुखन छ । यो सरकार प्रतिक्रियावादी व्यवस्थाको खास प्रतिनिधि हो भन्ने पुष्टि भएको छ ।
० यदि छानवीन गरेर मात्र सुकुम्बासी समस्या समाधान गर्ने भनेको भए सरकारले बस्ती उठाउनै सक्ने थिएन, त्यही भएर पहिले बस्ती उठाउनु परेको हो भन्ने रास्वपा र सरकारको भनाई छ त ?
–छानवीन गर्नु हुन्न कसैले पनि भनेको छैन । सरकार भनेको त यही संविधान अनुसार पनि जनताको जीउ,धनको रक्षा गर्ने अभिभावक हो । अहिले नै वस्ती नउठाउँदा त्यस्तो अनिष्ट हुनेवाला थिएन । वर्षाको बेला बस्ने बास र खाने गासको टुंगो नभएपछि चिल्लविल्ल हुने अवस्था आएको छ । यही बेला रोगव्याधी पनि फैलने बेला हो । यस्तो बेलामा सरकारले अमानवीय ढंगले शत्रु देशको नागरिकलाई जस्तो व्यवहार ग¥यो ।
० वर्तमान सरकारले संविधान संशोधन गर्न एउटा कार्यदल बनाएर काम गरिरहेको छ । संविधान संशोधन होला त ?
– संविधान संशोधनबाट देशको मूल समस्या समाधान हुँदैन । त्यसकारण हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संविधान संशोधन होइन संविधान पुनर्लेखनको माग राखेको छ । त्यसका लागि स्वाधीन संयुक्त सरकारको गठन हुनुपर्ने विचार राखेको छ । संविधान संशोधन गर्ने नाममा जनयुद्ध र जनआन्दोलनबाट प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी, समानुपातिक अधिकार अपहरण हुन्छ भने हाम्रो पार्टी त्यस्तो प्रतिगामी कदमको सशक्त प्रतिकार गर्नेछ ।
० जेनजी प्रदर्शनको छानवीन गर्न बनेको कार्की आयोगको प्रतिवेदन सुशिला कार्की नेतृत्वको चुनावी सरकारले त बाहिर ल्याएन नै । वर्तमान बालेन सरकारले पनि अहिलेसम्म औपचारिक रुपमा बाहिर ल्याएको छैन । नेपाली जनताले जनआस्था पत्रिकाले सार्वजनिक गरेको उक्त प्रतिवेदनमाथि टिकाटिप्पणी गर्नुृ परेको छ । प्रतिवेदन औपचारिक रुपमा किन सार्वजनिक नगरेको होला ?
– यदि सुशिला कार्कीको सरकारले प्रतिवेदन सार्वजनिक गरेको भए नेका र एमाले चुनावमै जान नसक्ने सम्भावना थियो। एमाले र कांग्रेस चुनावमा नजाँदा चुनाव नै नहुन सक्ने खतरा देखेर सुशिला सरकारले त्यो प्रतिवेदन सार्वजनिक गरेन । वर्तमान बालेन सरकारले किन सार्वजनिक गरिरहेको छैन त भनदाखेरी आप्mना मान्छेहरु फस्ने डरले वा प्रतिवेदनलाई काटछाँट गरेर आफू अनुकूल बनाउन समय लिएको हुन सक्छ ।
० जेनजी आन्दोलन सम्बन्धी मानवअधिकारको प्रतिवेदन बारे नि?
–मानव अधिकार आयोग पनि दोषीलाई उम्काउने र सत्ताको तावेदारीमा लागेको हुन सक्छ । मानव अधिकार आयोगले जेन्जी आन्दोलनमा वालेन साहको कुनै दोष नदेखाउनाले यो आयोग पनि दोषीलाई उम्काउने खेलमा लागेको हो कि भन्ने आशंका उब्जिएको छ ।
० संसदमा प्रधानमन्त्री नबोल्ने, विपक्षीहरुले प्रधानमन्त्री संसदमा नआउँदा दिनहुँ हंगामा गर्ने, यस्तो चलिरहेको बेला अचानक बालेन संसदमा आए र फेरि देशमा अर्को विवाद सिर्जना गरे ?
–बालेनलाई जवाफ दिन गाह्रो भएर वा बोल्न अप्ठ्यारो भएर बोल्ने प्राक्टिस गर्दै गरेको भएर संसदमा आउन समय लगाएको हुनसक्छ । देशवासीलाई पनि उत्सुकता थियो , कस्तो बोल्दो रहेछ भनेर ? निरंकुश चिन्तनका कारण संसदलाई अटेरी गरेको पनि हुनसक्छ । जेष्ठ १७ गते उनी अचानक आए र इतिहासमा कुनै पनि प्रधानमन्त्रीले नबोलेको बाक्य ‘ नेपालले पनि भारतको जग्गा मिचेको रहेछ ’ बोले र दुनियाँलाई आश्चर्य चकित पारे । उनको यो राष्ट्रघाती भनाई हो । बालेन साहको राष्ट्रघाती अभिव्यक्तिको सर्वत्र निन्दा गर्नु पर्छ ।
० नेपाल अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको खेल मैदान बन्दै गएको हो ?
–व्यवहारमा त्यस्तै देखिंदैछ । हामी भन्दा पहिले नै दक्षिण एसियामा संकटहरु देखिएका थिए । त्यो नेपालमा आएको छ । अमेरिकाको एक छत्र विश्व व्यवस्था बहुध्रुवीय बन्दै गएको छ ।आफ्रनो विश्व भरीको एक छत्रराज कमजोर बन्ने भए पछि ऊ आक्रमक बन्दै गएको छ । त्यसको असर नेपालमा पनि पर्न गएको छ । जेनजी आन्दोलन त्यसैको परिणाम हो ।
० अब व्यक्तिगत कुरापनि सोध्छु । तपाई कसरी राजनीतिक आन्दोलनमा आकर्षित हुनुभयो ?
–म जन्मिएको सप्तरी जिल्लाको पिपरा पश्चिम नामक गाउँ पंचायत थियो । त्यस गाउँमा झापा विद्रोहीहरु (नक्सलाइटहरु) ले सेल्टर बनाई प्रशिक्षण गरेको भनी प्रहरी प्रशासनले २०३३ सालमा ६ जना भाक्चे, भोजे भन्ने पुलामी मगरका दाजुभाई, इन्द्रबहादुर तामाङ, वृद्ध नरसिंह पुलामी मगर, लटे मगर, अर्का भुजेललाई गिरफ्तार गरी लग्यो । करिव ६ महिना उनीहरुलाई बन्दी बनायो । म जम्मा ९ वर्षको थिएँ । गाउँको त्यो घटनाले मलाई बच्चा उमेरमै राजनीतिप्रति चेतना आयो । २०३९ सालमा म परिवारसहित उदयपुरको गाइघाट बसाई सराई गरियो ।
२०४६ सालमा बहुदल आयो । त्यसभन्दा पहिले २०४५ सालमा कौशल चेम्जोङ, विमल कार्की, केशव राउत, रंगिलाल शाह, म मोहनसिंह तामाङले बहुदलीय व्यवस्थाको पक्षमा अनेरास्ववियु (पाँचौं) को पम्प्लेट बहुदलको पक्षमा गाइघाट बजारमा रातीमा टाँसेको थियौं । हामीलाई शंका गरेर प्रहरीले घर घरैबाट पक्रिएर लग्यो । पछि हाम्रा अभिभावकहरुले छुटाएर घर फिर्ता गरे । मेरो मामा पर्ने २०३३ सालमा सप्तरीमा पक्राउ परेका इन्द्रबहादुर तामाङ जो उदयपुर बसाई सरेर आएको थिए, ले कम्युनिस्ट पार्टी एमालेमा लाग्नुपर्छ भने । उनी गाइघाटमा वकील पनि थिए । उनको सुझाव अनुसार नै म एमालेमा फारम भरेर पार्टी जोइन गरे । तत्कालीन एमाले उदयपुर जिल्ला सचिव राममणि पोख्रेलबाट सांगठनिक सदस्यता लिएँ ।
२०५१ सालमा नेकपा (एमाले) को सरकारले गाइघाट बोक्सेका सुकुम्बासीहरुको आन्दोलनलाई सहयोग नगरी दमन गरेको देखेपछि नेकपा (मसाल) मा प्रवेश गरें । मलाई मसालमा प्रवेश गराउनेहरु कमल चौधरी र चन्द्रबहादुर के.सी. हुन् । सुरुमै रक्तिमको कार्यक्रमका सन्दर्भमा अखिल नेपाल युवक संघको उपाध्यक्ष बनाएँ । मसित सँगै एमालेका इन्द्रबहादुर तामाङ सहित राजेन्द्र चौधरी, किशोर राई, हेम राई पनि मसालमा आएका थिए । अनि मसालले मलाई दुई वर्षपछि पार्टी सदस्य दिएको थियो ।
० मसालमा काम गर्दाको स्मरणीय पक्ष के छ ?
–मसालमा धेरै पटक राजनीतिक प्रशिक्षण लिइयो । जसले राजनीतिक चेतनास्तर बढाएको मलाई महशुस हुन्छ । मसालमा छँदा नै राजनीतिक अनुशासनको महत्व बुझियो ।
० ०६२/०६३ को जनआन्दोलनमा तपाईको भूमिका के रह्यो ?
–प्रतिगमनविरुद्धको आन्दोलनमा लाहान, जनकपुर, काठमाडौं गएका थियौं । गाइघाटमा ०५९ सालमा हामीले जनमोर्चा नेपालको तर्फबाट प्रतिगमन विरुद्ध आन्दोलन गाइघाटमा कमला चौधरीको नेतृत्वमा ७० जनाको जुलुश निकाल्यौं तर ०६२/०६३ को जनआन्दोलनमा ५० हजार भन्दा बढी जनता सहभागी भए ।
तत्कालीन जनमोर्चा नेपालका उदयपुर जिल्ला अध्यक्ष अमर परियार, उपाध्यक्ष केपी बराल, सचिव मदन खड्का, नारायण वुर्जा, दुर्गा बुर्जा, अम्बिका रेग्मी, राजेन्द्र चौधरी, म ( टे«ड युनियन महासंघको केन्द्रीय सदस्य) ,शंकर पौडेल, गंगध्वज कार्की, तिलकमान विश्वकर्मा, चुडामणि कार्की, उत्तम रिजाल (विद्यार्थी) गोविन्द दनुवार, लिला वि.क. लगायत हामी जनमोर्चाहरु सक्रिय रुपमा आन्दोलनको नेतृत्व गरेका थियौं । नेका र एमाले भन्दा संगठनमा कम भए पनि रेलको सानो इञ्जिनले ठूला डब्बा ताने जस्तै हामीले गणतन्त्रसम्म नै डो¥याउन सफल भयौं भन्ने लाग्छ ।
राजा ज्ञानेन्द्रले घोषणा गरेको २०६२ माघ २६ को नगर चुनावलाई ७ राजनीतिक दलहरुले बाहिष्कार गर्ने निर्णय गरेका थिए । टोलटोलमा बहिष्कार अभियान चलाइएको थियो । त्रियुगा न.पा. ४ को बजाहाबाट जनमोर्चा नेपालका जिल्ला अध्यक्ष अमर परियार, उपाध्यक्ष केपी बराल, सचिव मदन खडका, कोषाध्यक्ष नारायण बुर्जामगर, सदस्य राजेन्द्र चौधरी, म टे«ड युनियन के.स. मोहनसिंह तामाङ, समता समाजका सदस्य लिलबहादुर वि.क., एमालेको जिल्ला सचिव मणि पौडेल, एमालेको विघटित संसदको सांसद सुरेश कार्की, एमालेकै बलदेव चौधरी, जिफन्टको शशिकुमार राई, कांग्रेका जिल्ला सभापति विदुर बस्नेत, महेन्द्र कुमार राई लगायत हामीलाई जिल्ला प्रहरी कार्यालय गाइघाटको हिरासतमा राख्यो ।
तेस्रो दिन ९० दिको पुर्जी काटेको थियो । वकीलहरुले बन्दी प्रत्यक्षीकरणको रिट राजविराजको पुनरावेदन अदालतमा हालेका थिए । म त्यसबेला दुई चोटी हिरासत परें । नगर निर्वाचन बहिष्कार गर्दा ३ महिनाको पुर्जी दिएको थियो । बन्दी प्रत्यक्षीकरणको रिट सुनवाईको लागि राजविराज लाने वाला थियो । तयारी गर्दै थियो । माओवादीहरुसित नयाँ वस्तीमा सेनाको भीडन्त भएपछि हामीलाई जिल्ला अदालतको रोहबरमा छाड्यो ।
० नेकपा (एकताकेन्द्र –मसाल) को विभाजनलाई फर्केर हेर्दा के भन्नुहुन्छ ?
–नेकपा(एकताकेन्द्र–मसाल) मा मोहनविक्रम सिंह र नारायणकाजी श्रेष्ठको बीचमा अन्तर्विरोध बढ्यो । विशेषतः माओवादीलाई हेर्ने दृष्टिकोणमा भिन्नता थियो । रामसिंह श्रीसले केन्द्रमा ९ जना साथीहरु मिलेर पार्टी फुटाउन हुँदैन भन्दै आवाज उठाउँदा तेस्रो धारको आरोप लाग्यो ।
२०६२ सालको हिउँदमा भारतको गोरखपुर मसालपक्षको मात्र छलफल भयो । छलफल भनेर बोलाइएको थियो र छलफलले पार्टी फुट्दैन भनेर हामी पनि गयौं । तर हलमा पुगिसकेपछि मोहनविक्रमले त्यसलाई भेलामा रुपान्तरण गर्ने भनेपछि हामी एकताका पक्षधर ५७ जना हल बहिष्कार गरेर हिंडेका थियौं । भेलाले पार्टी फुट्ने हुँदा हल बहिष्कार गरेर हिंड्यौं । नारायणी पूर्वको सुरेन्द्र भण्डारी र एकाध जना बाहेक सबै हल छोडेर हिंड्ने मध्येका थियौं ।
नारायणकाजीले नेतृत्व गरेको नेकपा(एकताकेन्द्र–मसाल) २०६५ सालमा नेकपा (माओवादी) सित एकता गर्न पुग्यो । मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा(एकताकेन्द्र–मसाल)ले २०६३ सालको फागुनमा महाधिवेशन गरेर नेकपा (मसाल) नाम पुनस्र्थापित गरे । रामसिंह श्रीसले नेतृत्व गरेको नेकपा(एकताकेन्द्र मसाल) ऋषि कट्टेलले नेतृत्व गरेको नेकपा (मा.ले), सीताराम तामाङले नेतृत्व गरेको नेकपा (मा.ले.मा.) सित एकता गरी २०६३ सालमा नेकपा (एकीकृत) गठन भएको थियो । नेकपा (एकीकृत) ले २०७२ मा मोहन वैद्धले नेतृत्व गरेको नेकपा –माओवादीसित एकता गरी नेकपा (क्रान्तिकारी माओवादी) गठन भएको हो ।
० उदयपुर जिल्लाका समस्याहरु के छन् ?
–वर्गीय, जातीय उत्पीडनका समस्या, युवाहरु विदेश पलायनको समस्या जुन देशव्यापी रुपमा छ । ती समस्या उदयपुरमा पनि छ । यहाँ बेलका नगरपालिकामा वर्षाको बेला कोशी कटानको समस्या छ । उदयपुर सिमेन्ट कारखानाका मजदुर र कर्मचारीले तलव नपाएको समस्या छ । जिल्लामा लागु औषध दुब्र्यसनीको समस्या छ । स्थानीय समस्या समाधानको लागि स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउने र समस्या समाधानका लागि झकझकाउने काम गर्दै आएका छौं ।
० देशव्यापी रुपमा भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुले आन्दोलन गरिरहेका छन् । उदयपुरको अवथा के छ ?
–यहाँ पनि आन्दोलन उठाउने तयारी हुँदै थियो तर चौदण्डी नगरपालिका, त्रियुगा नगरपालिका लगायतले हामी सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जाको व्यवस्था गर्छौं भने पछि आन्दोलन स्थगित भएको छ ।
० पार्टीको आगामी कार्यक्रम के छ ?
–संगठन निर्माण , राजनीतिक प्रशिक्षण, पार्टीको जिल्ला सम्मेलन लगायतका कार्यक्रम छन् ।
० हाँक मार्फत् भन्नु थप केही छ कि ?
–जनताको पक्षमा, अन्यायको विरुद्धमा, राष्ट्रिय स्वाधीनताका लागि हाँकले अनवरत संघर्ष गर्दै आइरहेको छ । हाँकको निरन्तरता र प्रगतिको कामना गर्दछु। 000

