साम्राज्यवादः कागजी बाघ

-सन्तबहादुर नेपाली

अमेरिका अन्ततः कागजी बाघ सावित भयो । अमेरिकालाई के लागेको थियो भने इरानका सर्वोच्च नेता अयातुल्ला अलि खामेनेईलाई मारेपछि इरान आफ्नो कब्जामा आउँछ । त्यसकारण २८ फरवरी २०२६ का राती उसले सर्वोच्च नेता बसेको भवनमा मिसाइल हमला ग¥यो र त्यहाँ खामेनेई र उनको परिवार सहित अन्य धेरै नेताहरु पनि मारिए । एउटा विद्यालयमाथि गरेको आक्रमणमा करिव डेढ सय विद्यार्थीहरु मारिए । अमेरिकी साम्राज्यवादले नेता तथा जनतालाई मारेपछि इरान आतंकित हुनेछ भन्ने सोचेको थियो । तर जनता अमेरिकी साम्राज्यवादी हमलाबाट रत्तिभर विचलित भएनन् । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न आदेश दिएका थिए । तर ट्रम्पको परमाणुसम्बन्धी शर्तलाई इरानले स्वीकार गरेन । इरानले टेरपुच्छर नलगाएपछि ट्रम्पले इरानको सभ्यता नै समाप्त पारिदिने धम्कीपूर्ण अल्टिमेटम दिए । तर इरानी देशभक्त जनताले हजारौं किलोमिटरको मानव साङलो निर्माण गरेर अमेरिकी साम्राज्यवादलाई खुल्ला चुनौती दिए । देश जोगाउनका लागि आफने जीवनको परवाह नगरेपछि आखिर जीत जनताको हुँदो रहेछ । अमेरिका आक्रमण गर्नबाट पछि हट्यो । जनताभन्दा शक्तिशाली कोही हुँदो रहेन्छ भन्ने इरानी बहादुर जनताले सावित गरिदिए ।
एकातिर इरानी जनताले देशको लागि हाँसी हाँसी कुर्बानी दिन तयार भए, अर्कोतिर, इजरायली जनता युद्ध अवधिभरी बंकरभित्र लुकेर जीवनरक्षा गरे । परिणाम यो भयो इरानले आज अमेरिकी साम्राज्यवादमाथि विजय प्राप्त गरेर खुशीयाली मनाएको छ भने इजरायली नेता तथा जनता १८ जुनमा फ्रान्सको वार्सायमा भएको अमेरिका र इरानबीच भएको सम्झौताबाट असन्तुष्ट भएर युद्ध विरामलाई रुन्चे स्वरमा अस्वीकार गरेको छ । इरानी जनताको साहस, स्वाभिमान, धैर्यता, बलिदान तथा देशभक्तिको भावनाबाट विश्वका देशभक्त र स्वाभिमानी जनताले गहिरो पाठ सिक्नु पर्ने बेला आएको छ ।
इरान र इजरायलबीच आज मात्र होइन, सन् १९७९ देखि नै छद्यम युद्ध (एचयहथ धबच) चल्दै आएको थियो । तर पछिल्लो समयमा अमेरिका पनि खुलेर इरान विरुद्धको युद्धमा प्रकट भयो । १३ जुन २०२५ मा इरानमाथि हमला गरियो । त्यो युद्ध १२ दिनसम्म चलेर रोकियो । तर अमेरिकी साम्राज्यवाद र इजरायली विस्तारवादले इरानमाथि धोकापूर्ण तरिकाले २८ फरबरी २६ मा एक्कासी सर्वोच्च नेता खामेनेईको हत्या गरेर युद्धको घोषणा गरे । अमेरिकी साम्राज्यवादको नीति के रहयो भने उसले युद्ध आफ्नो देशबाट गर्दैन । अरु देशमा सैन्य क्याम्प राखेर त्यहीबाट इरानमाथि हमला गर्ने नीति बनायो र त्यो कुरालाई बुझेर इरानले सर्वप्रथम मध्यपूर्वमा रहेका अमेरिकी बेसक्याम्प माथि प्रहार ग¥यो । कतार, साउदी, युएई, बु्रनाई, कुवेत लगायत स्थायी अस्थायी गरी १९ भन्दा बढी अमेरिकी सैन्य अड्डाहरुमाथि आक्रमण गरेपछि अमेरिका अत्तालिन पुग्यो । त्यसबाट इरानलाई के फाइदा पुग्यो भने मध्यपूर्वका देशहरु आप्नो सुरक्षामाथि खतरा देखेर इरानमाथि आक्रमण गर्न सकेनन् । इरानले एकातिर मध्यपूर्वका देशहरुलाई कमजोर बनायो, अर्कोतिर इजरायलमाथि लगातार आक्रमण ग¥यो । इरानको सबैभन्दा महत्वपूर्ण रणनीति त के देखियो भने उसले हर्मुज जलडमरुको नाकामाथि आफ्नो नियन्त्रण कायम ग¥यो । विश्वको २० प्रतिशत तेल सप्लाई हुने त्यो नाकाबाट तेल निर्यात हुन नसकेपछि विश्व अर्थतन्त्र नै हल्लियो । तेलको संकटले विश्वव्यापार नै तहसनहस भएपछि अमेरिकाले पनि इरानलाई प्रतिबन्ध लगायो । दुवै तर्फको प्रतिबन्धले गर्दा अमेरिका र इजरायलको इरानसितको युद्ध हर्मुज तर्फ सोझियो । त्यसमा पनि अमेरिका असफल भयो । अमेरिका त त्यति बेला थर्कमान भयो, जब उसले सोच्दै नसोचेको आफ्नो शक्तिशाली वमवर्षक युद्धक विमान एफ–२२ ¥यापटर, एफ–३५ ए, एफ–१५ जस्ता लाई पनि इरानी मिसाइलले ध्वस्त पारिदिए । त्यति मात्र होइन, अमेरिकी साम्राज्यवादले स्थल युद्ध गर्ने योजना बनायो । त्यसलाई पनि इरानी सेनाले नाकाम पारिदिए । थुप्रै अमेरिकी सेना इरानी सेनाको कब्जामा पर्न गए । पछिल्लो समय इरानले सुपरसोनक मिसाइलको प्रयोग गर्न गर्न थालेपछि अमेरिका पछि हट्न बाध्य भयो । यसले गर्दा आफूलाई विश्वको महाशक्ति ठान्ने अमेरिकाको शर्मनाक हार हुँदै गएपछि यो युद्धबाट निस्कने उपायहरु खोज्न थाल्यो । अर्कोतिर इरानलाई धम्काउन पनि छाडेन । तर इरान लड्न परे लड्न तयार, वार्ता गर्नु परे वार्तामा बस्न पनि तयार भएर प्रस्तुत भयो र यो पनि भनिरह्यो कि हामी अझै वर्षौंसम्म लड्नका लागि क्षेप्यास्त्रहरु स्टक राखेका छौं ।
दीर्घकालीन लडाई लड्ने क्षमता अमेरिकासँग भएन । क्षमता नभएपछि युद्धको अन्त गर्न वातावरण बनाइदिन विश्व समुदायसँग सम्पर्क गर्न थाल्यो र अन्ततः पाकिस्तान वार्ता गराउन तयार भयो । पाकिस्तानमा भएको वार्ता सम्झौताको नजिक पुगेर पनि असफल भयो । तर पछिल्लो समयमा फ्रान्सले द्विपक्षीय वार्ता गरायो । युद्ध शुरु भएको ११ दिनमा अर्थात् १७ जुनमा सम्पन्न त्यो वार्तामा १४ वटा बुंदामा सम्झौता भयो । तर इजरायलले सम्झौतालाई स्वीकार गरेन । फ्रान्समा भएको १४ बुंदे सहमति अस्थायी युद्ध विराम हो । ६० दिनसम्म सम्झौताको पालन दुवै पक्षबाट भएपछि स्थायी युद्ध विरामको सम्झौता हुने भनिएको छ । विचित्र कुरा त यो भएको छ कि आजसम्म कट्टर दुश्मन भई लड्दै आएका इरान र अमेरिका यो सहमति प्रति प्रतिबद्ध छन् । सहमतिलाई पालन गर्ने सिलसिलामा यी दुई देश नजिक पनि बन्दै गएका छन तर इजरायल र अमेरिका, जो यसभन्दा पहिले घनिष्ट मित्र थिए, उनीहरु बीचको सम्बन्ध अहिले तनावपूर्ण छ । इजरायलले सम्झौतालाई अस्वीकार गर्दै लेवनान माथि आक्रमण पनि शुरु गरेको छ । त्यसले गर्दा प्रधानमन्त्री नेतान्याहुको विरोधमा राष्ट्रपति ट्रम्प मात्र होइन, त्यहाँका संचार जगत पनि उभिएका छन् । ट्रम्पले यसरी अचानक विचार बदलेर नेतान्याहुलाई छाडि दिनुको पछाडि के कारण देखिन्छ भने अहिले अमेरिकामा निर्वाचन नजिक आइरहेको छ, उनले युद्ध जारी राखेको अवस्थामा उनको बिग्रँदै गएको छवि झन बिग्रन सक्छ । अर्कोतिर इरानसितको लडाईमा महंगा महंगा हतियारको प्रयोग भयो जहाँ अर्वौं डलर खर्च भएको छ । अमेरिका त्यो ऋणको भार मुनि दबिँदै गएको छ । त्यसबाट जनतामा असन्तोष उत्पन्न भएको छ । जनताको असन्तोषलाई मत्थर पार्नका लागि पनि डोनाल्ड ट्रम्प यो युद्धबाट बाहिर निस्कन खोजेका थिए ।
ट्रम्पले इरानको जस्तो सुकै शर्त भए पनि स्वीकार गरेर जाने अवस्थामा पुगेका थिए । इरानले राखेका मागहरु अधिकांश पूरा भएको छ । १४ बुँदे सम्झौतामा लेबनान सहितका सबै मोर्चामा युद्धको अन्त्य, एक अर्को देशले एक अर्कोको सार्वभौमिकता र अखण्डतालाई सम्मान गर्ने र हस्तक्षेप नगर्ने, ६० दिनभित्रमा वार्ता गरेर अन्तिम सम्झौता गर्ने, इरान विरुद्ध नाकाबन्दी हटाउने, समुद्री यातायातलाई पुनः स्थापित गर्ने, खाडी क्षेत्रमा आवत जावत खुल्ला गर्ने, बारुदी सुरुङ निस्क्रिय पार्ने, इरानको पुनःस्थापना तथा विकासका लागि ३०० अर्ब डलरको कोष स्थापना गर्ने, इरानमाथिका सबै प्रतिबन्ध हटाउने, आणविक हतियार उत्पादन रोक्नका लागि पछि दुई देशबीच सहकार्य गर्दै जाने तर इरानले आणविक कार्यक्रम यथावत राख्ने, अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाउन नपाउने, अमेरिकाले इरानका रोक्का गरिएका कोष तथा सम्पत्तिहरु मुक्त गर्ने, सम्झौता कार्यान्वयन संयन्त्र स्थापित गर्ने लगायतका विषयहरु रहेका छन् । यो सम्झौतालाई हेर्दा इरानको जीत भएको छ र इजरायल र अमेरिकाको नराम्रो हार भएको छ । ट्रम्पले अमेरिकाको जीत भएको भनेर हल्ला गरे पनि व्यवहारमा हार स्वीकार गरेका छन् । तर नेतान्याहुले हार स्वीकार गर्न सकेनन् ।
यो स्थितिमा नेतान्याहुका कारणले सम्झौता उल्लंघन हुने र पुनः युद्धको स्थिति कायम रहने अवस्था पनि नआउला भन्न सकिंदैन । किनकि इजरायलले छिमेकी देशमाथि आक्रमण गरेर राज्य विस्तार गर्न चाहन्छ । त्यही उद्देश्यले गाजा क्षेत्रमा महिनौंसम्म युद्ध जारी राख्यो । लेबनानको हिजबुल्लाहसित पनि पटक पटक युद्ध भइरहेको छ । इजरायल अमेरिकाको आडमा छिमेकी देशलाई समाप्त पार्न चाहे पनि अमेरिका र इरानबीचको सम्झौताको बुँदा नं. १ ले “लेबनान सहित सबै मोर्चामा युद्धको तत्काल र स्थायी घोषणा गर्छन् ।” भनेर प्रतिबद्धता जनाएपछि अमेरिकाको आडमा छिमेकी देशलाई आतंकित पार्न अब इजरायललाई कठिन भएको छ । तर अमेरिका र इरान बीचको यो सम्झौताले अन्ततः इजरायललाई पनि ठेगान लगाएको छ ।
जेहोस्, विश्वयुद्धको खतरा मडारिईरहेको बेला फ्रान्सले युद्धरत पक्षलाई एक ठाउँमा ल्याएर युद्ध विरामको जुन पहल ग¥यो, त्यसबाट मध्यपूर्वमा क्षेत्रीय तनाव कम हुन पुगेको छ । यसलाई हामी सकारात्मक रुपमा लिनुपर्छ । यस सम्झौताबाट अमरिकाको साम्राज्यवादी दादागिरी केही मत्थर भएको छ । अफगानिस्तानबाट भागेको अमेरिका मध्यपूर्वबाट भाग्न बाध्य भएको छ । अब ताइवानबाट पनि भाग्ने अवस्था आएको छ । यसबाट के स्पष्ट भएको छ भने साम्राज्यवाद बाहिरबाट जतिसुकै बलियो देखिए पनि जनता एकजुट भए भने वा जनता मर्न डराएनन् भने साम्राज्यवाद कुनै पनि देशबाट भाग्नुको विकल्प छैन । तर अमेरिकाले यो युद्धबाट पाठ सिक्नेवाला छैन । इरान अमेरिकाबीच सम्झौता भएपछि अमेरिका कागजी बाघ मात्र रहेको छ । अब अमेरिकाले आफूलाई महाशक्ति भन्ने दिन गईसके । अब इरान, रुस र चीन शक्तिशाली देश बन्ने अवस्था सिर्जना भएको छ । अब पनि पाठ नसिक्ने हो भने कालान्तरमा अमेरिकी साम्राज्यवाद पतन हुने निश्चित छ । सम्झौता लागु भएपछि मध्यपूर्वबाट अमेरिका भाग्यो भने उसको अर्को निशाना अब दक्षिण एसिया हुनेछ । चीन र भारतलाई उसले आफ्नो काबुमा राख्न चाहन्छ । त्यसका लागि सुक्ष्म तरिकाले गतिविधि बढाएको छ । त्यसका लागि अब नेपाललाई प्रयोग गर्दैछ । यदि नेपाली शासकहरु अमेरिकाको अगाडि आत्मसमर्पण गरे भने नेपाल युद्ध मैदान बन्नेछ । तर यदि नेपाली जनता इरानी जनता झैं देशभक्त बनेर हिमाल झैं अडिग रहे भने नेपालीको स्वाभिमान, स्वाधीनता र शीर कहिल्यै झु्क्ने छैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित