सुरुवाती
भिमबहादुर श्रीस कम्युनिस्ट आन्दोलनको एक अनवरत यात्री हुनुहुन्छ। व्यक्तिगत स्वार्थबाट माथि उठेर मात्र सच्चा कम्युनिष्ट बन्न सकिन्छ भन्ने श्रीसको सोचाइ छ । इमान्दारिता, निष्ठावान र सहयोगी भावना श्रीसका चारित्रिक विशेषता हुन् । कम्युनिस्ट आन्दोलनमा भएका अनेकौं टुटफुट र विभाजनका बावजुद पनि आन्दोलनबाट उहाँ निराश हुनुहुन्न । दुःख के हो र खुसी के हो भन्ने कुरा उहाँले जीवनका अनेकौं घुम्तीहरुमा अनुभव लिनुभएको छ। उहाँले सच्चा कम्युनिस्टहरूको एकतामा जोड दिँदै आउनुभएको छ।
जन्म
वि.सं. २००६ मंसिर १ गते भिमबहादुर श्रीसको जन्म भएको थियो । उहाँको जन्मस्थान बागलङ जिल्ला साविक राङखानी गाविस वडा नं. ६ (हाल जैमिनी नगरपालिका वडा नं. १०, साहुथर टोल) हो । बुबा पृथी प्रसाद श्रीस र आमा तुलसी पुनबाट उहाँ जन्मनु भएको थियो ।
बुबा आमाका ३ छोराहरु मध्ये उहाँ जेठो हुनुहुन्छ । माहिला बोमबहादुर श्रीस र कान्छा मिमबहादुर श्रीस हुनुहुन्छ । तर मिम बहादुर श्रीस २०३९ मंसिरमा भारत जान्छु भनी हिंडेका बेपत्ता हुनुभयो र अहिलेसम्म बेपत्ता हुनुहुन्छ ।
पारिवारिक पृष्ठभूमि
श्रीसको पारिवारिक पृष्ठभूमि हेर्दा कृषक र लाहुरे परिवार हो । उहाँका बुबा ६ भाइहरु मध्ये राइँलो भर्ति हुनु भएन, ५ भाइ तत्कालीन इष्ट इण्डिया कम्पनीमा भर्ति हुनु भयो । ३ भाइ विना पेन्सन घर फर्कनु भयो । दोस्रो विश्व युद्धमा वर्मामा जापानी सेनाद्वारा उहाँका बुबा पृथी प्रसाद श्रीस (पल्टनको नाम पृथीबहादुर राना) कब्जामा परेर तीन वर्ष युद्धबन्दीको रुपमा रहनुभयो । ब्रिटिश सेना मेजर मेक्डन सहित कैयौं कब्जामा परेर युद्ध बन्दी भएका थिए । १९४७ मा युद्ध समाप्त भयो । जापानी सेनाको कब्जाबाट मुक्त भएपछि ब्रिटिशले आ–आफ्ना देशमा फर्क, आवश्यकता प¥यो भने बोलाउँछौं भनेर घर – घर पठायो । घर आएपछि उहाँका बुबाले वि.सं.२००४ सालमा विवाह गर्नु भयो । घरमा सामान्य विवाद भएपछि उहाँका बुवा ९ वर्षसम्म लापत्ता हुनु भयो । बुबा लापत्ता भएका बेला घरमा निकै नै दुःख भयो । गाउँमा ढेडी – मजदुरी गरेर बाँच्नु परेको थियो । कहिलेकांही त भिम बहादुर श्रीसको परिवारलाई भोकभोकै पनि रात विताउनु परेको थियो ।
९ वर्षपछि बुबा फर्किएपछि कान्छा भाइको जन्म भएको थियो । उहाँका बुबा ९ वर्षमा मन्द्रासबाट फर्किएर आउँदा विना कमाई खाली हात फर्किनु भयो । एक महिनापछि फेरि फर्कनु भयो मन्द्रास । विस्तारै पारिवारिक सम्बन्ध पनि सुधारियो । थोरै धेरै घर खर्च बुबाले पठाउन थालेपछि परिवारको सामान्य रुपमा आर्थिक सुधार भयो ।
२०५४ मा भिम बहादुर श्रीस गाविस अध्यक्ष भएपछि म्याग्दीस्थित ब्रिटिश वेलफेयर अफिसका क्याप्टेन डम्बर बहादुर गुरुङलाई आफ्नै गाउँ बागलुङको राङखानी बोलाउनु भयो र बुबा पृथीबहादुर सहित गाउँका ७ जनालाई ब्रिटिश वेलफेयर मार्फत् नियमित आर्थिक सहयोग दिलाइदिनु भयो । सुरुमा नेपाली रु. ७०० मासिक, त्यसपछि ४००० र ८००० सम्म मासिक सहयोग गर्दथ्यो । बुढाहरु ३÷३ महिनामा सहयोग लिन म्याग्दीको ब्रिटिश वेलफेयर कार्यालय जाने गर्थे । बुढाहरु मरेपछि तिनका श्रीमतिहरुले पनि सहयोग पाए र कतिपय श्रीमान मरेका श्रीमतीहरुले त्यो सुविधा लिएका थिए ।
शिक्षा
भिमबहादुर श्रीस पढ्ने उमेर भएका बेला बागलुङ जिल्लाको राङखानी गाउँपंचायतको देवलडाँडामा एउटा स्कूल थियो । एउटा भू.पू.भारतीय सेना राहल थापा भन्ने चन्द्रबहादुर थापाले देवलडाँडाको स्कूलमा पढाउँथे । त्यो दिन सम्झँदै भिमबहादुर श्रीस भन्नुहुन्छ, “मलाई पढ्न मन लागेर स्कूल गएँ । तर आमाले स्कूल गएको थाहा पाएर कुन तेरो बाबुले गरेको खाने होस् भनेर ढुंगै ढुंगाले हानेर लखेट्नु भयो । त्यतिबेलाको चेतना नै त्यस्तै थियो । जम्मा एक दिन स्कूल गएको हुँ । आज मैले जे लेख्न पढ्न जानेको छु । त्यो भर्ति भएपछि लेख्न पढ्न सिकेको हुँ । आर्मीमा ७ पिरियडमा १ पिरियड लेखाई पढाई अनिवार्य थियो ।”
मजदुर जिन्दगी
भिम बहादुर श्रीस युवा छँदा नेपालको सरकारले उसिना चामल दिएर सडक खनाउँथ्यो । २०२२ सालमा बागलुङ राङखानीका थुप्रै युवाहरु स्याङ्जाको कुखुरे खोलामा सडक खन्न आएका थिए । श्रीसकी आमाले पोखराबाट जम्मा १० पाथी उसिना चामल लानु भएको थियो । उसिना चामको पैसा तिर्नु नसक्नेले बाटो खन्नु भनेर राङखानी गाउँका मुखिया डम्बरबहादुर राना र हबल्दार पृथीबहादुर रानाले भनेका थिए । हाम्री आमाले उसिना चामलको पैसा तिर्न नसकेपछि स्याङजाको कुखुरे खोलामा ६ महिना बाटो खन्नु परेको थियो । खाना खान मकैको ढिंडो घट्टामा पिसेको दिन्थे, लाउन दिन्न थिए । ६ महिना काम गरे वापत चामलको हिसाव त पूरा भयो, भिम बहादुर श्रीसलाई थप ३६रुपैयाँ पाउँछस् भनेका थिए मुख्यले । तर त्यही ३६ रुपैयाँ पनि उहाँले पाउनु भएन । ती दिनमा पंचायती व्यवस्थामा जनतालाई कसरी काम कजाइन्थ्यो र कसरी शोषण हुन्थ्यो भन्ने कुरा १० पाथी उसिना चामल खाए वापत ६महिना सडक खन्नु परेको घटनाबाट बुझ्न सकिन्छ । तर गाउँका मुख्यहरुले भने मस्ती गरे – भैरहवा –पोखरा जहाजा सयर गरे ।
ुउहाँ २०२३ सालको वैशाखमा कुखुरे खोलाको सडक खनेर घर, राङखानी फर्कनभयो । २०२३ सालको भाद्र महिनामा उहाँका जेठा बाको माइला छोरा, भाइ पर्ने नरबहादुर श्रीस दुई भाइ भएर पोखरा आउनुभयो । २०२३ सालको पोखरामा मजदुर जिन्दगीलाई सम्झँदै भिम श्रीस भन्नुहुन्छ, “पोखराको फेवातालबाट झरेको फुर्से खोलाको हाइड्रो पावरमा, सिमेन्ट मुछ्ने, ढुंगा बोक्ने काम गरियो । दिनभरी काम गरेको ठेकेदारले ३ मोहोर ज्याला दिन्थे । हप्तामा एक पटक भैरहवाबाट पोखरा जहाज आउँथ्यो । जहाजमा ब्रिटिश लाहुरे आउँथे । ती लाहुरेहरुको भारी बोकेर म कास्कीको मतिखान, कास्कीको उत्तर तर्फका गाउँ, स्याङ्जाको दरौं सिरुवारी, घण्टे देउराली, पर्वतको आठथर, स्याङ्जाको सिराने, स्याङ्जाको गल्याङ सेवेनी नरेठाँटी लगायतका ठाउँहरुमा लाहुरेको भारी बोकेर गएको थिएँ । मैले जति पनि लाहुरेको भारी बोके, तिनीहरु सबै गुरुङ थिए । सस्तो जमाना थियो । २० पैसामा एक कप चिया पाइन्थ्यो । लाहुरेले भारी वापत २०÷२५ रुपैयाँ दिंदा धेरै खुशी लाग्थ्यो । त्यसरी २०२३ को भदौदेखि चैत्रसम्म कहिले पोखरा फेवाताल मुनि फुर्से खोलाको हाइड्रोपावरमा काम गर्ने र कहिले लाहुरेको भारी बोकेर समय बिताएँ ।”
श्रीसले २०२४ सालको वैशाखदेखि भाद्रसम्म ५ महिना सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भालु पहाडमा ५ महिना सडक खन्ने मजदुरी गर्नुभयो । त्यो दिन सम्झँदै श्रीस भन्नुहुन्छ, “काठमाडौंको नेवार ठेकेदारले भालु पहाडको ठेक्का लिएका रहेछन् । अप्ठ्यारो चट्टान भएकाले कुनै पनि ठेकेदारले काम लिन नमानिरहेको बेला उनले त्यो ठेक्का लिएका रहेछन् । मलाई पनि लिएर गए । सुरुमा दिनको तीन मोहोर र रक ड्रिल गर्न जानेपछि ५ मोहोर ज्याला दिए । भदौमा उनै भाइ नरबहादुर मलाई लिन आए । माइली आमा रोइरहेका छन् । म तँलाई नलगी जान्न भनेर लिएर गयो । ठेकेदारले नठगिकन पैसा दिएको थियो । । राम्रा कपडा किनियो । चिटिक्क भएर तीजको मेला हेर्न बरेङ गएको थिएँ ।
लाहुरे जिन्दगी
भिमबहादुर श्रीस वि.सं. २०२५ भाद्रमा (सन् १९६९ सेप्टेम्बर ३ तारिख) मा भारतको गोरखपुरबाट भारतीय सेनामा भर्ति हुनुभयो । २१ दिन गोरखपुर राखेपछि उहाँलाई हिमाञ्चलको सवाथु रंगरुट कम्पनीमा लगिएको थियो । लाहुरे जीवन सम्झँदै श्रीस भन्नुहुन्छ, “मलाई १९६५ र १९७१ को भारत–पाकिस्तान युद्धमा जानु परेन । तर चीनको बोर्डरमा अरुणाचलको हिमालमा असाध्य दुःख पाएको दिनहरु अविस्मरणीय छन् । बरफमा गम बुट लगाएर रात दिन पेट्रोलिङ भनेर हिंड्नु परेको कुरा कहिलै बिर्सिंदैन । एक रात त म हिउँ जमेको खाल्डोमै फसे । साथीहरुले बचाए ।”
राजनीतिक चेतनाको विकास
सेनामा छँदा भिम श्रीसले गाडी ड्राइभरको जिम्मा (एम.टी.) जिम्मा पाउनु भएको थियो । त्यसबारे उहाँ भन्नुहुन्छ, “ वर्माको सिमाना भारतको मनिपुर–मिजोरम–नागाल्याण्ड क्षेत्रमा रहँदा चीनमा कम्युनिष्ट शासन छ । कम्युनिस्टहरुले धनी र गरिवको भेद मेटाउँछ भन्ने सुनिन्थ्यो । त्यसबाट मलाई कम्युनिस्ट व्यवस्था राम्रै रहेछ भन्ने दिमागमा छाप परेको थियो । छुट्टीको बेला घर आउँदा शिक्षक कृष्ण थापा लगायतले कम्युनिस्ट पार्टीकै कुरा गर्थे । सन् १९८४ (२०४० असार) मा म पेन्सन निस्किएँ । गाउँमा आएपछि म पसल पनि गरें र सामाजिक काममा लागें । सर्र्कुवाका कृष्ण थापा, मेरै गाउँकी बहिनी पुष्पा, भाइ पर्ने जगदिश श्रीस, बहिनी हरिमाया आएर सांस्कृतिक कार्यक्रम गरौंहै भन्थे । हामीले गाउँमा सांस्कृतिक कार्यक्रमको व्यवस्था गरिदिन्थ्यौं । त्यसरी पंचायतकालमा नै हाम्रो गाउँमा प्रगतिशील सांस्कृतिक कार्यक्रम हुन्थ्यो । “फोकल्याण्डको टापु” बाट भन्ने गीतमा ढक पुनले अभिनय गर्दथे । मलाई त्यसले निकै मनमा छुन्थ्यो ।
२०४६ सालमा बहुदल आयो । २०४७मा बागलुङको बलेवा नारायणथानमा नेकपा (मसाल) को प्रशिक्षण कार्यक्रम रहेछ । मलाई भरत पौडेल लगायतले प्रशिक्षण कार्यक्रममा लिएर गए । मैले त्यो प्रशिक्षण कार्यक्रम भन्दा पहिले नै नेकपा (मसाल) को उम्मेदवार फारम भरेको थिएँ । त्यो प्रशिक्षणमा मोहन विक्रम सिंह, राम सिंह श्रीस, परी थापा लगायतका नेताहरु जानु भएको रहेछ । मोहनविक्रमको हुन भन्ने पनि मैले चिन्न सकेन । पछि मात्र थाहा भयो । यसरी मेरो जीवनमा राजनीतिक चेतनाको विकास भएको पाउँछु ।”
गाविस अध्यक्ष
२०४९ र २०५४ को गाविस अध्यक्ष चुनावमा भिम बहादुर श्रीस दुई पटक नै राङखानी गाविसको अध्यक्ष बन्नुभयो । २०४९ मा भिम बहादुर श्रीसको प्रतिद्वन्द्वि नेपाली कांग्रेसका सुबेदार खडक सिं श्रीसले २९६, नेकपा (एमाले) को डण्डपाणि वाग्लेले ४९ र भिम श्रीसको १४८६ मत लिई अत्यधिक मतले विजय प्राप्त गर्नुभयो । २०५४ को स्थानीय निर्वाचनमा निर्विरोध गाविस अध्यक्ष बन्नुभयो । बाटाघाटा निर्माण, शिक्षा सुधार, गाउँमा विद्युतिकरण, हेल्थ पोष्ट भवन निर्माण–लगायत व्यापक श्रमदानका काम भएका थिए । बागलुङबाट पोखरा आए पछि २०७४ सालको स्थानीय तह निर्वाचनमा उहाँ देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको तर्फबाट पोखरा महानगरपालिकाको मेअर उम्मेद्वार बन्नुभएको थियो ।
जनजाति संगठन
भिम बहादुर श्रीसले तत्कालीन नेकपा (मसाल) मा छँदा अखिल नेपाल जनजाति सम्मेलन बागलुङको कोषाध्यक्ष,केन्द्रीय सदस्य र केन्द्रीय कोषाध्यक्ष समेत भई काम गर्नुभयो । नेकपा (एकीकृत) भएपछि अखिल नेपाल मगर स्वशासित संघ (एकीकृत)को केन्द्रीय कोषाध्यक्ष सम्मको जिम्मेवारीमा रही काम गर्नु भयो । क्रान्तिकारी माओवादी बनेपछि अखिल नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य रहेर काम गर्नुभयो ।
सामाजिक कार्य
भिम बहादुर श्रीसले २०६७ देखि २०७१ सम्म ४ वर्ष बागलुङ – पोखरा मगर समाजको अध्यक्ष तथा २०६९ देखि २०७० सम्म बागलुङ – पोखरा समाजको अध्यक्ष भई काम गर्नु भएको थियो ।
विवाह र परिवार
२०३१ सालमा गाउँकै भद्रकाली पुनसित उहाँको विवाह भयो । एक सन्तान रेशमबहादुर श्रीस हुनुहुन्छ । रेशम पनि ब्रिटिश आर्मीको निवृत्त हुनुहुन्छ ।
पार्टी
उम्मेदवार सदस्य फारम भरेको ३ वर्ष पछि २०५० सालमा भिम श्रीसले नेकपा (मसाल) को पार्टी सदस्यता प्राप्त गर्नु भएको थियो । नेकपा (मसाल) को बागलुङ दक्षिणभेग ६ नं. एरिया समितिको सदस्य भएर काम गर्नुभयो । २०६२ सालदेखि कास्कीको पोखरा बस्न थाल्नुभयो । २०६६ देखि उहाँ पोखरा नै बसाई सराई गर्नुभयो । २०६३ मा पार्टी विभाजन भएपछि नेकपा (एकीकृत) कास्कीको जिल्ला सजिव भएर काम गर्नुभयो । २०६७ देखि २०७२ सम्म नेकपा (एकीकृत) को कास्की जिल्ला सचिव रहेर काम गर्नुभयो । २०७२ मा नेकपा–माओवादी र नेकपा (एकीकृत) का बीचमा पार्टी एकीकरण भएपछि बनेको नेकपा (क्रान्तिकारी माओवादी) को २०७२ देखि २०७५ सम्म कास्की जिल्ला सचिव रही काम गर्नुभयो । २०७५ मा माघ २३ गते प्यारालाइजको समस्या आएपछि उहाँले सचिवको जिम्मेवारी छाड्नुभयो । २०८० वैशाखमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का बीचमा पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बन्यो र त्यस पार्टीको केन्द्रीय समिति सदस्य बन्नुभयो । २०८१ वैशाखमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(मशाल) का बीचमा पार्टी एकता भएर बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको उहाँ वैकल्पिक केन्द्रीय सदस्य बन्नु भयो ।
दुःखद घटना
जीवनमा माओवादी र मसालबाट पिटाई खाएको फरकफरक घटना उहाँका लागि दुःखद घटना हुन् । २०६१ साल श्रावण ५ गते विहान ८ बजेदेखि राति ११ बजेसम्म आफ्नै घरमा आई २५ जना जति माओवादी लडाकुको टोलीले कुटपिट गरेको घटना उहाँको जीवनको दुःखद पक्ष हो । सम्झँदै भन्नुहुन्छ, “विहानै आएर भात पकाउनुस् तपाईकै हातले पकाएको खान्छौं भने । तिमीहरु माओवादी प्रचण्डका मान्छे, म चाहिं राजनीतिक पार्टीकै मान्छे हुँ, म मोहनविक्रमको मान्छे । मसालको “न सुराकी, न खुराकी” भन्ने नीति छ । मैले दिन्न । तिमीहरु आफ्नै हातले जे खान्छौं निकालेर खाऊ भने । मलाई कुटेर भान्छा घरमा थुने । आफै आटो पकाएर खाए । भान्साघरबाट आएको धुवाँले म निस्सासिएँ । पिटाईका कारणले मैले आँखा देख्न नसक्ने अवस्थामा पुगेको थिएँ । पूरै जिउ सुन्निएको थियो । मलाई के लाग्छ भने प्रतिशोधका भावनाले कुटिएको थियो । सच्चा कम्युनिस्ट चरित्र भएको भए त्यसरी अनावश्यक कुटपिट गर्नु हुने थिएन । सच्चा कम्युनिस्टहरु, सही क्रान्तिकारीहरु एक ढिक्का हुनुपर्छ भनेर अहिले विगतका घटनालाई बिर्सिएर भए पनि हामी एकता र ध्रुवीकरणको प्रक्रियामा जानु परेको छ ।”
“२०६४ को संविधानसभा चुनावमा नेकपा (एकीकृत) को तर्फबाट बागलुङ क्षेत्र नं. २ बाट लिला थापा उम्मेदवार थिए । पोखराबाट गएर म राङखानी गाउँमा चुनावप्रसारमा लागेको थिएँ । मसालका कार्यकर्ताहरुले म माथि कुटपिट गरे । पछि गुञ्जबहादुर घर्तीलाई मसालका कार्यकर्ताहरुले निर्घात कुटपिट गरे । त्यो दुःखद घटना थियो ।”
सुखद पक्ष
पार्टी–संगठनमा काम गर्न पाउनु भिम श्रीसका लागि सुखद पक्ष हो । साथी सँगीहरु सित भेट्नु, कुराकानी गर्नु ,आन्दोलनमा हिड्नु देश र जनताको पक्षमा संघर्ष गर्नु – भिम श्रीसको लागि जीवनको सुखद र आनन्ददायी कुरा हो । सामाजिक काममा सक्रिय बन्न पाउँदा पनि उहाहालाई रमाइलो लाग्छ ।
पुछारको कुरा
जीवनको झण्डै चार दशक सम्म सामाजिक र राजनीतिक काममा लाग्दा उहाँलाई कहिलै पनि अनियमितता वा भ्रष्टाचारको आरोप खेप्नु परेन । उहाँ निष्कलंंक चरित्र बोकेको व्यक्ति हो । गा.वि.स. अध्यक्ष हुँदा सानासाना हिसाब पनि उहाँले डायरीमा टिपेर राख्नुहुन्थ्यो, जनतालाई छर्लंग बताइदिनुहुन्थ्यो । पारदर्शिता, प्रलोभनविहीनता श्रीसबाट सिक्नुपर्ने पाठ हो । कहिलै पनि निरास नभई पार्टी, संगठन र सामाजिक काममा निरन्तर लागिरहने उहाँबाट सिक्नुपर्ने अर्को पाठ हो । बाँकी जीवन पनि पार्टी, संगठन र सामाजिक काममा विताउने भीम श्रीसको मन छ । उहाँका पनि कमीकमजोरी छन् । कहिलेकाही अनाबश्यक हौसिने र विनामेसै झर्किने सानातिना कमजोरी पनि छन् । गा.वि.स. अध्यक्ष भएकै बेला २०५५मा मसालले मदिरा विरोधी अभियान चलाएको बेला रोपाईमा खेतालालाई जाँड खुवाएको भनेर कार्वाहीमा पर्नु परेको थियो । एमालेका एक व्यक्तिले उजुरी गरे पछि उहाँलाई मसालले ६ महिना गा.वि.स. अध्यक्षबाट निलम्बन गरेको थियो ।
“विश्वका मजदुरहरु एक होऔं भन्ने तर साना–साना कुरामा व्यक्तिगत स्वार्थ, रिसिवी ल्याएर पार्टी फुटाल्ने कम्युनिस्टहरुको तरिका बेठिक हो ।” –श्रीसको भनाई छ । कम्युनिस्टहरु कस्तो हुनुपर्छ भन्ने बारेमा श्रीस भन्नुहुन्छ – “कम्युनिस्टहरुले कार्यकर्तालाई मात्र हैन, जनतालाई प्रशिक्षित गर्नुपर्दछ ।उत्पीडित जनताहरु÷श्रमजीवी जनताको बीचमा सामूहिक काम गर्नुपर्दछ ।समूहगत उत्पादनमा लाग्नुपर्दछ । जनतालाई ढाँटछल गर्नु हुन्न ।”
प्रस्तुति ः रामबहादुर बुढा
भिमबहादुर श्रीस मगरको संघर्षपूर्ण जीवन यात्राः मजदुर,लाहुरेदेखि राजनीतिकर्मीसम्म
Comments

