नेकपाको इतिहास र वैचारिक धारहरु

शालिकराम भण्डारी
माक्र्सवादी दर्शन–माक्र्सवादको जन्म उन्निसौं शताब्दीको मध्य भागदेखि शुरु मै यसैको अन्त्यसम्म स्थापित भएको हो । यो दर्शन स्थापना गर्ने पहिलो व्यक्ति हुन महान चिन्तक जर्मनीको पर्सिया प्रान्त ट्रियर नगरमा जन्म लिएका कार्लमाक्र्स र तिनलाई मानसिक, भौतिक रुपमा जीवनभर सहयोग गर्ने त्यसै ठाउँमा जन्मेका फ्रेडरिक एंगेल्स, मुख्य पात्र माक्र्स नै भएको स्वयं एंगेल्सले धेरै पटक भनेका छन् । यो दर्शन यसैमा आधारित राजनैतिक , आर्थिक कार्यक्रम विश्व समाजमा अति छिटो प्रभावित भयो । विस्तारित भयो, संसारका देशहरुमध्ये रुसको भूमिमा अर्का चिन्तक भि. आई लेनिनले प्रयोग गरिछाडे । अक्टोबर १९१७ मा भएको सर्वहारावर्ग क्रान्ति यसैको परिणाम थियो । पुँजीपति र सर्वहारावर्गबीचको संघर्षबाट समाजवादी राज्य स्थापना हुने जुन घोषणा गरिएको थियो, पूरा भयो । साम्राज्यवाद र सर्वहारावर्गको क्रान्तिको युगमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि एसियामा भूगोल र जनसंख्याको हिसावले अर्को एउटा विशाल देश चीन सामन्तवाद, नोकरशाही पुँजीवाद, साम्राज्यवाद विरुद्ध निरन्तर सशस्त्र तथा निशस्त्र संघर्ष गर्दै चिनी कम्युनिस्ट पार्टी र समस्त देशभक्त, राष्ट्रभक्त जनताले देशलाई बन्धनबाट मुक्त गराए र सर्वहारावर्ग, त्यसको निकटम सहयोगी किसान, समस्त शोषित पीडित वर्गको राज्यस्थापना गरे । सबै खाले घरेलु भित्री, बाहिरी कागजी बाघललाई परास्त गर्ने र भगाउने काम सफलतापूर्वक सम्पन्न गरे । यस जनविरोधी कार्यको सघर्षमा प्राप्त गरेको सफलताले माक्र्सवाद–लेनिनवादमा एउटा अर्को नयाँ अध्याय थपेको छ । माक्र्सवाद–लेनिनवाद–माओवाद (मालेमा) भएको छ । अहिले विश्वका समस्त प्रतिक्रियावादी शक्ति यसलाई नष्ट गर्न दिनरात कठोर परिश्रम गरिरहेका छन् ।यसको अस्तित्व सदाको निम्ति निमिट्यान्न पार्न प्रयासरत छन् ।

यी सब क्रान्तिकारी समाज रुपान्तरणकारी गतिविधि चेतनशील नेपालीहरुले पनि हेरिरहेका थिए । नेपाल सामन्ती निरंकुश तानाशाही शाह, राणाकालीन शासनको दमनका कारण दविएको दवियै थियो । त्यो मनपरी तन्त्रको विरोधमा बोल्ने लेख्ने, प्रवचन दिने, साहित्य संगितकला मार्फत् व्यक्त गर्ने कसैको आँट हुँदैनथ्यो , गुम्सिएर अधेरो शक्तिमा नेपाली जनतालाई बस्नु परेको थियो । डेढ सय वर्ष भन्दा बढीसम्म बेलायती औपनिवेशिक शासनद्वारा शासित भारत मुक्ति, स्वतन्त्रको लागि लडिरहेकै थियो । १९४९ मा त्यो देश स्वतन्त्र भएको थियो । अर्कोतिर नेपालमा पनि भारत प्रभावित नेपाली कांग्रेसले राणाको विरुद्ध संघर्ष ग¥यो । जनताले पनि साथ दिएको हुनाले २००९ सालमा नेपालले बन्धनबाट केही स्वतन्त्रता प्राप्त ग¥यो । केही प्रजातान्त्रिक अधिकार पायो । जस्तो बोल्ने, लेख्ने सक्ने भयो । यिनै बाह्य भित्री वातावरणको प्रकाशमा क्रान्तिकारी सचेत व्यक्तिहरुले कम्युनिस्ट पार्टीको स्थापना गरे । २००६ साल वैशाख १० गते भारतको कलकत्ता शहरमा क. पुष्पलाल श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका हुन् । २००७ साल पछि जनताले आफ्ना आधारभूत समस्या समाधान हुन सक्ने ठूलो आशा गरेका थिए । तर सम्भव हुन सकेन । जनता निराशनै थिए । तर ००९ भन्दा लगभग १ वर्ष पहिले जन्मेको ने.क.पा. ले समस्या उठान गर्न, देखाउन, केही हदसम्म आन्दोलन गर्दा यसको प्रभाव छिटै नै देशमा फैलियो । ने.क.पा.को इतिहास धेरै छोटो छ । बल्ल ७७ वर्ष पुगेको छ, तर यसले नयाँ जनवाद हुँदै समाजवादमा जाने लक्ष्य प्राप्त गर्न सकेको छैन । १० वर्षे जनयुद्धको समयलाई छोडेर आजसम्म यसले छुट्टै कार्यक्रम पेश गर्न सकेन । जनतालाई सम्झाउन बुझाउन सकेन । यसको प्रमाण के ? (००७ देखि ०१७) सम्मको बीचमा संसदका निम्ति निर्वाचन भयो जन्मजात पुँजीवाद विश्वास गर्ने पार्टी नेपाली कांग्रेसको नीतिमा नै चुनाव लड्यो, ४ सिट हात पा¥यो । दोस्रो तहमा निरंकुशताले संसद खाई दिएपछि नेपाली कांग्रेसले माग राख्यो– खोसिएको संसद फिर्ता गर यसै एजेण्डा अन्तर्गत नेकपा पनि राम्रै सँग लड्यो –आफ्नो छुटै एजेन्डा प्रस्तुत गरेन । सामन्ती तानाशाही तन्त्रले संसद ०४६ सालमा फिर्ता ग¥यो– नेकाले ठूलो उपलब्धि मान्यो । केही कम्युनिस्ट पार्टीहरुले पनि यसैलाई सर्वस्व ठाने । २५० वर्षसम्म शासन गरको राजतन्त्र फाल्न र पुँजीवादी गणतन्त्र स्थापित गर्न सफल माओवादी पार्टीको एउटा ठूलो भाग पनि आफ्नो कार्यक्रम परित्याग गरी जवजवादी कार्यक्रममा मिस्सिन जाँदा नेपालमा कम्युनिस्ट आन्दोलनले फड्को मार्न सकेको छैन । सबै साम्राज्यवादी, प्रतिक्रियावादीतत्वले भन्ने गरेका छन्–कम्युनिस्टहरु संसारमा सकिए अब यिनको अस्तित्व छैन । त्यसो होइन–कम्युनिस्टहरु धेरै छैनन् सकिएका छैनन् । यिनी २ थरी मात्र छन् (१) मालेमावादी कम्युनिस्ट (२) पुँजीवादी कम्युनिस्ट । जति पुँजीवादी कम्युनिस्ट संसारमा छन् तिम्रै मित्र हुन ।

अब ने.क.पा. का महाधिवेशन र तिनले छानेका, जिम्मेवारी पाएका नेताहरु सम्बन्धमा दोस्रो महाधिवेशन दक्षिणपन्थी संशोधनवादीहरुको कब्जामा ग¥यो । ती प्रत्यक्ष व्यक्ति ह्न – डा. केशरजंग रायमाझी । उनले माक्र्सवादी कम्युनिस्ट सिद्धान्त विपरीत नेपालको सामन्तीवादी राजस.स्था प्रति उनका क्रियाकलापप्रति नरम हुँदै गए । राजाको ०१७ सालको कु लाई समय सुहाउँदो कदम भन्दै कम्युनिस्टहरु बीचमा भ्रम छर्न थाले– त्यसैबाट असन्तुष्ट त्यसबेलाका क. पुष्पलाल श्रेष्ठ लगायतका नेताहरुले २०१९ सालमा तेस्रो महाधिवेशन बोलाए । त्यस महाधिवेशनबाट क. तुलसीलाल महासचिव निर्वाचित भए, त्यसले रायमाझी लगायतका धेरै नेता तथा कार्यकर्तालाई कार्यवाही तथा निस्कासन ग¥यो । तर त्यहाँ पनि मतभेद विभिन्न विषयमा जारी नै रह्यो । तुलसीलालको राष्ट्रिय प्रजातन्त्रको दस्तावेज पुष्पलालले स्वीकार गरेनन् । मतभेद बढ्दै जाँदा पुष्पलाल छुटिएर गए । अर्कै पार्र्टी खोलेर बसे । सिद्धान्त र व्यवहारका विषयमा विभाजित भएको पार्टीका नेता पुष्पलालको छोटै समयमा निधन भयो । भविष्यमा उनले गर्थे कस्तो गर्थे छुट्टाउने मौका मिलेन । जुन दिनसम्म उनी जीवित रहे, प्रतिक्रियावादी शिविरमा गएनन् ।

तेस्रो महाधिवेशन तितर वितर भएपछि मोहनविक्रम समूहले चौथो महाधिवेशन आह्वान ग¥यो । यसले नेतृत्वको जिम्मा मोहनविक्रमलाई दियो । उनी नै महासचिव बने–यहाँ पनि सिद्धान्त र व्यवहारलाई लिएर मतभेद खिचातानीको झन कम भएन । त्यसपछि सबै कम्युनिस्टहरुलाई एक गर्ने उद्देश्यले एकताकेन्द्रको घटक जन्म्यो । त्यसले पनि केही ठोस उपलब्धी दिन सकेन । झापाकाण्ड जस्ता घटनाहरु घटे तर नयाँ जनवादी हुँदै समाजवाद प्राप्त गर्न सकिने कार्यक्रम कतैबाट आएन । निरंकुश सामन्ती राजतन्त्रको राजनीतिक कार्यक्रम पंचायत विरुद्ध लडेका कम्युनिस्टहरु मध्ये झापाकाण्ड उचित थिएन भन्दै राजाले सम्पूर्ण राज्यको अधिकार सेना, पुलिस, अदालत, कारागार आफ्नो हातमा राखी फिर्ता गरेको संसदलाई ठूलो उपलब्धी स्वीकार गरेर देखा परेका कम्युनिस्ट जनताको बहुदलीय जनवाद(ज.व.ज) अर्थात् संसदीय व्यवस्था मार्फत् समाजवाद प्राप्त गर्न सकिने मत राख्दै अगाडि बढे । २१ औं शताब्दीको निम्ति उपयुक्त हुने नेपाल सुहाउँदो समाजवादको व्याख्या गर्न थाले । माक्र्सवाद–लेनिनवाद, माओवाद अव समय, काल, परिस्थिति अनुकूल हुन सक्दैन यसलाई नयाँ रुप दिनुपर्छ भन्दै प्रचार गर्दै हिंडेका छन् । नयाँ जनवादको सट्टा बहुदलीय जनवाद उनीहरुको खास कार्यक्रम भएको छ । जनगणतन्त्रको बदला पुँजीवादी गणतन्त्रमा थन्किएका छन् ।

हुन त पार्टीको संरक्षित इतिहास टिप्पणी लेख्दा सबै कुरा केही न केही देखाउनु पर्ने हो । पार्टी संगठनमा घटेका घटना, वितृष्णा, एकता, विभाजन कसरी के के भए त्यसको सम्पूर्ण जानकारी मलाई छैन । किनकि पार्टीमा समावेशपछि मेरो कार्यक्षेत्र जिल्ला र क्षेत्रमा मात्र सीमित रह्यो साथै केही समयसम्म निस्क्रिय पनि भइयो, तर त्यति हुँदाहुँदै पनि एउटा कुरा निश्चय भयो । पार्टीमा सुरुदेखि आजसम्म २ धारको संघर्ष रहिनै रह्यो । (१) एउटा क्रान्तिकारी धार (२) दक्षिणपन्थी संशोधनवादी, उदारवादी धार । यस संघर्षमा दक्षिणपन्थी संशोधनवादी धार पाखा लाग्दै गएको छ, क्रान्तिकारीहरुले पार्टी थाम्दै अगाडि बढाउँदै लगेका छन् । एक अवस्था क्रान्तिकारी गतिशीलहरु अर्को अवस्थामा समय समयमा गतिहीन प्रतिक्रान्तिकारी भएका छन् । यो विश्व नियम हो । नेपालका गुट, उपगुटमा विभाजित कम्युनिस्टहरु नामधारीहरु अपवाद हुन सक्दैनन् । यिनीहरुले समाजवादी बाटो धेरै पहिले छोडिसकेका छन् ।

०४६ साल संघर्षले न त राजतन्त्रमा निहित निरपेक्ष अधिकारमा केही धक्का लगाउन सक्यो, न नयाँ जनवाद हुँदै समाजवादमा जाने कार्यक्रमको निम्ति केही इटा जोड्न सक्यो । यसबाट असन्तुष्ट मालेमावादी कम्युनिस्टहरुको पक्षले ०५२ साल फागुन १ गतेदेखि जनयुद्ध घोषणा ग¥यो । १० वर्षसम्म युद्ध निरन्तर जारिरह्यो । यसले देशका कुनाकाप्चामा व्यापक रुपले चेतनाको वृद्धि भयो र त्यसबेलासम्म शक्तिशाली, प्रभावशाली रहेको राजतन्त्र ढल्न गयो, राजतन्त्रले आत्म समर्पण ग¥यो । आन्तरिक र बाह्य शक्ति अत्यन्त सतर्क भएका थिए । त्यसैले वार्ताका प्रस्तावहरु आउन थाले, युद्धमा संलग्न माओवादी नेतृत्वको मुख्यले शान्ति वार्तामा भाग लिन स्वीकार ग¥यो, वार्ता भयो, तर वार्तामा मुख्य नेतृत्वले सही मूल्यांकन गर्न नसक्दा, अडान छोडिदिंदा दिलो ज्यान दिएर लडेका लडाकुहरुको समस्या प्रति कुनै ध्यान दिइएन, नयाँ जनवाद हुँदै समाजवादमा पुग्ने कार्यदिशा तिर एउटा प्रस्ताव स्वीकार गराउन नेतृत्व सफल भएन । वार्ता प्रतिक्रियावादी दक्षिणपन्थी संशोधनवादीको विजयमा परिणत भयो । परिणामस्वरुप अहिले जनयुद्धकारी शक्तिका नेता, कार्यकर्ता र लडाकुहरुमाथि मुद्दा लाउन, फसाउन सत्ताधारीलाई बाटो खुलेको छ । यी सम्पूर्ण विषयहरु वार्तामा टुंग्याउनु पर्दथ्यो । सम्भव पनि थियो । यदि अडान नछोडिदिएको भए लचिलो नभएको भए आधारभूत जनताका आधारभूत समस्याः गास, बास, कपास, रोजगारी, शिक्षा, स्वास्थ्य धेरै हल भैसकेका हुन्थे । देशमा उद्योग,कलकारखाना स्थापित भएका हुन्थे । कृषि प्रधान देश भएको हुँदा कृषि समस्या, भुमि समस्या समाधान भैसकेको हुन्थ्यो । व्यापार सन्तुलन राष्ट्रिय पक्षमा हुन्थ्यो, ऋणमुखी वार्षिक बजेट ल्याउनु पर्दैनथ्यो । वस्तु निर्यात गरिन्थ्यो । मान्छे निर्यात गर्न पर्दैनथ्यो । हिजो कम्युनिस्ट भएकाहरु अब माक्र्सवाद पुरानो भैसक्यो । समाजवाद देश सुहाउँदो हुनुपर्छ भन्छन् भने कसैले कम्युनिस्ट अव आवश्यक छैन भन्दै हिंडेका छन् । तर मजदुर किसान र समस्त शोषण, दमनमा परेकाहरुको निम्ति तिनीहरु पुराना भइसकेका छौं, तिनीहरुको आवश्यकता नेपालमा छैन बहुसंख्यक जनताका तिमी शत्रु हौ भन्छन् ।

कम्युनिस्ट पार्टीको संक्षिप्त इतिहासमा चर्चा गर्दा कुन पात्रको के कस्तो भूमिका रह्यो त्यो पनि उल्लेख गर्न उचित होला जस्तो लाग्यो र निम्न अनुसार क्रमिक रुपले लेखिएको छ ।

पुष्पलाल श्रेष्ठः नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता हुन । जीवनको अन्त्यसम्म पार्टीको निम्ति इमानदारीपूर्वक काम गरे । निरंकुश शासन विरुद्ध काम गर्दा २ वटा विकल्प थिए, देशमा बसे जेलनेल भोग्नै पथ्र्यो । त्यसैले निर्वासित जीवन बिताउन बाध्य भए , त्यहीबाट नै पार्टीका कार्यक्रम संचालन गरेको देखिन्छ ।उनी त्यागी थिए । यसमा कुनै शंकाछैन र मृत्यु अलि छिटै भएको हुँदा सर्वहारावर्गको क्रान्तिको निम्ति छुट्टै कार्यक्रम आउन सकेन ।
मनमोहन अधिकारीः कम्युनिस्ट आन्दोलनको निम्ति संगठन विस्तार गर्नेकाममा उनको देन पनि राम्रै छ । यद्यपि मालेमावाद अनुसार उनको व्याख्या विश्लेषण अघि बढ्न सकेन ।
डा. केशरजंग रायमाझी ः नेकपाको दोस्रो महाधिवेशनले उनको नेतृत्वमा पार्टी कमिटी गठन ग¥यो –अर्थात् उनी महासचिव भए । यिनको इतिहास शुरुदेखि नै कालो रह्यो । मालेमावाद प्रतिसंशोधन गर्न अग्रसर भए । शाह– राणासँग सम्झौता गरेर ल्याएको संसदीय व्यवस्था महेन्द्र शाहले हड्प्दा उनको कदम राष्ट्रको निम्ति उपयुक्त भएको मान्न थाले र पार्टीमा ठूलो मतभेद उब्ज्यो –पार्टी फुट्यो ।

तुलसीलाल अमात्य–दोस्रो महाधिवेशनका असन्तुष्ट पुष्पलाल श्रेष्ठ तुलसीलाल अमात्य लगायतका नेताहरुले तेस्रो महाधिवेशन बोलाउनु पर्ने खाँचो देखेर बोलाइयो । यसले तुलसीलाललाई महासचिव नियुक्त ग¥यो । तर उनको राष्ट्रिय प्रजातन्त्र कार्यक्रम सित पुष्पलाल लगायतका केही नेताहरु राजी भएनन् र पुष्पलालको नेतृत्वमा पार्टी खोलियो ।

मोहनविक्रम सिंह ः आपसी खिचातानी, मनमुटाव सिद्धान्त विचार हिनताको अवस्था बढिरहेकै बेला २०३१ सालमा मोहन विक्रम समेतका केही नेताहरुले छुट्टै पार्टी खोल्नुपर्ने आवश्यकता देखेर त्यसले महाधिवेशन बोलायो । चौथो महाधिवेशन नामले प्रख्यात छ– मोहन वैद्य, निर्मल लामा, भक्तबहादुर श्रेष्ठलगायतका नेताहरुको प्रमुख भूमिका छ । मोहनविक्रमलाई महासचिव बनायो । मोहनविक्रम कम्युनिस्ट आन्दोलनका निम्ति, समर्पित दुःख कष्ट भोगेका नेता हुन् । अहिले ९२ वर्षमा छन् । त्यस्तो कम्युनिस्ट आन्दोलनका निम्ति जीवन समर्पित गरेका व्यक्तिको भनाई र गराईमा धेरै फरक भएको देखिन्छ । उनको कार्यनीति साफ छैन, संसदबाट नै समाजवाद प्राप्त हुन सक्छ भन्ने मत उनको छ । किनकि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु व्यक्ति समूहसँग एकता कार्यगत एकता गर्न सदा टाढा टाढा बस्छन्, आफ्नो पृथक अस्तित्व जोगाई राख्न व्यस्त छन् । क्रान्तिकारीहरुले उनीबाट ठूलो आशा राख्दछन् तर के गर्ने ? झापा विद्रोह र जनयुद्धलाई सधै नकारात्मक दृष्टिले हेरे ।
मदन भण्डारी ः पुष्पलालमा विभाजित भई मुक्ति मोर्चा बनाई झापाली विद्रोहीहरुसित एकता गरी नेकपा (माले) का उनी नेता बने । झापा काण्ड उचित थिएन भन्दै समीक्षा गरेर ०४६ सालमा राज्यले शक्तिविहिन संसद फिर्ता गरेपछि त्यसलाई ठूलो उपलब्धी भएको ठान्दै हार्दिक स्वागत गरे । २१ औं शताब्दी र नेपाली समाजको अवस्था बमोजिम समाजवाद प्राप्त गर्ने उपयुक्त बाटो संसदबाद नै हो भनेर जोड दिन थाले । नयाँ जनवादको सट्टा बहुदलीय जनवाद (जवज) उनको मुख्य राजनीति भयो । वर्गीय समाजमा वर्गसंघर्षको सट्टा वर्ग समन्वय सिद्धान्त स्वत प्रस्तुत भयो । अहिले कुनै पनि जवजवादी नेताले वर्गसंघर्षको कुरै उठाउँदैनन् उपल्लो वर्ग र निम्न वर्ग बीचको नेपालमा भएको संघर्ष मदन भण्डारीका समर्थकहरु स्वीकार गर्दैनन् । ०४६ देखि ०८२ सम्म करिव साढे तीन दशक पालैपालो गरी यिनीहरु सरकारमा गए । तर यत्रो समयसम्म भूमिहीन किसान, गरिब, किसान, मजदुर र सबै शोषित पीडित, मिटरव्याजबाट पीडितको पक्षमा एउटा कानुन पनि बन्न सकेको छैन । संसदमा तिनीहरुकोबारे बोलिएको छैन । इतिहासमा रिकर्ड छैन । कहीं कतै बोलिएको कानुन बनाइएको छ भने पनि कानुन, बोली निक्रिय भएका छन्, बोल्ने विरुद्ध धमाधम सजाय दिने काम भएको छ ।

प्रचण्ड : ०४६ सालले कम्युनिस्ट आन्दोलनलाई पतनतिर लगेको निष्कर्षमा पुगेर यिनको नेतृत्वमा माओवादी पार्टी स्थापना भयो र यसले नयाँ जनवाद हुँदै समाजवाद प्राप्त गर्न सकिने कार्य दिशा लिएर ०५२ फागुन १ गते देखि जनयुद्ध घोषणा ग¥यो । यो युद्ध निरन्तर १० वर्ष सम्म जारी रह्यो । यस बीचमा देशका कुनाकप्चामा यसको विस्तार भयो, प्रभाव बढ्यो । देशभक्त मात्र होइन, विदेशका प्रतिक्रियावादी दक्षिणपन्थी संशोधनवादी सबैलाई आश्चर्यमा परेको थियो । यसको इतिहास जति सुकै बंग्याउन नष्ट गर्न खोजे पनि सकिदैन । इतिहासमा लिपिबद्ध भैसकेको छ । तत्कालीन पार्टीहरु के कसो होला भन्ने कुरा गहिरो चिन्तामा थिए । सामन्ती, निरंकुश राजतन्त्र उदासिन नै थियो । त्यसैले पार्टीहरुको तर्फबाट नेकाका शान्ति वार्ताको निम्ति प्रस्ताव राखे । के यो झुठो कुरा हो र ? त्यसबेला माओवादी सवल थियो । अर्को कुरा नेपालको आन्तरिक मामिलामा भारतको सदा चासो रहन्छ । आफ्नो मुठ्ठीदेखि बाहिर नेपाल गएको देख्न चाहन्न । भित्री बाहिरी सबैको अथक परिश्रमले वार्ता भयो, तिनीहरुको जालझेल, षडयन्त्र प्रचण्डले बुझ्न सकेनन् आफ्ना अडान छोडिदिए । धेरै लचिलो भए । त्यसैको परिणाम विभिन्न कार्यकर्ता नेतामाथि एक एक गरेर मुद्दाहरु चलाउँदै छन् । सजाय दिने काम भइरहेको छ । यदि अडान लिएका भए त्यसैबेला युद्ध सम्बन्धी सबै विषय टुंगि सक्ने थिए । पार्टीको सुप्रिम कमाण्डरको गु्रपले पुँजीवादी बाटो अंगालेको हुँदा कम्युनिस्ट आन्दोलन भनेपछि झन निम्नस्तरमा गयो, जाँदैछ । त्यसैले २ उच्च तहका नेता (१) मोहन वैद्य किरण (२) सिपि गजुरेल गौरवलाई भारत सरकारले आफ्नो कारागारमा बन्दी बनाएर राख्यो । यसको मतलव के थियो । सबैले बुझ्नै पर्छ ।

मोहन वैद्य किरण ः प्रचण्ड ग्रुपको प्रतिक्रियावादी धारबाट सर्वहारा वर्गको क्रान्ति सम्भव छैन भन्ने व्याख्या, विश्लेषण र निचोडमा पुगेर यिनको नेतृत्वमा छुट्टै क्रान्तिकारी माओवादी पार्टी गठन भएको छ । यिनी कम्युनिस्ट वंशमा जन्म लिए पछि आजसम्म निरन्तर अविचलित भै मालेमावाद प्रति गहिरो चिन्तन राख्ने, दार्शनिक क्रान्तिकारी साहित्यिक प्रतिभाका धनी, शिलस्वभावका, त्यागी दुःखकष्ट भोग्न सक्ने, संघर्षशील, सर्वहारावर्गको हातमा शासनसत्ता प्राप्त नभएसम्म समाजमा रहेको शोषण, दमन उन्मूलन हुन सक्दैन, बहुसंख्यक जनताले मुक्ति पाउन सक्दैनन् भन्ने मालेमावादप्रति गहिरो आस्था राख्ने व्यक्ति हुन् । उनी अहिलेसम्म कुनै प्रतिक्रियावादी संशोधनवादीसंग झुकेनन् । यिनको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाले आफ्नो राष्ट्रिय एकता महाधिवेशनमा वैकल्पिक कार्यदिशा पारित गरेको छ, अर्थात् नयाँ जनवाद हुँदै समाजवाद प्राप्त गर्ने दिशा यसैको निम्ति उनी र उनको पार्टी अग्रसर छ । यसले सबै क्रान्तिकारी पार्टी, व्यक्ति, समूहसँग एकता, कार्यगत एकतालाई अगाडि बढाइरहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित