अफ्रिकी नवउपनिवेशहरूमा फासीवाद ः साम्राज्यवादी संकट तथा राष्ट्रिय मुक्ति र समाजवादका लागि संघर्ष

बुकर ओमोल, महासचिव, कम्युनिस्ट पार्टी माक्र्सवादी केन्या

संकटमा साम्राज्यवाद र फासीवादको पुनरागमन
कम्युनिस्ट पार्टी माक्र्सवादी केन्याले नेपालको काठमाडौँमा आयोजित महत्वपूर्ण अन्तर्राष्ट्रिय सैद्धान्तिक सम्मेलनमा भेला भएका सबै क्रान्तिकारी सङ्गठन, कम्युनिस्ट पार्टीहरू, साम्राज्यवाद विरोधी संरचनाहरू, मजदुर आन्दोलनहरू, युवा सङ्गठनहरू र प्रगतिशील बुद्धिजीवीहरूलाई जुझारु सर्वहारा अभिवादन अर्पण गर्दछ । यो सम्मेलन विश्वव्यापी अन्तर्विरोध चर्किरहेको अवस्थामा भएको छ । विश्वभरि नै साम्राज्यवादी व्यवस्था आर्थिक गतिहीनता, वित्तीय संकट, अन्त्यहीन युद्ध, पर्यावरणीय विनाश, गहिरिँदो असमानता, ऋणनिर्भरता, सामूहिक विस्थापन र तीव्र राजनीतिक प्रतिक्रिया सहितको बढ्दो अशान्त र अस्थिर अवधिमा प्रवेश गरेको छ । आज विश्व पुँजीवादले सामना गरिरहेको संकट चक्रीय वा अस्थायी होइन । यो संरचनागत संकट हो । यो एकाधिकार पुँजीवादको अन्तर्विरोधमा नै निहित छ । वित्तीय पुँजीको हातमा सम्पत्तिको केन्द्रीकरण ऐतिहासिक रूपमा अभूतपूर्व स्तरमा पुगेको छ जबकि अरबौंले बेरोजगारी, भोकमरी, अनिश्चित श्रम, ध्वस्त सामाजिक सेवा र स्थायी असुरक्षाको सामना गरिरहेका छन् ।

सन् २००८ को विश्वव्यापी वित्तीय पतनले नवउदारवादी पुँजीवादको दिवालियापनलाई गहिरो रूपमा उजागर गरेको थियो । वित्तीय संस्थाहरू र एकाधिकार कर्पोरेशनहरू जसका लापरवाह अनुमानहरूले लाखौंलाई दुःखमा डुबाएका थिए, उनीहरूलाई ठूलो राज्य हस्तक्षेपको माध्यमबाट उद्धार गरियो जबकि संकटको बोझ सिधै मजदुर र उत्पीडित जनतामा मितव्ययिता, निजीकरण, बेरोजगारी, महँगाई र तीव्र शोषणको माध्यमबाट हस्तान्तरण गरियो ।

यस्तो अवस्थामा बुर्जुवा उदार लोकतन्त्रको वैधानिकता झन्–झन् खस्कँदै गएको छ । सरकारहरूले लोकतन्त्र र मानवअधिकारको बारेमा अन्तहीन रूपमा कुरा गर्छन् र साथसाथै सैन्यीकरण, निगरानी, सेन्सरशिप, विरोधगर्न नपाइने कानून, सीमा दमन, र असहमत शक्तिहरूका विरुद्ध विचारधारात्मक युद्धको विस्तार गरेका छन् ।
त्यसैले फासीवादी प्रवृत्तिको समकालीन पुनरुत्थानलाई वैज्ञानिक रूपमा साम्राज्यवादको गहिरिँदो संकट र नवऔपनिवेशिक पुँजीवादको संरचनागत अन्तर्विरोधको परिणामका रूपमा बुझ्नु पर्दछ । फासीवादका विरुद्धको सङ्घर्षलाई साम्राज्यवाद, नवउपनिवेशवाद र पुँजीवादका विरुद्धको सङ्घर्षबाट अलग गर्न सकिँदैन ।

फासीवादको सही बुझाइ
फासीवादको वैज्ञानिक विश्लेषण राज्यको सबैभन्दा सही बुझाइबाट सुरु हुनुपर्छ । फासीवादलाई केवल अधिनायकवादी व्यक्तित्व वा भौतिक अवस्थाबाट अलग अतिवादी बयानबाजीको रूपमा बुझ्न सकिँदैन । फासीवाद मूलतः वर्गीय शासनको प्रश्न हो । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले राज्य समाजभन्दा माथि उभिने तटस्थ संस्था होइन भन्ने कुरा ठीकसँग स्थापित गरेका छन् । यो एउटा यस्तो साधन हो, जसमार्फत एउटा वर्गले अर्को वर्गमाथि आफ्नो प्रभुत्व जमाउँछ । पुँजीवाद अन्तर्गत पुँजीवादी सम्पत्तिको सम्बन्ध जोगाउन र श्रममाथि पुँजीको प्रभुत्वको रक्षा गर्न राज्यको आधारभूत अस्तित्व रहन्छ ।
भ्लादिमिर लेनिनले बुर्जुवा लोकतन्त्रमुनि लुकेको वर्गीय अधिनायकत्वको पर्दाफास गरेर यो बुझाइलाई अझ गहिरो बनाए । उदार लोकतन्त्रले आर्थिक प्रभुत्वको प्रणालीलाई संरक्षण गर्दै समानताको घोषणा गर्दछ, जसमार्फत् एक सानो अल्पसंख्यकले वित्त, उत्पादन, सञ्चार र राजनीतिक शक्तिलाई नियन्त्रण गर्दछ ।

जर्जी दिमित्रोभले फासीवादलाई “वित्तीय पुँजीको सबैभन्दा प्रतिक्रियावादी, सबैभन्दा अराजकतावादी र सबैभन्दा साम्राज्यवादी तत्वहरूको खुला आतंकवादी तानाशाही” भनेर वैज्ञानिक ढंगले परिभाषित गरे । यो परिभाषा सही छ किनकि यसले फासीवादलाई पुँजीवादबाट तर्कहीन विचलनको रूपमा होइन, तर संकटको समयमा एकाधिकार पुँजीले आफ्नो प्रभुत्व कायम राख्ने राजनीतिक रूपहरू मध्ये एकको रूपमा उजागर गर्दछ ।
फासीवादले कम्युनिस्ट पार्टीहरू, जुझारु मजदुर सङ्गठनहरू, साम्राज्यवाद विरोधी आन्दोलनहरू र जनसमुदायमा क्रान्तिकारी चेतनालाई दबाउन खोज्छ । त्यसैले ऐतिहासिक र समकालीन सन्दर्भमा पनि फासीवाद कम्युनिस्ट विरोधी राजनीतिको केन्द्रविन्दुमा रहेको छ ।

साम्राज्यवादी संकट र विश्व व्यवस्थाको फासीवादीकरण
अन्तर्राष्ट्रिय रूपमा फासीवादी प्रवृत्तिको समकालीन पुनरुत्थानलाई विश्व साम्राज्यवादको गहिरिँदो संरचनागत संकटभन्दा बाहिर बुझ्न सकिँदैन । विश्व पुँजीवाद आर्थिक मन्दी, सट्टेबाजीपूर्ण वित्तीय विस्तार, ऋणनिर्भरता, पर्यावरणीय विनाश र गहिरिँदो असमानताका कारण लामो अस्थिरताको अवधिमा प्रवेश गरेको छ ।

सन् २००८ को विश्वव्यापी वित्तीय संकटले नवउदारवादी पुँजीवादको टाटपल्टाइको पर्दाफास ग¥यो । राज्यहरूले बैंक र एकाधिकार कर्पोरेसनहरूको उद्धारका लागि व्यापक हस्तक्षेप गरे जबकि मजदुर तथा उत्पीडित जनताले मितव्ययिता र बेरोजगारीको माध्यमबाट त्यसको मूल्य तिरे ।साथै, साम्राज्यवादले विश्वव्यापी रूपमा सैन्यीकरणलाई तीव्र बनायो । साम्राज्यवादी शक्तिको पुनरुत्पादनको केन्द्रबिन्दु अन्त्यहीन युद्ध बन्यो । अफगानिस्तान र इराकमाथिका आक्रमण, लिबियाको विनाश, सिरियाको अस्थिरता, छद्म युद्ध, प्रतिबन्ध शासन र सैन्य कब्जाले आर्थिक संयन्त्रमार्फत मात्र प्रभुत्व कायम राख्न साम्राज्यवादको बढ्दो असक्षमतालाई प्रतिबिम्बित गरेका छन् ।

सन् २०११ मा लिबियाको विनाश अफ्रिकाका विरुद्ध साम्राज्यवादी बर्बरताको स्पष्ट उदाहरणहरू मध्ये एक हो । मानवताका लागि हस्तक्षेपको नाममा, नेटो शक्तिहरूले लिबियाली राज्यलाई नष्ट गरे र व्यापक क्षेत्रलाई अस्थिर बनाए ।
अन्तर्राष्ट्रिय रूपमा फासीवादी प्रवृत्तिलाई सामान्यीकरण गर्ने प्रमुख विचारधारात्मक उपकरणहरू मध्ये आतङ्कवाद विरोधी ढाँचा एउटा हो । अतिवादसँग लड्ने भाषा भित्र, सम्पूर्ण जनसंख्या निगरानी, सैन्यीकरण र विचारधारात्मक नियन्त्रणको अधीनमा रहेको हुन्छ ।

अफ्रिकी नवऔपनिवेशिक राज्य र फासीवादको संरचनात्मक जरा
आधुनिक अफ्रिकी राज्यको उत्पत्ति प्रजातान्त्रिक सामाजिक विकासमा होइन, बरु औपनिवेशिक विजय र साम्राज्यवादी हिंसामा निहित छ । बर्लिन सम्मेलनको समयमा औपचारिक रूपमा भएको अफ्रिकाको विभाजनले आधुनिक इतिहासमा मानव समाजको सबैभन्दा क्रूर पुनर्गठनको प्रतिनिधित्व गरेको थियो ।
औपनिवेशिक राज्य मौलिक रूपमा शोषण र दमनको साधनको रूपमा निर्माण गरिएको थियो । यसको उद्देश्य अफ्रिकाका जनताको हितका लागि विकास गरिएको थिएन, बरु भूमि, श्रम, खनिज, व्यापारिक मार्ग र कृषि उत्पादनमाथि नियन्त्रण गरेर साम्राज्यवादी सञ्चयलाई सहज बनाउनु थियो ।
औपचारिक स्वतन्त्रताले यी जबरजस्ती गर्ने संरचनाहरू भत्काउन सकेन । बरु, औपनिवेशिक राज्य संयन्त्र साम्राज्यवादी सञ्जालमा राजनीतिक र आर्थिक रूपमा एकीकृत अफ्रिकी निम्न पुँजीपति वर्ग र दलाल अभिजात वर्गका वर्गहरूले विरासतका रुपमा प्राप्त गरेका थिए ।
नवउपनिवेशवादले आर्थिक, राजनीतिक र सैन्य रूपमा विदेशी एकाधिकार पुँजीको अधीनमा रहेका औपचारिक रूपमा स्वतन्त्र राज्यहरूमार्फत साम्राज्यवादी प्रभुत्वको निरन्तरताको प्रतिनिधित्व गर्दछ भनी क्वामे एनक्रुमाले व्याख्या गरे ।
अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकले अफ्रिकाभर लादेको नवउदारवादी पुनर्संरचनाले यी अन्तर्विरोधहरूलाई नाटकीय रूपमा तीव्र बनायो । संरचनागत समायोजन कार्यक्रमहरूले सार्वजनिक सेवाहरू भत्काए, राज्यका उद्योगहरूलाई निजीकरण गरे, श्रम सुरक्षालाई कमजोर बनायो र राष्ट्रिय अर्थतन्त्रलाई विश्वव्यापी वित्त पुँजीको अधीनस्थ बनायो ।
केन्या ः आतंकवाद विरोधी सिद्धान्त, साम्यवादको विरोध, र नव–औपनिवेशिक राज्यको सुरक्षाका लागि फासीकरण
गहिरिँदो साम्राज्यवादी संकटको अवस्थामा केन्याली नवऔपनिवेशिक राज्यले अफ्रिकी नवउपनिवेशहरू अन्तर्गतका शासनको बढ्दो फासीवादको स्पष्ट समकालीन अभिव्यक्तिको प्रतिनिधित्व गर्दछ ।

समकालीन रुटो शासनले बढ्दो पुँजीवादी संकट र जनअसन्तुष्टिको अवस्थामा कानून, सुरक्षाकरण र विस्तारित अत्याचारी शक्तिको माध्यमबाट फासीवादी शासनलाई संस्थागत गर्न खोज्ने नवऔपनिवेशिक शासक वर्गको निराशालाई बढ्दो रूपमा प्रकट गर्दछ । यस मार्गमा मोई एक पार्टी तानाशाहीको कम्युनिस्ट विरोधी दमनको साथ गहिरो ऐतिहासिक निरन्तरता छ, जहाँ बिना कुनै सुनुवाइ हिरासत, यातना कक्ष, सेन्सरशिप, र विचारधारात्मक उत्पीडन माक्र्सवादीहरू, ट्रेड युनियनवादीहरू, प्रगतिशील बुद्धिजीवीहरू र क्रान्तिकारी देशभक्तहरूका विरुद्ध व्यवस्थित रूपमा प्रयोग गरिएको थियो ।
कम्युनिस्ट सङ्गठनमाथि प्रतिबन्ध लगाउने र मैना वा किन्याट्टीजस्ता क्रान्तिकारीहरूलाई थुन्ने कामले सङ्गठित जनताका विरुद्ध दलाल शासन र साम्राज्यवादी स्वार्थहरूको रक्षा गर्ने औजारका रूपमा नवऔपनिवेशिक राज्यसत्ताको वर्गीय चरित्रलाई प्रस्ट गर्दर्छ । आज राष्ट्रिय सुरक्षा, आतङ्कवादको विरोध र सार्वजनिक व्यवस्थाको भाषामा सत्तारूढ गुटले असहमतिलाई अपराधीकरण गर्ने, जुझारु सङ्गठनलाई दमन गर्ने र मजदुर र युवाहरूमा क्रान्तिकारी वर्गीचेतनाको उदय हुनबाट रोक्ने प्रयास गरेको छ ।

सेप्टेम्बर ११, २००१ पछि, केन्याको नवऔपनिवेशिक राज्य अमेरिकी साम्राज्यवाद र यसका पश्चिमी सहयोगीको रणनीतिक सुरक्षा संरचनामा पहिले भन्दा बढी एकीकृत हुँदै गयो । प्रतिआतंकवाद, क्षेत्रीय स्थिरता र राष्ट्रिय सुरक्षाको विचारधारात्मक भाषा अन्तर्गत, आतङ्कवाद विरोधी कानून, खुफिया पुनर्संरचना, निगरानी प्रणाली, बायोमेट्रिक दर्ता, डिजिटल निगरानी र सार्वजनिक जीवनको सैन्यीकरणको माध्यमबाट राज्यको अत्याचारी क्षमतामा उल्लेखनीय विस्तार भयो । २०१२ को आतंकवाद रोकथाम ऐन र २०१४ को सुरक्षा कानून संशोधन ऐनले यस प्रक्रिया अन्तर्गत महत्वपूर्ण समयको प्रतिनिधित्व गरे । औपचारिक रूपमा यी कानूनहरूलाई हिंसात्मक अतिवादको विरूद्ध रक्षात्मक संयन्त्रको रूपमा प्रस्तुत गरियो । तर माक्र्सवादी–लेनिनवादी दृष्टिकोणबाट हेर्दा यसको निर्णायक प्रश्न नवऔपनिवेशिक पुँजीवादी सम्बन्धको समग्रताभित्र यी कानुनहरूले गर्ने ठोस वर्गीय कार्यसँग सम्बन्धित छ ।

चर्किंदो पुँजीवादी संकट अन्तर्गत बुर्जुवा राज्यले स्थायी सुरक्षाकरणको माध्यमबाट शासन गरिरहेको छ । साम्राज्यवादी शोषण, बेरोजगारी, असमानता, भूमिहीनता, ऋण निर्भरता र युवा सीमान्तीकरणमा आधारभूत रूपमा जरा गाडेका अन्तरविरोधहरू राजनीतिक अर्थशास्त्रको क्षेत्रबाट सुरक्षा व्यवस्थापनको क्षेत्रतर्फ विस्थापित भएका छन् ।
सामाजिक संकट अराजनीतिकरण हुन्छ ।

वर्गीय अन्तरविरोध अपराधीकरण हुन्छ ।
पीडित जनताका बीचमा अस्थिरतालाई साम्राज्यवाद र नवऔपनिवेशिक पुँजीवादको परिणामको रूपमा होइन, तर अतिवादीहरू, कट्टरपन्थीहरू, आतङ्ककारीहरू र अस्थिरता पैदा गर्ने पात्रहरूको उत्पादनको रूपमा व्याख्या गर्न प्रोत्साहित गरिन्छ । यसरी, आतङ्कवाद विरोधी सिद्धान्तले क्रान्तिकारी चेतनाका विरूद्ध विचारधारात्मक युद्धको रूपमा काम गरिरहेको छ ।

क्रान्तिकारी सङ्घर्षको विचार निर्माणले आतङ्कवादका रूपमा औपनिवेशिक अनुभवभित्र गहिरो जरागाडेको छ । केन्यामा ब्रिटिश उपनिवेशवादले व्यवस्थित रूपमा माउ माउ मुक्ति संग्राम र देदान किमाथीलाई वैध उपनिवेश विरोधी प्रतिरोधको रूपमा होइन, तर्कहीन बर्बरता, आदिवासी हिंसा, कट्टरता र आतंकवादको रूपमा प्रतिनिधित्व गरेको थियो ।
त्यसैले आतंकवादको प्रश्नले ऐतिहासिक रूपमा उपनिवेश विरोधी संघर्षलाई अवैध बनाउने, आपतकालीन दमनको औचित्य पुष्टि गर्ने र डर तथा विचारधारात्मक भ्रमको माध्यमबाट जनताबाट क्रान्तिकारी आन्दोलनलाई अलग गर्ने काम ग¥यो । यो ऐतिहासिक निरन्तरता समकालीन नवऔपनिवेशिक प्रतिआतंकवादको सिद्धान्त बुझ्नका लागि आवश्यक छ । शब्दावली परिवर्तन हुन्छ । वर्गीय सार आधारभूत रूपमा निरन्तर रहन्छ ।

साम्यवादको विरोध नवऔपनिवेशिक पुँजीवादको पुनरुत्पादनका लागि आधारभूत विचारधारात्मक आवश्यकताहरू मध्ये एक हो । माक्र्सवाद–लेनिनवादले प्रणालीलाई खतरामा पार्छ किनभने यसले वैज्ञानिक रूपमा साम्राज्यवादी शोषण, दलाल संचय, नवउदारवादी पुनर्संरचना र वित्तीय पुँजीको अधिनायकत्वको पर्दाफास गर्दछ ।फलस्वरूप, क्रान्तिकारी आन्दोलनहरू अतिवादी, अस्थिरता पैदागर्ने, विदेशी प्रभाव र राष्ट्रिय एकता र विकासका लागि खतराका रूपमा बढाइचढाई प्रस्तुत गरिन्छन् । यो विचारधारात्मक उल्ट्याइले नवउपनिवेशहरूभित्रको फासीवादको परिभाषित विशेषताको प्रतिनिधित्व गर्दछ ।क्रान्तिकारी अपराधी बन्छ ।कम्युनिस्ट अतिवादी बन्छ ।आयोजक सुरक्षा खतरा बन्छ । यसैबीच शोषण, ऋण दासत्व, सैन्यीकरण, बेरोजगारी र दमनलाई व्यवस्था, स्थिरता र विकासको रूपमा सामान्यीकरण गरिएको छ ।

प्रविधि, निगरानी, र फासीवादी नियन्त्रणका नयाँ उपकरणहरू
साम्राज्यवादको समकालीन चरणमा एकाधिकारवादी पुँजीले प्रविधिलाई आर्थिक वर्चस्व, विचारधारात्मक हेरफेर र राजनीतिक दमनका लागि एउटा प्रमुख साधनमा परिणत गरेको छ । डाटा समकालीन पुँजीवादको सबैभन्दा मूल्यवान रणनीतिक स्रोतहरू मध्ये एक भएको छ । स्मार्टफोन, दूरसञ्चार प्रणाली, सामाजिक मिडिया प्लेटफर्महरू, बायोमेट्रिक कार्यक्रमहरू, र डिजिटल भुक्तानी पूर्वाधारहरू मार्फत् एकाधिकार निगमहरूले निरन्तर व्यक्तिगत र व्यवहारिक जानकारीको विशाल मात्रा संकलन गर्छन् ।

कृत्रिम बुद्धिमत्ता बढ्दो रूपमा प्रणालीको रक्षा, सीमा नियन्त्रण, सैन्य प्रविधिहरू, भविष्यबारे निगरानी, र सामाजिक अनुगमन गर्ने पूर्वाधारहरूमा एकीकृत हुन्छन् । एकाधिकार पुँजीवादमा प्राविधिक प्रणाली नाफा अधिकीकरण र सामाजिक नियन्त्रणको अधीनमा रहन्छ । केन्या र अफ्रिकाभरि मोबाइल पैसाको एकाधिकार, डिजिटल ऋणदाता प्लेटफर्म र ओभरड्राफ्ट प्रणालीमार्फत् डिजिटल वित्त पुँजीवादले उल्लेखनीय प्रगति गरेको छ । लाखौँ मानिसहरु उत्पादक लगानीका लागि होइन, बाँच्नका लागि पनि ऋणमा निर्भर हुन्छन् । त्यसैले आधुनिक फासीवादले जेल र राइफलको माध्यमबाट मात्र होइन, तर एल्गोरिदम, निगरानी प्रणाली, डिजिटल ऋण, डेटा निष्कर्षण, र साम्राज्यवादी पुँजीवादको संरचनामा एकीकृत मनोवैज्ञानिक विखण्डनको माध्यमबाट शासन गर्दछ ।

मजदुर संगठनहरू, आदिवासीवाद, धार्मिक कट्टरतावाद र लम्पटसर्वहाराकरण
ऐतिहासिक रूपमा, फासीवादी प्रणालीहरू सबै भन्दा बढी मजदुर र उत्पीडित जनताको स्वतन्त्र राजनीतिक संगठनसँग डराउँछन् । मजदुर सङ्गठनहरूसँग जातीय विखण्डनभन्दा माथि उठ्ने, पुँजीवादी शोषणको पर्दाफास गर्ने, सञ्चयलाई अवरुद्ध गर्ने, क्रान्तिकारी चेतना उत्पन्न गर्ने र बुर्जुवा विचारधारात्मक प्रभुत्वलाई चुनौती दिने क्षमता छ ।
यस कारणले, लडाकु हडतालहरू आर्थिक स्थिरताको लागि खतरा मानिन्छन््, विद्यार्थी आन्दोलनलाई सुरक्षघेरामा पारिन्छन्, युवा परिचालन अपराधीकरण हुन्छ र ट्रेड युनियन गतिविधिहरू गुप्तचर संरचनाहरूको माध्यमबाट अनुगमन गरिन्छ । साथै, साम्राज्यवाद र दलाल सम्भ्रान्तहरूले कबिलातन्त्र र धार्मिक कट्टरतावादलाई जनसमुदायमा वर्गीय चेतना विखण्डित गर्न प्रयोग गर्छन् । जातीय अन्धराष्ट्रवाद र साम्प्रदायिक राजनीतिले वर्गीय शोषणबाट ध्यान अन्यत्र मोड्दछ र साम्राज्यवाद तथा दलाल शासनका विरुद्ध जनआक्रोशलाई ठाडो नभई तेर्सो रूपमा अन्य उत्पीडित समुदाय विरुद्ध परिचालित गर्छ ।
सामूहिक बेरोजगारी, सहरी गरिबी, लागूपदार्थको प्रसार र सामाजिक विखण्डनको अवस्थामा लम्पट सर्वहाराकरणले फासीवादी परिचालनका लागि उर्वर अवस्था सिर्जना गर्दछ । लम्पट सर्वहारा युवाहरूको एउटा तप्का प्रतिक्रियावादी राजनीतिक शक्तिहरू, आपराधिक सञ्जालहरू, मिलिशिया संरचनाहरू र साम्राज्यवादी अस्थिरता परियोजनाहरूका चालबाजीको चपेटामा पर्छन् । त्यसैले फासीवादविरुद्धको सङ्घर्षका लागि सामाजिक आक्रोशलाई अनुशासित साम्राज्यवाद विरोधी र सर्वहारा चेतनामा रूपान्तरण गर्न सक्षम क्रान्तिकारी राजनीतिक शिक्षाको आवश्यकता पर्दछ ।

संशोधनवाद, उदारवाद र फासीवाद विरोधी संघर्षको संकट
अन्तर्राष्ट्रिय रूपमा फासीवादी प्रवृत्तिको तीव्रताले फेरि एकपटक पुँजीवादको संरचनात्मक संकटको सामनागर्ने काममा उदारवाद, सुधारवाद र संशोधनवादका गम्भीर कमजोरीहरूलाई उजागर गरेको छ । फासीवादका विरुद्धको उदारवादले फासीवादलाई संकटग्रस्त एकाधिकार पुँजीवादको राजनीतिक अभिव्यक्तिका रूपमा भन्दा पनि लोकतान्त्रिक मान्यताहरूबाट विचलित भएको रूपमा चित्रण गर्दछ । यसले पुँजीवादी प्रणालीका जिम्मेवार पक्षहरु मितव्ययिता, साम्राज्यवादी युद्ध, सैन्यीकरण र सामाजिक पतनको पक्षपोषण गर्दछ जव कि अधिनायकवादी बयानबाजीको निन्दा गर्दछ । नवउपनिवेशहरूमा, एनजिओकरणले सामाजिक संघर्षलाई व्यापक साम्राज्यवाद विरोधी र सर्वहारा राजनीतिबाट पृथक मुद्दा–केन्द्रित अभियानहरूमा विभाजित ग¥यो । त्यसैले फासीवादविरुद्धको सङ्घर्षले जुझारु साम्राज्यवाद विरोधी र सर्वहारा क्रान्तिकारी आन्दोलनहरूको पुनर्निर्माण गर्दै उदारवाद, अवसरवाद र संशोधनवादका विरुद्ध विचारधारात्मक सङ्घर्षको माग गर्दछ ।

माक्र्सवादी–लेनिनवादी पार्टीहरूको क्रान्तिकारी कार्यभार
साम्राज्यवादको गहिरिँदो संकट र फासीवादी प्रवृत्तिको तीव्रताले संसारभरिका माक्र्सवादी–लेनिनवादी पार्टीहरूमाथि तत्काल ऐतिहासिक जिम्मेवारी सुम्पिएको छ । फासीवाद र साम्राज्यवादका विरुद्धको सङ्घर्षको नेतृत्व गर्न सक्ने प्रमुख क्रान्तिकारी शक्ति सर्वहारा वर्ग नै हो । औद्योगिक श्रमिकहरू, अनौपचारिक कामदारहरू, कृषि श्रमिकहरू, असुरक्षित श्रमिकहरू, डिजिटल प्लेटफर्म श्रमिकहरू, बेरोजगार युवाहरू, र प्रवासी कामदारहरू सबै एकाधिकार वित्त पूँजीको बढ्दो प्रभुत्व भएको पुँजीवादी शोषणको प्रणालीमा एकीकृत भएका छन्

अफ्रिकी नवउपनिवेशहरूमा क्रान्तिकारी रूपान्तरणका लागि सर्वहारा नेतृत्वमा मजदुर र किसानहरूको गठबन्धन आवश्यक हुन्छ । फासीवादविरोधी सङ्घर्षलाई भूमि, कृषि रूपान्तरण, राष्ट्रिय सार्वभौमिकता र साम्राज्यवादी शोषणबाट मुक्त हुने सङ्घर्षबाट अलग गर्न सकिँदैन । माक्र्सवादी–लेनिनवादी पार्टीहरूले व्यवस्थित राजनीतिक शिक्षा, कार्यकर्ता निर्माण, साम्राज्यवाद विरोधी चेतना र अनुशासित क्रान्तिकारी अभ्यासलाई प्राथमिकता दिनुपर्छ । फासीवादविरुद्धको सङ्घर्ष अन्ततः राजनीतिक सत्ताका लागि सङ्घर्ष बन्न जान्छ । क्रान्तिकारी रूपान्तरण र समाजवादद्वारा मात्र मानव जातिले फासीवाद, साम्राज्यवादी युद्ध, शोषण र उत्पीडनको पुनरुत्पादन गर्ने परिस्थितिलाई सदाका लागि उन्मूलन गर्न सक्छ ।

निष्कर्षः साम्राज्यवाद र फासीवादका विरुद्ध जनतालाई उठ्न दिनुहोस्
फासीवादी प्रवृत्तिको समकालीन पुनरुत्थानले साम्राज्यवादको गहिरिँदै गएको ऐतिहासिक संकटलाई प्रतिबिम्बित गरेको छ । फासीवाद मक्ंिकंदै गएको एकाधिकार पुँजीको राजनीतिक अभिव्यक्ति हो । अफ्रिकी नवऔपनिवेशिक व्यवस्थाले वैधताको गम्भीर संकटको सामना गरिरहेको छ । मजदुर अझै पनि शोषित छन् । किसानहरू जमिनबाट बञ्चित छन् । महाद्वीपको अथाह सम्पत्तिका बावजुद युवाहरूले बेरोजगारी, अनिश्चितता, ऋण निर्भरता र सामाजिक बहिष्करणको सामना गर्दै आएका छन् । तर, फासीवाद उत्पादन गर्ने तिनै अन्तर्विरोधले क्रान्तिकारी प्रतिरोधका लागि वस्तुगत अवस्था पनि सिर्जना गर्छन् । अफ्रिका र विश्वभरि मजदुरहरू संगठित भइरहेका छन्, युवाहरूले विद्रोह गरिराखेका छन् र उत्पीडित जनताले साम्राज्यवादी प्रभुत्वविरुद्ध सङ्घर्ष जारी राखेका छन् । फासीवादविरुद्धको सङ्घर्षलाई साम्राज्यवाद, नवउपनिवेशवाद र पुँजीवादविरुद्धको सङ्घर्षबाट अलग गर्न सकिँदैन । अफ्रिका र विश्वका मजदुर, किसान, युवा, महिला र उत्पीडित जनता साम्राज्यवाद र फासीवादका विरुद्ध एकजुट होऊन् । किनकि राष्ट्रिय मुक्ति, समाजवाद र सङ्गठित जनताको विजयद्वारा मात्र मानवजातिले शोषण, उत्पीडन, युद्ध र फासिवादलाई सदाका लागि समाप्त गर्न सक्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित