रम्बास शैलीको कविता लोकप्रिय बन्दैछ

 

–शेषमणि आचार्य
लेखक तथा साहित्यकार

(साहित्य – वार्ता)

० प्रगतिशील लेखक संघका प्रथम अध्यक्ष श्याम प्रसाद शर्मा तपाई नजिकबाट चिनेको व्यक्ति हुनुहुन्छ । उहाँलाई तपाई के कसरी बुझ्नु हुन्छ ?
–श्याम प्रसाद शर्माका बारेमा जान्नका लागि कम्युनिस्ट आन्दोलनमा आएको विभाजन र त्यस विभाजनका बीचबाट उहाँले गरेको संगठन निर्माण, अध्ययन, लेखनका बारेमा जान्नुपर्ने हुन्छ । २०१४ सालको दोस्रो महाधिवेशनबाट नेकपाको महासचिव हुनु भएका केशरजंग रायमाझीले २०१७ सालको राजाको प्रतिगामी कदमलाई स्वीकार गर्नुभयो । पार्टीमा विवाद भयो । रायमाझीको राजापरस्त चिन्तनका विरुद्धमा मूल रुपमा पुष्पलालले पार्टीमा भूमिका खेल्नु भयो । २०१९ सालमा बनारसमा नेकपाको तेस्रो महाधिवेशन भयो । तुलसीलाल जी नेतृत्वमा आउनु भयो । विश्व कम्युनिस्ट आन्दोलनमा आएको विभाजनको प्रभाव नेपालमा पनि प¥यो । रुसी धारको पक्षपाति तुलसीलाल हुनुभयो भने चिनियाँ धारको नेतृत्व पुष्पलालले गर्नुभयो । पुष्पलाल नेपाल छाडेर प्रवासमा बसेर काम गर्न थाल्नु भयो ।

त्यतिबेला सजिलोसँग काम गर्ने अवस्था थिएन । काठमाडौंमा रहेका साथीहरुले नेपाल चीन मैत्री संघको आवरणमा काम गर्न थाल्नुभयो । त्यतिबेला नेपाल चीन–मैत्री संघको नेतृत्व पूर्णबहादुर एम.ए. भन्ने साथीले गर्नुभएको थियो । पूर्णबहादुर जी राजाको निकट हुनुहुन्थ्यो र चीनको पनि मित्र हुनुहुथ्यो । अनि राजाको निकट भए पनि वामपन्थी सोचाई उहाँमा थियो । नेपाल–चीन मैत्री संघको मातहतमा रहेर वामपन्थी साथीहरुले चिनियाँ पुस्तक तथा साहित्यहरु उल्था गर्ने, प्रकाशित गर्ने र प्रचार गर्ने काममा लाग्नुभयो । श्यामप्रसाद शर्माजी, गोविन्द भट्टजी, शान्तदास मानन्धरजी लगायत त्यस संस्थामा रहेर काम गर्नुभयो ।

त्यहाँ वामपन्थीहरु मात्र नभएर गैरवामपन्थी चीनका समर्थकहरु पनि थिए । त्यस संस्थाले माओ, लुसुनका कितावहरु उल्था गर्ने, प्रचारप्रसार गर्ने, गोष्ठी गर्ने काम ग¥यो । भूमिगत रुपमा नेकपाको वागमती प्रान्तीय कमिटी क्रियाशील थियो वागमती प्रान्तीय कमिटीकै निर्णय अनुसार श्यामप्रसाद जी भूमिगत जीवन अपनाउन पुग्नु भयो । त्यसभन्दा पहिले वागमती प्रान्तीय कमिटीको नेतृत्व निर्मल लामाजीको हातमा थियो । लामाजी जेल गएपछि वागमती प्रान्तीय कमिटी पुनर्गठन गर्नुपर्ने भयो । पार्टी पुनर्गठन गर्दा पुष्पलाल समूहमा मात्र रहेर काम गर्ने स्थिति रहेन । त्यही भएर श्याम प्रसाद शर्माजीको नेतृत्वमा नेपालका कम्युनिस्टहरुको संगठन (माओवादी) भूमिगत रुपमा गठन भयो ।
गोविन्दजी, शान्तदासजीहरुले उहाँलाई सहयोग गर्नुहुन्थ्यो । त्यसभन्दा धेरै कुरा हामीलाई थाहा छैन । अति भूमिगतशैलीमा उहाँले काम गर्नुभयो । पार्टीको विधान चाहियो भन्दा चिनियाँ कम्युनिस्ट पार्टीको ठाउँमा नेपाल कम्युनिस्ट पार्टी भनी बुझ्ने र प्रान्तलाई यहाँका अञ्चल बुझेर काम गर्ने भन्नुहुन्थ्यो । पछि विधान शान्तदास मार्फत् पाउनु हुन्छ भन्नुहुन्थ्यो । नेपालका कम्युनिस्टहरुको संगठन (माओवादी) को लिखित विधान थियो । त्यो एकले अर्कोलाई लेखेर दिइन्थ्यो ।

० माओवादी नामाकरण गरिएको पार्टी श्यामजीले नेतृत्व गरेको माओवादी नाम गरेको पहिलो गोप्य संगठन हो ?
–माओको लाइनलाई त पुष्पलालजीले सम्मेलन नै गरेर स्वीकार्नु भएको थियो । हामी क्याम्पस पढ्दा चीनमा सांस्कृतिक क्रान्तिको जल्दोबल्दो अवस्था थियो । चिनियाँ दुतावासको एक कार्यक्रममा दुतावासको एक चिनियाँ उच्च अधिकारीसित हात मिलाउने अवसर मिलेको थियो । त्यहाँ मैले ‘हामी माओवादी हौैं’ (विआर माओइस्ट) भनेर परिचय दिएको थिएँ । म चिनियाँहरुसित नजिक हुन मोओइस्ट भने तर ती चिनियाँले वीआर नट माओइष्ट) हामीले माओ विचारधारा मान्छौं भने पछि एउटा मिटिङमा मैले श्याम प्रसादजीसित चिनियाँहरुले माओवाद भनेको राम्रो मान्दा रहेनछन् भन्ने कुरा सुनाएँ । श्यामप्रसाद जीले भन्नुभयो कि हामीले माओवाद छाड्नु हुँदैन । उहाँले अन्तर्राष्ट्रियस्तरमा माओवाद र माओविचारधाराको विवादमा अल्झिनु हुँदैन । त्यो विवादमा अल्झिनु भन्दा हामीले हाम्रो देशको संगठन विस्तारमा ज्यादा ध्यान दिनुपर्दछ ।

० श्यामप्रसाद शार्मजीको लेखन क्षेत्रको योगदानबारे चर्चा गर्नु पर्दा यहाँको भनाई ?
–श्यामप्रसादजीका कृतिहरुमा नेपाली समाजको मौलिकता बोलेको पाइन्छ । माओको कृतिहरुको अध्ययन गरेर नेपाली समाजमा माओका विचारहरुलाई सम्प्रेषण गर्ने काम श्याम प्रसाद शर्माजीले गर्नुभएको छ । श्याम प्रसाद जीको नेपालमा तीन क्षेत्रमा भूमिका छ–एक, राजनीतिक क्षेत्र, दुई, सांस्कृतिक क्षेत्र र तीन, साहित्यको क्षेत्र । माओको उद्यृत उक्तिहरुको संग्रह रेड बुक नेपालमा अंग्रेजी र हिन्दीमा मात्र आएको थियो । त्यसलाई नेपाली भाषामा अनुवाद गर्ने पहिलो व्यक्ति श्याम प्रसाद शर्मा हुनुहुन्थ्यो । तर त्यहाँ अनुवादकको नाम छैन । माओका दर्शनशास्त्र सम्बन्धी पाँच कृति पनि श्याम प्रसादजीले नै अनुवाद गर्नु भएको थियो । बुर्जुआ डिग्री बहिष्कार गर्ने मध्ये श्यामप्रसाद शर्मा जी पनि हुनुहुन्थ्यो । उहाँको अनुवादलाई सहयोग गर्ने काम गोविन्द भट्ट र शान्तदासजीले पनि गर्नुभयो ।

नेपालको मौलिक विशेषता अनुसारको वर्ग विश्लेषण गर्नुपर्दछ भन्ने उहाँको भनाई थियो । उहाँले अन्तरपार्टी सर्कुलरका रुपमा “वर्गविश्लेषण गर्दा ध्यान दिनुपर्ने कुरा” लेख्नु भएको थियो । “पार्टीभित्र दुई लाइन संघर्ष” भन्ने अर्को लेख लेख्नु भएको छ । त्यस लेखमा अन्तरपार्टी संघर्षमा के गर्न हुन्छ, के के गर्न हुन्न भन्ने कुरा लेख्नु भएको छ । श्यामजी र हामीले गोपनियताको शैलीलाई “लोकयुद्धको कार्यशैली” भन्ने गथ्र्यौं । झापाली विद्रोहको व्यक्ति हत्यालाई श्यामजीले स्वीकार्नु भएन । झापा विद्रोहलाई उहाँले “जनयुद्धबारे पहिलो पाठ” भनेर सानो पुस्तिका लेख्नु भएको थियो । श्यामजीको साहित्य र राजनीतिमा गहिरो रुची थियो । उहाँको महत्वपूर्ण रचना “तँ, तिमी र तपाई” प्रसिद्ध रचना हो । उहाँद्वारा लिखित “आइमाई साथी” विश्विद्यालयमा पाठ्यक्रममै राखेर पढाइन्छ । “एक घण्टा बिताउनु” अर्को महत्वपूर्ण रचना हो । धर्मबारे केही कुरा, पाँच जरुरी, संस्कृतिको क्षेत्रमा लेनिनले देखाउनु भएको बाटो, धनीको पनि ओत लिने, साहित्यमा सापेक्षता, नेतृत्वको विषयमा लगायतका महत्वपूर्ण रचनाहरु उहाँका छन् ।

० शान्तदास मानन्धरलाई कसरी बुझ्नु हुन्छ ?
–शान्तदास जी राजनीतिक रुपले श्यामप्रसादजीको अनुयायी हो । साहित्यिक कार्यमा शान्तदासजी लुसुनको अनुयायी हो । माओका कृतिका पहिलो अनुवादक श्यामप्रसाद भए जस्तै लुसुनको साहित्यलाई नेपाली भाषामा अनुवाद गरी प्रचारमा ल्याउने पहिलो व्यक्ति शान्तदास जी हो । रेडियो पेकिङबाट नेपाली भाषाको कार्यक्रम चलाउने पहिलो व्यक्ति गोविन्द भट्ट हुनुहुन्थ्यो ।

० लेखक अपत्य शर्माजीलाई जान्नु हुन्छ ?
–जान्छु । उहाँ पहिले हाम्रै संगठनमा हुनुहुन्थ्यो । अपत्य जी ४ वर्ष धादिङमा भूमिगत भएर बस्नुभयो । उहाँले त्यही नै विवाह गर्नुभयो । पंचायतकालमा अपत्यजीले काठमाडौंबाट तनहुँमा आएर मजदुरहरुसित इँटा भट्टामा पनि काम गर्नुभएको थियो । पछि के चित्त बुझेन र छोड्नुभयो । हाम्रो पार्टीमा छँदा उहाँको पार्टी नाम “सुलह” थियो । इँटा भट्टामा मजदुरहरुसित काम गर्दा उहाँ विरामी हुनुभयो झाडापखलाले समस्या पारेपछि उहाँ काठमाडौं फर्कनु भएको हो ।

० तपाईका प्रकाशित कृतिहरु के के छन् ?

–“केही पारिभाषिक शब्द”, “समाजवादबारे केही कुरा”, “मलाई एउटा बाँसुरी देऊ” (कविता संग्रह)”, हामी (कविता संग्रह), डाली (रम्बास शैलीमा कविता संग्रह) लगायत मेरा रचना छन् । “समाजवादबारे केही कुरा” मैले जनक शर्माको नामबाट लेखेको छु ।

० रम्बास साहित्यको सिर्जना कसरी भयो ?
–भारतको असममा एक जना साहित्यकार मिलन बोहोरा भन्ने हुनुहुन्छ ।उहाँले ज्यामितीको रम्बासको आकारमा शब्दहरु मिलाएर राखेर कविता सिर्जना गर्नुभयो । उहाँ गणितको सुत्र पनि थाहा भएको मान्छे/कोरोना कालमा उहाँले रम्बासको आकारमा कविता लेख्न थाल्नु भयो ।रम्बास कविताको सिद्धान्त, मूल्यमान्यता पनि निर्माण हुँदै गए । त्यो कुरा मेरो नजरमा पनि पर्न गयो । मैले पनि त्यसको अनुसरण गर्दै जाँदा केही कविता बने । नेपालमा सबैभन्दा पहिले कवितामा रम्बास शैली भित्र्याउने रोहित शैंजु र रविन्द्र पोख्रेल हुन् र सबैभन्दा पहिले रम्बास शैलीमा कृति ‘डाली’ (कविता संग्रह) प्रकाशित भएको मेरो हो ।   अंग्रेजी र असमी भाषामा पनि लेखिंदै छ ।रम्बास शैलीको कविता लोकप्रिय बन्दैछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित