द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्त

मोहन वैद्य ‘किरण

प्रतिबिम्बनको सिद्धान्त
द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तका अनुसार सत्ता र चिन्तनका बिच द्वन्द्वात्मक एकता छ । यसको अर्थ संसार अज्ञेय होइन ज्ञेय छ, मानिसको चेतनाले भौतिक संसारलाई प्रतिबिम्बन गर्ने सामथ्र्य राख्दछ, विश्वलाई त्यसको सारतङ्खव तथा नियममा बुझ्न र बदल्न सकिन्छ भन्नु हो । माक्र्सवादी ज्ञानसिद्धान्त अज्ञेयवादका विरुद्ध परिलक्षित रहेको छ ।
माक्र्सवादी ज्ञानसिद्धान्त अनुसार प्रतिबिम्बन भनेको गतिशील विश्व तथा समाजको यथासम्भव सजीव तस्बिर खिच्दै र तिनको सारतङ्खवका रूपमा अवधारणा, नियम, प्रवर्ग तथा सिद्धान्तलाई बुझ्दै जाने अनन्त प्रक्रिया हो । माक्र्सवादी ज्ञानसिद्धान्तले प्रतिबिम्बनलाई निस्क्रिय होइन, सक्रिय र प्रभावकारी अर्थमा ग्रहण गर्दछ । यसको अर्थ दुनियाँलाई बुझ्ने मात्र होइन बदल्ने पनि हो ।

ज्ञानको दुई छलाङ्को सिद्धान्त
मानिसको ज्ञान ज्ञानेन्द्रियहरूद्वारा रङ, रस, गन्ध, स्पर्श शब्द संवेदनाहरूको ज्ञानसितै सुरु हुन्छ । यसै क्रममा संसारलाई प्रत्यक्ष रूपमा देख्न र जान्न सकिन्छ । यो इन्द्रिय ग्राÞय ज्ञान हो । यस प्रकारको ज्ञान अझै अधुरो हुन्छ । त्यसैले ज्ञानले बुद्धिजन्य ज्ञानमा छलाङ हान्न जरुरी हुन्छ । संवदेना, संस्कार र प्रत्यक्षबाट प्राप्त ज्ञानलाई बुद्धिजन्य ज्ञानमा समृद्ध तुल्याउने काम हुन्छ । यसमा वस्तुहरूको समग्रता, सारतङ्खव र आन्तरिक सम्बन्धलाई संश्लेषित गरिन्छ । अनि यसै क्रममा धारणा, निर्णय, निष्कर्ष, नियम वा सिद्धान्तको जन्म हुन पुग्दछ । अनि फेरि यस प्रकारको बुद्धिजन्य ज्ञानले व्यवहारमा छलाङ हान्नुपर्दछ ।
माओ भन्नुहुन्छ, “इन्द्रिय ग्राह्य ज्ञानबाट आरम्भ गर्नु र त्यसलाई गत्यात्मक रूपले बुद्धिसङ्गत ज्ञानमा विकसित गर्नु, त्यसपछि बुद्धिसङ्गत ज्ञानबाट आरम्भ गरेर गत्यात्मक रूपले क्रान्तिकारी व्यवहारको पथप्रदर्शन गर्नु, जसबाट कि आत्मगत र वस्तुगत संसारमा परिवर्तन ल्याउन सकियोस् । व्यवहार, ज्ञान, फेरि व्यवहार, फेरि ज्ञान । यो क्रम अनन्त कालसम्म आवृत्ति भइरहन्छ र हरेक आवृत्तिको साथमा ज्ञानको अन्तर्वस्तु अरू बढी उच्चस्तरमा पुग्दै जान्छ । ” व्यवहारबाट सिद्धान्त र सिद्धान्तबाट व्यवहार यही नै द्वन्द्वात्मक भौतिकवादी ज्ञानको दुई छलाङ्को सिद्धान्त हो ।

सत्यको वस्तुनिष्ठता, सापेक्षता र निरपेक्षता
मानवीय ज्ञान अर्थात् सत्यको अन्तर्वस्तु वस्तुगत हुन्छ । हाम्रो ज्ञानको अन्तर्वस्तु विषयी अर्थात् मानिसमा होइन विषय अर्थात् वस्तुगत संसारमा आधारित हुन्छ । त्यसैले सत्य सधै आत्मनिष्ठ होइन, वस्तुनिष्ठ हुन्छ । द्वन्द्वात्मक भौतिकवादी ज्ञानसिद्धान्तका अनुसार मानिसको आत्मा वा मन भन्दा बाहिर प्रकृति या वस्तु जगतको स्वतन्त्र अस्तित्व छ र त्यो मानिसको आत्मामा प्रतिबिम्बित हुन्छ । यही नै सत्यको वस्तुनिष्ठता हो ।
वस्तुनिष्ठ सत्यको स्वरूप सापेक्ष र निरपेक्ष दुवै हुन्छ । वस्तु जगतको निरन्तर विकासको प्रक्रियामा हाम्रो ज्ञान सीमित, अधुरो र आंशिक हुने गर्दछ । यो सत्यको सापेक्षता हो । परन्तु चिन्तनको विकास प्रक्रियामा निरपेक्ष सत्य पनि प्राप्त हुन सक्दछ । ज्ञानको विकासको पनि सापेक्षताबाट निरपेक्षतातर्फ निरन्तर अगाडि बढिरहेको हुन्छ र सापेक्ष सत्यहरूको कुल योगबाट नै निरपेक्ष सत्य बनेको हुन्छ ।
ज्ञानको विकासको अनन्त क्रममा सत्य भ्रम र भ्रम सत्यमा बदलिन सक्छ । अभिभाज्य मानिंदै आएको परमाणु इलेक्ट्रोन जस्ता नयाँ खोजको कारण विभाज्य मानियो । यो सत्यको सापेक्षता हो । चिन्तनको क्षेत्रमा कैयौँ निरपेक्ष सत्य पनि हुन्छन् । जस्तो पदार्थ गतिशील छ, जन्मेपछि मर्नुपर्छ आदि । सापेक्ष सत्य र निरपेक्ष सत्यका बिचमा द्वन्द्वात्मक एकरूपता छ ।

सत्यको प्रामाणिकता र कसौटी
हामीले जुन वस्तुको ज्ञान प्राप्त गरेका छौं त्यो ज्ञान त्यसै वस्तुसित मेल खाएको छ वा छैन भन्ने प्रश्न नै सत्यको प्रामाणिकताको प्रश्न हो । सम्बन्धित वस्तुको ज्ञान त्यसै वस्तु अनुरूप हुनु अर्थात् त्यस वस्तुसित मेल खानु नै सत्यको प्रामाणिकता हो । यसलाई ज्ञानको वस्तुगत यथार्थसितको अनुरूपता, मेल वा संवाद पनि भनिन्छ ।
सत्यको प्रामाणिकताको जाँच कसरी गर्ने त ? यो सत्यको कसौटीसित सम्बन्धित प्रश्न हो । द्वन्द्वात्मक भौतिकवादका अनुसार सत्यको कसौटी सामाजिक व्यवहार हो । उत्पादनका निम्ति सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोग जस्ता सामाजिक व्यवहारद्वारा नै सत्यको प्रामाणिकताको पुष्टि हुन्छ । कुनै विचार, सिद्धान्त वा नियमको सत्यता असत्यताको परीक्षा पनि अन्ततस् व्यवहारद्वारा नै हुन्छ ।

ज्ञान सिद्धान्तको विधि
ज्ञान सिद्धान्तको विधिअन्तर्गत विभिन्न विषय पर्दछन् । पहिलो, निरीक्षण र प्रयोगको कुरा गरौं । कुनै पनि वस्तु वा प्रकृतिलाई ठिकसित बुझ्न, त्यसका नियम पत्ता लगाउन र त्यसको राम्रो निरीक्षण वा जाँचबुझ गर्नुपर्दछ । अनि त्यसलाई प्रयोगमा ल्याएर सिद्ध गर्नुपर्दछ । निरीक्षण र प्रयोग परस्पर सम्बन्धित छन् ।
दोस्रो, ज्ञानको विधि निगमन र आगमनको द्वन्द्वात्मक सम्बन्धमा आधारित हुन्छ । निगमनलाई सामान्य र आगमनलाई विशेषका रूपमा बुझ्नुपर्दछ । सामान्यबाट विशेषतर्फ जाने विधिको नाम निगमन हो । जस्तैस् मान्छे मरणशील छ, राम मान्छे हो, अतस् राम मरणशील छ । यहाँ सामान्य निष्कर्षबाट विशेष निष्कर्षमा जाने काम भएको छ । विशेषबाट सामान्यतर्फ जाने विधिलाई आगमन भनिन्छ । जस्तैस् हरि, राम, सीता मान्छे हुन्, यी सबै मरणशील छन्, अतस् मान्छे मरणशील छ । यहाँ विशेष निष्कर्षबाट सामान्य निष्कर्षमा पुग्ने काम भएको छ । निगमन र आगमनको विधिले सिद्धान्त र व्यवहारको द्वन्द्ववादलाई प्रस्तुत गर्दछ ।
तेस्रो, ज्ञान मूर्त र अमूर्तको द्वन्द्वात्मक विधिका रूपमा विकसित हुन्छ । चिन्तनको विकास कुनै ठोस वस्तुको मूर्त प्रत्यक्षबाट अमूर्त हुँदै मूर्तमा जाने प्रक्रियाका बिचबाट हुने गर्दछ । कुनै बगैंचामा हामीले आँप, सुन्तला, केरा, नासपाती लटरम्मै फलेको देख्दछौं । यो मूर्त प्रत्यक्ष हो । अनि ती सबैलाई सामान्यीकरण गरी फलको नाम दिइन्छ । यो अमूर्तिकरण भयो । जब हामीले यी सबै फलका विशेषता, विशिष्ट लक्षण, उपयोगितालाई समग्रमा जान्ने काम गर्दछौं, त्यसको नाम मूर्त हो । पहिलेको मूर्त आंशिक र अपूर्ण थियो । तर, पछिको मूर्त समग्र र पूर्ण बन्न पुग्दछ ।
चौथो, ज्ञानको अर्को विधिको नाम ऐतिहासिक र तार्किक विधि हो । ऐतिहासिक विधिले कुनै पनि वस्तुको तथ्यसङ्गत विकास प्रक्रियाको तस्बिर प्रस्तुत गर्दछ । अनि तार्किक विधिले त्यो तस्बिरलाई बौद्धिक नियम सङ्गतिमा ढालिदिन्छ ।
जस्तै, श्रम प्रक्रियाका बिचबाट जन्मिएदेखि मान्छे विकासका विभिन्न चरण पार गर्दै अहिलेको अवस्थामा आइपुगेको छ । यो कुरा ऐतिहासिक विधिले दर्शाउँछ । अनि मान्छेको यो विकास प्रक्रियाका विभिन्न चरण र तिनका नियमलाई आदिम साम्यवाद, दासता, सामन्ती, पुँजीवादी, साम्राज्यवादी युगका रूपमा प्रस्तुत गर्ने काम तार्किक विधिले गर्दछ ।
पाँचौं, ज्ञान सिद्धान्तको एउटा महङ्खवपूर्ण विधिको नाम हो विश्लेषण र संश्लेषणको एकता । कुनै पनि वस्तुलाई अंश अंशमा केलाउनु, वर्गीकरण गर्नु, विविध ढङ्गका अन्तर्विरोधहरूलाई दर्शाउनु विश्लेषण हो । अंश अंशलाई समग्रमा ल्याउनु, वर्गीकृत वस्तुलाई एकीकृत गर्नु र विभिन्न अन्तर्विरोधहरूलाई समाधानतर्फको बाटो देखाउनु संश्लेषण हो । कुनै पनि क्रान्तिका विशेषताहरूको विवेचना गर्नु विश्लेषण हो भने त्यसको समाधान दिनु संश्लेषण हो । युद्धको मैदानमा दुई थरी सेना लड्नुलाई विश्लेषण र कुनै एउटा पक्षको विजय हुनुलाई संश्लेषण भन्न सकिन्छ ।
समग्रमा भन्नुपर्दा द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तअन्तर्गत आत्मगत र वस्तुगत पक्ष, सिद्धान्त र व्यवहार तथा भनाइ र गराईका बिच द्वन्द्वात्मक एकरूपता कायम गर्नुपर्ने कुरामा विशेष जोड दिइन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित